सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ?

के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ?

 के तपाईँको आमाबुबाले तपाईँलाई सामाजिक सञ्जाल चलाउन अनुमति दिनुभएको छ? छ भने यस लेखले तपाईँलाई यी तीन क्षेत्रमा मदत गर्नेछ।

यस पृष्ठमा

 के सामाजिक सञ्जालले मेरो समय खाइरहेको छ?

 सामाजिक सञ्जाल चलाउनु भनेको बलियो र फुर्तिलो घोडा चढ्‌नुजस्तै हो; तपाईँले यसलाई नियन्त्रणमा राख्न सक्नुभएन भने यसले तपाईँलाई नियन्त्रणमा राख्नेछ।

 “‘एकछिन’ भनेर चलाउन थाल्यो तर घण्टौँ बितेको पत्तै हुँदैन। सामाजिक सञ्जालले तपाईँको समय खान्छ र यो नशालु पनि हुन्छ।”—जोआन।

 के तपाईँलाई थाह थियो? सामाजिक सञ्जालका वेबसाइटहरू लत बस्ने किसिमले डिजाइन गरिएका हुन्छन्‌। यस्ता वेबसाइटहरू जत्ति लोकप्रिय हुन्छन्‌, मानिसहरूले त्यत्ति नै धेरै समय बिताउँछन्‌ र विज्ञापनहरूबाट धेरै पैसा कमाउन सकिन्छ भनेर वेबसाइटका डिजाइनरहरूलाई थाह हुन्छ।

 आफैलाई सोध्नुहोस्‌: ‘के म समयको ख्यालै नराखी सामाजिक सञ्जाल हेरेको हेऱ्‍यै गर्छु? के म त्यसरी हेर्ने समयबाट केही समय अझ अर्थपूर्ण काममा लगाउन सक्छु?’

 तपाईँ के गर्न सक्नुहुन्छ? सामाजिक सञ्जाल हेर्न कति समय बिताउने भनेर समय तोक्नुहोस्‌ र तोकेको भन्दा धेरै समय नचलाउनुहोस्‌।

सामाजिक सञ्जाल हेर्न कति समय बिताउने भनेर समय तोक्नुहोस्‌

 “मैले कुनै-कुनै एपमा टाइमर सेट गरेको छु र समय पुगेपछि त्यो आफै लक हुन्छ। मैले केही समय यसै गरेँ। यसो गर्दा मैले अझै सन्तुलित भएर सामाजिक सञ्जाल चलाउन सकेँ र मेरो समय पनि बर्बाद भएन।”—टिना।

 बाइबलको सिद्धान्त: “समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१६.

 के सामाजिक सञ्जालले मेरो निद्रा बिगारिरहेको छ?

 थुप्रै विशेषज्ञका अनुसार किशोरकिशोरीहरू कम्तीमा पनि आठ घण्टा सुत्नुपर्छ तर धेरैजसो भने त्योभन्दा कम समय सुत्छन्‌। यसको एउटा कारण सामाजिक सञ्जाल हुन सक्छ।

 “म सुत्नुअघि केही मेसेज छ कि भनेर फोन चेक गर्छु तर अरूले पोस्ट गरेका फोटोहरू देखेपछि त त्यसैमा घण्टौँ बित्छ। म यो खराब बानी हटाउने कोसिस गर्दै छु।”—मारिया।

 के तपाईँलाई थाह थियो? निद्रा पुगेन भने चिन्ता बढ्‌न सक्छ र डिप्रेसन हुन सक्छ। मनोवैज्ञानिक प्राध्यापक जिन ट्‌वेन्जीका अनुसार मानिसहरूले बिसन्चो महसुस गर्नु र निराश हुनुको एउटा प्रमुख कारण अपर्याप्त निद्रा हो। तिनी अझै भन्छिन्‌: “लामो समयसम्म” निद्रा पुगेन भने “मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।” a

 आफैलाई सोध्नुहोस्‌: ‘म कति घण्टा सुत्छु?’ ‘सुत्ने समय भइसकेपछि पनि के म सामाजिक सञ्जाल नै हेरेर बस्छु?’

 तपाईँ के गर्न सक्नुहुन्छ? सुत्ने कोठामा इलेक्ट्रोनिक डिभाइसहरू नराख्नुहोस्‌। सम्भव छ भने सुत्नुभन्दा दुई घण्टाअघि डिभाइसहरू चलाउन बन्द गर्नुहोस्‌। बिहान उठ्‌न अलार्म राख्नुहुन्छ भने फोन वा ट्याबलेटबाहेक अन्य उपकरणमा राख्नुहोस्‌।

सुत्नुअघि सामाजिक सञ्जाल चलाउन बन्द गर्नुहोस्‌

 “कहिलेकाहीँ म राती अबेरसम्म डिभाइस हेरेर बस्छु तर यो बानी हटाउने कोसिस गर्दै छु। म अझै परिपक्व र जिम्मेवार हुन चाहन्छु। भोलिपल्ट फुर्तिलो भएर काम गर्न सकूँ भनेर म छिटो सुत्ने कोसिस गर्दै छु।”—जेरमि।

 बाइबलको सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

 के सामाजिक सञ्जालले मेरो भावनालाई असर गरिरहेको छ?

 हाई स्कुलमा पढ्‌ने छात्राहरूमा गरिएको एउटा अध्ययनमा झन्डै आधीले “जत्तिखेर पनि दुःखी वा निराश भइरहने” कुरा बताए। यसको एउटा कारण सामाजिक सञ्जाल हुन सक्छ। डा. लेनर्ड स्याक्स यसो भन्छन्‌: “तपाईँ सामाजिक सञ्जाल हेर्न जत्ति धेरै समय बिताउनुहुन्छ, निराश हुने सम्भावना पनि त्यत्ति नै हुन्छ। किनभने त्यो हेर्दा तपाईँले आफूलाई अरूसित तुलना गरिरहनुभएको हुन्छ।” b

 “जवानहरू अक्सर आफूलाई अरूसित तुलना गर्छन्‌ र सामाजिक सञ्जालले यो झुकावलाई अझ बढाउन सक्छ। अरूले पोस्ट गरेका फोटोहरू घण्टौँ हेर्दा तपाईँ आफूलाई तिनीहरूसित तुलना गर्न थाल्नुहुन्छ। अथवा फोटोहरूमा साथीहरूले रमाइलो गरिरहेको देख्दा आफ्नो जीवन एकदमै बोरिङ लाग्न सक्छ।”—फिबी।

 के तपाईँलाई थाह थियो? हुनत सामाजिक सञ्जालले साथीहरूसित सम्पर्कमा रहन मदत गर्छ तर यसले भेटेरै गरिने कुराकानीको ठाउँ लिन सक्दैन। डा. निकोलस कार्डरस यस्तो लेख्छन्‌: “कसैसित भेटेरै कुराकानी गर्दा जुन आनन्द पाइन्छ, त्यो इलेक्ट्रोनिक डिभाइसहरूमार्फत कुरा गर्दा पाइँदैन। किनभने मानिसहरूमा भेटेरै कुरा गर्ने स्वाभाविक चाहना हुन्छ।” c

 आफैलाई सोध्नुहोस्‌: ‘साथीहरूले रमाइलो गरिरहेको फोटोहरू हेर्दा के म एक्लो महसुस गर्छु?’ ‘तिनीहरूले पोस्ट गरेका फोटोहरू हेर्दा के मलाई आफ्नो जीवन एकदमै बोरिङ लाग्छ?’ ‘आफ्नो पोस्टमा थोरैले वा कसैले लाइक नगर्दा के म निराश हुन्छु?’

 तपाईँ के गर्न सक्नुहुन्छ? केही दिन, एक हप्ता वा एक महिना सामाजिक सञ्जाल चलाउँदै नचलाउने कोसिस गर्नुभए कसो होला? साथीहरूसित भेटेरै वा फोनमा कुरा गर्ने समय बढाउनुहोस्‌। यसरी केही समय सामाजिक सञ्जाल नचलाउँदा सायद तपाईँले तनाव कम भएको र अझै आनन्दित भएको महसुस गर्नुहुनेछ।

साथीहरूसित भेटेरै कुरा गर्न अझ धेरै समय निकाल्न सक्नुहुन्छ कि?

 “सामाजिक सञ्जाल चलाउँदा अरूको कुरामै मेरो ध्यान हुन्थ्यो। मैले आफ्ना अकाउन्टहरू डिलिट गरेपछि टाउकोबाट ठूलो भार हटेको महसुस भयो। मैले अझै उपयोगी कामहरू गर्न समय पाएँ।”—ब्रिआना।

 बाइबलको सिद्धान्त: “हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गलाती ६:४.

a iGen किताबबाट।

b Why Gender Matters किताबबाट।

c Glow Kids किताबबाट।