सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

डेटिङ—भाग २: डेटिङ गर्दा मैले कुन कुरा मनमा राख्नुपर्छ?

डेटिङ—भाग २: डेटिङ गर्दा मैले कुन कुरा मनमा राख्नुपर्छ?

 तपाईँ कसैलाई मन पराउनुहुन्छ अनि तपाईँहरूले एकअर्कासित डेटिङ गर्ने विचार गर्नुहुन्छ। किनभने तपाईँहरू एकअर्काको लागि सुहाउँदो जोडी हो कि होइन भनेर थाह पाउन चाहनुहुन्छ। सम्बन्ध अघि बढ्‌दै जाँदा तपाईँले कुन कुरा मनमा राख्नुपर्छ?

यस लेखमा

 कुराकानी खुलस्त हुनुपर्छ

 सँगै समय बिताउँदा तपाईँहरूले एकअर्काबारे अझ धेरै कुराहरू थाह पाउनुहुनेछ। केही कुराहरू त एकअर्काको व्यवहार नियालेर पनि बुझ्न सक्नुहुनेछ।

 तर केही कुराहरूबारे भने तपाईँहरूले खुलस्त कुराकानी गर्नुपर्छ। यसरी कुरा गर्दा भावनाको वशमा नपर्नुहोस्‌ बरु एकअर्काबारे सबै सत्यतथ्य राम्ररी बुझेर त्यसैअनुसार निर्णय गर्नुहोस्‌।

 तपाईँहरूले निम्न विषयहरूबारे खुलस्त कुराकानी गर्नुपर्छ:

  •   पैसा: के तपाईँले ऋण लिनुभएको छ? के तपाईँ धेरै पैसा खर्च गर्नुहुन्छ? यदि तपाईँहरूले विवाह गर्नुभयो भने आम्दानी र खर्च कसरी मिलाउनुहुन्छ?

  •   स्वास्थ्य: के तपाईँको स्वास्थ्य राम्रो छ? तपाईँलाई विगतमा कुनै गम्भीर स्वास्थ्य समस्या भएको थियो कि?

  •   लक्ष्यहरू: तपाईँले जीवनमा कस्ता लक्ष्यहरू राख्नुभएको छ? के तपाईँहरू दुवै जनाको लक्ष्य मिल्छ? विवाह गरेपछि यदि तपाईँले कुनै कारणवश आफ्ना लक्ष्यहरू हासिल गर्न सक्नुभएन भने पनि के तपाईँ खुसी भइरहन सक्नुहुनेछ?

  •   परिवार: के अहिले तपाईँको कुनै पारिवारिक जिम्मेवारी छ? भविष्यमा कुनै जिम्मेवारी आइपर्न सक्छ कि? के तपाईँ छोराछोरी जन्माउन चाहनुहुन्छ? चाहनुहुन्छ भने, कति वटा?

 यस्ता विषयहरूमा कुराकानी गर्दा सबै कुरा खुलस्त बताउनुहोस्‌। अर्को व्यक्‍तिमा आफूबारे राम्रो छाप पार्न कुनै पनि कुरा लुकाउने वा बङ्‌ग्याउने नगर्नुहोस्‌।—हिब्रू १३:१८.

 यसबारे सोच्नुहोस्‌: आफूले डेटिङ गरिरहेको व्यक्‍तिबारे तपाईँले के कुरा थाह पाउनुपर्छ? तिनले चाहिँ तपाईँबारे के कुरा थाह पाउनुपर्छ? यसरी खुलस्त कुराकानी गर्दा विवाहपछि पनि एकअर्काप्रति इमानदार भइरहन कसरी मदत पुग्छ?

 बाइबलको सिद्धान्त: “सत्य बोल।”—एफिसी ४:२५.

 “केटीले ‘अबको छ महिनामा त हाम्रो इन्गेजमेन्ट होला’ भनेर सोचिरहेकी हुन सक्छिन्‌ तर केटाले भने एक वर्षपछि मात्र गर्ने विचार गरिरहेका हुन सक्छन्‌। यसो हुँदा केटीको भावनामा चोट पुग्न सक्छ र तिनी अलमलमा पर्न सक्छिन्‌। किनभने तिनी सम्बन्ध सकेसम्म छिटो अघि बढेको चाहन्छिन्‌। यस विषयमा दुवै जनाले एकअर्काको विचार राम्ररी बुझ्नुपर्छ।”—एक वर्षअघि विवाह गरेकी एरियाना।

 एकअर्काको सोचाइ फरक हुन सक्छ

 कुनै दुई व्यक्‍ति उस्तै हुँदैनन्‌। त्यसैले तपाईँ र तपाईँले डेटिङ गरिरहनुभएको व्यक्‍ति सबै कुरामा सहमत हुनुहुनेछ र तपाईँहरूको विचार र भावना सधैँ मिल्नेछ भनेर आशा नगर्नुहोस्‌। तपाईँहरू हुर्केको समाज, वातावरण वा अन्य कुराहरूले तपाईँहरूको सोचाइलाई प्रभाव पारेको हुन्छ।

 यसबारे सोच्नुहोस्‌: सानातिना कुराहरूमा तपाईँहरूको विचार मिलेन र त्यसबारे बाइबलमा कुनै स्तर तोकिएको छैन भने के तपाईँहरू एकअर्काको लागि त्याग गर्न तयार हुनुहुन्छ?

 बाइबलको सिद्धान्त: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌।”—फिलिप्पी ४:५.

 “हुनत तपाईँलाई ‘हाम्रो सबै कुरा मिल्छ’ जस्तो लाग्ला तर आपसमा नमिल्ने कुराहरू पनि हुन्छन्‌। आपसमा कुरा मिलेको त राम्रै हो। तर कुरा नमिल्दा तपाईँहरू कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, त्यसमा अझ धेरै ध्यान दिनुपर्छ।”—पाँच वर्षअघि विवाह गरेका म्याथ्यु।

 डेटिङ तनावपूर्ण हुन सक्छ

 डेटिङ गर्दा तपाईँले अर्को व्यक्‍तिलाई धेरै समय दिनुपर्ने हुन्छ र कहिलेकाहीँ तनाव पनि हुन सक्छ। तपाईँ के गर्न सक्नुहुन्छ?

 सन्तुलित हुनुहोस्‌। डेटिङ गर्नमै व्यस्त भएर आफ्ना जिम्मेवारीहरू र साथीहरूलाई बेवास्ता नगर्नुहोस्‌। पाँच वर्षअघि विवाह गरेकी अलाना यसो भन्छिन्‌: “विवाह गरेपछि पनि तपाईँलाई आफ्ना साथीहरू चाहिन्छ र तिनीहरूलाई पनि तपाईँ चाहिन्छ। डेटिङ गर्न थाल्नुभयो भन्दैमा तिनीहरूलाई चटक्कै नछोड्‌नुहोस्‌।”

 यो कुरा मनमा राख्नुहोस्‌, तपाईँले विवाह गर्नुभयो भने आफ्नो जीवनको सबै क्षेत्रहरूलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ। डेटिङ गर्दा नै त्यस्तो बानी विकास गरे कसो होला?

 यसबारे सोच्नुहोस्‌: के तपाईँ आफूले डेटिङ गरिरहेको व्यक्‍तिले जतिखेर पनि तपाईँलाई मात्र समय देओस्‌ भन्‍ने चाहनुहुन्छ? के तपाईँलाई अर्को व्यक्‍तिले तपाईँबाट बढ्‌दै माग गरिरहेको जस्तो लाग्छ? भावनात्मक रूपमा थकित नहुन तपाईँहरू दुवै जनाले कसरी सन्तुलन कायम गर्न सक्नुहुन्छ?

 बाइबलको सिद्धान्त: “सबै कामको लागि उचित समय छ, संसारमा हरेक कुराको लागि समय छ।”—उपदेशक ३:१.

 “डेटिङ गरिरहेका जोडीहरू रमाइलो गर्नमा मात्र समय बिताउँछन्‌ भने तिनीहरू भ्रममा बाँचिरहेका हुन्छन्‌ र विवाहपछि त्यो भ्रम टुट्‌न सक्छ। त्यसैले दुवै जना मिलेर किनमेल, घरायसी काम र उपासनाजस्ता दैनिक गतिविधिमा भाग लिनु राम्रो हो। यसो गर्दा तिनीहरूले आफ्नो वैवाहिक सम्बन्धको जग मजबुत बनाइरहेका हुन्छन्‌।”—दुई वर्षअघि विवाह गरेका ड्यानियल।

 यो कुरा मनमा राख्नुहोस्‌, डेटिङ गरिरहेको जोडीले विवाह गर्ने वा रोमान्टिक सम्बन्ध टुटाउने भनेर एक न एक दिन निर्णय गर्नै पर्ने हुन्छ। यस शृङ्‌खलाको भाग ३ मा त्यस्तो निर्णय गर्नुअघि के-कस्ता कुराहरू विचार गर्नुपर्छ भनेर चर्चा गरिनेछ।