सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

के तन्त्रमन्त्र गर्नु हानिकारक छ?

के तन्त्रमन्त्र गर्नु हानिकारक छ?

 तपाईँलाई कस्तो लाग्छ?

  •   राशिफल वा जोखना हेर्नुमा अनि अलौकिक शक्‍ति भएको व्यक्‍तिसित मदत माग्नुमा के कुनै हानि हुन्छ?

  •   के तन्त्रमन्त्रसँग सम्बन्धित कथाहरू असल र खराबबीच भएको युद्धको काल्पनिक कथाहरू मात्र हुन्‌? वा यो कुनै वास्तविक र खतरनाक कुरा हो?

 यस लेखमा मानिसहरू किन प्रेतवादप्रति आकर्षित हुन्छन्‌ र यसबाट किन होसियार हुनुपर्छ भन्‍ने कुरा विचार गर्नेछौँ।

 तन्त्रमन्त्र किन लोकप्रिय छ?

 मनोरञ्जनजगत्‌ले तन्त्रमन्त्रलाई आकर्षणको विषय बनाएको छ। भनौँ भने यसलाई चलचित्र, टिभी कार्यक्रम, भिडियो गेम र किताबको मुख्य भाग नै बनाइएको छ। परिणामस्वरूप धेरै युवा ज्योतिषविद्या, प्रेतवाद, भ्याम्पायर र बोक्सीविद्याप्रति चासो लिन्छन्‌। किन? कारण यसप्रकार छन्‌:

  •   खुलदुली: प्रेतहरू वास्तवमा अस्तित्वमा छन्‌ कि छैनन्‌ भनेर पत्ता लगाउन

  •   चासो: भविष्यबारे जान्‍न

  •   सम्पर्क: मरिसकेका आफ्ना प्रियजनसँग सम्पर्क गर्न

 यी कारणहरू जायजै छन्‌ होला। उदाहरणको लागि, भविष्यको बारेमा जान्‍न चाहनु वा आफ्ना मरिसकेका प्रियजनहरूलाई सम्झनु स्वाभाविक कुरा हो। तर केही खतराहरू पनि छन्‌, जसबाट हामी होसियार हुनुपर्छ।

 किन होसियार हुनुपर्छ?

 बाइबलले प्रेतवादसँग सम्बन्धित सबै कुराको घोर विरोध गर्छ। उदाहरणको लागि, बाइबल यसो भन्छ:

 तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌ . . . जोखना हेर्ने, जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित वा भावी बताउने व्यक्‍तिसित सल्लाह लिने अथवा मसान जगाउने। यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।”—व्यवस्था १८:१०-१२.

 बाइबलले किन प्रेतवादको विरोध गर्छ?

  •   प्रेतहरूसगँ सम्पर्क गर्दा हामी तिनीहरूको समर्थन गर्छौँ भनेर देखिन्छ। केही स्वर्गदूतहरूले परमेश्‍वरको विरोध गरेर आफैलाई उहाँको शत्रु बनाए भनेर बाइबलले बताउँछ। (उत्पत्ति ६:२; यहुदा ६) प्रेतहरू भनेर चिनिने दुष्ट स्वर्गदूतहरूले ज्योतिषीहरू अनि अलौकिक शक्‍ति भएका व्यक्‍तिहरू चलाएर मानिसहरूलाई बहकाउँछन्‌। यस्ता कुराहरूमा भाग लिँदा हामी परमेश्‍वरको शत्रुहरूलाई आफ्नो साथी बनाइरहेका हुन्छौँ।

  •   कोही-कोही मानिससित भविष्य थाह पाउन सक्ने क्षमता हुन्छ भन्‍ने झूटो विश्‍वासलाई प्रेतवादले बढावा दिन्छ। तर परमेश्‍वरसित मात्र यस्तो क्षमता छ। उहाँ यसो भन्‍नुहुन्छ: “पछि के हुन्छ, म पहिल्यै बताउँछु अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।”—यसैया ४६:१०; याकुब ४:१३, १४.

  •   मरिसकेका मानिसहरूले जीवित व्यक्‍तिहरूसँग सम्पर्क गर्न सक्छन्‌ भन्‍ने झूटो विश्‍वासलाई प्रेतवादले बढावा दिन्छ। बाइबल यसो भन्छ: “मरेकाहरूलाई भने केही पनि थाह हुँदैन . . . कुनै काम गर्न, न केही सोच्न नै सक्नेछौ, तिमीसित न ज्ञान, न बुद्धि नै हुनेछ।”—उपदेशक ९:५, १०.

 त्यसैले यहोवाका साक्षीहरू प्रेतवादसित सम्बन्धित कुराहरूलाई तिरस्कार गर्छन्‌। साथै जम्बि, भ्यामपायर अनि अलौकिक कुराहरू मुछिएको मनोरञ्जनबाट टाढै रहन्छन्‌। मारिया नाम गरेकी एक जवान युवती यसो भन्छिन्‌: “प्रेतवादसित सम्बन्धित कुनै पनि कार्यक्रम म हेर्दिनँ।” a

जसरी एक अपराधीले आफूलाई असल व्यक्‍ति हुँ भनेर तपाईँलाई झुक्याउँछ, त्यसरी नै प्रेतहरू पनि मरिसकेका हाम्रा प्रियजन बनेर हामीलाई झुक्याउँछन्‌।

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   तन्त्रमन्त्र मुछिएको कुनै पनि किसिमको मनोरञ्जनबाट अलग रहेर यहोवासामु “आफ्नो अन्तस्करण सफा” राख्ने सङ्‌कल्प गर्नुहोस्‌।—प्रेषित २४:१६.

  •   तन्त्रमन्त्रसित सम्बन्धित आफूसँग भएको सबै सामान फ्याँक्नुहोस्‌। प्रेषित १९:१९, २० पढ्‌नुहोस्‌ र प्रथम शताब्दीका ख्रिष्टियनहरूले बसालेको उदाहरण विचार गर्नुहोस्‌।

 नबिर्सनुहोस्‌: जब तपाईँले तन्त्रमन्त्रसित सम्बन्धित सबै सामान हटाउनुहुन्छ, तब तपाईँले यहोवाको पक्ष लिइरहनुभएको हुन्छ। अनि यसले उहाँको ह्रदयलाई खुसी बनाउँछ।—हितोपदेश २७:११.

a तर सबै दन्त्यकथाहरूले प्रेतवादलाई बढावा दिन्छन्‌ भन्‍ने छैन। ख्रिष्टियनहरू आफ्नो बाइबल प्रशिक्षित अन्तस्करण चलाएर प्रेतवाद मुछिएको जुनै पनि किसिमको मनोरञ्जनबाट अलग रहन्छन्‌।—२ कोरिन्थी ६:१७; हिब्रू ५:१४.