परिवारका लागि | छोराछोरी हुर्काउने
छोराछोरीलाई जातीय विभेदबारे बुझाउनुहोस्
तपाईँका साना छोराछोरीले वर्ण वा राष्ट्रियताको आधारमा मानिसहरूले अरूलाई आदर वा अनादर गरेको देख्लान्। तपाईँ तिनीहरूलाई कसरी जातीय भेदभावको असरबाट प्रभावित हुनदेखि जोगाउन सक्नुहुन्छ? तिनीहरू जातीय भेदभावको सिकार भएमा तपाईँ के गर्न सक्नुहुन्छ?
यस लेखमा यी विषयहरूबारे चर्चा गरिनेछ:
तिनीहरूसित जातीय विविधताबारे कसरी कुरा गर्ने?
तपाईँ के भन्न सक्नुहुन्छ? संसारमा विभिन्न रूपरङ्ग र संस्कृतिका मानिसहरू छन्। यस्तो विविधताका कारण कतिपय मानिसहरू आफूभन्दा फरक रूपरङ्ग र संस्कृतिका मानिसहरूसित दुर्व्यवहार गर्छन्।
तर बाइबलले सम्पूर्ण मानिसजातिको पुर्खा एउटै हो भनेर सिकाउँछ। वास्तवमा हामी सबै एउटै परिवारका हौँ।
“[परमेश्वरले] एउटै मानिसबाट जातिजातिका मानिसहरू बनाउनुभयो।”—प्रेषित १७:२६.
“हाम्रा छोराछोरीहरूले फरक-फरक देश र जातिका मानिसहरूसित सङ्गत गर्न थालेपछि तिनीहरूले सबैलाई प्रेम र आदर गर्नुपर्छ भनेर सिक्न सके।”—कारेन
छोराछोरीलाई जातीय विभेदबारे कसरी बुझाउने?
ढिलो या चाँडो, तपाईँका छोराछोरीले जातीय विभेदसम्बन्धी समाचार वा घटनाबारे अवश्य सुन्नेछन्। तपाईँ तिनीहरूलाई यसबारे कसरी बुझाउन सक्नुहुन्छ? त्यो कुरा धेरै हदसम्म छोराछोरीको उमेरमा भर पर्छ।
तीनदेखि पाँच वर्षका बालबालिका। डाक्टर आलिसन ब्रिस्को-स्मिथले अभिभावक (अङ्ग्रेजी) पत्रिकामा यसो भनिन्: “साना बच्चाहरूले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा याद गरिरहेका हुन्छन्। त्यसैले बेलाबेलामा तिनीहरूसित जातीय विभेदबारे कुरा गर्नु बुद्धिमानी हुन्छ।”
“परमेश्वर पक्षपाती हुनुहुन्न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.
छदेखि बाह्र वर्षका केटाकेटी। यस उमेर समूहका केटाकेटीहरू उत्सुक स्वभावका हुन्छन् र बेलाबेलामा गाह्रा प्रश्नहरू सोध्छन्। तिनीहरूलाई सकेसम्म चित्तबुझ्दो जवाफ दिनुहोस्। तिनीहरूले स्कुलमा र सञ्चार माध्यममार्फत देखेका र सुनेका कुराहरूबारे छलफल गर्नुहोस्। त्यस मौकामा तिनीहरूलाई जातीय भेदभाव गर्नु गलत हो भनेर बुझाउनुहोस्।
“एकै मनका होओ, एकअर्काको पीडा महसुस गर, भ्रातृस्नेह प्रकट गर, कोमलताले भरिएको करुणा देखाओ अनि नम्र होओ।”—१ पत्रुस ३:८.
तेह्रदेखि उन्नाइस वर्षका किशोरकिशोरी। यस उमेर समूहकाहरू जीवनका अझ गहन विषयहरूबारे बुझ्न सक्ने हुन्छन्। त्यसैले जातीय भेदभावसम्बन्धी कुनै समाचार आउँदा त्यसको असरबारे तिनीहरूसित कुराकानी गर्नु बुद्धिमानी हुन्छ।
“परिपक्व मानिसहरू[ले] ... आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।”—हिब्रू ५:१४.
“छोराछोरीले जीवनमा कुनै न कुनै बेला जातीय भेदभावको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले हामी तिनीहरूसित यस विषयमा कुरा गर्ने गर्छौँ। यदि हामीले घरमै यसबारे बुझाएनौँ भने तिनीहरूले पूर्वाग्रही मानिसहरूको कुरा सुन्नेछन् र उनीहरूको विचारधारा अँगाल्नेछन्। उनीहरूले छोराछोरीलाई झूटा कुराहरू बताएर भ्रममा पार्न सक्छन्।”—तान्या
छोराछोरीलाई कसरी आफ्नो उदाहरणबाट सिकाउने?
छोराछोरीले आमाबुबाबाट धेरै कुरा सिक्छन्। त्यसैले उनीहरूले आफ्नो काम र बोलीद्वारा छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नुपर्छ। विचार गर्नुपर्ने कुराहरू:
के तपाईँ अरू जातिका मानिसहरूबारे मजाक गर्नुहुन्छ वा तिनीहरूलाई होच्याउनुहुन्छ? अमेरिकी बाल तथा किशोरकिशोरी मनोचिकित्सा प्रतिष्ठानले बताएअनुसार “छोराछोरीले तपाईँको कुरा सुनिरहेका र आनीबानी नियालिरहेका हुन्छन् अनि तपाईँकै सिको गर्छन्।”
के तपाईँ अरू देश वा जातिका मानिसहरूसित सङ्गत गर्न मन पराउनुहुन्छ? बाल रोग विशेषज्ञ अलाना नोजोमा भन्छिन्, “छोराछोरीले फरक पृष्ठभूमिका मानिसहरूसित [राम्रो] सम्बन्ध राखेको चाहनुहुन्छ भने तपाईँले पनि त्यसो गरेको तिनीहरूले देख्नुपर्छ।”
“हरप्रकारका मानिसहरूको आदर गर।”—१ पत्रुस २:१७.
“हामीले विभिन्न देशका मानिसहरूलाई घरमा बोलाएर सङ्गत गर्थ्यौँ। हामीले उनीहरूको खानेकुरा र सङ्गीतबारे धेरै कुरा थाह पायौँ अनि उनीहरूको सांस्कृतिक पोसाकहरू पनि लगायौँ। हामीले छोराछोरीसित कुरा गर्दा मानिसहरूको जातमा नभई उनीहरूको व्यक्तित्वमा ध्यान दिन्थ्यौँ। साथै हामी आफ्नो संस्कृतिबारे धाक लगाउँदैनथ्यौँ।”—क्याटारिना
यदि तपाईँका छोराछोरीहरू जातीय भेदभावको सिकार भएका छन् भने के गर्न सक्नुहुन्छ?
मानिसहरूले जातीय समानताबारे जति नै कुरा गरे तापनि संसारमा जातीय भेदभाव व्याप्त छ। त्यसैले तपाईँको छोराछोरीले पनि यस्तो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ, अझ विशेषगरि तपाईँहरूलाई अल्पसङ्ख्यक a वर्गको रूपमा हेरिन्छ भने। त्यसो भएमा के गर्न सक्नुहुन्छ?
सत्यतथ्य बुझ्नुहोस्। कोही व्यक्तिले जानाजानी विभेदपूर्ण व्यवहार गरेका हुन् या अनजानमा त्यसो हुन पुगेको हो, राम्ररी बुझ्नुहोस्। (याकुब ३:२) के तपाईँ तिनले गरेको व्यवहारलाई बेवास्ता गर्न सक्नुहुन्छ? अथवा त्यसबारे केही ठोस कदम चाल्नु पर्ने हो कि?
यस सन्दर्भमा तपाईँ व्यावहारिक हुनुपर्छ। बाइबलमा यस्तो बुद्धिमानी सल्लाह दिइएको छ: “कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर।” (उपदेशक ७:९) हुनत जातीय भेदभाव गर्नु गम्भीर कुरा हो। तर कसैले तपाईँको जात वा वर्णबारे केही नकारात्मक टीकाटिप्पणी गरेको वा अभद्र व्यवहार गरेको जस्तो लाग्दैमा त्यसलाई सधैँ ठूलो विवाद बनाइरहनुपर्दैन। तिनको मनमा तपाईँको जातिप्रति घृणा नहुन पनि सक्छ।
हरेक अवस्था फरक हुन्छ। त्यसैले कुनै कदम चाल्नुअघि वास्तविक कुरा पत्ता लगाउनुहोस्।
“जसले राम्ररी कुरा सुन्नुअघि नै जवाफ दिन्छ, उसले मूर्खता प्रकट गर्छ र आफ्नै बेइज्जती गर्छ।”—हितोपदेश १८:१३.
सत्यतथ्य पत्ता लगाएपछि, आफैलाई सोध्नुहोस्:
‘छोराछोरीलाई सबै मानिसले भेदभाव गर्छन् र आफ्नो जातको कारण मानिसहरूले सधैँ तिनीहरूलाई होच्याउँछन् जस्तो लागेमा के यसले तिनीहरूमा कुनै असर पार्ला?’
‘के छोराछोरीले बाइबलको यो सल्लाह लागू गर्दा लाभ उठाउन सक्लान्: “मानिसहरूले भन्ने एक-एक कुरामा ध्यान नदेऊ”?’—उपदेशक ७:२१.
“तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।”—फिलिप्पी ४:५.
कसैले जानाजानी भेदभाव गरेको हो भने नि? त्यसो हो भने छोराछोरीले त्यतिबेला देखाउने प्रतिक्रियाले परिस्थिति सुधार्न वा बिगार्न सक्छ भनेर तिनीहरूलाई बुझाउनुहोस्। अरूको खिसी, बेइज्जत वा दादागिरी गर्ने व्यक्तिले अक्सर पीडितहरूबाट कुनै प्रतिक्रिया आओस् भन्ने चाहेको हुन्छ। त्यसैले शान्त रहेर कुनै प्रतिक्रिया नदेखाउनु नै सबैभन्दा बुद्धिमानी हुन्छ।
“जहाँ दाउरा हुँदैन, त्यहाँ आगो निभ्छ।”—हितोपदेश २६:२०.
अर्कोतर्फ अवस्थाले दिन्छ र कुनै खतरा छैन भने छोराछोरीले दुर्व्यवहार गर्ने व्यक्तिसित सीधै कुरा गर्न पनि सक्छन्। तपाईँका छोराछोरीले मिजासिलो भई यसो भन्न सक्छन्, “तपाईँले बोल्नुभएको कुरा (वा देखाउनुभएको व्यवहार) राम्रो छैन।”
तपाईँलाई उक्त घटनाबारे उजुरी गर्नुपर्छ जस्तो लाग्यो भने नि? यदि तपाईँलाई छोराछोरी खतरामा परेका छन् वा बेवास्ता गर्न नमिल्ने परिस्थिति हो जस्तो लाग्छ भने तिनीहरूको स्कुल प्रशासन वा आवश्यक परेमा प्रहरीसित कुरा गर्नुहोस्।
a अल्पसङ्ख्यक भनेको धर्म, राष्ट्रियता, वर्ण, संस्कृति वा अरू पक्षको आधारमा बहुसङ्ख्यक मानिसहरूभन्दा फरक ठानिएका मानिसहरूको समूह हो।