बाइबलले जीउमा कुनै किसिमको आकृति खोप्नेबारे के भन्छ?
बाइबलको जवाफ
बाइबलमा शरीरमा कुनै किसिमको आकृति खोप्नेबारे लेवी १९:२८ मा मात्र उल्लेख गरिएको छ, जहाँ यस्तो लेखिएको छ: “तिमीहरूले . . . जीउमा कुनै किसिमको आकृति नखोप्नू।” शरीरमा आफ्ना देवीदेवताका नाम वा चिन्हहरू खोप्ने छिमेकी राष्ट्रहरूबाट इस्राएलीहरूलाई अलग पार्न यहोवाले यो आज्ञा दिनुभएको थियो। (व्यवस्था १४:२) अहिले ख्रिष्टियनहरू इस्राएल राष्ट्रलाई दिइएको व्यवस्थाको अधीनमा त छैनन् तर त्यसमा लुकेको सिद्धान्तबारे भने तिनीहरूले गम्भीरतासाथ सोच्नुपर्छ।
के ख्रिष्टियनहरूले शरीरमा कुनै किसिमको आकृति खोप्नु उचित हो?
यो कुरा बुझ्न तपाईँलाई तल दिइएका पदहरूले मदत गर्छ:
“स्त्रीहरूले शालीनतासाथ . . . आफैलाई सिँगारून्।“ (१ तिमोथि २:९) यो सिद्धान्त स्त्री र पुरुष दुवैलाई लागू हुन्छ। हामीले अरूबारे पनि सोच्नुपर्छ र अरूको बढ्तै ध्यान खिच्नदेखि होसियार हुनुपर्छ।
कोही-कोही आफ्नो छुट्टै पहिचान देखाउन चाहन्छन् वा कोही भने आफ्नो शरीरमाथि आफ्नै अधिकार छ भनेर देखाउन चाहन्छन्। त्यसैले तिनीहरू शरीरमा विभिन्न आकृति खोप्ने गर्छन्। तर बाइबलले ख्रिष्टियनहरूलाई यस्तो प्रोत्साहन दिन्छ: “आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाउन सक्नेछौ।” (रोमी १२:१) “सोचविचार गर्ने क्षमता” चलाएर आफ्नो शरीरमा आकृति खोप्न चाहनुको कारण विचार गर्नुहोस्। तपाईँ कसैको लहलहैमा लागेर वा कुनै समूहको सदस्य हुँ भनेर देखाउन पो त्यसो गर्दै हुनुहुन्छ कि? यदि त्यसो हो भने यो कुरा नबिर्सनुहोस्, ती कुराहरूप्रतिको तपाईँको सोचाइ परिवर्तन हुन सक्छ तर जीउमा खोपिएको कुरा भने सजिलै हटाउन सकिँदैन। त्यसैले यसबारे आफ्नो मनसाय पहिले नै केलाउनुभयो भने तपाईँले बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ।—हितोपदेश ४:७.
“मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्गाल हुन्छन्।” (हितोपदेश २१:५) प्रायजसो मानिसहरूले शरीरमा आकृति बनाउने निर्णय हतारमा गर्छन्। यसले तिनीहरूको अरूसितको सम्बन्धमा पछिसम्मै असर गर्न सक्छ र उपयुक्त जागिर भेट्टाउन पनि गाह्रो हुन सक्छ। जीउमा खोपिएको कुरा हटाउँदा साह्रै पीडा हुन सक्छ र निकै पैसा पनि खर्च हुन सक्छ। अनुसन्धानले र त्यस्ता आकृतिहरू हटाउने व्यवसायको वृद्धिले देखाएअनुसार शरीरमा त्यस्ता आकृति खोपेकाहरूमध्ये धेरैजसो पछि गएर पछुताउँछन्।