सीधै सामग्रीमा जाने

युथेनेसियाबारे बाइबलले के भन्छ?

युथेनेसियाबारे बाइबलले के भन्छ?

बाइबलको जवाफ

 युथेनेसियाबारे a बाइबलमा तोकेरै बताइएको छैन। तर जीवन र मृत्युबारे बाइबलले बताएको कुराले हामीलाई यस विषयमा सही दृष्टिकोण राख्न मदत गर्छ। कसैको ज्यान लिनु गलत हो तर यदि कोही अन्तिम अवस्थामा पुगिसकेका छन्‌ भने तिनको जीवनलाई जसरी भए पनि लम्ब्याउनै पर्छ भन्‍ने छैन।

 बाइबलले परमेश्‍वर हाम्रो सृष्टिकर्ता अर्थात्‌ “जीवनको मूल” हुनुहुन्छ भनेर बताउँछ। (भजन ३६:९; प्रेषित १७:२८) परमेश्‍वर जीवनलाई असाध्यै बहुमूल्य ठान्‍नुहुन्छ। त्यसैकारण अरूको हत्या गर्नु वा आत्महत्या गर्नु परमेश्‍वरको नजरमा गलत हो। (प्रस्थान २०:१३; १ यूहन्‍ना ३:१५) साथै आफ्नो र अरूको जीवनलाई खतरामा नपार्न हामीले आवश्‍यक सावधानी अपनाउनुपर्छ भनेर बाइबल बताउँछ। (व्यवस्था २२:८) हामीले जीवनको मोल गरेको परमेश्‍वर चाहनुहुन्छ भन्‍ने कुरा स्पष्ट छ।

यदि कोही गम्भीर अवस्थामा पुगेको छ र मृत्यु हुने निश्‍चित छ भने नि?

 यदि कसैको मृत्यु हुने निश्‍चित छ भने पनि त्यस्तो व्यक्‍तिको ज्यान लिने कुरालाई बाइबलले समर्थन गर्दैन। इस्राएलका राजा शाऊलको विवरणबाट हामी यो कुरा बुझ्न सक्छौँ। शाऊललाई युद्धमा गम्भीर चोट लागेको थियो र तिनी मर्ने अवस्थामा पुगेका थिए। त्यसैले आफ्नो जीवन अन्त गरिदिन तिनले आफ्नो हतियार बोक्ने मानिसलाई अनुरोध गरे। (१ शमूएल ३१:३, ४) ती हतियार बोक्ने मानिसले त्यसो गर्न इन्कार गरे। तर पछि अर्को एक जना मानिसले शाऊलको त्यो इच्छा आफूले पूरा गरिदिएँ भनेर झूटो दाबी गऱ्‍यो। दाऊदले त्यस मानिसलाई रक्‍तदोषी ठहऱ्‍याए। यसरी यस मामिलामा दाऊदले परमेश्‍वरको सोचाइ झल्काए।—२ शमूएल १:६-१६.

जीवनलाई हर हालतमा लम्ब्याउनै पर्छ त?

 कसैको मृत्यु हुने निश्‍चित छ भने तिनको जीवनलाई सकेसम्म लम्ब्याउनै पर्छ भनेर बाइबलले बताएको छैन। बरु बाइबलले यस सन्दर्भमा सन्तुलित दृष्टिकोण राख्न सिकाउँछ। हामी पापी भएकोले मर्छौँ र मृत्यु हाम्रो सबैभन्दा ठूलो शत्रु हो। (रोमी ५:१२; १ कोरिन्थी १५:२६) हुनत हामी मृत्यु नहोस्‌ भन्‍ने चाहन्छौँ, तैपनि मृत्युदेखि हामी डराउनुपर्दैन किनकि परमेश्‍वरले मरेकाहरूलाई पुनर्जीवित गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यूहन्‍ना ६:३९, ४०) जीवनको आदर गर्ने व्यक्‍तिले उपलब्ध उपचारविधिहरूमध्ये सबैभन्दा राम्रो उपचार रोज्नेछन्‌। तर त्यसको मतलब यदि कोही मृत्यु हुने अवस्थामा पुगिसकेका छन्‌ भने तिनको जीवनलाई जसरी भए पनि लम्ब्याउने उपचारविधि रोज्नुपर्छ भन्‍ने छैन।

के आत्महत्या क्षमा नहुने पाप हो?

 होइन, आत्महत्या गर्नुलाई बाइबलले क्षमा नहुने पाप भनेको छैन। हुनत आफ्नै ज्यान लिनु भनेको गम्भीर पाप हो, b तैपनि मानसिक समस्या, अत्यधिक तनाव वा वंशानुगत असरजस्ता कुराहरूले पनि मानिसहरूमा आत्महत्या गर्ने झुकाव उत्पन्‍न गराउन सक्छ भनेर परमेश्‍वरलाई थाह छ। (भजन १०३:१३, १४) दुःखमा परेकाहरूलाई उहाँ बाइबलमार्फत सान्त्वना दिनुहुन्छ। त्यति मात्र होइन, “ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌” भनेर बाइबल बताउँछ। (प्रेषित २४:१५) त्यसैले आत्महत्याजस्तो गम्भीर पाप गर्ने मानिसहरूको लागि पनि पुनर्जीवित हुने आशा छ भनेर यसले देखाउँछ।

a कुनै रोग लागेर वा चोटपटकको कारण मर्ने अवस्थामा पुगेको व्यक्‍तिले अझै पीडा भोग्नु नपरोस्‌ भन्‍ने उद्देश्‍यले तिनको जीवन अन्त गर्नुलाई युथेनेसिया भनिन्छ। यसलाई ‘मर्सी किलिङ्‌’ पनि भन्‍ने गरिन्छ। कुनै-कुनै अवस्थामा त्यस्तो बिरामीको जीवन अन्त्य गर्न डाक्टरहरूको पनि मदत लिने गरिन्छ।

b बाइबलमा हामी आत्महत्या गरेका केही मानिसहरूको विवरण पाउँछौँ। ती सबै मानिसहरू परमेश्‍वरको इच्छाअनुसार चल्न चुकेका मानिसहरू थिए।—२ शमूएल १७:२३; १ राजा १६:१८; मत्ती २७:३-५.