सीधै सामग्रीमा जाने

स्वतन्त्र इच्छाबारे बाइबलले के भन्छ? के परमेश्‍वरले हाम्रो भविष्य नियन्त्रण गर्नुहुन्छ?

स्वतन्त्र इच्छाबारे बाइबलले के भन्छ? के परमेश्‍वरले हाम्रो भविष्य नियन्त्रण गर्नुहुन्छ?

बाइबलको जवाफ

 परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ अर्थात्‌ हामीलाई आफ्नो निर्णय आफैले गर्न सक्ने क्षमता दिनुभएको छ। हामी भविष्यमा के गर्छौँ भनेर न भाग्यले तय गर्छ न त परमेश्‍वरले नै गर्नुहुन्छ। यसबारे बाइबलले के सिकाउँछ, विचार गर्नुहोस्‌।

  •   परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। (उत्पत्ति १:२६) हामी जनावरजस्तो छैनौँ किनभने परमेश्‍वरले जस्तै हामीले प्रेम र न्यायजस्ता गुणहरू देखाउन सक्छौँ। साथै परमेश्‍वरजस्तै हामीसित स्वतन्त्र इच्छा छ।

  •   आफ्नो भविष्य कस्तो बनाउने भन्‍नेबारे हामी आफैले निर्णय गर्न सक्छौँ। बाइबलले हामीलाई परमेश्‍वरको “आज्ञा मान्दै” जीवन रोज्न सल्लाह दिएको छ। (व्यवस्था ३०:१९, २०) यदि हामीसित स्वतन्त्र इच्छा नभएको भए परमेश्‍वरले यस्तो आग्रह गर्नु बेकार हुनेथ्यो, अझ भन्‍नुपर्दा क्रूर हुनेथ्यो। परमेश्‍वरले हामीलाई उहाँको इच्छाअनुसार चल्न जबरजस्ती गर्नुभएको छैन। बरु मायालु तरिकामा यस्तो आग्रह गर्नुभएको छ: “यदि तैँले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैँ . . . हुनेथियो!”—यशैया ४८:१८.

  •   हामी सफल हुन्छौँ वा हुँदैनौँ, त्यो हाम्रो भाग्यले निर्धारण गर्दैन। हामी सफल हुन चाहन्छौँ भने कडा मेहनत गर्नै पर्छ। त्यसैले बाइबल भन्छ: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌।” (उपदेशक ९:१०) अझ यसो पनि भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।”—हितोपदेश २१:५.

 स्वतन्त्र इच्छा परमेश्‍वरले दिनुभएको अनमोल उपहार हो। यस्तो उपहार पाएकोमा हामी उहाँलाई “आफ्नो सारा मनले” प्रेम गरौँ। हामी त्यसै गर्न चाहन्छौँ नि, होइन र?—मत्ती २२:३७.

परमेश्‍वरले सबै कुरा नियन्त्रण गर्नुहुन्‍न र?

 हो, बाइबलले परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ भनेर सिकाउँछ अर्थात्‌ उहाँको जस्तो अथाह शक्‍ति कसैको छैन। (अय्यूब ३७:२३; यशैया ४०:२६) तर उहाँ सबै कुरा नियन्त्रण गर्न आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्‍न। उदाहरणको लागि, परमेश्‍वरले आफ्ना जनहरूको शत्रु बेबिलोनलाई नाश गर्नदेखि ‘आफैलाई रोकिराख्नुभयो’ भनी बाइबलले बताउँछ। (यशैया ४२:१४) त्यसैगरि आज पनि उहाँले त्यस्ता मानिसहरूलाई केही गर्नुभएको छैन, जसले आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गरेर अरूलाई हानि पुऱ्‍याउँछन्‌। तर परमेश्‍वरले सधैँभरि यसरी सहेर बस्नुहुनेछैन।—भजन ३७:१०, ११.