शास्त्रपदको व्याख्या
गलाती ६:९—“भलाइ गर्ने काममा हामी नथाकौं”
“हामी असल काम गर्नमा हरेस नखाऔँ किनकि थाकेनौँ भने हामीले ठीक समयमा कटनी गर्नेछौँ।”—गलाती ६:९, नयाँ संसार अनुवाद।
“भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९, नयाँ संशोधित संस्करण।
गलाती ६:९ को अर्थ
प्रेषित पावलले ख्रिष्टियनहरूलाई परमेश्वरको नजरमा असल र भलाइको काम गरिरहन प्रोत्साहन दिए। यसो गरेमा तिनीहरू परमेश्वरबाट आशिष् पाउने कुरामा ढुक्क हुन सक्थे।
“हरेस नखाऔँ।” यस अभिव्यक्तिलाई “नथाकौं” भनेर पनि अनुवाद गर्न सकिन्छ। मूल भाषामा “हरेस नखाऔँ” भन्ने अभिव्यक्तिले निरुत्साहित नहुनु वा जोस नगुमाउनुलाई पनि बुझाउँछ। प्रेषित पावलले यस पदमा प्रयोग गरेका शब्दहरूबाट तिनले पनि निराशाको सामना गर्नुपरेको थियो भनेर बुझ्न सक्छौँ।—रोमी ७:२१-२४.
“असल काम”-मा ख्रिष्टियनहरूले परमेश्वरको सेवामा गर्नुपर्ने सबै काम समावेश छ। यसमा कुनै ख्रिष्टियनले भाइबहिनीको लागि र अरू मानिसको लागि गर्ने भलाइको काम पनि समावेश छ।—गलाती ६:१०.
“थाकेनौँ भने हामीले ठीक समयमा कटनी गर्नेछौँ।” जसरी बाली पाक्न समय लाग्छ, त्यसरी नै भलाइको कामको नतिजा देखिन पनि समय लाग्छ भनेर पावलले सम्झाउँदै थिए। पावलले यसै अध्यायको पद ७ मा पनि कटनीको कामबारे उल्लेख गर्दै यो अकाट्य सत्य बताए: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।” अर्को शब्दमा भन्नुपर्दा, कुनै ख्रिष्टियनले परमेश्वरको नजरमा असल काम गर्दा तिनले अनन्त जीवनलगायत अरू थुप्रै इनाम पाउनेछन्।—रोमी २:६, ७; गलाती ६:८.
गलाती ६:९ को प्रसङ्ग
प्रेषित पावलले यो पत्र इस्वी संवत् ५०-५२ तिर गलातियाका ख्रिष्टियनहरूलाई लेखेका थिए। त्यतिबेला गलातियाको मण्डलीमा आफू ख्रिष्टियन हुँ भनेर दाबी गर्ने तर येसुसित सम्बन्धित सत्यलाई बङ्ग्याउने केही मानिसहरू थिए। त्यसैले पावलले ख्रिष्टियनहरूलाई त्यस्ता मानिसहरूबाट जोगाउन यो पत्र लेखे। (गलाती १:६, ७) इस्राएल राष्ट्रलाई मोसामार्फत दिइएको व्यवस्था ख्रिष्टियनहरूलाई पनि लागू हुन्छ भनेर ती झूटा शिक्षकहरू तर्क गर्थे। (गलाती २:१५, १६) त्यसैले पावलले त्यस व्यवस्थाको उद्देश्य पूरा भइसक्यो र परमेश्वरका उपासकहरू त्यस व्यवस्थाको अधीनमा छैनन् भनेर बुझाए।—रोमी १०:४; गलाती ३:२३-२५.
पावलले ख्रिष्टियनहरूलाई “असल काम गर्न” प्रोत्साहन दिँदा मोसाको व्यवस्था पालन गर्न भनिरहेका थिएनन्। बरु “ख्रिष्टको व्यवस्था पूरा” गर्न भनिरहेका थिए। यस व्यवस्थामा अरूको लागि भलाइको काम गर्ने सन्दर्भमा येसुले सिकाउनुभएको सम्पूर्ण शिक्षा समावेश छ।—गलाती ६:२; मत्ति ७:१२; युहन्ना १३:३४.
गलातीको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्।