सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्‌?

यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्‌?

 यहोवाका साक्षीहरूले ख्रिष्टियन जीवनमा चाहिने विभिन्‍न तालिम निरन्तर रूपमा पाउँछन्‌। त्यसमध्ये एउटा हो, प्रचारकार्यको तालिम। येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यबारे सुनाउने र सिकाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभयो। (मत्ति २४:१४; २८:१९, २०) हामीले यो जिम्मेवारी पूरा गर्नको लागि चाहिने तालिम सभाहरू, अधिवेशनहरू र सम्मेलनहरूबाट पाउँछौँ। मण्डलीमा वा सङ्‌गठनमा कुनै खास जिम्मेवारी पाएकाहरूले भने विभिन्‍न ईश्‍वरतान्त्रिक स्कुलहरूमार्फत थप तालिम पाउँछन्‌।

यस लेखमा

 यहोवाका साक्षीहरूले के-कस्ता तालिम पाउँछन्‌?

 सभा। यहोवाका साक्षीहरूले हरेक हप्ता दुई पटक सभा गर्छन्‌। हामीले उपासना गर्ने ठाउँलाई सभाभवन भनिन्छ। एउटा सभा हप्ताको कुनै एक दिन गरिन्छ भने अर्को सभा चाहिँ सप्ताहन्तमा गरिन्छ। सभामा सबै जना आउन सक्छन्‌ र त्यहाँ कुनै चन्दा सङ्‌कलन गरिँदैन।

  •   मध्यहप्ताको सभा। हामीले सभाबाट अझै राम्ररी पढ्‌ने, कुराकानी गर्ने सीप तिखार्ने, भाषण दिने अनि साक्षी दिने र सिकाउने सन्दर्भमा तालिम पाउँछौँ। यी तालिमहरू हामीले भाषणहरू, छलफलहरू, प्रदर्शनहरू र भिडियो प्रस्तुतिहरूमार्फत पाउँछौँ। यसले हामीलाई अरूको मनसम्म पुग्नेगरि बाइबल सन्देश बाँड्‌न र चासो देखाउने व्यक्‍तिहरूसित अध्ययन गर्न मदत गर्छ। सभामा उपस्थित हुने सबैले यस तालिमबाट लाभ उठाउन सक्छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, सभाहरूले यहोवामाथिको हाम्रो विश्‍वास बलियो बनाउन अनि उहाँ र सङ्‌गी भाइबहिनीप्रतिको प्रेम बढाउन पनि मदत गर्छ।

  •   सप्ताहन्तको सभा। दुई भाग भएको यस सभामा पहिला बाइबलआधारित जनभाषण दिइन्छ। यो भाषण विशेषगरि नवआगन्तुकहरूले बुझ्न सक्नेगरि बनाइएको हुन्छ। त्यसपछिको भागमा प्रहरीधरहरा अध्ययन संस्करणको कुनै एउटा लेखबाट छलफल गरिन्छ। a यी लेखहरूमा हाम्रो साक्षीकार्य र व्यक्‍तिगत जीवनमा मदत दिने बाइबलआधारित विषयहरू र सिद्धान्तहरू पाइन्छ।

 सम्मेलनहरू र अधिवेशनहरू। हरेक वर्ष यहोवाका साक्षीहरूको तीन वटा ठूला जमघटहरू हुने गर्छ। त्यहाँ थुप्रै मण्डलीका भाइबहिनीहरू उपस्थित हुन्छन्‌। यी रमाइला कार्यक्रमहरू बाइबलको कुनै खास विषयमा आधारित हुन्छन्‌। यसमा थुप्रै भाषणहरू, प्रदर्शनहरू, अन्तर्वार्ताहरू र भिडियोहरू पनि हुन्छन्‌। सभाहरू, सम्मेलनहरू र अधिवेशनहरूले हामीलाई बाइबलबारे थप कुरा सिक्न र प्रभावकारी तरिकामा सुसमाचार सुनाउने व्यक्‍ति बन्‍न पनि मदत गर्छ। यहाँ पनि सबै जना आउन सक्छन्‌ र कुनै चन्दा सङ्‌कलन गरिँदैन।

 यहोवाका साक्षीहरूको लागि ईश्‍वरतान्त्रिक स्कुलहरू

 केही यहोवाका साक्षीलाई थप तालिमको लागि विभिन्‍न ईश्‍वरतान्त्रिक स्कुलहरूमा निम्तो दिइन्छ। के-कस्ता स्कुलहरूमा निम्तो दिइन्छ? यी स्कुलहरूको उद्देश्‍य के हो? यी स्कुलहरूको समयावधि कति हुन्छ? अनि क-कसले भाग लिन सक्छन्‌?

अग्रगामी सेवा स्कुल

  •   उद्देश्‍य: पूर्ण-समय सेवकहरू अर्थात्‌ अग्रगामीहरूलाई b साक्षी दिने र सिकाउने काममा अझ प्रभावकारी हुनको लागि तालिम दिन। यो स्कुलमा शिक्षक र विद्यार्थीबीचको छलफलहरू, प्रदर्शनहरू, भाषणहरू र कार्यशाला-गोष्ठीहरू हुन्छ।

  •   समयावधि: ६ दिन।

  •   क-कसले भाग लिने: अग्रगामी गरेको एक वर्ष भएकाहरू। अग्रगामी गरेको पाँच वर्ष भइसकेकाहरूले पनि निम्तो पाउन सक्छन्‌।


राज्य प्रचारकहरूका लागि स्कुल

  •   उद्देश्‍य: अनुभवी पूर्ण-समय सेवकहरूलाई विशेष तालिम दिन। यो स्कुलमा विद्यार्थीहरूलाई साक्षी दिने र सिकाउने सीप तिखार्न मदत दिइन्छ। साथै बाइबलका कुराहरू गहिरिएर अध्ययन गर्न पनि सिकाइन्छ। थुप्रै स्नातकहरूलाई राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा खटाइन्छ।

  •   समयावधि: दुई महिना।

  •   क-कसले भाग लिने: केही खास आवश्‍यकता पूरा गरेका अग्रगामीहरूले फाराम भर्न सक्छन्‌। तिनीहरू आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सरेर सेवा गर्न सक्ने अवस्थामा हुनुपर्छ।


मण्डलीका एल्डरहरूका लागि स्कुल

  •   उद्देश्‍य: एल्डरहरूलाई c मण्डलीका जिम्मेवारीहरू राम्ररी पूरा गर्नको लागि मदत दिन। जस्तै, सिकाउन र गोठालो भेट गर्न। साथै यो स्कुलले परमेश्‍वर र भाइबहिनीप्रतिको प्रेम बढाउन पनि मदत गर्छ।—१ पत्रुस ५:२, ३.

  •   समयावधि: पाँच दिन।

  •   क-कसले भाग लिने: भर्खरै नियुक्‍त भएका एल्डरहरूका साथै विगत पाँच वर्षदेखि यस स्कुलमा उपस्थित नभएका अनुभवी एल्डरहरूले पनि निम्तो पाउँछन्‌।


क्षेत्रीय निरीक्षक र तिनीहरूका पत्नीका लागि स्कुल

  •   उद्देश्‍य: परिभ्रमण निरीक्षक अर्थात्‌ क्षेत्रीय निरीक्षकहरूलाई d सुम्पिइएको जिम्मेवारी अझ प्रभावकारी तरिकामा पूरा गर्नको लागि मदत दिन। (१ तिमोथि ५:१७) साथै यो स्कुलले एल्डरहरू र तिनका पत्नीहरूलाई धर्मशास्त्रको अझ गहिरो ज्ञान हासिल गर्न पनि मदत गर्छ।

  •   समयावधि: एक महिना।

  •   क-कसले भाग लिने: क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेको एक वर्षपछि निरीक्षक र तिनकी पत्नीलाई यो स्कुलको निम्तो दिइन्छ। अनि हरेक पाँच वर्षमा तिनीहरूले फेरि यस स्कुलको निम्तो पाउन सक्छन्‌।


राज्य सेवा स्कुल

  •   उद्देश्‍य: एल्डरहरू र सहायक सेवकहरूलाई e मण्डलीको अवस्था र आवश्‍यकताअनुसार सुम्पिइएको जिम्मेवारी पूरा गर्नको लागि मदत दिन। (२ तिमोथि ३:१) यो स्कुल केही वर्षको फरकमा हुने गर्छ।

  •   समयावधि: यो स्कुलको समयावधि फरक-फरक हुन्छ, अक्सर एक दिन।

  •   क-कसले भाग लिने: क्षेत्रीय निरीक्षकहरू, एल्डरहरू र सहायक सेवकहरू।


बेथेल सेवा स्कुल

  •   उद्देश्‍य: बेथेल f सेवकहरूलाई सुम्पिइएको काम राम्ररी पूरा गर्न अनि परमेश्‍वर र भाइबहिनीप्रतिको प्रेम बढाउनको लागि मदत दिन।

  •   समयावधि: साढे पाँच दिन।

  •   क-कसले भाग लिने: नयाँ बेथेल सेवकहरूलाई निम्तो दिइन्छ। पाँच वर्षअगाडि यस स्कुलमा भाग लिएकाहरूले फेरि निम्तो पाउन सक्छन्‌।


गिलियड स्कुल

  •   उद्देश्‍य: विद्यार्थीहरूलाई परमेश्‍वरको वचनप्रतिको गहिरो कृतज्ञता विकास गर्न र आफूले सिकेको कुरा लागू गर्नको लागि मदत दिन। (१ थिस्सलोनिकी २:१३) आध्यात्मिक रूपमा परिपक्व ख्रिष्टियन भाइबहिनीले यस स्कुलमा भाग लिँदा तिनीहरू यहोवाको सङ्‌गठन र विश्‍वव्यापी शैक्षिककार्यको लागि अझै उपयोगी साबित हुनेछन्‌। स्नातकहरूलाई तिनीहरूको आफ्नै देश वा फरक देशको शाखा कार्यालय वा इलाकामा प्रचार गर्न खटाइन सक्छ।

  •   समयावधि: पाँच महिना।

  •   क-कसले भाग लिने: शाखा कार्यालयले केही पूर्ण-समय सेवकहरूलाई आवेदन भर्नको लागि आग्रह गर्छ। यो स्कुल अमेरिकाको प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्रमा सञ्चालन गरिन्छ।


शाखा समितिका सदस्य र तिनीहरूका पत्नीका लागि स्कुल

  •   उद्देश्‍य: शाखा समितिका g सदस्यहरूलाई शाखामा हुने कामहरूको निरीक्षण राम्ररी गर्नको लागि मदत दिन र शाखा कार्यालयले रेखदेख गर्ने देशहरूमा भएका यहोवाका साक्षीहरूको आध्यात्मिक गतिविधिको सुपरिवेक्षण गर्न।

  •   समयावधि: दुई महिना।

  •   क-कसले भाग लिने: यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयले यस स्कुलमा भाग लिन केही शाखा समितिका भाइहरू र तिनीहरूका पत्नीलाई निम्तो दिन्छ। यो स्कुल अमेरिकाको प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्रमा सञ्चालन गरिन्छ।

 यहोवाका साक्षीहरूलाई दिइने तालिम केमा आधारित हुन्छ?

 यहोवाका साक्षीहरूले पाउने तालिमहरू बाइबलमा आधारित हुन्छन्‌। बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको किताब हो भनेर हामी विश्‍वास गर्छौँ र यसमा ख्रिष्टियन जीवनको हर क्षेत्रमा चाहिने उत्कृष्ट निर्देशनहरू पाइन्छ।—२ तिमोथि ३:१६, १७.

 के यहोवाका साक्षीहरूले तालिमको लागि पैसा तिर्नुपर्छ?

 अहँ, तिर्नुपर्दैन। यहोवाका साक्षीहरूको सम्पूर्ण गतिविधि राजीखुसीले दिइने अनुदानमार्फत सञ्चालन गरिन्छ।—२ कोरिन्थी ९:७.

a बाइबल र बाइबलमा आधारित प्रकाशनहरू jw.org वेबसाइटमा उपलब्ध छन्‌।

b अग्रगामी भाइ वा बहिनी बप्तिस्माप्राप्त उदाहरणीय व्यक्‍ति हुन्‌। तिनले हरेक महिना अरूलाई बाइबलको सुसमाचार सुनाउन तोकिएको घण्टा पुऱ्‍याउने लक्ष्य राखेका हुन्छन्‌।

c एल्डरहरू परिपक्व ख्रिष्टियन पुरूषहरू हुन्‌। तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई बाइबलबाट सिकाउनुका साथै गोठालो भेट गरेर मदत र प्रोत्साहन दिन्छन्‌। यो गरेबापत तिनीहरूले कुनै पैसा पाउँदैनन्‌।

d क्षेत्रीय निरीक्षक पूर्ण-समय सेवक हुन्‌। तिनले हरेक हप्ता आफ्नो क्षेत्रका विभिन्‍न मण्डलीमा भ्रमण गर्छन्‌। तिनले बाइबलमा आधारित भाषणहरू दिनुका साथै भाइबहिनीसित प्रचारमा भाग लिएर तिनीहरूलाई प्रोत्साहन दिन्छन्‌।

e सहायक सेवकहरूले भाइबहिनीलाई विभिन्‍न तरिकामा व्यावहारिक मदत दिन्छन्‌, जसले गर्दा एल्डरहरूले सिकाउन र गोठालो भेट गर्न अझ बढी समय पाउँछन्‌।

f यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई बेथेल भनिन्छ। बेथेलमा सेवा गर्ने पूर्ण-समय सेवकहरूले स्थानीय शाखाको क्षेत्रमा भएका साक्षीहरूको गतिविधिलाई सघाउँछन्‌।

g शाखा समिति आध्यात्मिक रूपमा परिपक्व तीन जना वा सोभन्दा धेरै पुरुषहरू मिलेर बनेको हुन्छ।