गम्भीर रोगको बाबजुद तिनी दृढ छिन्
भर्जिनिया यहोवाका साक्षी हुन्। तिनलाई एउटा गम्भीर रोग लागेको छ, जसलाई लक्ड इन सिन्ड्रोम भनिन्छ। तिनको पूरै शरीर पक्षाघात भएको छ। तिनी हेर्न र सुन्न, आँखा खोल्न र बन्द गर्न अनि टाउको अलि-अलि चलाउन सक्छिन्। यो रोग लाग्नुअघि तिनी स्वस्थ र फुर्तिली थिइन्। तर १९९७ मा अचानक एक दिन बिहान तिनले टाउकोको पछाडितिर कुनै तीखो चीजले घोचेको जस्तो पीडा महसुस गरिन्। तिनको पतिले तिनलाई अस्पताल लगे र त्यही साँझ तिनी कोमामा गइन्। त्यसको दुई हप्तापछि होस खुल्दा तिनी आई सि यु-मा थिइन्। तिनको पूरै शरीर पक्षाघात भएको थियो र तिनी भेन्टिलेटरमा थिइन्। केही दिनसम्म तिनले केही पनि सम्झिन सकिनन्, आफू को हुँ भनेर पनि याद भएन।
त्यसपछिको घटनाबारे भर्जिनिया यसो भन्छिन्: “मैले बिस्तारै अलि-अलि कुरा सम्झन थालेँ। मैले व्यग्र प्रार्थना गरेँ। म सानो छोरालाई टुहुरो बनाएर मर्न चाहन्नथेँ। साहस बटुल्न मैले सकेजति बाइबल पदहरू सम्झने कोसिस गरेँ।
“पछि डाक्टरहरूले मलाई आई सि यु-बाट निकाले। विभिन्न अस्पताल र पुनर्स्थापना केन्द्रमा छ महिनाजति बसेपछि म घर फर्केँ। मलाई पक्षाघात भएकोले अरूको सहाराविना केही पनि गर्न सक्दिनथेँ। एकदमै निराश थिएँ! अरूको लागि र यहोवाको लागि आफू कुनै कामको छैनँ जस्तो लाग्थ्यो। मेरो छोराको हेरचाह कसले गर्ला भनेर पनि चिन्ता लाग्थ्यो।
“मलाईजस्तै गम्भीर रोग लागेका साक्षीहरूको अनुभव पढ्न थालेँ। तिनीहरूले गाह्रो अवस्थामा पनि के-के गरे भनेर पढ्दा छक्कै परें। त्यसपछि मैले पनि गर्न सक्ने कुरामा ध्यान दिएर सकारात्मक मनोवृत्ति राख्ने प्रयास गरेँ। बिरामी हुनुअघि आध्यात्मिक गतिविधिहरूमा भाग लिन मसित धेरै समय थिएन। तर अहिले भने प्रशस्तै समय छ। हरेस खानुको साटो यहोवाको लागि के गर्न सक्छु भनेर सोच्न थालेँ।
“मैले कम्प्युटर चलाउन सिकेँ। मेरो टाउकोको हलचल बुझ्ने सफ्टवेयर चलाएर टाइप गर्छु। हुनत एकदम गाह्रो हुन्छ तर यस प्रविधिले गर्दा मैले बाइबल अध्ययन गर्न र मेरो आशाबारे अरूलाई चिठी र ईमेलमार्फत बताउन सक्छु। वरपरका मानिसहरूसित कुराकानी गर्न अक्षरहरू लेखिएको बोर्ड चलाउँछु। अर्को व्यक्तिले एक-एक अक्षरलाई देखाउँदै शब्द बनाउँछ। गलत अक्षर छान्दा म आँखा ठूलो खोल्छु अनि सही अक्षर छान्दा आँखा चिम्म गर्छु। यसरी हामी शब्द-शब्द मिलाएर पूरै वाक्य बनाउँछौँ। मसित धेरै समय बिताउने केही बहिनीले मैले भन्न खोजेको कुरा बुझिहाल्छन्। कहिलेकाहीँ तिनीहरूले गलत शब्द देखाउँदा हामी मजाले हाँस्छौँ।
“मलाई मण्डलीका गतिविधिहरूमा भाग लिन मन पर्छ। अहिले म भिडियोकन्फरेन्समार्फत सभामा उपस्थित हुन्छु। म टिप्पणीहरू टाइप गर्छु अनि कसैले त्यो पढेर सुनाइदिन्छ। म हरेक महिना साक्षीहरूको एउटा सानो समूहसित मिलेर JW ब्रोडकास्टिङ कार्यक्रम हेर्छु। a
“मलाई यो गम्भीर रोग लागेको २३ वर्ष भइसक्यो। कहिलेकाहीँ म निराश हुन्छ। तर प्रार्थना गरेर, भाइबहिनीसित समय बिताएर अनि आध्यात्मिक गतिविधिमा व्यस्त रहेर निराशा हटाउन सकेकी छु। मण्डलीको साथ पाएकीले गत छ वर्षदेखि सहायक अग्रगामीको रूपमा सेवा गर्न सकेकी छु। मेरो छोरा आलेसान्द्रोको लागि पनि राम्रो उदाहरण बसाल्न सधैँ कोसिस गरेँ। तिनको विवाह भइसक्यो र एल्डरको रूपमा सेवा गर्दै छन्। छोरा-बुहारी दुवैले नियमित अग्रगामीको रूपमा सेवा गर्दै छन्।
“पछि प्रमोदवनमा के-के गर्न सक्छु होला भनेर म अक्सर मनन गर्ने गर्छु। सबैभन्दा पहिलो कुरा त, म आफ्नै आवाज निकालेर यहोवासित कुरा गर्न चाहन्छु। रमणीय दृश्यको आनन्द उठाउँदै खोल्साको छेउ-छेउमा हिँड्न चाहन्छु। गएको २० वर्षदेखि झोल पदार्थ मात्र खाँदै छु। त्यसैले रूखबाट स्याउ टिपेर खान चाहन्छु। ओहो! अनि पिज्जा बनाउने र अरू मीठो-मीठो परिकार पकाउने र खाने त छँदै छ, किनभने म परेँ इटालियन!
“‘आशाको टोपले’ मेरो सोचाइको रक्षा गरेको छ। (१ थिस्सलोनिकी ५:८) नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्दा अहिले अस्वस्थ भए पनि रमाउन सक्छु! किनभने मलाई थाह छ, म चाँडै स्वस्थ हुनेछु! यहोवाले आफ्नो राज्यमार्फत दिनुहुने ‘साँच्चैको जीवनको’ उत्कट प्रतीक्षामा छु।”—१ तिमोथि ६:१९; मत्ति ६:९, १०.
a JW ब्रोडकास्टिङ को लिङ्क jw.org/ne मा पाइन्छ।