१९२४—एक सय वर्षअघि
बुलेटिन a पत्रिकाको जनवरी, १९२४ को अङ्कमा यस्तो लेखिएको थियो: “बप्तिस्मा गरेका सबै ख्रिष्टियनले यहोवाको सेवालाई कसरी विस्तार गर्न सकिन्छ भनेर यस वर्षको सुरुमै विचार गर्नु राम्रो हो।” त्यस वर्षभरि बाइबल स्टुडेन्टस्ले उक्त सल्लाह दुइटा तरिकामा लागू गरे: (१) साक्षी दिने नयाँ तरिका अपनाएर अनि (२) निडर भई साक्षीकार्यमा भाग लिएर।
साक्षी दिने नयाँ तरिका—रेडियो प्रसारण
बेथेलका भाइहरूले न्यु योर्क सहरको स्टेटन आइल्याण्डमा डब्ल्यूबीबीआर (WBBR) रेडियो स्टेसन बनाउन काम गरिरहेको एक वर्षभन्दा धेरै भइसकेको थियो। तिनीहरूले त्यहाँ भएका रूखहरू काटिसकेपछि बस्नको लागि एउटा ठूलो घर बनाए र उपकरणहरू राख्नको लागि अर्को घर पनि बनाए। यो काम पूरा भएपछि भाइहरूले प्रसारण सुरु गर्न रेडियो स्टेसनका उपकरणहरू जडान गर्न थाले। तर त्यो काम त्यति सजिलो हुनेवाला थिएन।
भाइहरूलाई मुख्य एन्टेना ठड्याउन निकै गाह्रो भयो। तीन सय फिट अग्लो यो एन्टेना दुई वटा काठको खामोको बीचमा ठड्याउनुपर्ने थियो। ती खामोहरू २०० फिट अग्ला थिए। तिनीहरूको सुरुको प्रयास असफल भयो। भाइहरूले यहोवामा भरोसा राखेर प्रयास गरिरहे र तिनीहरू बल्ल सफल भए। यस काममा भाग लिएका क्याल्भिन प्रासरले यसो भने: “हाम्रो पहिलो प्रयास नै सफल भएको भए ‘हेर त हामीले कत्ति ठूलो काम गऱ्यौँ’ भनेर हामी मक्ख पर्ने थियौँ।” तर भाइहरूले आफ्नो सफलतामा घमन्ड गरेनन्। बरु यस सफलताको श्रेय यहोवालाई दिए। काम गर्दै जाँदा अरू समस्याहरू पनि देखा परे।
रेडियो प्रसारणको प्रविधि भर्खर-भर्खर विकास हुँदै थियो। त्यसैले बजारमा त्यस्ता उपकरणहरू सजिलै उपलब्ध थिएनन्। भाइहरूले सेकेन्ड-ह्यान्ड अनि कामचलाउ किसिमको ५०० वाटको ट्रान्समिटर किने। तिनीहरूले नयाँ माइक्रोफोन किन्नुको साटो त्यतिबेलाको टेलिफोनको माइक्रोफोन प्रयोग गरे। फेब्रुअरी महिनाको एक रातको कुरा हो, भाइहरूले यी कामचलाउ उपकरणहरू प्रयोग गरेर रेडियो प्रसारण टेस्ट गर्ने विचार गरे। त्यसो गर्न तिनीहरूसित खासै कुनै कार्यक्रम नभएकोले तिनीहरूले राज्यगीतहरू गाए। त्यतिबेला भएको एउटा रमाइलो घटना भाइ अर्नेस्ट लोले कहिल्यै बिर्सन सकेनन्। तिनीहरूले गीत गाइरहेको बेला भाइ रदरफोर्डबाट b एउटा फोन कल आयो। उहाँ त्यतिबेला लगभग २५ किलोमिटर टाढा ब्रूक्लिनमा आफ्नो रेडियोमा तिनीहरूको गीत सुन्दै हुनुहुन्थ्यो।
भाइ रदरफोर्डले जोक गर्दै यसो भन्नुभयो: “तिमीहरूको झ्याउँझ्याउँ बन्द गर! कस्तो बिरालोजस्तो ङ्यार्रङुर्र गरिरा’को!” लाज मान्दै भाइहरूले तुरुन्तै ट्रान्समिटर बन्द गरे। तर रेडियोले काम गरिरहेको छ भन्ने कुरामा तिनीहरू ढुक्क भए। अब भने तिनीहरू पहिलो कार्यक्रम प्रसारण गर्न तयार थिए।
डब्ल्यूबीबीआर रेडियो स्टेसनको पहिलो औपचारिक प्रसारण फेब्रुअरी २४, १९२४ मा भयो। भाइ रदरफोर्डले यो रेडियो स्टेसन हाम्रा “राजा येसु ख्रिष्टले अह्राउनुभएको काम पूरा गर्न” समर्पित हुनेछ भनेर बताउनुभयो। साथै यसको उद्देश्य “मानिसहरूको धर्म वा सम्प्रदाय जेसुकै भए तापनि तिनीहरूलाई बाइबलको सत्य र हामी कस्तो समयमा बाँचिरहेका छौँ भनेर बुझाउनु हो” भनेर प्रस्ट पार्नुभयो।
पहिलो प्रसारण निकै सफल भयो। त्यसपछि ३३ वर्षसम्म रेडियो प्रसारणको मुख्य केन्द्र डब्ल्यूबीबीआर नै भयो।
एउटा साहसिक कदम—पास्टरहरूमाथि महाअभियोग
जुलाई १९२४ मा बाइबल स्टुडेन्ट्स ओहायोको कोलम्बसमा आयोजित अधिवेशनमा भेला भए। संसारभरिबाट प्रतिनिधिहरू आए। त्यतिबेला अरबिक, इङ्गलिस, फ्रेन्च, जर्मन, ग्रीक, हङ्गेरियन, इटालियन, लिथुएनियन, पोलिश, रसियन, स्क्यान्डिनेभियन भाषाहरू र युक्रेनियन भाषामा पनि केही भाषणहरू दिइएको थियो। कुनै-कुनै भाषणहरू रेडियोमार्फत प्रसारण गरिए। साथै ओहायो स्टेट जर्नल अखबारमा हाम्रो अधिवेशनको हरेक दिनको रिपोर्ट छाप्ने प्रबन्ध पनि मिलाइयो।
बिहीबार, जुलाई २४ मा ५ हजारभन्दा धेरै भाइबहिनीले साक्षीकार्यमा भाग लिए। तिनीहरूले झन्डै ३० हजार वटा किताब वितरण गरे र हजारौँ बाइबल अध्ययन सुरु गरे। द वाच टावर-ले त्यस दिनलाई “अधिवेशनकै सबैभन्दा रमाइलो दिन” भन्यो।
अधिवेशनको अर्को उल्लेखनीय दिन शुक्रबार, जुलाई २५ थियो। भाइ रदरफोर्डले पास्टरहरूमाथि लगाइएको महाअभियोग जोडदार ढङ्गमा पढेर सुनाउनुभयो। त्यो महाअभियोग कानुनी भाषाशैलीमा लेखिएको थियो। त्यसमा राजनैतिक नेता, धर्मगुरु र व्यापारीहरूले “मानिसहरूलाई परमेश्वरको राज्यबारे अन्धकारमा राखेको” आरोप लगाइएको थियो। साथै तिनीहरूले “राष्ट्र सङ्घलाई समर्थन गरेका छन् र त्यसैमार्फत ‘परमेश्वरले शासन
गर्नुहुन्छ’ भनेर घोषणा गरेका छन्” भन्ने आरोप पनि लगाइएको थियो। यस्तो सन्देश सुनाउन बाइबल स्टुडेन्ट्सलाई निकै साहस चाहिन्थ्यो।द वाच टावर-मा छापिएको एउटा लेखअनुसार “त्यस अधिवेशनमा उपस्थित भएका जोसिला भाइबहिनीको विश्वास अझ बलियो भयो . . . र तिनीहरू जस्तोसुकै बाधा-अवरोध आइपरे तापनि साहसी भई साक्षीकार्यमा भाग लिन तयार भए।” अधिवेशनमा उपस्थित भएका लियो क्लाउजले त्यतिबेलाको कुरा सम्झँदै यसो भने: “हामी आ-आफ्नो इलाकामा गएर यो महाअभियोग छापिएको पर्चा सबैलाई बाँड्न तम्तयार थियौँ।”
भाइ रदरफोर्डले अधिवेशनमा पढेर सुनाउनुभएको पास्टरहरूमाथि महाअभियोग पछि पर्चाको रूपमा छापियो। अक्टोबरमा बाइबल स्टुडेन्ट्सले त्यसको लाखौँ प्रति वितरण गरे। ओक्लाहामा राज्यको क्लिभल्याण्ड भन्ने सानो सहरमा भाइ फ्र्याङ्क जोन्सनले पूरै इलाकामा पर्चा वितरण गर्नुभयो। तर अरू भाइबहिनीसित भेट्न अझै २० मिनेट बाँकी थियो। उहाँ सबैले देख्ने ठाउँमा पर्खेर बस्नु सुरक्षित थिएन। किनभने उहाँको साक्षीकार्यले गर्दा मानिसहरू असाध्यै रिसाएका थिए र उहाँलाई खोजिरहेका थिए। त्यसैले भाइ जोन्सन नजिकैको चर्चमा लुक्न जानुभयो। त्यो चर्चमा कोही पनि नभएकोले उहाँले पास्टरहरूमाथि महाअभियोग पर्चा त्यस चर्चको पास्टरको बाइबलमा र सबै सिटमा छिटोछिटो राख्नुभयो। अनि तुरुन्तै त्यहाँबाट निस्किहाल्नुभयो। भाइबहिनीसित भेट्न अझै केही समय बाँकी भएकोले उहाँ अर्को दुइटा चर्चमा जानुभयो र त्यसै गर्नुभयो।
त्यसपछि भाइ फ्र्याङ्क अरू भाइबहिनीसित भेट्न मिलाउनुभएको ठाउँमा हतारहतार जानुभयो। उहाँलाई खोजिरहेका अरू मानिसहरूबाट बच्न उहाँ पेट्रोल पम्पमा लुक्नुभयो। हुनत ती मानिसहरू उहाँलाई खोज्दै त्यहाँ आएका थिए तर तिनीहरूले उहाँलाई देखेनन्। तिनीहरू जानेबित्तिकै सँगै साक्षी दिइरहेका अरू भाइबहिनी फ्र्याङ्कलाई लिन आइपुगे अनि सबै जना त्यहाँबाट निस्के।
त्यस घटनालाई सम्झँदै एक जना भाइले यसो भने: “पर्चा वितरण गरेको तीन वटा चर्चको बाटो भएर फर्कँदै गर्दा हामीले प्रत्येक चर्चबाहिर ५० जनाजति मानिस हूल बाँधेर बसिरहेको देख्यौँ। तिनीहरूमध्ये कसै-कसैले पर्चा पढिरहेका थिए भने अरू कतिले चाहिँ पास्टरलाई त्यो देखाइरहेका थिए। धन्न, हामी बेलैमा त्यहाँबाट भागेकोले तिनीहरूले हामीलाई भेट्टाउन सकेनन्। त्यो पर्चा मानिसहरूलाई बाँड्न सकेकोमा र सुरक्षित रहन सकेकोमा हामीले यहोवालाई धन्यवाद दियौँ।”
साहसी भई साक्षी दिँदै
अरू देशहरूमा पनि बाइबल स्टुडेन्ट्सले साहसी भई साक्षी दिए। उत्तरी फ्रान्समा भाइ योसेफ क्रेटले पोल्याण्डबाट आएका कामदारहरूलाई साक्षी दिनुभयो। त्यहाँ एउटा भाषण दिने प्रबन्ध मिलाइएको थियो। भाइ क्रेटले दिनुहुने त्यस भाषणको विषय थियो, “मरेकाहरू अब चाँडै जीवित हुनेछन्।” भाइबहिनीले त्यो भाषणको निम्तो दिँदै गर्दा त्यहाँको पास्टरले मानिसहरूलाई त्यो भाषण सुन्न नजानू भने। भाषण सुन्न नजानू भनेको भाषण सुन्न जानू भनेको जस्तै भयो। त्यो भाषण सुन्न ५ हजारभन्दा धेरै मानिस आए र त्यस समूहमा त्यही पास्टर पनि थिए। भाइ क्रेटले तिनलाई आफूले विश्वास गरेका कुराहरूबारे बताउन आग्रह गर्नुभयो तर तिनले मानेनन्। ती मानिसहरू आध्यात्मिक रूपमा भोकाएका थिए। त्यसैले भाइ क्रेटले आफूसित भएका सबै प्रकाशन तिनीहरूलाई दिनुभयो।—आमो. ८:११.
भाइ क्लड ब्राउनले अफ्रिकाको घानामा साक्षी दिन थाल्नुभयो। उहाँका भाषणहरू र उहाँले वितरण गर्नुभएका साहित्यले गर्दा थुप्रैले साक्षी पाए। त्यतिबेला फार्मेसी पढिरहेका जोन ब्ल्याङ्क्सन भाइ ब्राउनको भाषण सुन्न आएका थिए। भाषण सुनेपछि सत्य यही हो भन्ने कुरामा
तिनी पक्का भए। तिनले यसो भने: “मलाई असाध्यै खुसी लाग्यो अनि मैले फार्मेसी कलेजमा अरूलाई पनि यसबारे सुनाउन थालेँ।”जोनले त्रिएकको शिक्षा बाइबलसित मेल खाँदैन भनेर बुझे। त्यसैले तिनी त्रिएकबारे पास्टरलाई सोध्न एउटा चर्चमा गए। ती पास्टर असाध्यै रिसाए र तिनलाई यसो भन्दै लखेटे: “यहाँबाट गइहाल! तिमी ख्रिष्टियन होइनौ। तिमी सैतानको पछि लाग्दै छौ!”
घर पुगेपछि जोनले ती पास्टरलाई सर्वसाधारण भेला हुने ठाउँमा आएर त्रिएकबारे छलफल गर्न आग्रह गर्दै चिठी लेखे। ती पास्टरले जोनलाई फार्मेसी कलेजको प्रमुख शिक्षककहाँ जानू भनेर लेखे। जोन ती शिक्षकको अफिसमा गए। ती शिक्षकले जोनलाई ‘तिमीले पास्टरलाई साँच्चै त्यस्तो चिठी पठाएको हो’ भनेर सोधे।
जोनले “हो सर” भने।
प्रमुख शिक्षकले जोनलाई पास्टरसित माफी माग्दै एउटा पत्र लेख्नू भने। त्यसैले जोनले यस्तो लेखे:
“सर, मेरो शिक्षकले तपाईँसित माफी माग्दै एउटा पत्र लेख्नू भन्नुभएको छ। म माफी माग्न तयार छु तर एउटा सर्तमा: तपाईँले झूटा शिक्षाहरू सिकाइरहनुभएको कुरा स्विकार्नुपर्छ।”
शिक्षक ट्वाँ परे र जोनलाई सोधे, “तिमीले साँच्चै यही लेख्न खोजेको हो?”
“हो सर।”
“तिमी भोलिदेखि कलेजमा नआए हुन्छ। यत्ति ठूलो चर्चको पास्टरविरुद्ध यस्तो नचाहिँदो कुरा गर्ने हो?”
“तर सर, तपाईँले क्लासमा पढाउनुहुँदा हामीले कुनै कुरा बुझेनौँ भने प्रश्न सोध्न त पाइयो नि हैन?”
“त्यो त पाइयो।”
“सर, मैले भन्न खोजेको त्यही हो। उहाँले हामीलाई बाइबलबाट सिकाउँदै हुनुहुन्थ्यो अनि मैले उहाँलाई एउटा प्रश्न सोधेँ। तर उहाँले जवाफ दिन सक्नुभएन। अनि उल्टै मैले उहाँसित माफी मागेर पत्र लेख्नुपर्ने हो र सर?”
जोनलाई कलेजबाट निकालिएन र तिनले माफी पनि माग्नुपरेन।
राज्य गतिविधिलाई अघि बढाउँदै
सन् १९२४ को गतिविधिबारे द वाच टावर-ले यसो भन्यो: “हामी पनि दाउदजस्तै यसो भन्न सक्छौँ, ‘तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ।’ (भजन १८:३९) यो वर्ष साँच्चै प्रोत्साहनजनक साबित भयो किनभने हामीले यहोवाबाट मदत पाएको अनुभव गर्न सक्यौँ। उहाँका वफादार सेवकहरूले रमाउँदै साक्षी दिइरहेका छन्।”
सन् १९२४ को अन्ततिर भाइहरूले अर्को एउटा रेडियो स्टेसन थप्ने योजना बनाए। त्यो रेडियो स्टेसन सिकागोमा बनाइयो र त्यसको नाम ‘वर्ड’ (WORD) राखियो। पाँच हजार वाटको ट्रान्समिटर प्रयोग गरिएकोले त्यहाँबाट प्रसारण गरिएको कार्यक्रम हजारौँ किलोमिटर पर क्यानाडासम्म पनि सुन्न सकिन्थ्यो।
सन् १९२५ मा आध्यात्मिक ज्योति अझ चहकिलो हुनेवाला थियो। अनि बाइबल स्टुडेन्ट्सले प्रकाश अध्याय १२ को अर्थ अझ राम्ररी बुझ्न सक्ने थिए। यो नयाँ बुझाइले गर्दा कसै-कसैले ठेस खाने थिए। तर अरू थुप्रै भने स्वर्गमा भएका घटनाहरू र त्यसले पृथ्वीमा यहोवाका जनहरूलाई कस्तो असर पार्छ भनेर बुझ्न पाउँदा अझ खुसी हुने थिए।