हाम्रो अभिलेखालयबाट
पोर्चुगलमा राज्यको बिउ छर्ने काम कसरी सुरु भयो?
ब्राजिलबाट युरोपतिर गइरहेको पानीजहाजलाई जसै आन्द्र महासागरको छालले हिर्काइरहेको थियो, जर्ज यङ नाम गरेका एक यात्री आफूले ब्राजिलमा राज्यको बिउ छर्न गरेको मेहनतलाई सम्झेर सन्तुष्ट महसुस गरिरहनुभएको थियो। * तर यात्रा अघि बढ्दै जाँदा आफ्नो नयाँ जिम्मेवारीतिर उहाँले आफ्नो ध्यान मोड्नुभयो। उहाँ अब स्पेन र पोर्चुगलको इलाकाहरूमा जाँदै हुनुहुन्थ्यो र त्यहाँका अधिकांश ठाउँहरूमा कहिल्यै प्रचार गरिएको थिएन। त्यहाँ पुगेपछि भाइ जे. एफ. रदरफोर्डको भाषणको प्रबन्ध मिलाउने र तीन लाख पर्ची बाँड्ने योजना उहाँले बनाउनुभएको थियो!
सन् १९२५ को वसन्त ऋतुमा लिस्बन आइपुग्दा भाइ यङले त्यहाँ निकै गोलमाल मच्चिरहेको पाउनुभयो। सन् १९१० को क्रान्तिले त्यहाँको राजसत्तालाई हटाएको थियो अनि क्याथोलिक चर्चको प्रभावलाई पनि निकै कमजोर बनाइदिएको थियो। आम मानिसहरूले पहिलेभन्दा धेरै स्वतन्त्रता पाएका थिए तर देशमा निकै अशान्ति छाइरहेको थियो।
पोर्चुगलमा भाइ यङले भाइ रदरफोर्डको भाषणको प्रबन्ध मिलाएलगत्तै सरकारले देशमा सैनिक शासन लागू गऱ्यो किनकि त्यतिबेला कु गरेर सत्ता कब्जा गर्ने प्रयास गरिएको थियो। बेलायती र विदेशी बाइबल सोसाइटीका सचिवले भाइ यङलाई उहाँले चर्को विरोधको सामना गर्नुपर्नेछ भनेर चेतावनी दिएका थिए। तैपनि भाइ यङले केमोइन्स माध्यामिक विद्यालयको व्यायामशाला प्रयोग गर्न अनुमति माग्नुभयो अनि उहाँलाई अनुमति दिइयो!
भाइ रदरफोर्डले मे १३ का दिन भाषण दिने योजना बनाइएको थियो। त्यो दिन मानिसहरू निकै उत्सुक देखिन्थे! भित्ताहरूमा अनि पत्रिकाहरूमा “पृथ्वीमा सधैँभरि बाँच्न के गर्नुपर्छ?” भन्ने विषयको भाषणको विज्ञापन गरिएको थियो। धार्मिक विरोधीहरूले पनि आफ्ना समर्थकहरूलाई सचेत गराउन हत्त न पत्ता आफ्नो पत्रिकामा भर्खरै आएका “झूटा भविष्यवक्ताहरूदेखि सतर्क रहनू” भनेर एउटा लेख छापे। त्यसका साथै व्यायामशालाको प्रवेशद्वारमा विरोधीहरूले भाइ रदरफोर्डले सिकाउनुभएको शिक्षाको खण्डन गर्ने जानकारी भएका हजारौँ पुस्तिकाहरू वितरण गरे।
त्यसको बाबजुद करिब २,००० मानिसहरू भेला भए र व्यायामशाला खचाखच भरियो। अनि झन्डै त्यति नै मानिसहरू ठाउँ नपुगेकोले फर्किनुपऱ्यो। भाषण सुन्न जोसिएका केही श्रोताहरूले व्यायामशालाको दायाँ-बायाँ डोरीको भऱ्याङमा झुन्डिएर भाषण सुने; केहीले भने व्यायाम गर्ने उपकरणहरूमा अडिँदै सुने।
कार्यक्रम त्यति सजिलैसँग त सम्पन्न भएन। विरोधीहरूले हल्ला गरे अनि कुर्सीहरू भाँचिदिए। तर भाइ रदरफोर्डले नआत्तिइकन भाषण दिइरहनुभयो। अनि आफ्नो आवाज राम्ररी सुनियोस् भनेर बिस्तारै एउटा टेबुलमा चढ्नुभयो। उहाँको भाषण सकिँदासम्म मध्यरात हुन लागिसकेको थियो। त्यसपछि चासो दिनेहरू १,२०० भन्दा धेरैले बाइबल साहित्यहरू पाउनको लागि आफ्नो नाम र ठेगाना टिपाए। त्यसको भोलिपल्टै ओ सेक्युलो पत्रिकाले भाइ रदरफोर्डको भाषणबारे एउटा लेख छाप्यो।
सन् १९२५ को सेप्टेम्बरदेखि पोर्चुगलमा प्रहरीधरहरा-को पोर्चुगिज संस्करण छापिन थाल्यो। (त्यसअघि ब्राजिलमा
प्रहरीधरहरा-को पोर्चुगिज संस्करण छापिसकिएको थियो।) त्यही समयतिर भर्जिलियो फर्गुसन नाम गरेका ब्राजिलका एक जना बाइबल स्टुडेन्टले (अहिले यहोवाको साक्षी भनिन्छ) पोर्चुगलमा भइरहेको राज्यसम्बन्धी काममा मदत पुऱ्याउन त्यहाँ सर्ने योजना बनाउन थाल्नुभयो। उहाँले पहिला ब्राजिलमा बाइबल स्टुडेन्टस्को सानो शाखा कार्यालयमा भाइ यङसितै काम गर्नुभएको थियो। केही समय नबित्दै भाइ यङलाई सघाउन आफ्नी पत्नी लिजीसँगै भाइ फर्गुसन पोर्चुगलको यात्रामा निस्कनुभयो। भाइ फर्गुसन ठीक समयमै पोर्चुगल आइपुग्नुभयो किनकि भाइ यङ चाँडै नै सोभियत सङ्घलगायत अन्य ठाउँहरूमा प्रचार गर्न जानुहुने थियो।सैन्य कुपछि पोर्चुगलमा तानासाही शासन सुरु भयो। त्यसपछि पहिलेको भन्दा अझ धेरै विरोध आउन थाल्यो। भाइ फर्गुसनले हार मान्नुभएन र बाइबल स्टुडेन्टस्हरूको सानो समूहलाई जोगाउन र तिनीहरूको गतिविधिलाई अझ सक्रियतासाथ अघि बढाउन कदम चाल्नुभयो। उहाँले आफ्नो घरमा नियमित रूपमा सभा सञ्चालन गर्ने अनुमति माग्नुभयो। अनि उहाँले अक्टोबर १९२७ मा अनुमति पाउनुभयो।
तानासाही शासनको पहिलो वर्ष पोर्चुगलमा लगभग ४५० जना मानिस प्रहरीधरहरा-को नियमित ग्राहक बने। त्यसका साथै पर्चा र पुस्तिकाहरूको माध्यमबाट सत्यको बिउ पोर्चुगिज साम्राज्यको टाढा-टाढाका ठाउँहरूसम्म फैलियो। जस्तै: अंगोला, अजोरस, केप भर्ड, पूर्वी टिमोर, गोवा, मडिरा र मोजाम्बिक।
सन् १९२० को दशकको अन्ततिर मान्वेल डा सेल्भा झोर्डाउ नाम गरेका एक जना नम्र मानिस लिस्बन आए। तिनी बगैँचे थिए। ब्राजिलमा छँदा तिनले भाइ यङको जनभाषण सुनेका थिए। सत्य यही हो भनेर तिनले तुरुन्तै महसुस गरे अनि भाइ फर्गुसनलाई प्रचारको काममा मदत गर्न तत्पर भए। तिनले कल्पोर्टरको (अहिले अग्रगामी भनिन्छ) रूपमा सेवा गर्न थाले। बाइबल साहित्य छाप्ने र वितरण गर्ने काम व्यवस्थित भएपछि लिस्बनमा भएको नयाँ मण्डलीमा निकै वृद्धि भयो!
सन् १९३४ मा भाइ र बहिनी फर्गुसन ब्राजिल फर्कनुपर्ने भयो। तर पोर्चुगलमा सत्यको बिउ छर्ने काम भइसकेको थियो। स्पेनिश गृह युद्ध र दोस्रो विश्व युद्धको दौडान युरोपमा निकै उथलपुथल मच्चिए तापनि पोर्चुगलमा भएका वफादार भाइबहिनीको सानो समूह आध्यात्मिक रूपमा सेलाएन। केही समयको लागि तिनीहरूको अवस्था कोइलाको भुङ्ग्रोजस्तै थियो तर सन् १९४७ मा गिलियड स्कुलबाट तालिमप्राप्त पहिलो मिसनरी जोन कुक आएपछि कोइलामा फेरि आगो बलेझैँ भयो। त्यसपछि भने राज्य प्रकाशकहरूको सङ्ख्यामा लगातार वृद्धि भइरह्यो। सन् १९६२ मा सरकारले यहोवाका साक्षीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउँदा समेत प्रकाशकहरूको सङ्ख्यामा वृद्धि हुन छोडेन। डिसेम्बर १९७४ मा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाउँदासम्म त पोर्चुगलमा प्रकाशकहरूको सङ्ख्या १३,००० भन्दा धेरै पुगिसकेको थियो!
आज पोर्चुगलमा अनि अजोरस र मडिरालगायत पोर्चुगिज भाषा बोलिने थुप्रै टापुहरूमा ५०,००० भन्दा धेरै प्रकाशकहरू मिलेर परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्छन्। ती प्रकाशकहरूमध्ये कोही-कोही सन् १९२५ मा भाइ रदरफोर्डको ऐतिहासिक भाषण सुनेका भाइबहिनीहरूको तेस्रो पुस्ताका सन्तान पनि पर्छन्।
हामी यहोवाप्रति आभारी छौँ। साथै, विगतका ती वफादार दाजुभाइ दिदीबहिनीहरूप्रति पनि आभारी छौँ, जसले साहसी हुँदै “ख्रीष्ट येशूको जनसेवक भएर अन्यजातिका मानिसहरूलाई” सुसमाचार सुनाउने कामको सुरुवात गरे।—रोमी १५:१५, १६.—पोर्चुगलको हाम्रो अभिलेखालयबाट।
^ अनु. 3 प्रहरीधरहरा मे १५, २०१४, पृष्ठ ३१-३२ मा छापिएको “बाली काट्ने काम सिद्धिएको छैन” भन्ने लेख हर्नुहोस्।