सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूको भ्रातृप्रेम कायम रहोस्”

“तिमीहरूको भ्रातृप्रेम कायम रहोस्”

“तिमीहरूको भ्रातृप्रेम कायम रहोस्।”—हिब्रू १३:१.

गीत: ७२, ११९

१, २. पावलले हिब्रू ख्रीष्टियनहरूलाई पत्र लेख्नुको कारण के थियो?

इस्वी संवत्‌ ६१ को कुरा हो। इस्राएलका विभिन्न मण्डलीले अहिले केही हदसम्म शान्ति अनुभव गरिरहेका छन्‌। तर प्रेषित पावल भने रोमको झ्यालखानामा छन्‌। तिनी झ्यालखानाबाट छिट्टै मुक्त हुने दिनको प्रतीक्षामा छन्‌। तिनका सहयात्री तिमोथी झ्यालखानाबाट मुक्त भएको केही समय मात्र भएको छ। तिनीहरू यहूदाका दाजुभाइ दिदीबहिनीहरूलाई भेट्न जाने योजना बनाउँदै छन्‌। (हिब्रू १३:२३) तर अबको पाँच वर्षभित्र नै यहूदाका र विशेषगरि यरूशलेमका ख्रीष्टियनहरूले निर्णायक कदम चाल्नुपर्नेछ। किन? किनभने येशूले भविष्यवाणी गर्नुभएजस्तै अब चाँडै नै ‘यरूशलेमलाई सैनिकहरूले घेर्ने थिए’ र त्यो देखेपछि ती ख्रीष्टियनहरू तुरुन्तै भाग्नुपर्थ्यो।—लूका २१:२०-२४.

येशूले यो भविष्यवाणी गर्नुभएको २८ वर्ष बितिसकेको छ। यतिन्जेल इस्राएलका ख्रीष्टियनहरूले थुप्रै विरोध र खेदो सफलतासाथ पार गरिसकेका छन्‌। (हिब्रू १०:३२-३४) तर तिनीहरूले आफ्नो विश्वासको खातिर अब चाँडै नै सबैभन्दा ठूलो चुनौती सामना गर्नुपर्नेछ भनेर पावललाई थाह थियो। (मत्ती २४:२०, २१; हिब्रू १२:४) भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीको लागि तिनीहरू तयार रहेको पावल चाहन्थे। यसको लागि तिनीहरूले आफ्नो विश्वासलाई पहिलेभन्दा झनै बलियो बनाउनु आवश्यक थियो। तिनीहरूले अझै धैर्य गर्न सिक्नुपर्थ्यो। यस्तो विश्वास र धैर्यले तिनीहरूको जीवन बचाउने थियो। (हिब्रू १०:३६-३९ पढ्नुहोस्) त्यसैले ती प्रिय दाजुभाइ दिदीबहिनीलाई मदत गर्न पावलले पवित्र शक्तिको डोऱ्याइ पाएर पत्र लेखे। अहिले त्यो पत्र हिब्रूको किताब भनेर चिनिन्छ।

३. हिब्रूहरूलाई लेखेको पत्रमा हामीले किन ध्यान दिनुपर्छ?

पावलले प्रथम शताब्दीका हिब्रू ख्रीष्टियनहरूलाई लेखेको पत्रमा हामीले पनि ध्यान दिनुपर्छ। किन? किनभने अहिले हामी पनि ती ख्रीष्टियनहरूको जस्तै अवस्थामा छौं। अहिलेको यो “असाध्यै कठिन समय”-मा परमेश्वरका सेवकहरूले विभिन्न किसिमको विरोध र खेदो सहिरहेका छन्‌। (२ तिमो. ३:१, १२) तैपनि यहोवाप्रति तिनीहरूको भक्ति र विश्वास ढलपल भएको छैन। आफू बसिरहेको ठाउँ शान्तिपूर्ण भएकोले हामीमध्ये कतिपयले खेदो सहनुपरेको छैन होला। तर पावलको समयका ख्रीष्टियनहरूले जस्तै हामीले पनि अब चाँडै आफ्नो विश्वासको खातिर सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपर्नेछ। यो वास्तविकतालाई हामीले कहिल्यै हल्कासित लिनु हुँदैन।लूका २१:३४-३६ पढ्नुहोस्।

४. सन्‌ २०१६ को वार्षिक पद कुन हो र अहिलेको परिस्थितिमा यो पद किन सुहाउँछ?

अब चाँडै हुने घटनाहरूको लागि हामी कसरी तयार रहन सक्छौं? हिब्रूहरूलाई लेखेको पत्रमा पावलले विश्वास बलियो बनाउन मदत गर्ने विभिन्न कुराबारे बताएका छन्‌। एउटा महत्त्वपूर्ण कुरा अन्तिम अध्यायको पहिलो पदमा पाइन्छ। त्यस पदलाई सन्‌ २०१६ को वार्षिक पदको रूपमा छानिएको छ। त्यहाँ यस्तो लेखिएको छ: “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्।”—हिब्रू १३:१.

सन्‌ २०१६ को वार्षिक पद: “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्।” —हिब्रू १३:१.

भ्रातृप्रेम भनेको के हो?

५. भ्रातृप्रेम भनेको के हो?

भ्रातृप्रेम भनेको के हो? पावलले चलाएको ग्रीक शब्द फिलाडेल्फिया-को शाब्दिक अर्थ “भाइहरूप्रति स्नेह” भन्ने हो। भ्रातृप्रेममा हामीले परिवारको सदस्य वा घनिष्ठ साथीलाई देखाउने हृदयदेखिको गहिरो र न्यानो प्रेम पनि समावेश छ। (यूह. ११:३६) त्यसैले हामी ख्रीष्टियनहरू दाजुभाइ दिदीबहिनी भएको ढोंग मात्र गर्दैनौं; हामी वास्तवमै दाजुभाइ दिदीबहिनी हौं। (मत्ती २३:८) एकअर्काप्रति हाम्रो माया कत्ति गहिरो हुनुपर्छ भन्ने कुरा बाइबलको यो भनाइबाट स्पष्ट हुन्छ: “एक-दोस्रोप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०) हामीबीच भ्रातृप्रेमका साथै अगापे अर्थात्‌ निष्कपट प्रेम पनि छ भने हामी एकअर्कासित अझै घनिष्ठ हुनेछौं।

६. साँचो ख्रीष्टियनहरूले भ्रातृप्रेम भन्ने शब्दलाई कसरी बुझेका छन्‌?

एक जना बाइबलविद्ले यसो भने: “ख्रीष्टियनहरूसित सम्बन्धित साहित्यमा बाहेक अन्य ठाउँमा ‘भ्रातृप्रेम’ भन्ने शब्द कमै मात्र चलाएको पाइन्छ।” पुरातन समयका यहूदीहरूले “दाजु” वा “भाइ” भन्ने शब्द परिवारको सदस्यबाहेक अरूलाई सम्बोधन गर्दा पनि प्रयोग गर्थे। तर कुनै व्यक्ति अन्यजाति हो भने त्यसरी सम्बोधन गरिंदैनक्थ्यो। तर हामी ख्रीष्टियनहरूले भने यहोवा र येशूमा विश्वास गर्ने सबैलाई स्वीकार्छौं, चाहे तिनीहरू जुनसुकै राष्ट्रका किन नहोऊन्‌। (रोमी १०:१२) यहोवाले हामीलाई सहोदर दाजुभाइलाई जस्तै आपसमा प्रेम गर्न सिकाउनुभएको छ। (१ थिस्स. ४:९) त्यसोभए हामीले भ्रातृप्रेम कायम राख्नु किन जरुरी छ?

भ्रातृप्रेम कायम राख्नु किन जरुरी छ?

७. (क) हामीले भ्रातृप्रेम देखाउनुपर्ने मुख्य कारण के हो? (ख) हामीले एकअर्कालाई पहिलाभन्दा झन्‌ धेरै प्रेम गर्नुपर्ने अर्को कारण के हो?

यस प्रश्नको सरल जवाफ हो: हामीले भ्रातृप्रेम देखाएको यहोवा चाहनुहुन्छ। हामी यहोवालाई प्रेम गरेको दाबी गर्छौं तर दाजुभाइ दिदीबहिनीलाई चाहिं प्रेम गर्दैनौं भने त्यसको केही अर्थ रहँदैन। (१ यूह. ४:७, २०, २१) साथै, हामी सबैलाई एकअर्काको साथ चाहिन्छ, विशेषगरि कठिन परिस्थितिमा। हिब्रू ख्रीष्टियनहरूलाई पत्र लेख्दा पावललाई अब चाँडै नै तिनीहरूमध्ये कसै-कसैले आफ्नो घरबार, जग्गाजमिन सबै गुमाउनुपर्छ भनेर थाह थियो। त्यो समय साँच्चै कठिन हुनेछ भनेर येशूले पनि बताउनुभएको थियो। (मर्कू. १३:१४-१८; लूका २१:२१-२३) त्यसैले त्यो समय आउनुअघि नै ती ख्रीष्टियनहरूले एकअर्कालाई पहिलाभन्दा झन्‌ धेरै माया गर्नुपर्थ्यो।—रोमी १२:९.

८. महासङ्कष्ट सुरु हुनुअघि नै हामीले के गर्नुपर्छ?

अब चाँडै नै मानव इतिहासकै सबैभन्दा ठूलो सङ्कष्टको विनाशकारी बतास छोडिनेछ। (मर्कू. १३:१९; प्रका. ७:१-३) त्यतिबेला हामीले यो निर्देशन पालन गर्नु बुद्धिमानी हुनेछ: “हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस।” (यशै. २६:२०) ती “भित्री कोठाहरू”-ले सम्भवतः मण्डलीहरूलाई सङ्केत गर्छ। हो, यसले यहोवाको उपासना गर्नका लागि दाजुभाइ दिदीबहिनीसित एक ठाउँमा भेला हुनुलाई बुझाउँछ। तर हामी नियमित रूपमा एक ठाउँमा भेला भएर मात्र पुग्दैन। त्यसरी भेला हुँदा “एक-अर्कालाई प्रेम र सुकर्म गर्न” उत्साहित पनि बनाउनुपर्छ भनेर पावलले हिब्रू ख्रीष्टियनहरूलाई सल्लाह दिएका थिए। (हिब्रू १०:२४, २५) त्यसैले अहिलेदेखि नै भ्रातृप्रेम बढाउँदै लग्यौं भने यस्तो प्रेमले हामीलाई भविष्यमा जस्तोसुकै परीक्षा आइपरे पनि सहन मदत गर्नेछ।

९. (क) हामीसित भ्रातृप्रेम देखाउने के-कस्ता मौका छन्‌? (ख) यहोवाका सेवकहरूले भ्रातृप्रेम देखाएको अनुभव बताउनुहोस्।

महासङ्कष्ट आउनुअघि पनि हामीले विभिन्न परिस्थितिमा भ्रातृप्रेम देखाउनुपर्ने हुन सक्छ। अहिले हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी भूकम्प, बाढी-पहिरो, आँधीबेहरी, सुनामी र अन्य किसिमको प्राकृतिक प्रकोपको मारमा परेका छन्‌। कसै-कसैले भने विरोध र खेदो सहिरहेका छन्‌। (मत्ती २४:६-९) त्यसको अलावा, कतिपयले यो भ्रष्ट संसारमा आर्थिक समस्या पनि झेलिरहेका छन्‌। (प्रका. ६:५, ६) यस्ता समस्याहरू झन्‌झनै बढ्दै जाने भएकोले हामीले झन्‌ धेरै भ्रातृप्रेम देखाउने मौका पाउँछौं। यस अन्तको दिनमा ‘धेरै जनाको प्रेम सेलाएर जाने’ भए पनि हामीले भने भ्रातृप्रेम कायम राख्नुपर्छ।—मत्ती २४:१२. [१]

हामी कसरी भ्रातृप्रेम कायम राख्न सक्छौं?

१०. हामी कुन कुरा विचार गर्नेछौं?

१० हामीले विभिन्न समस्या सामना गर्नुपरे तापनि कसरी भ्रातृप्रेम कायम राख्न सक्छौं? हामी मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्छौं भनेर कसरी देखाउन सक्छौं? “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्” भनेर सल्लाह दिएपछि प्रेषित पावलले त्यस्तो प्रेम कायम राख्ने केही तरिकाबारे बताए। अब तीमध्ये छवटा तरिका विचार गरौं।

११, १२. अतिथि-सत्कार गर्नु भनेको के हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

११ “अतिथि-सत्कार गर्न नबिर्स।” (हिब्रू १३:२ पढ्नुहोस्) “अतिथि-सत्कार” भन्ने अभिव्यक्तिको लागि मूल भाषामा जुन शब्द चलाइएको थियो, त्यसले “अपरिचित व्यक्तिहरूप्रतिको प्रेम” भन्ने अर्थ दिन्छ। यो अभिव्यक्तिले हामीलाई अब्राहाम र लूतको उदाहरण सम्झाउँछ। यी दुवै पुरुषले आफूले कहिल्यै नचिनेका व्यक्तिहरूलाई प्रेम देखाए। ती अपरिचित व्यक्तिहरू स्वर्गदूतहरू रहेछन्‌ भनेर पछि उनीहरूलाई थाह भयो। (उत्प. १८:२-५; १९:१-३) पावलले हिब्रू ख्रीष्टियनहरूलाई अतिथि-सत्कार गर्ने सल्लाह दिंदा वास्तवमा अब्राहाम र लूतको अनुकरण गर्न प्रोत्साहन दिइरहेका थिए।

१२ के हामी अरूलाई खाना खान अथवा सरसङ्गत गरेर प्रोत्साहन आदान-प्रदान गर्न घरमा बोलाउँछौं? तर त्यसरी अरूलाई निम्तो दिंदा भव्य भोज नै लगाउनुपर्छ भन्ने होइन। अनि हामीलाई केही दिन सक्ने वा हामीलाई निम्तो दिन सक्नेहरूलाई मात्र घरमा बोलाउनु पनि राम्रो होइन। (लूका १०:४२; १४:१२-१४) हाम्रो उद्देश्य अरूलाई प्रोत्साहन दिनु हो; रवाफ देखाउनु होइन। हुन त हामी क्षेत्रीय निरीक्षक र तिनकी श्रीमतीलाई राम्ररी चिन्दैनौं होला। तैपनि के हामी उनीहरूलाई अतिथि-सत्कार गर्न अघि सर्छौं? (३ यूह. ५-८) जीवनको व्यस्तताले गर्दा हामीलाई सास फेर्ने फुर्सत समेत छैन होला; तनावै-तनावमा बाँचिरहेका छौं होला। तैपनि हामीले ‘अतिथि-सत्कार गर्न बिर्सनु हुँदैन।’

१३, १४. झ्यालखानामा थुनिएकाहरूलाई हामी कसरी “सम्झन” सक्छौं?

१३ “झ्यालखानामा थुनिएकाहरूलाई सम्झ।” (हिब्रू १३:३ पढ्नुहोस्) पावलले यहाँ भएभरका सबै कैदीलाई सम्झिन सल्लाह दिएका होइनन्‌। बरु विश्वासको खातिर कैदमा परेका हाम्रा दाजुभाइ दिदीबहिनीलाई सम्झन सल्लाह दिएका हुन्‌। हिब्रूहरूलाई पत्र लेख्दा पावल आफै पनि कैदमा थिए। तिनले लगभग चार वर्ष झ्यालखानामै बिताइसकेका थिए। (फिलि. १:१२-१४) “झ्यालखानामा हुनेहरूलाई सहानुभूति” देखाएकोमा पावलले ती ख्रीष्टियनहरूको प्रशंसा गरे। (हिब्रू १०:३४) कसै-कसैले त झ्यालखानामै गएर पावललाई मदत गरेका थिए। तर ती हिब्रू ख्रीष्टियनहरू भने पावललाई राखिएको ठाउँभन्दा धेरै टाढा थिए। त्यसोभए तिनीहरूले पावललाई कसरी सम्झन सक्थे? तिनको लागि व्यग्र प्रार्थना गरेर।—हिब्रू १३:१८, १९.

१४ अहिले हामी कैदमा परेका सबै साक्षीलाई व्यक्तिगत रूपमा भेट्न सक्दैनौं होला। अनि झ्यालखाना नजिकै बस्ने साक्षीहरूले जस्तै मदत दिन पनि नसकौंला। तर ती वफादार दाजुभाइ दिदीबहिनीलाई सधैं सम्झेर अनि तिनीहरूको लागि यहोवालाई बिन्ती चढाएर तिनीहरूलाई सहानुभूति र भ्रातृप्रेम देखाउन सक्छौं। उदाहरणको लागि, एरिट्रिया भन्ने देशमा हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी र साना नानी-बाबुहरू समेत झ्यालखानामा परेका छन्‌। नामै तोकेर भन्नुपर्दा पाउलोस् इयास्सु, इसाक मोगोस् र नेगेदे टेक्लेमारियाम भन्ने तीन जना भाइले आफ्नो जीवनको बीस वर्ष झ्यालखानामै बिताइसकेका छन्‌। के हामी ती दाजुभाइ दिदीबहिनीको लागि प्रार्थना गर्छौं?

१५. वैवाहिक सम्बन्धलाई कसरी आदरणीय बनाउन सक्छौं?

१५ “तिमीहरूको विवाह सबै मानिसहरूसामु आदरणीय होस्।” (हिब्रू १३:४ पढ्नुहोस्) नैतिक रूपमा पवित्र रहेर पनि हामी भ्रातृप्रेम देखाउन सक्छौं। (१ तिमो. ५:१, २) उदाहरणको लागि, हामीले कसैसित अवैध यौनसम्बन्ध राख्यौं भने ती भाइ वा बहिनीलाई अथवा तिनको परिवारलाई “हानि” पुऱ्याइरहेका हुन्छौं। त्यसले गर्दा एकअर्काप्रतिको भरोसा टुट्छ र हामीबीच भएको भ्रातृप्रेम नाम मात्रको रहन्छ। (१ थिस्स. ४:३-८) अर्कोतर्फ, कुनै भाइले अश्‍लील सामग्री हेरेको कुरा तिनकी श्रीमतीले थाह पाइन्‌ भने उनलाई कस्तो लाग्ला, सोच्नुहोस् त! त्यसरी अश्‍लील सामग्रीहरू हेर्दा के ती भाइले आफ्नी श्रीमतीलाई प्रेम गरेको हुन्छ र? अथवा के तिनले आफ्नो वैवाहिक सम्बन्धको कदर गरेको देखिन्छ र?—मत्ती ५:२८.

१६. सन्तोकी छौं भने हामी कसरी भ्रातृप्रेम देखाउन सक्छौं?

१६ “आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।” (हिब्रू १३:५ पढ्नुहोस्) यहोवामाथि भरोसा राख्छौं भने मात्र हामीले साँचो सन्तुष्टि पाउन सक्छौं। साथै, भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नेछौं। (१ तिमो. ६:६-८) अनि यहोवा र हाम्रा दाजुभाइ दिदीबहिनीसितको सम्बन्ध पैसाले किन्न सकिंदैन भनेर पनि बुझ्नेछौं। यदि कुनै मानिस सन्तोकी छ भने उसले कचकच गर्ने वा गुनासो गर्ने गर्दैन। उसले अरूको डाह गर्दैन र लोभ पनि गर्दैन। यदि हाम्रो मनमा यस्ता भावनाहरू छन्‌ भने हामीमा भएको भ्रातृप्रेम निसासिन्छ। अर्कोतर्फ सन्तोकी मानिस उदारचित्तको हुन्छ।—१ तिमो. ६:१७-१९.

१७. “साहसी” हुँदा कसरी भ्रातृप्रेम देखाउन सक्नेछौं?

१७ ‘असाध्यै साहसी होओ।’ (हिब्रू १३:६ पढ्नुहोस्) हामी यहोवामाथि भरोसा राख्छौं भने जस्तोसुकै चुनौती आइपरे पनि साहसी हुन सक्छौं। यस्तो किसिमको साहसले हामीलाई सकारात्मक दृष्टिकोण राख्न मदत गर्छ। हामीले भ्रातृप्रेम देखाउनुका साथै अरूप्रति सकारात्मक दृष्टिकोण राख्छौं भने उनीहरूको उत्थान हुने र सान्त्वना मिल्ने तरिकामा बोल्छौं। (१ थिस्स. ५:१४, १५) महासङ्कष्टको बेला संसार अन्धकारमा रुमलिंदा हामी भने आफ्नो छुटकारा नजिकै छ भन्ने थाह भएकोले ‘आफ्नो शिर उठाउन’ सक्नेछौं।—लूका २१:२५-२८.

एल्डरहरूले हाम्रो निम्ति गर्ने कामको लागि के तपाईं कृतज्ञ हुनुहुन्छ? (अनुच्छेद १८ हेर्नुहोस्)

१८. एल्डरहरूप्रतिको भ्रातृप्रेम कसरी बलियो बनाउन सक्छौं?

१८ “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ . . . तिनीहरूलाई सम्झ।” (हिब्रू १३:७, १७ पढ्नुहोस्) मण्डलीका एल्डरहरू हाम्रो लागि रातदिन नभनी खट्छन्‌; त्यसमाथि केही पाउने आस पनि गर्दैनन्‌। यो कुरा विचार गर्दा उहाँहरूप्रतिको हाम्रो भ्रातृप्रेम र कृतज्ञता अझ बलियो हुन्छ। हामी उहाँहरूको आनन्द गुम्ने वा तनाव हुने कुनै पनि काम गर्नेछैनौं। बरु आज्ञाकारी भएर अनि अधीनमा बसेर उहाँहरूले गरिरहनुभएको “कामको खातिर प्रेमले ओतप्रोत भई . . . झन्‌ धेरै आदर” गर्छौं।—१ थिस्स. ५:१३.

झन्‌ धेरै त्यसो गर्दै जाऔं

१९, २०. हामीले के-कस्ता क्षेत्रमा अझ धेरै भ्रातृप्रेम देखाउनुपर्छ?

१९ यहोवाका सेवकहरू तिनीहरूबीच भएको भ्रातृप्रेमको लागि चिनिन्छन्‌। पावलले पनि आफ्नो समयका चेलाहरूबीच भएको भ्रातृप्रेमबारे चर्चा गरे। त्यसपछि तिनले सबैलाई ‘झन्‌ धेरै त्यसो गर्दै जान’ प्रोत्साहन दिए। (१ थिस्स. ४:९, १०) त्यसैले भ्रातृप्रेम देखाउने सन्दर्भमा हामीले प्रगति गर्नुपर्ने ठाउँ थुप्रै हुन सक्छन्‌।

२० हाम्रो राज्यभवनको भित्तामा राखिएको वार्षिक पद हेर्दा यो वर्षभरि यी प्रश्नहरूबारे मनन गरौं: अतिथि-सत्कार गर्ने सन्दर्भमा अझै प्रगति गर्न सक्छु कि? झ्यालखानामा थुनिएकाहरूलाई कसरी सम्झन सक्छु? वैवाहिक सम्बन्धको कदर गरेको कसरी देखाउन सक्छु? आफूसित भएका कुराहरूमा सन्तुष्ट हुन मलाई केले मदत गर्छ? यहोवामाथि आफ्नो भरोसा कसरी अझ बढाउन सक्छु? हामीबीच अगुवाइ लिइरहेका दाजुभाइहरूलाई कसरी अझ धेरै साथ दिन सक्छु? यी छवटा क्षेत्रमा प्रगति गरिरह्यौं भने राज्यभवनमा राखिएको वार्षिक पद केवल सजावटको सामग्री मात्र हुनेछैन, बरु यसको वास्तविक उद्देश्य पूरा हुनेछ। यसले हामीलाई यो सल्लाह पालन गर्न झकझकाइरहनेछ: “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्।”—हिब्रू १३:१.

^ [१] (अनुच्छेद ९) प्रकोपको समयमा यहोवाका साक्षीहरूले के-कस्तो तरिकामा भ्रातृप्रेम देखाएका छन्‌ भनेर बुझ्न जुलाई १५, २००२ को प्रहरीधरहरा, पृष्ठ ८-९यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अङ्ग्रेजी) किताबको अध्याय १९ हेर्नुहोस्।