बिगुलको आवाज सुनेर कदम चाल्नुहोस्
यस “अन्तको दिनमा” यहोवाले आफ्ना मानिसहरूलाई डोऱ्याइरहनुभएको छ र आध्यात्मिक रूपमा बलियो भइरहन चाहिने सबै कुरा दिइरहनुभएको छ भनेर हामी विश्वस्त छौँ। (२ तिमो. ३:१) तर यहोवाको डोऱ्याइ स्विकार्ने कि नस्विकार्ने, त्यो हाम्रै हातमा छ। हाम्रो अवस्थालाई हामी निर्जनभूमिमा भएका इस्राएलीहरूको अवस्थासित तुलना गर्न सक्छौँ। तिनीहरूले बिगुलको आवाज सुन्नेबित्तिकै कदम चाल्नुपर्थ्यो।
“मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्केत दिन” यहोवाले मोसालाई घनले पिटेर दुई वटा बिगुल बनाउने निर्देशन दिनुभएको थियो। (गन्ती १०:२) मानिसहरूले के गर्नुपर्ने हो, त्यसको सङ्केत दिन पुजारीहरूले फरक-फरक तरिकामा बिगुल फुक्नुपर्थ्यो। (गन्ती १०:३-८) पुरातन इस्राएलमा बिगुल फुकेर निर्देशन दिइएझैँ आज पनि परमेश्वरका सेवकहरूलाई विभिन्न तरिकामा निर्देशन दिइन्छ। हामीले निर्देशन पाउने तीन वटा तरिकाबारे छलफल गरौँ। ती हुन्: हामीलाई ठूलठूला जमघटहरूमा बोलाइन्छ, नियुक्त निरीक्षकहरूलाई तालिम दिइन्छ र सबै मण्डलीको लागि दिइएका निर्देशनहरू छाँटकाँट गरिन्छ वा नयाँ जानकारी प्राप्त हुन्छ।
हामीलाई ठूलठूला जमघटहरूमा बोलाइँदा
यहोवाले “सारा समुदाय”-लाई वासस्थानको पूर्वपट्टिको प्रवेशद्वारमा भेला हुने आदेश दिनुहुँदा पुजारीहरूले दुइटै बिगुल फुक्थे। (गन्ती १०:३) वासस्थानको वरिपरि चार वटा भिन्नाभिन्नै समूहमा छाउनी हालेर बसेका सबै कुलले त्यो आवाज सुन्न सक्थे। वासस्थानको प्रवेशद्वारनजिकै बस्ने इस्राएलीहरूले त्यो आवाज सुनेर केही मिनेटमै कदम चाल्थे होलान्। तर टाढा बस्ने इस्राएलीहरूलाई भने कदम चाल्न थप समय र प्रयास लाग्न सक्थ्यो। जेहोस्, यहोवा सबै इस्राएलीले एक ठाउँमा भेला भएर लाभ उठाएको चाहनुहुन्थ्यो।
आज हामी वासस्थानमा त भेला हुँदैनौँ तर हामीलाई परमेश्वरका सेवकहरूको जमघटहरूमा भेला हुन भने आग्रह गरिएको छ। ती जमघटहरूमा अधिवेशन र अन्य विशेष कार्यक्रमहरू पर्छन्, जहाँ हामी महत्त्वपूर्ण जानकारी तथा निर्देशनहरू पाउँछौँ। संसारभरका यहोवाका सेवकहरूले एउटै कार्यक्रमबाट लाभ उठाउँछन्। त्यसैले निम्तो स्विकारेर कार्यक्रममा उपस्थित हुने सबैले आनन्दित मानिसहरूको समूहमा सामेल हुने मौका पाउँछन्। केहीले भने त्यस्ता कार्यक्रमहरूमा उपस्थित हुन लामो यात्रा गर्नुपर्छ। जेहोस्, निम्तो स्विकारेर आउनेहरूले आफ्नो प्रयास खेर नगएको कुरामा सहमत हुन्छन्।
तर त्यस्ता ठूलठूला जमघटहरूमा उपस्थित हुन नसक्ने पृथक समूहहरूबारे चाहिँ के भन्न सकिन्छ? विकट ठाउँमा बस्नेहरूले समेत आधुनिक प्रविधिले गर्दा एउटै कार्यक्रमबाट लाभ उठाउन र त्यस्ता ठूलठूला जमघटहरूको भाग भएको महसुस गर्न सकेका छन्। उदाहरणको लागि, बेनिनमा भएको शाखा कार्यालयले मुख्यालय प्रतिनिधिको भ्रमणको कार्यक्रम नाइजरको अर्लिट सहरमा (सहारा मरुभूमिमा पर्ने खानी भएको सहर) प्रत्यक्ष प्रसारण गर्ने प्रबन्ध मिलायो। त्यस कार्यक्रमबाट हाम्रा भाइबहिनी र चासो दिने व्यक्तिहरू गरी जम्मा २१ जनाले लाभ उठाए। धेरै टाढा भए तापनि
तिनीहरूले कार्यक्रममा उपस्थित ४४ हजार १३१ जनासँग एकतामा बाँधिएको महसुस गर्न सके। एक भाइले यस्तो लेखे: “हामीलाई पनि यो कार्यक्रमबाट लाभ उठाउने मौका दिनुभएकोमा मनैदेखि धन्यवाद दिन चाहन्छौँ। तपाईँहरू हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्ने कुरा फेरि एकचोटि महसुस गर्न सक्यौँ।”नियुक्त निरीक्षकहरूलाई तालिम दिइँदा
इस्राएली पुजारीले एउटा मात्र बिगुल फुक्दा “इस्राएलका कुलनायकहरू अर्थात् हजार-हजारका नाइकेहरू मात्र” भेट हुने पालमा उपस्थित हुनुपर्थ्यो। (गन्ती १०:४) त्यहाँ तिनीहरूले मोसाबाट जानकारी र तालिम पाउँथे। त्यसले तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न मदत दिन्थ्यो। तपाईँ पनि ती कुलनायकहरूमध्ये एक जना हुनुभएको भए त्यहाँ उपस्थित भएर लाभ उठाउन सक्दो प्रयास गर्नुहुने थिएन र?
आज हाम्रो मण्डलीका एल्डरहरू “कुलनायक” होइनन् र तिनीहरू आफ्नो जिम्मामा सुम्पिइएको परमेश्वरको बगालमाथि हैकम जमाउन खोज्दैनन्। (१ पत्रु. ५:१-३) तर तिनीहरू बगाललाई गोठालोले झैँ हेरविचार गर्न सक्दो प्रयास गर्छन्। त्यसैले थप तालिमको लागि निम्तो दिइँदा तिनीहरू खुसीसाथ स्विकार्छन्, जस्तै: राज्य सेवा स्कुल। त्यस्ता तालिमहरूबाट एल्डरहरूले मण्डलीका मामिलाहरूलाई अझ प्रभावकारी तरिकामा सम्हाल्न सिक्छन्। यसले गर्दा मण्डलीका सबै जना आध्यात्मिक रूपमा अझ बलिया हुन्छन्। तपाईँ आफै त्यस्ता स्कुलहरूमा उपस्थित हुनुभएको छैन भने पनि उपस्थित भएका भाइहरूबाट पक्कै पनि लाभ उठाउँदै हुनुहुन्छ।
छाँटकाँट गर्न भनिँदा
कहिलेकाहीँ इस्राएली पुजारीहरूले सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुक्थे। यस्तो किसिमको आवाजले छाउनीमा भएका सबैले यात्रा थालेको यहोवा चाहनुहुन्छ भन्ने सङ्केत दिन्थ्यो। (गन्ती १०:५, ६) इस्राएलीहरूले एकदमै व्यवस्थित तरिकामा यात्रा थाल्थे तर यसको लागि सबैले कडा मेहनत गर्नुपर्थ्यो। कसै-कसैलाई अर्को ठाउँमा सर्न कहिलेकाहीँ असाध्यै गाह्रो पनि लाग्थ्यो होला। किन?
कसै-कसैलाई एकदमै छिटोछिटो र आसै नगरेको समयमा छाउनी सार्नुपरेको जस्तो लाग्थ्यो होला। “कहिलेकाहीँ साँझदेखि बिहानसम्म मात्र बादल रहन्थ्यो।” कहिलेकाहीँ भने “दुई दिन, एक महिना वा त्योभन्दा . . . लामो समयसम्म” रहन्थ्यो। (गन्ती ९:२१, २२) वास्तवमा इस्राएलीहरूले कति पटक छाउनी सार्नुपरेको थियो? गन्ती अध्याय ३३ मा इस्राएलीहरूले छाउनी हालेको लगभग ४० वटा ठाउँबारे उल्लेख गरिएको छ।
कहिलेकाहीँ इस्राएलीहरू शीतल छहारी भएको ठाउँमा छाउनी हालेर बसेका हुन सक्छन्। अनि “विशाल र भयानक निर्जनभूमि”-मा त्यस्तो ठाउँ भेट्टाउन पक्कै पनि सजिलो थिएन। (व्यव. १:१९) त्यसैले इस्राएलीहरूलाई ‘यस्तो उपयुक्त ठाउँ अन्त भेटिएला र?’ जस्तो सोचाइ आउन सक्थ्यो।
कुलअनुसार यात्रा थाल्दा कसै-कसैलाई आफ्नो पालो कुर्न गाह्रो लागेको हुन सक्छ। पुजारीहरूले सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुकेको सबैले सुन्न सक्थे तर सबैले एकैचोटि यात्रा थाल्न भने मिल्दैनथ्यो। त्यो आवाजले वासस्थानको पूर्वपट्टि छाउनी हालेर बसेका यहुदा, इस्साकार र जबुलुनको कुलले यात्रा थाल्नुपर्ने सङ्केत दिन्थ्यो। (गन्ती २:३-७; १०:५, ६) तिनीहरू निस्किसकेपछि पुजारीहरूले सानो-ठूलो आवाज निस्कनेगरि दोस्रो पटक बिगुल फुक्थे। त्यसपछि वासस्थानको दक्षिणपट्टि छाउनी हालेर बसेका कुलहरूले यात्रा थाल्नुपर्थ्यो। पूरै समुदाय त्यस ठाउँबाट ननिस्कुन्जेल पुजारीहरूले यसरी नै बिगुल फुक्थे।
तपाईँलाई पनि सङ्गठनले गरेको कुनै छाँटकाँट स्विकार्न गाह्रो लागेको हुन सक्छ। आसै नगरेको समयमा एकपछि अर्को छाँटकाँट हुँदा तपाईँ अलमलमा समेत पर्नुभएको थियो होला। अथवा सङ्गठनले गरेको कुनै-कुनै प्रबन्ध तपाईँलाई बानी परिसकेकोले त्यसमा कुनै छाँटकाँट नभएको भए हुन्थ्यो जस्तो पनि लागेको हुन सक्छ। कारण जेसुकै भए तापनि नयाँ छाँटकाँटअनुसार चल्ने बानी पार्न तपाईँले असाध्यै धैर्य गर्नुपऱ्यो होला र त्यो छाँटकाँटलाई स्विकार्न समय पनि लाग्यो होला। तर हामीले छाँटकाँटलाई मनैदेखि स्विकार्यौँ भने त्यो हाम्रै हितको लागि हो र यहोवा पनि हामीसित खुसी हुनुहुन्छ भनेर बुझ्नेछौँ।
मोसाको समयमा यहोवाले लाखौँ पुरुष, स्त्री तथा केटाकेटीलाई निर्जनभूमिको यात्रामा डोऱ्याउनुभयो। यहोवाबाट हेरचाह र निर्देशन नपाएका भए तिनीहरूले सफलतासाथ यात्रा पूरा गर्न सक्ने थिएनन्। आज हामी पनि यहोवाको डोऱ्याइअनुसार चल्दा आध्यात्मिक रूपमा बलियो रहिरहन सक्छौँ। त्यतिमात्र होइन, हामी अझ परिपक्व हुनेछौँ। त्यसैले वफादार इस्राएलीहरूले बिगुलको आवाज सुनेर त्यसैअनुसार कदम चालेको जस्तै हामी पनि यहोवाको निर्देशनअनुसारै चल्ने अठोट गरौँ!