सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४९

गीत १४७ वाचा अनन्त जीवनको

हामीले अनन्त जीवन पाउन के गर्नुपर्छ?

हामीले अनन्त जीवन पाउन के गर्नुपर्छ?

“जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन [पाउनेछ]।”​—युह. ६:४०.

सिक्न सकिने कुरा

येसु ख्रिष्टको फिरौतीको बलिदानबाट अभिषिक्‍त जन अनि अरू भेडाले कसरी लाभ उठाउन सक्छन्‌?

१. सधैँभरि बाँच्ने कुरा मानिसहरूलाई कस्तो लाग्छ?

 मानिसहरू स्वस्थ रहन पोसिलो खानेकुरा खाने अनि नियमित व्यायाम गर्ने प्रयास गर्छन्‌। तर तिनीहरू सधैँभरि बाँच्ने आशा भने गर्दैनन्‌। तिनीहरूलाई त्यस्तो आशा गर्नु अव्यावहारिक हो जस्तो लाग्छ। अनि मानिसहरूलाई बुढेसकालमा अनेकन्‌ पीडा भोगेर बाँचिरहूँ जस्तो पनि लाग्दैन। हुनत अहिलेको वास्तविकता यही नै हो तर येसुले युहन्‍ना ३:१६ र ५:२४ मा हामीले “अनन्त जीवन” पाउन सक्छौँ भनेर बताउनुभयो।

२. युहन्‍ना अध्याय ६ मा अनन्त जीवनबारे के बताइएको छ? (युहन्‍ना ६:३९, ४०)

एकचोटि येसुले चमत्कारपूर्ण ढङ्‌गमा हजारौँ मानिसहरूलाई रोटी र माछा खुवाउनुभएको थियो। a त्यो साँच्चै अचम्मलाग्दो घटना थियो। तर त्यसको भोलिपल्ट येसुले जे भन्‍नुभयो, त्यो झनै अचम्मलाग्दो छ। ती मानिसहरू येसुलाई पछ्याउँदै गालिल समुद्रनजिकै कफर्नहुम आइपुगेका थिए। त्यहाँ येसुले तिनीहरूलाई मानिसहरू फेरि जीवित हुन सक्नेछन्‌ र अनन्त जीवन पाउनेछन्‌ भनेर बताउनुभयो। (युहन्‍ना ६:३९, ४० पढ्‌नुहोस्‌।) मृत्युको चिर निद्रामा परेका आफ्ना साथीहरू अनि आफूले माया गरेका व्यक्‍तिहरूबारे एकछिन सोच्नुहोस्‌ त! येसुले भन्‍नुभएअनुसार तिनीहरू फेरि जीवित हुनेछन्‌ र तपाईँ अनि तपाईँले माया गरेका मानिसहरूले अनन्त जीवन पाउन सक्नुहुनेछ। तर येसुले युहन्‍ना अध्याय ६ का बाँकी पदहरूमा भन्‍नुभएका कुराहरू त्यतिबेलाका मानिसहरूले सही तरिकामा बुझ्न सकेनन्‌ र अहिले पनि थुप्रैले बुझ्न सकेका छैनन्‌। येसुले तिनीहरूलाई के भन्‍नुभएको थियो?

३. युहन्‍ना ६:५१ मा येसुले आफूबारे के भन्‍नुभयो?

येसुले चमत्कारपूर्ण तरिकामा रोटीको प्रबन्ध गर्नुभएपछि त्यस भीडले यहोवाले निर्जनभूमिमा तिनीहरूका पुर्खालाई मन्‍न खुवाउनुभएको कुरा सम्झे। तिनीहरूलाई मन्‍न ‘स्वर्गबाट आएको खानेकुरा’ हो भनेर थाह थियो। (भज. १०५:४०; युह. ६:३१) त्यसैले येसुले मन्‍नबारे उल्लेख गर्दै एउटा महत्त्वपूर्ण कुरा सिकाउनुभयो। हुनत यहोवाले इस्राएलीहरूको लागि मन्‍न चमत्कारपूर्ण ढङ्‌गमा प्रबन्ध गर्नुभएको थियो तर मन्‍न खाए तापनि पछि तिनीहरू मरे। (युह. ६:४९) येसुले आफूलाई भने ‘स्वर्गबाट आएको साँचो रोटी,’ ‘परमेश्‍वरले दिनुभएको रोटी’ र “जीवन दिने रोटी” भन्‍नुभयो। (युह. ६:३२, ३३, ३५) येसुले मन्‍न र आफूबीचको मुख्य भिन्‍नताबारे यसो भन्‍नुभयो: “म, जीवन दिने रोटी हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैँभरि बाँच्नेछ।” (युहन्‍ना ६:५१ पढ्‌नुहोस्‌।) येसुको कुरा सुनिरहेका यहुदीहरू अलमलमा परे। उहाँले किन आफूलाई ‘स्वर्गबाट आएको रोटी’ भन्‍नुभयो र उहाँ कसरी मन्‍नभन्दा उत्तम हुनुहुन्छ भनेर तिनीहरूले बुझ्न सकेनन्‌। त्यसपछि येसुले यसो भन्‍नुभयो: “मैले दिन लागेको रोटी वास्तवमा मेरो शरीर हो।” येसुले भन्‍नुभएका कुराहरूको अर्थ बुझ्यौँ भने हामी र हाम्रा प्रियजनहरूले अनन्त जीवन पाउन कसरी सम्भव भयो भनेर थाह पाउनेछौँ। त्यसोभए आउनुहोस्‌, येसु के भन्‍न खोज्दै हुनुहुन्थ्यो, विचार गरौँ।

जीवन दिने रोटी र येसुको शरीर

४. कसै-कसैलाई येसुको कुरा स्विकार्न किन गाह्रो भयो?

येसुले ‘संसारले जीवन पाओस्‌ भनेर आफ्नो शरीर दिने’ कुरा बताउनुहुँदा कसै-कसैले त्यो कुरा स्विकार्न सकेनन्‌। सायद तिनीहरूलाई येसुले आफ्नै शरीर खान दिन लाग्नुभएको हो कि भन्‍ने लागेको हुनुपर्छ। (युह. ६:५२) त्यसमाथि येसुले यसो भन्‍नुहुँदा तिनीहरू खङ्‌ग्रङ्‌गै भएको हुनुपर्छ: “मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ।”—युह. ६:५३.

५. येसुले किन मानिसहरूलाई आफ्नो रगत पिउन भन्‍नुभएको हुन सक्दैन?

परमेश्‍वरले धेरै अघि नै नुहको समयमा मानिसहरूलाई रगत नखानू भन्‍नुभएको थियो। (उत्प. ९:३, ४) उहाँले त्यो आज्ञा इस्राएलीहरूलाई व्यवस्था दिनुहुँदा पनि दोहोऱ्‍याउनुभयो। इस्राएलीहरूमध्ये कसैले रगत खाएमा ऊ ‘मारिनुपर्थ्यो।’ (लेवी ७:२७, फुटनोट) येसुले पनि मोसाको व्यवस्था पालन गर्न सिकाउनुभयो। (मत्ति ५:१७-१९) त्यसैले उहाँले आफ्नो कुरा सुनिरहेका यहुदीहरूलाई आफ्नो शरीर खान र रगत पिउन भन्‍नुभएको त हुनै सक्दैन। बरु उहाँले “अनन्त जीवन” पाउन मानिसहरूले के गर्नुपर्छ भनेर सिकाउन खोज्दै हुनुहुन्थ्यो।—युह. ६:५४.

६. येसुले आफ्नो शरीर र रगतलाई प्रतीकात्मक अर्थमा चलाउँदै हुनुहुन्थ्यो भनेर किन भन्‍न सक्छौँ?

एकचोटि उहाँले सामरियाली स्त्रीसित कुरा गर्नुहुँदा पनि यसो भन्‍नुभएको थियो: “जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन। बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।” (युह. ४:७, १४) b येसुले त्यस सामरियाली स्त्रीलाई अनन्त जीवन पाउन कुनै एउटा खास इनारको पानी पिए पुग्छ भन्‍न खोज्नुभएको थिएन। त्यसैगरि कफर्नहुममा भीडसित कुरा गर्नुहुँदा पनि उहाँले अनन्त जीवन पाउन उहाँको शरीर खानुपर्छ र रगत पिउनुपर्छ भनिरहनुभएको थिएन।

येसुले दुई वटा अवसरमा भन्‍नुभएका कुराहरूबीचको भिन्‍नता

७. कोही-कोही येसुले युहन्‍ना ६:५३ मा भन्‍नुभएको कुराबारे कस्तो दाबी गर्छन्‌?

कोही-कोही येसुले युहन्‍ना ६:५३ मा भन्‍नुभएको कुरा प्रभुको साँझको भोजमा गर्नुपर्ने कुराको नमुना हो भनेर दाबी गर्छन्‌। किनभने यही पदसित मिल्दोजुल्दो शब्दहरू येसुले प्रभुको साँझको भोजमा पनि प्रयोग गर्नुभएको थियो। (मत्ति २६:२६-२८) तिनीहरू प्रभुको साँझको भोजमा उपस्थित हुनेहरू सबैले रोटी र दाखमद्य खानुपर्छ भनेर पनि दाबी गर्छन्‌। के त्यो दाबी सही हो? हामीले यो कुरा बुझ्नु महत्त्वपूर्ण छ किनभने हरेक वर्ष संसारभरि लाखौँ मानिसहरू हामीसितै यस उत्सवमा उपस्थित हुन्छन्‌। आउनुहोस्‌, युहन्‍ना ६:५३ अनि प्रभुको साँझको भोजमा येसुले भन्‍नुभएका कुराहरूबीच कस्ता भिन्‍नताहरू छन्‌, बुझौँ।

८. येसुले युहन्‍ना ६:५३ मा अनि प्रभुको साँझको भोजमा भन्‍नुभएका कुराहरूबीच कस्ता भिन्‍नताहरू छन्‌? (चित्रहरू पनि हेर्नुहोस्‌।)

हामी दुई वटा भिन्‍नता विचार गरौँ। पहिलो, युहन्‍ना ६:५३-५६ मा भएका कुराहरू येसुले कहिले अनि कहाँ भन्‍नुभएको थियो? इस्वी संवत्‌ ३२ मा गालिलमा भन्‍नुभएको थियो। त्यो येसुले यरुसलेममा प्रभुको साँझको भोज सुरुवात गर्नुभन्दा लगभग एक वर्षअघिको कुरा थियो। दोस्रो, ती कुराहरू उहाँले कसलाई भन्दै हुनुहुन्थ्यो? गालिलमा भेला भएका यहुदीहरूलाई। तिनीहरूमध्ये धेरैजसोको मुख्य चासो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुमा नभई भौतिक आवश्‍यकताहरू पूरा गर्नुमा थियो। (युह. ६:२६) वास्तवमा येसुले भन्‍नुभएको कुरा बुझ्न नसकेपछि तिनीहरूले उहाँको कुरा सुन्‍न छोडे। यहाँसम्म कि उहाँका चेलाहरूमध्ये धेरै जना उहाँको पछि लाग्न छोडे। (युह. ६:१४, ३६, ४२, ६०, ६४, ६६) यो घटनाको लगभग एक वर्षपछि इस्वी संवत्‌ ३३ मा येसुले प्रभुको साँझको भोज सुरुवात गर्नुहुँदा के भयो, विचार गरौँ। त्यतिबेला उहाँका ११ जना प्रेषितहरू उहाँसँगै थिए। हुनत तिनीहरूले पनि येसुले सिकाउनुभएका सबै कुराहरू बुझ्न सकेका थिएनन्‌। तैपनि तिनीहरूले येसुको साथ छोडेनन्‌। तिनीहरू येसु नै परमेश्‍वरको छोरा हुनुहुन्छ र उहाँ स्वर्गबाट पृथ्वीमा आउनुभयो भन्‍ने कुरामा विश्‍वस्त थिए, जबकि गालिलमा भेला भएका यहुदीहरूले ती कुराहरूमा विश्‍वास गरेका थिएनन्‌। (मत्ति १६:१६) त्यसैले येसुले प्रेषितहरूको यसरी प्रशंसा गर्नुभयो: “मेरा परीक्षाहरूमा मसितै रहने तिमीहरू नै हौ।” (लुका २२:२८) यी दुई वटा भिन्‍नता मात्र विचार गर्दा पनि येसुले युहन्‍ना ६:५३ मा भन्‍नुभएको कुरा प्रभुको साँझको भोजमा गर्नुपर्ने कुराको नमुना होइन भनेर प्रमाणित हुन्छ। यसका अरू प्रमाणहरू पनि छन्‌।

युहन्‍ना अध्याय ६ मा येसुले गालिलमा यहुदीहरूको भीडसित कुरा गर्नुभयो (बायाँ)। त्यसको एक वर्षपछि येसुले यरुसलेममा वफादार प्रेषितहरूको सानो समूहसित कुरा गर्नुभयो (दायाँ) (अनुच्छेद ८ हेर्नुहोस्‌)


येसुले भन्‍नुभएका शब्दहरूले तपाईँको लागि कस्तो अर्थ राख्छ?

९. प्रभुको साँझको भोजमा येसुले भन्‍नुभएको कुरा कसलाई लागू हुन्छ?

प्रभुको साँझको भोजमा येसुले आफ्ना प्रेषितहरूलाई अखमिरा रोटी दिनुहुँदा त्यसले उहाँको शरीरलाई चित्रण गर्छ भनेर बताउनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई दाखमद्य दिनुभयो र “यो मेरो रगतको प्रतीक हो, . . . जसले परमेश्‍वरको करारलाई पक्का गर्छ” भन्‍नुभयो। (मर्कु. १४:२२-२५; लुका २२:२०; १ कोरि. ११:२४) यो करारबारे येसुले भन्‍नुभएको कुरा बुझ्नु महत्त्वपूर्ण छ। उहाँले त्यसलाई नयाँ करार भन्‍नुभयो। यो करार यहोवाले सम्पूर्ण मानिससित नभई येसुसितै “परमेश्‍वरको राज्यमा” शासन गर्ने “[आध्यात्मिक] इस्राएलको घरानासित” बाँध्नुभएको हो। (हिब्रू ८:६, १०; ९:१५) प्रेषितहरूले त्यतिबेला यो कुरा राम्रोसँग बुझ्न सकेका थिएनन्‌ तर चाँडै नै तिनीहरू पवित्र शक्‍तिद्वारा अभिषेक हुने थिए र नयाँ करारको भाग बन्‍ने थिए।—युह. १४:२, ३.

१०. येसुले गालिलमा अनि प्रभुको साँझको भोजमा भन्‍नुभएका कुराहरूबीचको अर्को भिन्‍नता के हो? (चित्र पनि हेर्नुहोस्‌।)

१० याद गर्नुहोस्‌, प्रभुको साँझको भोजमा येसुले भन्‍नुभएको कुरा “सानो बगाल”-लाई लागू हुन्छ। त्यस सानो बगालको भाग बन्‍न सुरुमा छानिएकाहरू त्यस साँझ येसुसितै भएका वफादार प्रेषितहरू थिए। (लुका १२:३२) प्रभुको साँझको भोजमा येसुले तिनीहरूलाई रोटी खान र दाखमद्य पिउन दिनुभयो। पछि यस समूहमा अरू पनि सामेल हुने थिए र तिनीहरूले पनि प्रभुको साँझको भोज मनाउँदा रोटी खाने थिए र दाखमद्य पिउने थिए। येसुसितै स्वर्गमा शासन गर्नेहरू तिनीहरू नै हुन्‌। प्रभुको साँझको भोजमा येसुले प्रेषितहरूलाई भन्‍नुभएको कुरा सानो समूहलाई मात्र लागू हुन्छ तर गालिलमा येसुले भन्‍नुभएको कुरा धेरै मानिसलाई लागू हुन्छ। येसुले प्रभुको साँझको भोजमा अनि गालिलमा भन्‍नुभएका कुराहरूबीचको अर्को भिन्‍नता यो पनि हो।

स्मरणार्थ उत्सवमा रोटी र दाखमद्य खानेहरूको सङ्‌ख्या थोरै छ तर येसुमाथि विश्‍वास गर्ने सबैले अनन्त जीवन पाउन सक्छन्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)


११. येसुले गालिलमा भन्‍नुभएको कुरा धेरै मानिसलाई लागू हुन्छ भनेर किन भन्‍न सक्छौँ?

११ इस्वी संवत्‌ ३२ मा गालिलमा येसुकहाँ आएका यहुदीहरू खानेकुरा पाउने आशाले मात्रै उहाँकहाँ आएका थिए। तर येसुले तिनीहरूको ध्यान खानेकुराभन्दा अझ महत्त्वपूर्ण कुरामा खिच्नुभयो, जसले तिनीहरूलाई अनन्त जीवन दिने थियो। येसुले तिनीहरूलाई मरेकाहरू फेरि जीवित हुनेछन्‌ र सधैँभरि बाँच्नेछन्‌ भनेर बताउनुभयो। उहाँले गालिलमा सबै मानिसले पाउन सक्ने आशिष्‌बारे कुरा गर्दै हुनुहुन्थ्यो। यही कुरालाई प्रस्ट पार्दै उहाँले यसो भन्‍नुभयो: “यदि कसैले यो रोटी खान्छ भने ऊ सधैँभरि बाँच्नेछ र मैले दिन लागेको रोटी वास्तवमा मेरो शरीर हो अनि संसारले जीवन पाओस्‌ भनेर म त्यो दिनेछु।”—युह. ६:५१.

१२. येसुले भन्‍नुभएको आशिष्‌ पाउन हामीले के गर्नुपर्छ?

१२ येसुले गालिलमा ती यहुदीहरूलाई जो-कोहीले पनि अनन्त जीवन पाउन सक्छन्‌ भनेर बताइरहनुभएको थिएन। बरु “जीवन दिने रोटी” खानेहरू, मतलब उहाँमाथि विश्‍वास गर्नेहरूले मात्र अनन्त जीवन पाउनेछन्‌ भनेर बताउँदै हुनुहुन्थ्यो। आज चर्च जाने थुप्रैले पनि येसुलाई मान्यो र उहाँलाई मुक्‍तिदाताको रूपमा स्विकाऱ्‍यो भने उद्धार पाइन्छ भन्छन्‌। (युह. ६:२९) तर त्यति मात्र पर्याप्त छैन। हुनत गालिलमा भेला भएका यहुदीहरूमध्ये थुप्रैले सुरुमा येसुमाथि विश्‍वास गरेका थिए तर पछि उहाँलाई छोडेर गए। किन?

१३. येसुको साँचो चेला बन्‍न के गर्नुपर्छ?

१३ त्यस भीडमा भएका धेरैजसो मानिसहरू आफ्नो चाहना पूरा होउन्जेल येसुको पछि लागे। तिनीहरू येसुले चमत्कार गरेर निको पार्नुभएको, सित्तैँमा खानेकुरा दिनुभएको अनि तिनीहरूले सुन्‍न चाहेको कुरा बताउनुभएको चाहन्थे। तर येसु तिनीहरूको भौतिक चाहना पूरा गर्न मात्र पृथ्वीमा आउनुभएको थिएन। उहाँको साँचो चेला हुन तिनीहरू येसुकहाँ जानुपर्थ्यो अर्थात्‌ उहाँले भन्‍नुभएको सबै कुरा स्विकार्नुपर्थ्यो र पालन गर्नुपर्थ्यो।—युह. ५:४०; ६:४४.

१४. येसुले दिनुभएको शरीर र रगतबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

१४ मानिसहरूले अनन्त जीवन पाओस्‌ भनेर येसुले आफ्नो शरीर अनि रगत फिरौतीको बलिदानस्वरूप दिनुहुने थियो। गालिलमा येसुकहाँ आएको त्यस भीडले अनन्त जीवन पाउन फिरौतीको बलिदानमा विश्‍वास गर्नुपर्थ्यो। आज हामीले पनि त्यसमा विश्‍वास गर्नु आवश्‍यक छ। (युह. ६:४०) त्यसैले येसुले युहन्‍ना ६:५३ मा उहाँको शरीर खानुपर्छ र रगत पिउनुपर्छ भन्‍नुहुँदा हामीले फिरौतीको बलिदानमा विश्‍वास गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। त्यस बलिदानमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाउन सक्छन्‌।—एफि. १:७.

१५-१६. युहन्‍ना अध्याय ६ बाट हामीले कस्ता महत्त्वपूर्ण कुराहरू सिक्न सक्यौँ?

१५ युहन्‍ना अध्याय ६ मा रेकर्ड गरिएको विवरणले हामी अनि हाम्रा प्रियजनहरूको लागि ठूलो अर्थ राख्छ। यस विवरणबाट येसु मानिसहरूलाई धेरै माया गर्नुहुन्छ भनेर प्रस्ट हुन्छ। गालिलमा येसुले बिरामीहरूलाई निको पार्नुभयो, परमेश्‍वरको राज्यबारे सिकाउनुभयो र भोकाएकाहरूलाई खुवाउनुभयो। (लुका ९:११; युह. ६:२, ११, १२) अझ महत्त्वपूर्ण कुरा, येसुले उहाँ नै “जीवन दिने रोटी” हुनुहुन्छ भनेर सिकाउनुभयो।—युह. ६:३५, ४८.

१६ हुनत हरेक वर्ष मनाइने प्रभुको साँझको भोजमा “अरू भेडा”-ले रोटी र दाखमद्य खाँदैनन्‌ र खानु पनि हुँदैन। (युह. १०:१६) तर तिनीहरूले प्रतीकात्मक अर्थमा “जीवन दिने रोटी” खान्छन्‌। कसरी? येसुको फिरौतीको बलिदान र त्यसले सम्भव तुल्याएको कुरामा विश्‍वास गरेर। अर्कोतर्फ प्रभुको साँझको भोजमा रोटी र दाखमद्य खानेहरूले भने आफू नयाँ करारमा बाँधिएको र स्वर्गको राज्यमा येसुसितै शासन गर्ने आशा पाएको कुरा देखाउँछन्‌। (युह. ६:५३) तर चाहे हामी अभिषिक्‍त जन होऔँ वा अरू भेडा, युहन्‍ना अध्याय ६ मा पाइने विवरणले हामी सबैको लागि ठूलो अर्थ राख्छ। स्पष्ट छ, अनन्त जीवन पाउन हामी सबैले येसुको फिरौतीको बलिदानमा विश्‍वास गर्नुपर्छ।

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

a युहन्‍ना ६:५-३५ बारे यसअघिको लेखमा छलफल गरिएको छ।

b येसुले भन्‍नुभएको पानीले अनन्त जीवन पाउन यहोवाले मिलाउनुभएका प्रबन्धहरूलाई बुझाउँछ।