सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ८

गीत १३० क्षमा दिने गरौँ!

तपाईँ कसरी यहोवाले जस्तै क्षमा दिन सक्नुहुन्छ?

तपाईँ कसरी यहोवाले जस्तै क्षमा दिन सक्नुहुन्छ?

“यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।”कल. ३:१३.

सिक्न सकिने कुरा

यस लेखमा हाम्रो चित्त दुखाएका व्यक्‍तिलाई क्षमा दिन हामीले चाल्न सक्ने व्यवहारिक कदमहरूबारे छलफल गर्नेछौँ।

१-२. (क) हामीलाई विशेषगरि कस्तो अवस्थामा क्षमा दिन गाह्रो हुन सक्छ? (ख) डिनिसले क्षमा दिएको कसरी देखाइन्‌?

 के तपाईँलाई क्षमा दिन गाह्रो लाग्छ? थुप्रैलाई गाह्रो लाग्छ। विशेषगरि कसैले भनेको वा गरेको कुराले हाम्रो असाध्यै चित्त दुखेको छ भने हामीलाई क्षमा दिन गाह्रो लाग्न सक्छ। तर हामी आफ्नो मनमा लागेको चोटलाई निको पार्न र हाम्रो चित्त दुखाउने व्यक्‍तिलाई क्षमा दिन सक्छौँ। डिनिस a बहिनीको अनुभव विचार गरौँ। तिनले दिएको क्षमा उल्लेखनीय छ। सन्‌ २०१७ मा डिनिस आफ्नो परिवारसितै यहोवाका साक्षीहरूको मुख्यालय भ्रमण गर्न गएकी थिइन्‌। घर फर्कँदै गर्दा अनियन्त्रित भएको अर्को गाडीले तिनीहरूको गाडीलाई हान्यो। डिनिस बेहोस भइन्‌। त्यस दुर्घटनामा तिनका छोराछोरी गम्भीर घाइते भए र तिनका पति ब्रायनको मृत्यु भयो। डिनिस होसमा आएपछि तिनले यो कुरा थाह पाइन्‌। त्यतिबेला आफूलाई कस्तो महसुस भएको थियो भन्‍नेबारे तिनी यसो भन्छिन्‌: “मेरो होसहवासै उड्यो, मैले केही सोच्नै सकिनँ।” हुनत ती गाडी चालकले रक्सी वा लागूपदार्थ सेवन गरेर गाडी चलाएका थिएनन्‌ अनि लापरबाही पनि गरेका थिएनन्‌। तैपनि डिनिसले आफ्नो रिसलाई काबूमा राख्न सकूँ भनेर यहोवालाई प्रार्थना गरिन्‌।

ती गाडी चालकलाई हत्याको आरोपमा गिरफ्तार गरियो। तिनी दोषी ठहर भएको खण्डमा तिनलाई जेल सजाय सुनाइने थियो। तर डिनिसको बयानको आधारमा ती मानिसलाई सजाय दिने कि नदिने भनेर फैसला सुनाइने थियो। डिनिस भन्छिन्‌: “कसैले मेरो निको हुन लागेको घाउमा नुन चुक छरेको जस्तै महसुस भयो। किनभने मैले त्यो कालो दिन फेरि सम्झनुपर्ने थियो।” दुर्घटना भएको केही हप्तापछि डिनिस अदालत गइन्‌ र आफ्नो परिवारलाई पीडादायी अवस्थासम्म पुऱ्‍याएको त्यस मानिसको अगाडि बयान दिन थालिन्‌। तिनले के भनिन्‌? तिनले न्यायाधीशलाई ती मानिसमाथि दया देखाउन भनिन्‌। b डिनिसको कुरा सुनेपछि न्यायाधीशले आँसु थाम्नै सकेनन्‌। उनले यसो भने: “मैले न्यायाधीशको काम गरेको २५ वर्ष भइसक्यो। मैले अदालतमा यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। आफ्नो परिवारलाई त्यत्ति ठूलो चोट दिने व्यक्‍तिलाई नै दया देखाएको अनि क्षमा दिएको मैले कहिल्यै देखेको थिइनँ।”

३. डिनिसले कसरी क्षमा दिन सकिन्‌?

डिनिसले क्षमा दिन सक्नुको कारण के थियो? तिनले यहोवाले दिनुहुने क्षमाबारे मनन गरिन्‌। (मिका ७:१८) यहोवाले हामीलाई दिनुभएको क्षमाप्रति कृतज्ञ भयौँ भने हामी अरूलाई क्षमा दिन उत्प्रेरित हुनेछौँ।

४. हामीले के गरेको यहोवा चाहनुहुन्छ? (एफिसी ४:३२)

यहोवाले हामीलाई खुला मनले क्षमा गर्नुभएजस्तै हामीले पनि अरूलाई खुला मनले क्षमा गरेको उहाँ चाहनुहुन्छ। (एफिसी ४:३२ पढ्‌नुहोस्‌।) हाम्रो चित्त दुखाउनेहरूलाई समेत हामी क्षमा गर्न तयार भएको उहाँ चाहनुहुन्छ। (भज. ८६:५; लुका १७:४) यस लेखमा अझ क्षमाशील हुन चाल्नुपर्ने तीन वटा कदमबारे छलफल गर्नेछौँ।

आफ्ना भावनाहरूलाई बेवास्ता नगर्नुहोस्‌

५. भावनात्मक चोटलाई केसित तुलना गर्न सकिन्छ? (हितोपदेश १२:१८)

कसैले भनेको वा गरेको कुराले हाम्रो असाध्यै चित्त दुख्न सक्छ। खासगरि ती व्यक्‍ति हाम्रो घनिष्ठ साथी वा परिवारका सदस्य हुन्‌ भने हाम्रो झनै चित्त दुख्न सक्छ। (भज. ५५:१२-१४) भावनात्मक चोटले गर्दा हुने पीडालाई तरबारले घोचेपछि हुने पीडासित तुलना गर्न सकिन्छ। (हितोपदेश १२:१८ पढ्‌नुहोस्‌।) हामी आफ्ना भावनाहरूलाई लुकाउन वा केही पनि भएको छैन जस्तो देखाउन खोज्छौँ होला। तर त्यसो गर्नु भनेको तरबारले घोचेपछि त्यो तरबारलाई घाउमा त्यत्तिकै छोडिदिनुजस्तै हो। त्यसो गर्दा त्यो घाउ कहिल्यै निको हुँदैन। त्यसैगरि हामीले आफ्ना भावनाहरूलाई बेवास्ता गर्दैमा ती आफसे आफ हराएर जाँदैनन्‌।

६. कसैले हाम्रो चित्त दुखाउँदा हाम्रो प्रतिक्रिया कस्तो हुन सक्छ?

कसैले हाम्रो चित्त दुख्ने कुरा भन्दा वा गर्दा हामीलाई झनक्क रिस उठ्‌न सक्छ। बाइबलले पनि हामीमा क्रोध उत्पन्‍न हुन सक्छ भनेर मानिलिएको छ। तर हामी रिसाइरहनु हुँदैन भनेर पनि चेतावनी दिएको छ। (भज. ४:४; एफि. ४:२६) किन? किनभने हामीले रिस पालिरह्‍यौँ भने अक्सर त्यो हाम्रो व्यवहारमा देखिन्छ अनि त्यसको नतिजा कहिल्यै राम्रो हुँदैन। (याकु. १:२०) नबिर्सनुहोस्‌, कसैको बोली वा व्यवहारले गर्दा रिस उठ्‌नु स्वाभाविकै हो। तर रिसाइरहने कि रिसाउन छोड्‌ने, त्यो हाम्रै हातमा हुन्छ।

कसैको बोली वा व्यवहारले गर्दा रिस उठ्‌नु स्वाभाविकै हो। तर रिसाइरहने कि रिसाउन छोड्‌ने, त्यो हाम्रै हातमा हुन्छ

७. कसैले हाम्रो चित्त दुखाउँदा हाम्रो मनमा कस्ता भावनाहरू आउन सक्छन्‌?

कसैले हामीसित नराम्रो व्यवहार गर्दा चित्त दुख्नुका साथै अरू विभिन्‍न किसिमका भावनाहरू आउँछन्‌। आन बहिनी यसो भन्छिन्‌: “म सानै छँदा बुबाले ममीलाई छोडेर मेरो स्याहारसुसार गर्ने आन्टीसित बिहे गर्नुभयो। मैले त्यागिएको महसुस गरेँ। उहाँहरूको छोराछोरी भएपछि मेरो कुनै कामै छैन जस्तो लाग्न थाल्यो। मलाई कसैले माया गर्दैन भन्‍ने भावनाले सधैँ पिरोलिरहन्थ्यो।” आफ्नो श्रीमान्‌ले धोका दिएपछि कस्तो महसुस भयो भन्‍नेबारे जोर्जेट बहिनी यसो भन्छिन्‌: “हामी सानैदेखिका साथी थियौँ। हामीले सँगै अग्रगामी सेवा गऱ्‍यौँ। उहाँले धोका दिनुहुँदा मेरो मुटु छियाछिया भयो।” नाओमी बहिनी भन्छिन्‌: “मेरो श्रीमान्‌ले लुकीलुकी अश्‍लील सामग्री हेरिरहनुभएको रहेछ। उहाँले यो कुरा बताउनुहुँदा मेरो साह्रै चित्त दुख्यो। उहाँले यसरी धोका दिनुहोला भनेर मैले कहिल्यै सोचेकी थिइनँ।”

८. (क) हामीले किन अरूलाई क्षमा दिनुपर्छ? (ख) क्षमा दिँदा कस्तो फाइदा हुन्छ? (“ कसैले हाम्रो असाध्यै चित्त दुखायो भने नि?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

अरूले भन्‍ने वा गर्ने कुरा हाम्रो वशमा हुँदैन। तर हामी कस्तो प्रतिक्रिया देखाउँछौँ, त्यो चाहिँ हाम्रो वशमा हुन्छ। अनि अक्सर सबैभन्दा राम्रो प्रतिक्रिया भनेको क्षमा दिनु नै हो। किन? किनभने हामी यहोवालाई प्रेम गर्छौँ र हामीले अरूलाई क्षमा दिएको उहाँ चाहनुहुन्छ। यदि हामीले रिस पालिराख्यौँ र क्षमा दिएनौँ भने हामीबाट मूर्ख काम हुन सक्छ र हाम्रै स्वास्थ्य बिग्रन सक्छ। (हितो. १४:१७, २९, ३०) क्रिस्टिन बहिनी यसो भन्छिन्‌: “रिस उठिरहेको छ वा चित्त दुखिरहेको छ भने म हाँस्नै सक्दिनँ। अनि जे पायो, त्यही खाइरहेकी हुन्छु। निद्रा पनि राम्रोसँग लाग्दैन। त्यसैले आफ्ना भावनाहरूलाई काबूमा राख्न झनै गाह्रो हुन्छ। अनि म आफ्नो श्रीमान्‌सित र अरूसित नराम्रो व्यवहार गर्न पुग्छु।”

९. हामीले किन रिस र द्वेष हटाउनुपर्छ?

हाम्रो चित्त दुखाउने व्यक्‍तिले कहिल्यै माफी मागेनन्‌ भने पनि हामी तिनले दिएको भावनात्मक चोट कम गर्न सक्छौँ। कसरी? जोर्जेट भन्छिन्‌: “मेरो पहिलाको श्रीमान्‌प्रतिको रिस र द्वेष हटाउन केही समय त लाग्यो। तर त्यसो गरेपछि मेरो मन हलुका भयो।” मनबाट रिस र द्वेष हटायौँ भने हाम्रो मन भारी भइरहँदैन र अरूसित राम्रो व्यवहार गर्न सक्छौँ। आफ्नो मनबाट रिस हटाउनु भनेको आफैलाई उपहार दिनुजस्तै हो। किनभने त्यसो गर्दा हामी आफ्नो चित्त दुखेको कुरा बिर्सेर अघि बढ्‌न सक्छौँ। (हितो. ११:१७) तर तपाईँ अझै पनि क्षमा दिन तयार हुनुहुन्‍न भने नि?

रिस र मनको पीडा हटाउन कदम चाल्नुहोस्‌

१०. मनको पीडा हटाउन किन समय लाग्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१० तपाईँ कसरी रिस र मनको पीडा हटाउन सक्नुहुन्छ? नबिर्सनुहोस्‌, यस्ता भावनाहरू हटाउन समय लाग्छ। कुनै व्यक्‍तिलाई गम्भीर चोट लागेको छ भने पहिला उपचार गर्नुपर्छ। तर त्यसपछि पनि त्यो चोट पूरै निको हुन समय लाग्छ। त्यसैगरि हामीलाई पनि भावनात्मक रूपमा निको हुन समय लाग्न सक्छ। त्यसरी निको भएपछि मात्र हामी मनैदेखि क्षमा दिन तयार हुन सक्छौँ।—उप. ३:३; १ पत्रु. १:२२.

घाउ निको हुन उपचार गर्नुपर्छ र समय लाग्छ। मनको घाउ निको हुने सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)


११. क्षमा दिन प्रार्थनाले कसरी मदत गर्छ?

११ अरूलाई क्षमा दिन सकूँ भनेर मदत माग्दै यहोवालाई प्रार्थना गर्नुहोस्‌। c प्रार्थनाले आफूलाई कसरी मदत गऱ्‍यो भन्‍नेबारे आन यसो भन्छिन्‌: “हामीले भन्‍न नहुने कुरा भनेकोमा अनि गर्न नहुने कुरा गरेकोमा परिवारका सबैलाई क्षमा दिनुहोस्‌ भनेर मैले यहोवालाई प्रार्थना गरेँ। त्यसपछि मैले मेरो बुबा र उहाँको नयाँ श्रीमतीलाई क्षमा दिएको कुरा लेखेर उहाँहरूलाई चिठी पठाएँ।” त्यसो गर्न सजिलो थिएन भनेर आन स्विकार्छिन्‌। तिनी यसो भन्छिन्‌: “मैले उहाँहरूलाई यहोवाले जस्तै क्षमा दिने कोसिस गरेँ। आशा छ, पछि उहाँहरूले यहोवाबारे सिक्नुहुनेछ।”

१२. हामी किन भावनामा बहनु हुँदैन बरु यहोवामा भर पर्नुपर्छ? (हितोपदेश ३:५, ६)

१२ यहोवामा भरोसा गर्नुहोस्‌, भावनामा नबहनुहोस्‌। (हितोपदेश ३:५, ६ पढ्‌नुहोस्‌।) के गर्दा हाम्रो भलो हुन्छ भनेर यहोवालाई राम्ररी थाह छ। (यसै. ५५:८, ९) उहाँले हामीलाई हानि हुने कुनै पनि कुरा कहिल्यै गर्न लगाउनुहुनेछैन। त्यसैले उहाँले भन्‍नुभएझैँ अरूलाई क्षमा दिँदा त्यसले हाम्रै फाइदा हुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। (भज. ४०:४; यसै. ४८:१७, १८) तर भावनामा बह्‍यौँ भने हामीलाई रिस उठाउने वा हाम्रो चित्त दुखाउने व्यक्‍तिलाई कहिल्यै क्षमा दिन सक्नेछैनौँ। (हितो. १४:१२; यर्मि. १७:९) नाओमी यसो भन्छिन्‌: “मैले मेरो श्रीमान्‌लाई क्षमा नदिनु ठीकै हो जस्तो लाग्थ्यो। किनकि उहाँले फेरि अश्‍लील सामग्री हेर्न थाल्नुहोला भनेर मलाई डर लाग्थ्यो। अनि पहिला मेरो कत्ति चित्त दुखेको थियो भन्‍ने कुरा बिर्सनुहोला भनेर चिन्ता लाग्थ्यो। यहोवाले मेरा यस्ता भावनाहरू बुझिहाल्नुहुन्छ नि जस्तो लाग्थ्यो। तर पछि मैले के महसुस गरेँ भने यहोवाले मेरा भावनाहरू बुझ्नुहुन्छ भन्दैमा उहाँ त्यसलाई सही नै ठान्‍नुहुन्छ भन्‍ने होइन। उहाँ मेरो भावना बुझ्नुहुन्छ र मेरो मनको घाउ निको हुन समय लाग्छ भनेर उहाँलाई थाह छ। तर उहाँ मैले क्षमा दिएको पनि चाहनुहुन्छ।” d

सकारात्मक भावनाहरू विकास गर्नुहोस्‌

१३. रोमी १२:१८-२१ अनुसार हामीले के गर्नुपर्छ?

१३ हाम्रो चित्त दुखाउने व्यक्‍तिलाई क्षमा दिनु भनेको जे भएको थियो, त्यसबारे कुरा नगर्नु मात्र होइन। यदि हाम्रो चित्त दुखाउने व्यक्‍ति साक्षी भाइ वा बहिनी हुन्‌ भने हामीले क्षमा दिनुको उद्देश्‍य तिनीसित मिलाप गर्ने हुनुपर्छ। (मत्ति ५:२३, २४) हामी तिनीसित रिसाउनुको साटो तिनलाई दया देखाउन चाहन्छौँ र द्वेष राख्नुको साटो क्षमा दिन चाहन्छौँ। (रोमी १२:१८-२१ पढ्‌नुहोस्‌; १ पत्रु. ३:९) यसो गर्न हामीलाई केले मदत गर्छ?

१४. हामीले के गर्ने कोसिस गर्नुपर्छ र किन?

१४ यहोवा मानिसहरूको असल गुणहरू हेर्ने छनौट गर्नुहुन्छ। (२ इति. १६:९; भज. १३०:३) हामीले पनि उहाँको अनुकरण गर्नुपर्छ र हाम्रो चित्त दुखाउने व्यक्‍तिको असल गुणहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। हामी मानिसहरूमा जस्तो कुरा खोज्छौँ, अक्सर त्यस्तै कुरा देख्छौँ। त्यो कुरा असल पनि हुन सक्छ, खराब पनि हुन सक्छ। हामीले मानिसहरूमा भएका असल कुराहरूमा ध्यान केन्द्रित गऱ्‍यौँ भने तिनीहरूलाई क्षमा दिन हामीलाई सजिलो हुन्छ। जेराल्ड भाइ यसो भन्छन्‌: “कुनै भाइबहिनीले मेरो चित्त दुखाएको कुरामा नभई तिनका असल कुराहरूमा ध्यान केन्द्रित गर्दा तिनलाई क्षमा दिन मलाई सजिलो लाग्छ।”

१५. तपाईँको चित्त दुखाउने व्यक्‍तिलाई क्षमा दिएको कुरा बताउनु किन महत्त्वपूर्ण छ?

१५ हामीले गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा हो: हाम्रो चित्त दुखाउने व्यक्‍तिलाई क्षमा दिएको कुरा बताउनु। किन? नाओमी भन्छिन्‌: “मेरो श्रीमान्‌ले मलाई ‘तिमीले मलाई माफ गऱ्‍यौ?’ भनेर सोध्नुहुँदा ‘मैले तपाईँलाई माफ गरेँ’ भनेर भन्‍नै सकिनँ, मलाई एकदम गाह्रो भयो। मैले उहाँलाई मनैदेखि क्षमा दिएको रहेनछु भनेर त्यतिबेला महसुस गरेँ। पछि मात्र मैले उहाँलाई माफी दिएको कुरा बताउन सकेँ। यो कुरा सुनेर उहाँले यत्ति हलुका महसुस गर्नुहोला भनेर सोचेकै थिइनँ। उहाँको आँखाभरि आँसु थियो। उहाँलाई क्षमा दिएपछि मेरो मन पनि हलुका भयो। त्यसपछि मैले उहाँलाई फेरि भरोसा गर्न सकेँ र हामी पहिलाजस्तै घनिष्ठ साथी भयौँ।”

१६. क्षमा दिनेबारे तपाईँले के सिक्नुभयो?

१६ यहोवा हामीले अरूलाई क्षमा दिएको चाहनुहुन्छ। (कल. ३:१३) तैपनि अरूलाई क्षमा दिन हामीलाई गाह्रो हुन सक्छ। तर आफ्ना भावनाहरूलाई बेवास्ता गरेनौँ, अरूलाई क्षमा दिन कदम चाल्यौँ र सकारात्मक भावनाहरू विकास गऱ्‍यौँ भने हामी अरूलाई क्षमा दिन सक्छौँ।—“ क्षमा दिन चाल्नुपर्ने तीन वटा कदम” भन्‍ने पेटी हेर्नुहोस्‌।

क्षमा दिँदा हुने लाभहरूबारे विचार गर्नुहोस्‌

१७. अरूलाई क्षमा दिँदा हामीलाई कस्तो लाभ हुन्छ?

१७ हामीसित अरूलाई क्षमा दिने थुप्रै कारणहरू छन्‌। तीमध्ये केही विचार गरौँ। पहिलो, अरूलाई क्षमा दिँदा हामीले कृपालु बुबा यहोवाको अनुकरण गरिरहेका हुन्छौँ र उहाँलाई खुसी बनाइरहेका हुन्छौँ। (लुका ६:३६) दोस्रो, यहोवाले दिनुभएको क्षमाप्रति कृतज्ञता देखाइरहेका हुन्छौँ। (मत्ति ६:१२) अनि तेस्रो, हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्दैन र अरूसितको मित्रतालाई बलियो बनाइराख्न सक्छौँ।

१८-१९. हामीले क्षमा दिँदा नतिजा कस्तो हुन सक्छ?

१८ अरूलाई क्षमा दिँदा हामीले आशै नगरेको आशिष्‌ पाउन सक्छौँ। सुरुमा उल्लेख गरिएकी डिनिसबारे विचार गरौँ। ती गाडी चालकले अदालतमा आफ्नो मुद्धाको फैसला भएपछि आत्महत्या गर्ने विचार गरेका थिए। यो कुरा डिनिसलाई त्यतिबेला थाह थिएन। डिनिसले क्षमा दिएको कुरा सुनेपछि ती गाडी चालकको यत्ति मन छोयो कि उनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले।

१९ हामीलाई क्षमा दिन असाध्यै गाह्रो लाग्न सक्छ। तर क्षमा दिनुका थुप्रै फाइदाहरू छन्‌। (मत्ति ५:७) त्यसैले यहोवाले जस्तै क्षमा दिन आफ्नो तर्फबाट सक्दो कोसिस गरौँ!

गीत १२५ ‘आनन्दित हुन्‌ कृपालुहरू!’

a केही नाम परिवर्तन गरिएका छन्‌।

b त्यस्तो अवस्थामा के गर्ने भनेर प्रत्येक ख्रिष्टियनले आफै निर्णय गर्नुपर्छ।

cएकअर्कालाई क्षमा दिनुहोस्‌” (हिन्दी), “खुला मनले क्षमा देऊ” (हिन्दी) र “माफी दिन्छु म” भन्‍ने मौलिक गीतहरू jw.org मा हेर्नुहोस्‌।

d हुनत अश्‍लील सामग्री हेर्नु पाप हो र यसले गर्दा निर्दोष जोडीलाई निकै चोट पुग्छ। तर बाइबलले यसैको आधारमा सम्बन्धविच्छेद गर्ने छुटचाहिँ दिँदैन।