सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छ

‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छ

“असल जमिनमा पर्नेचाहिं . . . ती मानिसहरू हुन्‌, जसले . . . धीरजी भई फल फलाउँछन्‌।”—लूका ८:१५.

गीत: ६८, ७२

१, २. (क) राज्य सन्देशप्रति चासो नदेखाइने इलाकाहरूमा वफादार भई प्रचार गरिरहेका भाइबहिनीलाई देख्दा हामी किन प्रोत्साहन पाउँछौँ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) येशूले “आफ्नै इलाकामा” प्रचार गर्नेबारे के भन्‍नुभयो? (फुटनोट हेर्नुहोस्‌)

सर्जो र ओलिन्डा अमेरिकामा अग्रगामी सेवा गरिरहेका वृद्ध दम्पती हुन्‌। अहिले तिनीहरू दुवैको उमेर ८० वर्ष नाघिसक्यो। तिनीहरूको खुट्टा दुख्छ र हिँड्‌न गाह्रो हुन्छ। तैपनि तिनीहरूले वर्षौँदेखि गर्दै आएको एउटा काम भने गर्न छोडेका छैनन्‌। तिनीहरू एउटा व्यस्त चोकको छेउमा बिहान सात बजे बिस्तारै हिँड्‌दै आइपुग्छन्‌। तिनीहरू बसस्टपनजिकै बस्छन्‌ र त्यहाँ ओहोरदोहोर गर्ने मानिसहरूलाई हाम्रा प्रकाशनहरू दिन्छन्‌। धेरैजसो मानिसले तिनीहरूको वास्ता गर्दैनन्‌ तैपनि तिनीहरू त्यहाँ बसिरहन्छन्‌ अनि तिनीहरूतिर हेर्नेहरूलाई मीठो मुस्कान दिन्छन्‌। दिउँसो भएपछि तिनीहरू बिस्तारै हिँडेर आफ्नो घर फर्कन्छन्‌। फेरि भोलिपल्ट बिहान सात बजे त्यही ठाउँमा आउँछन्‌। यस वफादार दम्पतीले हप्तामा छ दिन अनि बाह्रै महिना त्यहाँ बसेर परमेश्‍वरको राज्य सन्देश अरूलाई प्रचार गर्छन्‌।

सर्जो र ओलिन्डाजस्ता वफादार दाजुभाइ दिदीबहिनी संसारभरि थुप्रै छन्‌। हाम्रो सन्देशप्रति चासो नदेखाउने इलाकाहरूमा तिनीहरूले वर्षौँदेखि प्रचार गरिरहेका छन्‌। यदि तपाईँको इलाका पनि यस्तै छ भने तपाईँहरू अहिलेसम्म धीरजी भइरहनुभएकोमा हामी त्यसको साह्रै कदर गर्छौँ। * तपाईँले यसरी अटल भई यहोवाको सेवा गरिरहनुभएको देख्दा थुप्रैले प्रोत्साहन पाएका छन्‌। अनुभवी भाइबहिनीले पनि तपाईँहरूबाट निकै प्रोत्साहन पाउँछन्‌। केही क्षेत्रीय निरीक्षकले यसो भनेका छन्‌: “यस्ता वफादार भाइबहिनीसित प्रचारकार्यमा जाँदा उहाँहरूको उदाहरण देखेर म निकै बल पाउँछु।” “वफादार भई सेवा गरिरहनुभएका ती भाइबहिनीलाई देख्दा म पनि हार नमान्‍न अनि साहसी भई प्रचार गरिरहन प्रोत्साहन पाउँछु।” “उहाँहरूको उदाहरण देख्दा मेरो मन खुसीले गद्‌गद्‌ हुन्छ।”

३. हामी कुन तीन वटा प्रश्‍नबारे छलफल गर्नेछौँ, किन?

येशूले अह्राउनुभएको प्रचारकार्य पूरा गर्ने हाम्रो सङ्‌कल्पलाई अझ बलियो बनाउन यी तीन वटा प्रश्‍नबारे छलफल गरौँ: हामी कहिलेकाहीँ किन निरुत्साहित हुन्छौँ? हामी कसरी फल फलाउन सक्छौँ? धीरजी भई फल फलाइरहन हामी के गर्न सक्छौँ?

हामी कहिलेकाहीँ किन निरुत्साहित हुन्छौँ?

४. (क) धेरैजसो यहूदीको नकारात्मक व्यवहार देख्दा पावललाई कस्तो लाग्यो? (ख) पावलको मनमा किन त्यस्ता भावनाहरू आए?

मानिसहरूले त्यति चासो नदिने इलाकामा प्रचार गर्दा निरुत्साहित हुनुभएको छ भने प्रेषित पावलको भावना बुझ्न सक्नुहुन्छ होला। तिनले प्रचारकार्यमा लगभग ३० वर्ष बिताए अनि त्यस दौडान थुप्रैलाई ख्रीष्टको चेला बन्‍न मदत गरे। (प्रेषि. १४:२१; २ कोरि. ३:२, ३) तैपनि तिनले थुप्रै यहूदीलाई साँचो उपासक बनाउन सकेनन्‌। ती यहूदीहरूले तिनलाई तिरस्कार गरे अनि कतिपयले तिनको खेदोसमेत गरे। (प्रेषि. १४:१९; १७:१, ४, ५, १३) यहूदीहरूको यस्तो नकारात्मक व्यवहार देख्दा पावललाई कस्तो लाग्यो? तिनले यसरी खुलस्त बताए: “म ख्रीष्टमा सत्य बोल्दैछु; . . . मेरो मनमा ठूलो शोक र यस्तो पीडा छ, जुन कहिल्यै कम भएन।” (रोमी ९:१-३) पावललाई किन यस्तो लाग्यो? किनभने तिनलाई प्रचारकार्य असाध्यै मन पर्थ्यो र तिनी मानिसहरूलाई माया गर्थे। तिनले यहूदीहरूको साँचो चासो राख्थे। त्यसैले यहूदीहरूले परमेश्‍वरको कृपा नस्विकारेको देख्दा पावलको मनमा असाध्यै पीडा भयो।

५. (क) हामी किन प्रचार गर्छौँ? (ख) हामी कहिलेकाहीँ निरुत्साहित हुनु किन स्वाभाविकै हो?

पावलजस्तै हामी पनि मानिसहरूको गहिरो चासो राख्छौँ। (मत्ती २२:३९; १ कोरि. ११:१) यहोवाको सेवा गर्दा कति धेरै आशिष्‌ पाइन्छ भनेर हामी आफैले अनुभव गरेका छौँ। त्यसैले हामी प्रचार गरिरहन्छौँ। आफ्नो इलाकाका मानिसहरू देख्दा हामी मनमनै यसो भन्छौँ: ‘हाम्रो सन्देश स्विकारे उनीहरूको जीवन कत्ति राम्रो हुने थियो!’ त्यसैले हामी उनीहरूलाई यहोवाबारे र मानिसजातिको लागि उहाँको उद्देश्‍यबारे सत्य कुरा सिक्न प्रोत्साहन दिइरहन्छौँ। वास्तवमा हामीले मानिसहरूलाई यसो भनिरहेका हुन्छौँ: ‘तपाईँको लागि मैले अत्यन्तै राम्रो उपहार ल्याएको छु। कृपया लिनुहोस्‌।’ त्यसैले मानिसहरूले त्यो उपहार लिन नमान्दा ‘हाम्रो मनमा पीडा’ हुनु स्वाभाविकै हो। त्यस्तो भावना हामीसित विश्‍वासको अभाव छ भन्‍ने सङ्‌केत होइन। बरु हामी प्रचारकार्यलाई असाध्यै मन पराउँछौँ भन्‍ने सङ्‌केत हो। त्यसैले कहिलेकाहीँ निरुत्साहित भए तापनि हामी प्रचार गर्न छोड्‌दैनौँ। पच्चीस वर्षभन्दा लामो समयदेखि अग्रगामी सेवा गरिरहेकी एलिना यसो भन्छिन्‌: “प्रचार गर्न मलाई गाह्रो लाग्छ। तर पनि म यही काम गरिरहन चाहन्छु।”

हामी कसरी फल फलाउन सक्छौँ?

६. हामी कुन प्रश्‍न विचार गर्नेछौँ? त्यसको जवाफ पाउन हामी के छलफल गर्नेछौँ?

जुनसुकै इलाकामा प्रचार गरे पनि हाम्रो प्रचारकार्य किन फलदायी हुन सक्छ? यस महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिन येशूले बताउनुभएको दुई वटा दृष्टान्त विचार गरौँ, जसमा उहाँले ‘फल फलाउनुपर्ने’ आवश्‍यकताबारे बताउनुभएको छ। (मत्ती १३:२३) पहिलो दृष्टान्तचाहिँ दाखको बोटबारे हो।

७. (क) “किसान,” “दाखको बोट” र “हाँगाहरू” को-को हुन्‌? (ख) हामीले कुन प्रश्‍नको जवाफ पाउन अझै बाँकी छ?

यूहन्‍ना १५:१-५,  पढ्‌नुहोस्‌। येशूले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले धेरै फल फलाइरह्‍यौ अनि मेरा चेलाहरू हौ भनी प्रमाणित गऱ्‍यौ भने मेरो बुबाको महिमा हुन्छ।” येशूले यहोवालाई “किसान,” आफूलाई “साँचो दाखको बोट” अनि चेलाहरूलाई “हाँगाहरू” भन्‍नुभयो। * त्यसोभए ख्रीष्टका चेलाहरूले फलाउनुपर्ने फल के हो? यस दृष्टान्तमा येशूले फल के हो भनेर तोकेरै बताउनुभएन। तर फल के हो भनेर बुझ्न सकिने स्पष्ट सङ्‌केत भने दिनुभयो।

८. (क) यस दृष्टान्तमा बताइएको फल किन नयाँ चेलाहरू हुन सक्दैन? (ख) यहोवा हामीबाट कस्तो कुरा मात्र चाहनुहुन्छ?

आफ्नो बुबाबारे येशूले यसो भन्‍नुभयो: “मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्‌नुहुन्छ।” अर्को शब्दमा भन्‍ने हो भने हामीले फल फलायौँ भने मात्र उहाँ हामीलाई आफ्नो सेवक ठान्‍नुहुन्छ। (मत्ती १३:२३; २१:४३) त्यसैले यस दृष्टान्तमा हरेक ख्रीष्टियनले फलाउनै पर्ने फल हामीले बनाउने नयाँ चेलाहरू हुन सक्दैन। (मत्ती २८:१९) त्यसो हुँदो हो त राज्य सन्देशप्रति चासो नदेखाइने इलाकामा प्रचार गरेकोले चेला बनाउन असफल भएकाहरू फल नफलाउने हाँगाहरूजस्तै हुनेथिए। तर यो सही निष्कर्ष हुनै सक्दैन! किन? किनकि हामी मानिसहरूलाई जबरजस्ती चेला बनाउन सक्दैनौँ। जुन कुरा आफ्ना सेवकहरूको हातमा छैन, त्यसको लागि तिनीहरूलाई अयोग्य ठहराउनु यहोवाको मायालु तौरतरिकासित पटक्कै मेल खाँदैन। हामीले गर्न सक्ने कुरा मात्र यहोवा हामीबाट चाहनुहुन्छ।—व्यव. ३०:११-१४.

९. (क) हामी कुन काममा भाग लिएर फल फलाउँछौँ? (ख) हामी कुन दृष्टान्त विचार गर्नेछौँ, किन?

त्यसोभए हामीले फलाउनै पर्ने फल के हो त? यो हामी सबैले गर्न सक्ने काम हुनुपर्छ। यहोवाले आफ्ना सबै सेवकलाई कुन काम दिनुभएको छ? परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने। * (मत्ती २४:१४) यो कुरा येशूले बताउनुभएको बीउ छर्ने मानिसको दृष्टान्तले स्पष्ट पार्छ। आउनुहोस्‌, त्यो दृष्टान्त विचार गरौँ।

१०. (क) यस दृष्टान्तमा बीउ र माटोले केलाई बुझाउँछ? (ख) गहुँको बोटले के फलाउँछ?

१० लूका ८:५-८, ११-१५ पढ्‌नुहोस्‌। बीउ छर्ने मानिसको दृष्टान्तमा बीउ “परमेश्‍वरको वचन” अर्थात्‌ परमेश्‍वरको राज्यको सन्देश हो। माटोले मानिसको लाक्षणिक हृदयलाई बुझाउँछ। असल माटोमा परेको बीउले जरा गाड्यो, टुसायो र बढेर अन्‍नको बोट बन्यो। अनि त्यसले ‘सय गुणा फल फलायो।’ यदि त्यो गहुँको बोट थियो भने त्यसले कस्तो फल फलाउँछ? गहुँकै ससाना बोट हो कि? अहँ होइन, त्यसले गहुँको नयाँ गेडा फलाउँछ, जसले बीउको काम गर्छ। अनि त्यो बीउ बढेर बोट बन्छ। यस दृष्टान्तमा एउटा गेडाले सय गेडा फलायो। यो कुरा हाम्रो प्रचारकार्यमा कसरी लागू हुन्छ?

हामी कसरी ‘धीरजी भई फल फलाइरहन्छौँ’? (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. (क) बीउ छर्ने मानिसको दृष्टान्त हाम्रो प्रचारकार्यमा कसरी लागू हुन्छ? (ख) हामी कसरी राज्यको नयाँ बीउ फलाउँछौँ?

११ एउटा उदाहरण विचार गरौँ। मानौँ हाम्रा आमाबुबा वा अरू कोही साक्षीले वर्षौँअघि हामीलाई परमेश्‍वरको राज्यबारे बताए। हामीले बीउरूपी राज्यको सन्देशलाई स्विकारेको देख्दा तिनीहरू असाध्यै रमाए। येशूको दृष्टान्तको असल माटोमा परेको बीउजस्तै हामीले पनि राज्यको सन्देश स्विकाऱ्‍यौँ अनि त्यसलाई पक्रिराख्यौँ। पछि त्यो बीउले हाम्रो मनमा जरा गाड्यो र त्यो बढेर बोट बन्यो। अनि फल फलाउन तयार भयो। गहुँको बोटले फलाउने फल भनेको नयाँ बोट होइन तर नयाँ बीउ हो। त्यसरी नै हामीले फलाउने फल पनि नयाँ चेला होइन तर राज्यको नयाँ बीउ हो। * हामी कसरी नयाँ बीउ फलाउँछौँ? भनौँ भने हरेक चोटि कुनै न कुनै तरिकामा राज्यको सन्देश अरूलाई बताउँदा हामीले नयाँ बीउ यताउता छरिरहेका हुन्छौँ, जुन सुरुमा हाम्रो मनमा छरिएको बीउजस्तै हुन्छ। (लूका ६:४५; ८:१) त्यसैले यस दृष्टान्तअनुसार परमेश्‍वरको सन्देश अरूलाई सुनाउन्जेल हामीले ‘धीरजी भई फल फलाइरहेका’ हुन्छौँ।

१२. (क) दाखको बोट र बीउ छर्ने मानिसबारे येशूले बताउनुभएको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो लाग्छ?

१२ दाखको बोट र बीउ छर्ने मानिसको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामी कत्तिको फल फलाउँछौँ भन्‍ने कुरा मानिसहरूले राज्यको सन्देश स्विकार्छन्‌ कि स्विकार्दैनन्‌, त्यसमा भर पर्दैन। बरु हामी धीरजी भई प्रचार गरिरहन्छौँ कि रहँदैनौँ, त्यसमा भर पर्छ। यही सत्यलाई बुझाउन पावलले यसो भने: “हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ।” (१ कोरि. ३:८) हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउँछ, आफूले गरेको परिश्रमको नतिजाअनुसार होइन। अग्रगामी सेवा गरेको २० वर्ष भइसकेको माटिल्डा यसो भन्छिन्‌: “यहोवाले हाम्रो परिश्रमअनुसार इनाम दिनुहुन्छ भनेर थाह पाउँदा खुसी लाग्छ।”

हामी कसरी धीरजी भई फल फलाइरहन सक्छौँ?

१३, १४. रोमी १०:१, २ अनुसार पावलले राज्य सन्देश सुन्‍न नचाहनेहरूलाई किन प्रचार गर्न छोडेनन्‌?

१३ धीरजी भई फल फलाइरहन हामी के गर्न सक्छौँ? यस लेखको सुरुतिर छलफल गरिएझैँ राज्य सन्देशप्रति यहूदीहरूको नकारात्मक प्रतिक्रियाले गर्दा पावल निरुत्साहित भए तापनि पावलले तिनीहरूलाई प्रचार गर्न छोडेनन्‌। ती यहूदीहरूप्रतिको भावनाबारे तिनले रोमका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा यसो भने: “मेरो मनैदेखिको सदिच्छा तिनीहरूले उद्धार पाऊन्‌ भन्‍ने छ र परमेश्‍वरसित पनि म यही उत्कट बिन्ती गर्छु। किनकि तिनीहरूसित परमेश्‍वरको लागि जोस त छ तर सही ज्ञानअनुरूप छैन भन्‍ने कुराको म साक्षी छु।” (रोमी १०:१, २) पावलले प्रचारकार्यमा लागिरहनुका कस्ता कारणहरू बताए?

१४ पहिलो, ‘आफ्नो मनैदेखिको सदिच्छाले’ गर्दा तिनी यहूदीहरूलाई प्रचार गरिरहन उत्प्रेरित भएका थिए। तिनीहरूमध्ये केहीलाई बचाउन सकूँ भन्‍ने तिनको मनैदेखिको चाहना थियो। (रोमी ११:१३, १४) दोस्रो, पावलले ‘तिनीहरूको लागि परमेश्‍वरसित उत्कट बिन्ती’ गरे। यहूदीहरूलाई परमेश्‍वरको राज्यको सन्देश स्विकार्न मदत दिनुहोस्‌ भनेर तिनले परमेश्‍वरलाई प्रार्थनामा बिन्ती चढाए। तेस्रो, पावलले भने: “तिनीहरूसित परमेश्‍वरको लागि जोस . . . छ।” तिनले मानिसहरूमा केही न केही असल कुरा देखे। सही कुराको लागि जोस छ भने निष्कपट मन भएका मानिसहरू ख्रीष्टका जोसिला चेलाहरू बन्‍न सक्छन्‌ भनी पावललाई थाह थियो।

१५. हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? उदाहरण दिनुहोस्‌।

१५ हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? पहिलो, “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू खोज्न हामी मनैदेखि प्रयास गर्छौँ। दोस्रो, निष्कपट मानिसहरूको मन खोलिदिनुहोस्‌ भनेर हामी यहोवालाई प्रार्थनामा उत्कट बिन्ती चढाउँछौँ। (प्रेषि. १३:४८; १६:१४) झन्डै ३० वर्ष अग्रगामी सेवा गरिसकेकी सिल्भाना यसो भन्छिन्‌, “प्रचारकार्यमा कुनै घरमा जानुअघि सकारात्मक मनोवृत्ति राख्न मदत दिनुहोस्‌ भनेर म यहोवालाई प्रार्थना गर्छु।” सोझो हृदय भएका मानिसहरूकहाँ पुग्न स्वर्गदूतहरूले हामीलाई डोऱ्‍याऊन्‌ भनेर पनि हामी प्रार्थना गर्छौँ। (मत्ती १०:११-१३; प्रका. १४:६) तीस वर्षभन्दा लामो समय अग्रगामी सेवा गरिसकेका रोबर्ट यसो भन्छन्‌, “हामीले प्रचार गर्ने मानिसहरूको जीवनमा के भइरहेको छ भनेर स्वर्गदूतहरूलाई थाह छ। त्यसैले स्वर्गदूतहरूसित मिलेर काम गर्न पाउँदा साह्रै खुसी लाग्छ!” तेस्रो, मानिसहरूमा भएको केही न केही राम्रो कुरा हेर्न हामी प्रयास गर्छौँ। एल्डरको रूपमा सेवा गर्ने कार्ल, जसले ५० वर्षभन्दा अघि बप्तिस्मा गरे, तिनी यसो भन्छन्‌, “मानिसहरू निष्कपट छन्‌ भनेर देखिने स-सानो कुरामा पनि म एकदम ध्यान दिन्छु। जस्तै मुस्कान, दयालु नजर वा कुनै निष्कपट प्रश्‍न।” हो, पावलजस्तै हामी पनि धीरजी भई फल फलाइरहन सक्छौँ।

‘आफ्नो काम गर्न नछोड्‌नुहोस्‌’

१६, १७. (क) उपदेशक ११:६ मा दिइएको निर्देशनबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) हामीलाई नियालिरहेका मानिसहरूमा हाम्रो प्रचारकार्यले कस्तो प्रभाव पार्न सक्छ? एउटा अनुभव बताउनुहोस्‌।

१६ हामीले प्रचार गर्ने राज्य सन्देश मानिसहरूको मनसम्म पुगेको छैन जस्तो देखिए तापनि बीउ छर्ने हाम्रो कामले मानिसहरूमा ठूलो प्रभाव पार्न सक्छ भनेर बिर्सनु हुँदैन। (उपदेशक ११:६ पढ्‌नुहोस्‌) हुनत धेरै मानिसले हाम्रो सन्देश सुन्दैनन्‌ तर तिनीहरूले हामीलाई नियालिरहेका हुन्छन्‌। तिनीहरूले हाम्रो सुकिलो पहिरन, भद्र व्यवहार र मीठो मुस्कान याद गर्छन्‌। यसले तिनीहरूमा राम्रो छाप पर्न सक्छ र हामीबारे राखेको नकारात्मक दृष्टिकोण गलत रहेछ भनेर बुझ्न सक्छन्‌। सुरुमा उल्लेख गरिएका सर्जो र ओलिन्डाले त्यस्तै अनुभव गरे।

१७ सर्जो भन्छन्‌: “बिरामी भएकोले हामी सधैँ जाने गरेको चोकमा केही समय जान सकेनौँ। पछि त्यहाँ फर्कँदा बटुवाहरूले हामीलाई सोधे, ‘के भयो? तपाईँहरूलाई नदेख्दा साह्रै न्यास्रो लाग्यो!’” ओलिन्डा मुसुक्क हाँस्दै यसो भन्छिन: “बस ड्राइभरहरूले हामीलाई हात हल्लाए अनि कोही-कोहीले ठूलो स्वरमा भने: ‘ओहो! बल्ल आउनुभयो!’ तिनीहरूले हाम्रो पत्रिका पनि लिए।” एक जना मानिसले ट्रली राखिएको ठाउँमा आएर सर्जो र ओलिन्डालाई फूलको गुच्छा दिए र उनीहरूले गर्ने कामको लागि धन्यवाद पनि भने। यो देख्दा उनीहरू छक्कै परे।

१८. ‘धीरजी भई फल फलाइरहन’ तपाईँ किन दृढ हुनुहुन्छ?

१८ राज्यको बीउ छर्न छोडेनौँ भने हामीले “सबै जातिलाई साक्षी दिन” ठूलो योगदान पुऱ्‍याइरहेका हुन्छौँ। (मत्ती २४:१४) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको अनुमोदन पाएका छौँ भनेर थाह पाउँदा हामी गहिरो आनन्द महसुस गर्छौँ किनभने ‘धीरजी भई फल फलाइरहने’ सबैलाई यहोवा माया गर्नुहुन्छ!

^ अनु. 2 “आफ्नै इलाकामा” अर्थात्‌ “आफ्नै गृहनगरमा” प्रचार गर्नु गाह्रो हुन्छ भनेर येशूले समेत महसुस गर्नुभएको थियो। यो कुरा सुसमाचारका चारै वटा किताबमा पाउँछौँ।—मत्ती १३:५७; मर्कू. ६:४; लूका ४:२४; यूह. ४:४४.

^ अनु. 7 यस दृष्टान्तका हाँगाहरूले स्वर्गमा जीवन पाउनेहरूलाई बुझाउँछ। तर यस दृष्टान्तबाट सिक्न सकिने पाठहरू परमेश्‍वरका सबै सेवकहरूको लागि उपयोगी छ।

^ अनु. 9 ‘फल फलाउने“ भन्‍ने अभिव्यक्‍तिले “पवित्र शक्‍तिको फल” फलाउनुलाई पनि बुझाउँछ। तर यो र यसपछिको लेखमा हामी “ओठको फल” फलाउने अर्थात्‌ परमेश्‍वरको राज्यबारे प्रचार गर्ने विषयमा छलफल गर्नेछौँ।—गला. ५:२२, २३; हिब्रू १३:१५.

^ अनु. 11 अरू विवरणहरूमा येशूले चेला बनाउने कामलाई बुझाउन बीउ छर्ने र कटनी गर्ने उदाहरणहरू चलाउनुभयो।—मत्ती ९:३७; यूह. ४:३५-३८.