जीवनी
वफादार पुरुषहरूसित काम गर्ने मौका पाएँ
मेरो आमाबुबा सन् १९३० दशकको बीचतिर स्कटल्याण्डबाट न्यु योर्कको ब्रोंक्स भन्ने ठाउँमा सर्नुभएको थियो। मेरो बुबाको नाम जेम्स अनि आमाको नाम जेस्सी हो। त्यहाँ विली स्नेडनसित उहाँहरूको चिनजान भयो। उहाँ पनि स्कटल्याण्डबाटै आउनुभएको थियो। पहिलो चोटि भेट्नेबित्तिकै मेरो आमाबुबा र उहाँले आ-आफ्नो परिवारबारे कुरा गर्न भ्याउनुभएछ। यो कुरा म जन्मनुभन्दा केही वर्षअघिको हो।
आमाले विलीलाई आफ्नो परिवारको कुरा सुनाउनुभयो। हजुरबुबा अनि मामा माछा मार्न गएको बेला समुद्रमुनि लुकाइराखेको बम विस्फोट भएछ। अनि त्यसैमा परेर उहाँहरू बित्नुभएको रहेछ। यो कुरा प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा केही समयअघिको हो। आमाको कुरा सुनेपछि विलीले यसो भन्नुभयो, “तपाईंको बुबा त नरकमा * हुनुहुन्छ।” विली यहोवाको साक्षी हुनुहुन्थ्यो। यसरी विलीले अनौठो तरिकामा आमालाई बाइबलको कुरा बताउनुभयो।
विलीको कुरा सुनेर आमालाई नराम्रो लाग्यो। किनभने हजुरबुबा राम्रो व्यक्ति हुनुहुन्थ्यो। विलीले भन्नुभयो: “येशू पनि नरकमा जानुभयो भन्ने कुरा थाह पाउँदा तपाईंलाई ढुक्क महसुस हुन्छ कि?” आमाले चर्चमा एउटा प्रार्थना गर्न सिक्नुभएको थियो। त्यस प्रार्थनामा येशू मरेर नरक जानुभयो र तीन दिनपछि ब्युँताइनुभयो भनिएको थियो। यो कुरा सम्झँदा आमालाई यस्तो लाग्यो, ‘खराब मानिसहरूलाई सजाय दिन नरकमा पठाइन्छ भने येशू किन त्यहाँ जानुभयो त?’ यस घटनापछि उहाँलाई यहोवाका साक्षीहरूले सिकाउने कुरा बुझ्न मन लागेछ। उहाँ ब्रोंक्स मण्डलीमा हुने सभाहरूमा जान थाल्नुभयो अनि उहाँले सन् १९४० मा बप्तिस्मा गर्नुभयो।
त्यतिबेला छोराछोरीलाई बाइबलको कुरा सिकाउनुपर्छ भनेर आमाबुबालाई खासै प्रोत्साहन दिइँदैन थियो। म बामे सर्ने बेलातिरको कुरा हो, आमा सभा जानुहुन्थ्यो अनि सप्ताहन्तमा प्रचार जानुहुन्थ्यो। बुबाचाहिं मलाई हेर्न घरमै बस्नुहुन्थ्यो। केही वर्षपछि म र बुबा पनि सभाहरूमा जान थाल्यौं। आमा साह्रै जोसिलो हुनुहुन्थ्यो। त्यसैले चासो देखाउने थुप्रै मानिसलाई बाइबल अध्ययन गराउनुहुन्थ्यो। कुनै-कुनै समयताका उहाँले थुप्रै बाइबल विद्यार्थीलाई एउटै समूहमा राखेर पनि अध्ययन गराउनुभएछ। म पनि स्कुल छुट्टी भएको समयमा
आमासँगै प्रचार जान्थें। यसरी मैले बाइबलको थुप्रै कुरा सिक्न सकें। साथै अरूलाई बाइबलको कुरा कसरी बताउने भनेर पनि सिकें।कुरा नलुकाई भन्नुपर्दा, सानो छँदा मैले सच्चाइलाई गम्भीरतासाथ लिइनँ। मलाई बाइबलप्रति त्यति चासो नै थिएन। म १२ वर्षको उमेरमा प्रकाशक भएँ अनि त्यसपछि भने प्रचारमा नियमित भाग लिन थालें। सन् १९५४, जुलाई २४ तारिख क्यानाडाको टोरोन्टो सहरमा आयोजना गरिएको अधिवेशनमा मैले बप्तिस्मा गरें। त्यतिबेला म १६ वर्षको थिएँ।
बेथेल सेवा
बेथेल सेवा गरिरहेका वा पहिला बेथेल सेवा गरेका केही दाइहरू हाम्रो मण्डलीमा हुनुहुन्थ्यो। उहाँहरू मेरो लागि एकदम राम्रो उदाहरण हुनुहुन्थ्यो। उहाँहरूको भाषण दिने अनि प्रचारमा बाइबलको कुरा व्याख्या गर्ने तरिका मलाई असाध्यै मन पर्थ्यो। स्कुलका शिक्षकहरू मलाई विश्वविद्यालयमा पढ्न जाऊ भन्थे। तर मचाहिं बेथेल जान चाहन्थें। त्यसैले टोरोन्टोमा भएको अधिवेशनमा बेथेल सेवाको लागि फारम बुझाएँ। त्यसपछि सन् १९५५ मा न्यु योर्कको याङ्की रङ्गशालामा भएको अधिवेशनमा फेरि अर्को फारम बुझाएँ। त्यसको केही समयपछि म १७ वर्षको हुँदा बेथेलबाट निम्तो आयो। सन् १९५५ सेप्टेम्बर १९ देखि मैले बेथेल सेवा सुरु गरें। बेथेल गएको दोस्रो दिनदेखि छापाखानामा काम गर्न थालें। म किताबको पानाहरू जम्मा गर्ने मेसिनमा काम गर्थें।
छापाखानामा एक महिना जति काम गरिसकेपछि मलाई पत्रिका विभागमा काम गर्न खटाइयो। किनभने मलाई टाइप गर्न आउँथ्यो। त्यतिबेला भाइबहिनीहरू सानो फलामे प्लेटहरूमा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका ग्राहकहरूको ठेगाना छाप्थे। केही महिनापछि मलाई ढुवानी विभागमा काम गर्न भनियो। हाम्रा प्रकाशनहरू संसारका विभिन्न ठाउँहरूसम्म ढुवानी गर्नुपर्थ्यो। प्रकाशनहरू छापाखानादेखि बन्दरगाहहरूसम्म ट्रकद्वारा ढुवानी गरिन्थ्यो। हाम्रो विभागको निरीक्षक क्लाउस जेन्सेनले मलाई ट्रक ड्राइभरलाई सघाउन भन्नुभयो। अमेरिकाभरिका मण्डलीहरूमा पत्रिका पुऱ्याउन हामी बाकसका बाकस पत्रिका
लिएर हुलाक कार्यालय पनि जान्थ्यौं। म असाध्यै पातलो भएकोले शारीरिक काम गर्दा राम्रो हुन्छ जस्तो लागेर भाइ जेन्सेनले मलाई त्यस्तो काम दिनुभएको रहेछ। त्यतिबेला म जम्मा ५७ केजी थिएँ अनि साह्रै च्याँसे थिएँ। त्यसरी काम गर्न थालेपछि म हट्टाकट्टा हुन थालें। भाइ जेन्सनले मलाई त्यो काम गर्न लगाएर साँच्चै राम्रो गर्नुभयो।पत्रिका विभागले मण्डलीहरूले कस्ता पत्रिकाहरू मगाएका छन् भनेर रेकर्ड राख्ने काम पनि गर्थ्यो। त्यसैले मैले ब्रूक्लिनमा कुन-कुन भाषामा पत्रिकाहरू छापिन्छन् भनेर थाह पाउन सकें। कतिपय भाषा त मैले कहिल्यै सुनेकै थिइनँ। ती भाषाहरूमा हजारौं पत्रिकाहरू छापिंदो रहेछ अनि टाढा-टाढासम्म पुऱ्याइँदो रहेछ भनेर थाह पाउँदा खुसी लाग्यो। पछि मैले ती विभिन्न भाषा बोलिने ठाउँहरूमा जाने सुअवसर पाएँ। त्यस्तो मौका पाऊँला भनेर मैले त्यतिबेला सोचेकै थिइनँ।
सन् १९६१ मा मलाई हाम्रो सङ्गठनको कोषाध्यक्षको अफिसमा काम गर्न बोलाइयो। त्यतिबेला त्यस विभागको निरीक्षकको रूपमा भाइ ग्रान्ट सुटर सेवा गर्दै हुनुहुन्थ्यो। केही वर्ष त्यहाँ काम गरेपछि मलाई भाइ नेथन नोरले उहाँको अफिसमा बोलाउनुभयो। त्यतिबेला उहाँले हाम्रो विश्वव्यापी कामको नेतृत्व लिइरहनुभएको थियो। उहाँको अफिसमा काम गरिरहेका एक जना भाइ राज्य सेवा स्कुल जान लागेका रहेछन्। मलाई ती भाइको ठाउँमा काम गर्न भनियो। त्यहाँ मैले भाइ डन एडम्ससँगै काम गरें। सन् १९५५ को अधिवेशनमा भाइ एडम्सलाई नै मैले आफ्नो बेथेल फारम बुझाएको थिएँ। त्यस विभागमा रोबर्ट वालेन र चार्ल्स मोल्हन पनि काम गर्नुहुन्थ्यो। हामी चार जनाले ५० वर्षभन्दा लामो समय सँगै काम गऱ्यौं। ती वफादार पुरुषहरूसित सेवा गर्न पाएकोमा म साह्रै खुसी छु!—भज. १३३:१.
सन् १९७० देखि मलाई विभिन्न शाखा कार्यालयहरूमा भ्रमण गर्न पठाइयो। म हरेक एक वा दुई वर्षमा केही हप्ताको लागि त्यस्तो भ्रमणमा जान्थें। त्यस्तो भ्रमणलाई त्यतिबेला प्रान्तीय भ्रमण भनिन्थ्यो। भ्रमणको
बेला बेथेल परिवार र मिसनरीहरूलाई भेटेर तिनीहरूलाई प्रोत्साहन दिने मौका पाउँथें। अनि शाखा कार्यालयको विभिन्न रिपोर्टहरू पनि जाँच गर्थें। गिलियड स्कुलको सुरुका-सुरुका कक्षाहरूबाट स्नातक गरेका अनि अझै पनि वफादार भई विदेशमा सेवा गरिरहेका भाइबहिनीलाई भेट्न पाउँदा एकदम खुसी लाग्थ्यो। प्रान्तीय भ्रमणको लागि विभिन्न देशमा जान पाएकोमा म साह्रै कृतज्ञ अनि खुसी छु, मैले अहिलेसम्म ९० भन्दा धेरै देशमा जाने मौका पाएको छु।वफादार साथी पाएँ
ब्रूक्लिन बेथेलका सबै सदस्यलाई न्यु योर्क सहरको विभिन्न मण्डलीमा सेवा गर्न खटाइएको थियो। मचाहिं ब्रोंक्सको एउटा मण्डलीमा जान्थें। ब्रोंक्सको पहिलो मण्डलीमा प्रकाशकहरूको सङ्ख्या निकै बढेकोले दुइटा मण्डली बनाइएको थियो। म जाने मण्डलीचाहिं सुरुको थियो, जसलाई माथिल्लो ब्रोंक्स भनिन्थ्यो।
सन् १९६० दशकको बीचतिर हाम्रो मण्डलीमा एउटा लाट्भियन साक्षी परिवार बसाइँ सरेर आयो। तिनीहरू पहिला ब्रोंक्सको दक्षिणी भागतिर बस्थे अनि त्यहीं सच्चाइ सिकेका थिए। त्यस परिवारको जेठी छोरी लिभ्याले स्कुलको पढाइ सिद्धिनेबित्तिकै नियमित अग्रगामी सेवा सुरु गरिन्। केही महिनापछि उनी प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँ मासाच्युसेट्समा सरिन्। मैले उनलाई मण्डलीको नयाँ-नौलो खबरबारे लेखेर चिठ्ठी पठाउन थालें। अनि उनी चाहिं बोस्टनको इलाकामा प्रचार गर्दा आफूले बटुलेका राम्रा अनुभवहरू लेखेर पठाउँथिन्।
केही वर्षपछि लिभ्या विशेष अग्रगामीको रूपमा नियुक्त भइन्। उनी यहोवाको सेवामा सकेजति गर्न चाहन्थिन्। त्यसैले उनले बेथेल सेवाको लागि फारम भरिन्। उनलाई सन् १९७१ मा बेथेल सेवा गर्न बोलाइयो। यहोवाले नै हामीलाई विवाह गर्न सङ्केत दिइरहनुभएको जस्तो लाग्यो। सन् १९७३, अक्टोबर २७ मा हामीले विवाह गऱ्यौं। हाम्रो विवाह भाषण भाइ नोरले दिनुभएको थियो। हितोपदेश १८:२२ अनुसार असल “पत्नी पाउनेले असल कुरा पाउँछ” र उसले ‘परमप्रभुको निगाह प्राप्त गर्छ।’ मैले आफ्नी पत्नी सँगै मिलेर ४० वर्षभन्दा लामो समय बेथेल सेवा गर्ने सुअवसर पाएँ। अनि हामी अहिले पनि ब्रोंक्स इलाकाकै एउटा मण्डलीमा सेवा गर्दै छौं।
ख्रीष्टका भाइहरूसँग काँधमा काँध मिलाएर सेवा गर्दै
भाइ नोरसँग काम गर्दा साँच्चै रमाइलो भएको थियो। उहाँ राज्य सत्य फैलाउने कामको लागि निकै मेहनत गर्नुहुन्थ्यो। अनि मिसनरीहरूले संसारभरि गरिरहेको कामको उहाँ निकै मोल गर्नुहुन्थ्यो। कतिपय मिसनरीहरूलाई खटाइएको ठाउँमा पहिला कोही साक्षी थिएनन्। सन् १९७६ मा भाइ नोरलाई क्यान्सर लागेको कुरा थाह पाउँदा साह्रै दुःख लाग्यो। बिरामी परेर उहाँ ओछ्यानमै थलिनुपरेको थियो। एक पटक उहाँले मलाई छाप्नको लागि तयार भइसकेका साहित्यहरू पढेर सुनाउन आग्रह गर्नुभयो। उहाँले भाइ फ्रेडरिक फ्रान्जलाई पनि बोलाउन लगाउनुभयो। भाइ फ्रान्जको आँखा कमजोर भएकोले भाइ नोरले थुप्रै पटक त्यस्ता साहित्यहरू उहाँलाई पढेर सुनाउने गर्नुभएको रहेछ भनेर मैले पछि मात्र थाह पाएँ।
सन् १९७७ मा भाइ नोरको मृत्यु भयो। तर उहाँ पृथ्वीमा अन्तसम्मै वफादार रहनुभएको र स्वर्गमा प्रका. २:१०) त्यसपछि भाइ फ्रान्जले हाम्रो सङ्गठनको नेतृत्व लिन थाल्नुभयो।
पुनर्जीवित हुनुभएको कुरा थाह पाउँदा उहाँलाई चिन्ने र माया गर्ने व्यक्तिहरूले ढुक्क महसुस गरे। (त्यतिबेला म भाइ मिल्टन हेन्सेलको सहयोगीको रूपमा सेवा गर्दै थिएँ। भाइ हेन्सेलले भाइ नोरसँग वर्षौंसम्म काम गर्नुभएको थियो। बेथेलमा मेरो मुख्य जिम्मेवारी भाइ फ्रान्जलाई सघाउने हो भनेर भाइ हेन्सेलले भन्नुभयो। हाम्रा प्रकाशनहरू छापिनुअघि म भाइ फ्रान्जलाई नियमित रूपमा पढेर सुनाउने गर्थें। भाइ फ्रान्जको सम्झने शक्ति निकै राम्रो थियो। मैले पढ्दै गर्दा उहाँ ध्यान दिएर सुन्नुहुन्थ्यो। उहाँ पृथ्वीमा अन्तसम्मै वफादार रहनुभयो र सन् १९९२ डिसेम्बरमा उहाँको मृत्यु भयो। तर त्यतिन्जेल उहाँलाई मदत गर्न पाएकोमा म निकै खुसी छु।
बेथेलमा बिताएको ६१ वर्ष कत्ति छिटो बित्यो जस्तो लाग्छ। मेरा आमाबुबा मृत्युसम्मै यहोवाप्रति वफादार रहनुभयो। म उहाँहरूलाई नयाँ संसारमा स्वागत गर्ने दिनको प्रतीक्षा गर्दै छु। (यूह. ५:२८, २९) यहोवाको सङ्गठनमा वफादार भाइबहिनीसित सेवा गर्दा पाइने आनन्द संसारको अरू कुनै पनि कुराले दिन सक्दैन। पूर्ण-समय सेवा गर्दा लिभ्या र मैले ‘परमप्रभुको आनन्द नै हाम्रो बल भएको’ कुरा महसुस गर्न सकेका छौं।—नहे. ८:१०.
यहोवा आफ्नो उद्देश्य पूरा गर्न जो कोहीलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले कोही व्यक्ति नहुँदैमा उहाँको काम रोकिने भन्ने हुँदैन। राज्य सन्देश फैलाउने काम अघि बढिरहन्छ। वर्षौको दौडान थुप्रै वफादार दाजुभाइ-दिदीबहिनीसित मिलेर सेवा गर्न पाउँदा म असाध्यै खुसी छु। मैले सँगै काम गरेका थुप्रै अभिषिक्त भाइ अहिले स्वर्गमा पुनर्जीवित भइसक्नुभयो। ती वफादार भाइहरूलाई सघाउन पाएकोमा म यहोवाप्रति असाध्यै कृतज्ञ छु।
[फुटनोट]
^ अनु. 5 कुनै-कुनै बाइबलमा मानिसको चिहानलाई बुझाउन नरक शब्द प्रयोग गरिएको छ।