हामी सधैँभरि बाँच्नको लागि बनाइएका हौँ
हामीमध्ये कसलाई पो सधैँभरि बाँच्ने अनि सुखी जीवन बिताउने रहर हुँदैन होला र? हामी सधैँभरि आनन्दित अनि निरोगी भई बाँच्न सक्ने भए कत्ति रमाइलो हुन्थ्यो होला, कल्पना गर्नुहोस् त। आफूले माया गर्ने मानिससँग धेरै समय बिताउन सक्ने थियौँ, पूरै संसार घुम्ने थियौँ, नयाँ सीप अनि ज्ञान हासिल गर्ने थियौँ। साथै आफूलाई रुचि लागेको जुनसुकै कुरा सिक्ने थियौँ।
के त्यस्तो चाहना राख्नु अस्वाभाविक हो? त्यस्तो त हुनै सक्दैन! किनभने परमेश्वरले नै हामीमा त्यस्तो चाहना राखिदिनुभएको हो भनी बाइबल बताउँछ। (उपदेशक ३:११) बाइबल अझै यसो भन्छ, “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ युहन्ना ४:८) परमेश्वर हामीलाई माया गर्नुहुन्छ त्यसैले यदि हामी सधैँभरि बाँच्न सक्ने थिएनौँ भने उहाँले हामीमा त्यस्तो चाहना नै राख्नुहुने थिएन।
स्पष्ट छ, हामीमध्ये कसैलाई पनि मर्ने रहर छैन। बाइबलले मृत्युलाई हाम्रो “शत्रु” भनेर बताएको छ। (१ कोरिन्थी १५:२६) ढिलो होस् या चाँडो, एकदिन हामी सबै मर्छौँ। कोही-कोही मृत्युबारे सोच्दा पनि निकै डराउँछन्। के हामी हाम्रो शत्रु मृत्युमाथि विजय हुन सक्छौँ? के यो साँच्चै सम्भव छ?
हाम्रो आशाको प्रमाण
परमेश्वरको उद्देश्य मानिसहरू कहिल्यै पनि नमरोस् भन्ने थियो भनेर थाह पाउँदा के तपाईँलाई अचम्म लाग्दैन र? बाइबलको उत्पत्ति भन्ने किताबअनुसार परमेश्वरको उद्देश्य मानिसहरू पृथ्वीमा सधैँभरि बाँचून् भन्ने थियो। मानिसहरू खुसीसाथ पृथ्वीमा बाँच्न सकून् भनेर यहोवा परमेश्वरले मानिसहरूको लागि चाहिने सबै कुरा बनाउनुभयो। त्यसपछि उहाँले प्रथम पुरुष आदम बनाउनुभयो र तिनलाई अदनको बगैँचामा राख्नुभयो। “त्यसपछि परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो, ती असाध्यै राम्रा थिए।”—उत्पत्ति १:२६, ३१.
व्यवस्था ३२:४) आदमको पत्नी हव्वामा पनि कुनै किसिमको खोट थिएन। यहोवाले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर। समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”—उत्पत्ति १:२८.
आदम परमेश्वरको स्वरूपमा सृष्टि गरिएका थिए र तिनी त्रुटिरहित थिए। (उनीहरूलाई आफ्नो सन्तानले पृथ्वी भर्न समय लाग्ने थियो। हव्वाले सन्तान जन्माउने थिइन् अनि तिनका सन्तानले पनि अरू थुप्रै सन्तान जन्माएर पृथ्वी भर्ने थिए। यसरी तिनीहरूले परमेश्वरको उद्देश्य पूरा गर्ने थिए। (यसैया ४५:१८) यदि यहोवाले आदम र हव्वालाई केवल आफ्नो छोराछोरी र नातिनातिना देखुन्जेलसम्मको लागि मात्र बाँच्ने आशा दिनुभएको भए के तिनीहरूले यहोवाको उद्देश्य पूरा भएको देख्न पाउँथे र?
यसबारे पनि सोच्नुहोस्, आदमले सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख्ने र तिनीहरूको नाम राख्ने काम पाएका थिए। सबै जनावरहरूको नाम राख्न तिनलाई पक्कै पनि केही समय लाग्ने थियो। (उत्पत्ति २:१९) तर ती जनावरहरूलाई अधीनमा राख्न आदमले तिनीहरूबारे थुप्रै कुरा सिक्नुपर्ने थियो र तिनीहरूको ख्याल कसरी राख्ने भनेर थाह पाउनुपर्ने थियो। यो काम गर्न तिनलाई पक्कै पनि लामो समय लाग्ने थियो।
मानिसहरूले पृथ्वी भर्ने अनि जनावरलाई अधीनमा राख्ने परमेश्वरको उद्देश्य थियो। यो उद्देश्य विचार गर्दा आदम र हव्वालाई निकै लामो समयसम्म बाँच्नको लागि बनाइएको थियो भनेर थाह पाउन सक्छौँ। वास्तवमा आदम निकै लामो समय बाँचे।
परमेश्वरको उद्देश्य मानिसहरू बगैँचारूपी सुन्दर पृथ्वीमा सधैँभरि बाँचून् भन्ने थियो
तिनीहरू निकै लामो समय बाँचे
बाइबलमा हेर्ने हो भने पहिला मानिसहरू निकै लामो समयसम्म बाँचेको विवरण पाउँछौँ। बाइबल यसो भन्छ: “आदम जम्मा ९३० वर्ष बाँचे।” त्यसपछि बाइबलमा ९०० वर्ष भन्दा धेरै समय बाँचेका अरू छ जना मानिसबारे उल्लेख गरिएको छ। तिनीहरू सेत, एनोस, केनान, यारेद, मतुसेलह र नुह हुन्। यिनीहरू सबै नुहको समयमा भएको जलप्रलयभन्दा अघि बाँचेका थिए। पृथ्वीमा जलप्रलय हुँदा नुह ६०० वर्षका थिए। (उत्पत्ति ५:५-२७; ७:६; ९:२९) त्यति लामो समयसम्म बाँच्न कसरी सम्भव भयो?
यी सबै मानिसहरू आदम र हव्वाले त्रुटिरहित जीवन गुमाएको केही समयपछि जन्मेका थिए। त्यसैले तिनीहरू लामो समयसम्म बाँचे। तर त्रुटिरहित हुनु र लामो समयसम्म बाँच्नु कसरी सम्बन्धित छ? अनि हामी मृत्युमाथि कसरी विजयी हुन सक्छौँ? यसको जवाफको लागि सुरुमा हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ भनेर थाह पाउन आवश्यक छ।