सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलबाट हामी के थाह पाउन सक्छौँ?

बाइबलबाट हामी के थाह पाउन सक्छौँ?

हाम्रो पृथ्वी कसरी अस्तित्वमा आयो भनेर बाइबलमा यस्तो वर्णन गरिएको छ: “यो आकाश र पृथ्वी सृष्टि गरिएको बेलाको विवरण हो।” (उत्पत्ति २:४) के बाइबलको कुरा वैज्ञानिक तथ्यहरूसित मेल खान्छ? केही उदाहरण विचार गरौँ।

सुरुमा: आकाश र पृथ्वी सृष्टि गरिए

के ब्रह्‍माण्ड सधैँ अस्तित्वमा थियो?

उत्पत्ति १:१ भन्छ: “सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”

करिब सन्‌ १९५० अघिसम्म धेरैजसो प्रख्यात वैज्ञानिकहरू ब्रह्‍माण्ड सधैँ अस्तित्वमा थियो भन्‍ने कुरामा विश्‍वास गर्थे। तर अहिले धेरैजसो वैज्ञानिकले ब्रह्‍माण्डको सुरुवात छ भनेर मानिलिन्छन्‌ किनभने हालैका अनुसन्धानहरूबाट त्यो कुरा प्रमाणित भएको छ।

पृथ्वी सुरुमा कस्तो थियो?

उत्पत्ति १:२, ९ मा बताइएअनुसार “त्यतिखेर पृथ्वीमा केही थिएन अनि त्यसको कुनै आकार पनि थिएन। जताततै पानी मात्र थियो।”

बाइबलको यो कुरा आधुनिक विज्ञानले पत्ता लगाएको कुरासँग मेल खान्छ। जीवशास्त्री प्याट्रिक सीले बताएअनुसार सुरुमा हाम्रो ग्रहमा अक्सिजन थिएन अनि यो उजाड थियो। एस्ट्रोनोमी पत्रिकामा यस्तो लेखिएको छ: “हालैको अनुसन्धानबाट के देखिन्छ भने सुरुमा पृथ्वीमा पानी मात्र थियो। जमिन छँदै थिएन भने पनि हुन्छ।”

वायुमण्डल समय बित्दै जाँदा कसरी परिवर्तन भयो?

उत्पत्ति १:३-५ अनुसार सुरुमा वायुमण्डल एकदमै बाक्लो भएकोले मधुरो प्रकाश मात्र पृथ्वीको सतहमा पुगेको थियो जस्तो देखिन्छ। पछि मात्र सूर्य र चन्द्रमा पृथ्वीबाट प्रस्ट देखिन थाले।—उत्पत्ति १:१४-१८.

बाइबलले पृथ्वीमा सबै जीव २४ घण्टे ६ दिनमा सृष्टि गरिएको थियो भनेर बताउँदैन

स्मिथसोनियन एन्भारोनमेन्टल रिसर्च सेन्टरले बताएअनुसार सुरुमा पृथ्वीमा वायुमण्डलबाट मधुरो प्रकाश मात्र पस्थ्यो। पृथ्वीको चारैतिर मिथेन ग्याँसको बाक्लो तुवाँलो थियो तर पछि यो तुवाँलो हट्यो र निलो आकाश देखिन थाल्यो भनेर पनि त्यस रिसर्च सेन्टरले बताएको छ।

पृथ्वीमा कुन क्रममा जीवहरू देखा परे?

उत्पत्ति १:२०-२७ मा सुरुमा माछा, त्यसपछि चराचुरुङ्‌गी र जनावर अनि अन्तमा मात्र मानिस सृष्टि भएका हुन्‌ भनेर बताइएको छ। वैज्ञानिकहरू पनि सुरुमा माछा, त्यसको धेरै समयपछि स्तनपायी जनावर अनि मात्र मानिस अस्तित्वमा आएका हुन्‌ भनी विश्‍वास गर्छन्‌।

बाइबलले जीवहरूमा समयको दौडान परिवर्तनहरू आउन सक्छन्‌ भन्‍ने कुरा नकार्दैन

बाइबलले के बताउँदैन?

केही मानिसहरू बाइबल आधुनिक विज्ञानले पत्ता लगाएको कुरासित मेल खाँदैन भनी दाबी गर्छन्‌। तर तिनीहरू बाइबलको कुरा राम्ररी नबुझेकोले त्यस्तो निष्कर्षमा पुगेका हुन्‌।

बाइबलले ब्रह्‍माण्ड वा पृथ्वी अस्तित्वमा आएको ६ हजार वर्ष मात्र भयो भनेर बताउँदैन। बरु यसले “सुरुमा” पृथ्वी र ब्रह्‍माण्ड सृष्टि गरिएको थियो भनेर बताउँछ। (उत्पत्ति १:१) बाइबलमा त्यो “सुरु” कति समयअघिको कुरा हो भनेर तोकेरै बताइएको छैन।

बाइबलले पृथ्वीमा सबै जीव २४ घण्टे ६ दिनमा सृष्टि गरिएको थियो भनेर बताउँदैन। बरु यसमा प्रयोग गरिएको “दिन” भन्‍ने शब्दले समयावधिहरूलाई जनाउँछ। उदाहरणको लागि, उत्पत्ति २:४ मा यसो भनिएको छ: “जुन दिन यहोवा * परमेश्‍वरले पृथ्वी र आकाश बनाउनुभयो, त्यस दिनको विवरण यही हो।” यस पदमा उल्लेख गरिएको “दिन”-ले हाम्रो पृथ्वी र पृथ्वीमा भएका सबै जीव सृष्टि गर्न लागेको छ दिनलाई जनाउँछ। त्यसैले सृष्टिको प्रत्येक “दिन”-ले असाध्यै लामो समयावधि ढाक्छ र यही समयावधिमा ईश्‍वरले पृथ्वीलाई जीवनको लागि उपयुक्‍त ठाउँ बनाउनुभयो र त्यसमा जीवहरू सृष्टि गर्नुभयो।

बाइबलले जीवहरूमा समयको दौडान परिवर्तनहरू आउन सक्छन्‌ भन्‍ने कुरा नकार्दैन। उत्पत्तिको किताबमा जीवहरूलाई “जातजात”-अनुसार सृष्टि गरिएको कुरा उल्लेख गरिएको छ। (उत्पत्ति १:२४, २५) बाइबलमा प्रयोग गरिएको “जातजात” शब्दले विभिन्‍न किसिमका जीवहरूलाई जनाउँछ। यसबाट के स्पष्ट हुन्छ भने “जातजात”-का जीवहरूका आ-आफ्नै प्रजाति हुन्छन्‌ र ती प्रजातिहरूमा समयको दौडान परिवर्तनहरू आउन सक्छन्‌।

तपाईँको विचार कस्तो छ?

अहिलेसम्मको छलफलबाट हामीले के बुझ्यौँ भने बाइबलले ब्रह्‍माण्डको सुरुवात, पृथ्वीको सुरुको अवस्था र यसमा जीवनको सुरुवातबारे बताएका कुराहरू सरल र सही छ। त्यसोभए के बाइबलमा यी सबै कसले सृष्टि गरेका हुन्‌ भन्‍ने विषयमा पनि सही कुरा बताइएको छ त? इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “कुनै अलौकिक शक्‍तिले गर्दा जीवनको सुरुवात भएको हुनुपर्छ भन्‍ने कुरा आधुनिक विज्ञानले पत्ता लगाएको कुरासित मेल खान्छ।” *

^ यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।

^ इन्साइक्लोपीडिया ब्रिटानिका-ले जीवन सृष्टि गरिएको हो भन्‍ने कुरालाई समर्थन गर्दैन।