सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्रह्‍माण्डबाट हामी के थाह पाउन सक्छौँ?

ब्रह्‍माण्डबाट हामी के थाह पाउन सक्छौँ?

ब्रह्‍माण्ड देखेर खगोलविद्‌हरू अहिले पनि चकित हुन्छन्‌ र यसबारे अध्ययन-अनुसन्धान गर्न तिनीहरूले अझ राम्रा यन्त्रहरू बनाइरहेका छन्‌। तिनीहरूले के पत्ता लगाएका छन्‌?

ब्रह्‍माण्ड व्यवस्थित छ। एस्ट्रोनोमी पत्रिकाअनुसार ब्रह्‍माण्डमा तारापुञ्जहरू छरपस्ट छैनन्‌ बरु तिनीहरू व्यवस्थित छन्‌। तर यो कसरी सम्भव छ? “डार्क म्याटर” भनिने एउटा अदृश्‍य तत्त्वले गर्दा यो सबै सम्भव भएको हुन सक्छ भनेर वैज्ञानिकहरू विश्‍वास गर्छन्‌। डार्क म्याटर “यस्तो प्रकारको अदृश्‍य तत्त्व हो, जसले . . . तारापुञ्ज, तारापुञ्जीय गुच्छहरू र अझ ठूलो तारापुञ्जीय गुच्छहरूलाई . . . आ-आफ्नो ठाउँमा व्यवस्थित तरिकामा राख्छ” भन्‍ने वैज्ञानिकहरूको धारणा छ।

ब्रह्‍माण्ड यत्तिको व्यवस्थित कसरी भयो? बीसौँ शताब्दीका प्रसिद्ध अनि प्रभावशाली वैज्ञानिक एलन स्यान्डेजले यस विषयमा के भने, विचार गरौँ। तिनी ईश्‍वरमा आस्था राख्ने व्यक्‍ति थिए। तिनले यसो भनेका थिए: “यस्तो व्यवस्थित ब्रह्‍माण्ड भद्रगोल अवस्थाबाट अस्तित्वमा आयो भन्‍ने कुरा मलाई तार्किक लाग्दैन। कुनै न कुनै कुराले ब्रह्‍माण्डलाई यत्तिको व्यवस्थित बनाएको हुनुपर्छ।”

ब्रह्‍माण्ड जीवन धान्‍नको लागि उपयुक्‍त छ। सूर्य निरन्तर रूपमा बलिरहन चाहिने शक्‍तिलाई विचार गरौँ। यो शक्‍ति कमजोर भएको भए सूर्यको अस्तित्व सम्भव नै हुने थिएन। अर्कोतर्फ त्यो शक्‍ति अझ शक्‍तिशाली भएको भए सूर्यको अस्तित्व धेरै समयअघि नै मेटिने थियो।

ब्रह्‍माण्डका विभिन्‍न शक्‍तिहरू जीवन धान्‍नको लागि जस्तो हुनुपर्ने हो, त्यस्तै भएकोले जीवन सम्भव भएको हो। विज्ञानका लेखक अनिल अनन्तस्वामीको भनाइअनुसार यदि यी शक्‍तिहरूमध्ये एउटा मात्र पनि तल-माथि भएको भए “ताराहरू, ग्रहहरू अनि तारापुञ्जहरूको अस्तित्व सम्भव नै हुने थिएन। जीवन पनि सम्भव हुने थिएन।”

ब्रह्‍माण्डमा मानिसहरूको लागि एउटा उपयुक्‍त घर छ। पृथ्वीमा मानिसहरूको जीवन धान्‍नको लागि सबै कुरा छ; जस्तै: उपयुक्‍त वायुमण्डल, उपयुक्‍त पानीको मात्रा अनि पृथ्वीलाई आफ्नै अक्षमा स्थिर रहन मदत गर्ने चन्द्रमा। नेसनल जियोग्राफिक पत्रिकामा यस्तो लेखिएको छ: ‘प्रकृति र जीवहरूबीचको सम्बन्धले गर्दा ग्रहहरूमध्ये पृथ्वी मात्र मानिसहरूको लागि उपयुक्‍त छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌।’ *

वैज्ञानिकहरूका अनुसार हाम्रो तारापुञ्जमा भएका ताराहरूको बाक्लो झुन्डबाट हाम्रो सौर्यमण्डल टाढा छ। यदि हाम्रो सौर्यमण्डल अरू ताराहरूको नजिक भएको भए अर्थात्‌ आकाशगङ्‌गा तारापुञ्जको बीचतिर वा छेउछाउतिर भएको भए विकिरणहरूले गर्दा जीवन सम्भव नै हुने थिएन। त्यसैले वैज्ञानिकहरूले यस उपयुक्‍त क्षेत्रलाई “जीवन सम्भव हुने अनुकूल क्षेत्र” भनेका छन्‌।

भौतिकशास्त्री पल डेभिस ब्रह्‍माण्ड र त्यसका नियमहरू अध्ययन गरेर यस्तो निष्कर्षमा पुगे: “हामी संयोगवश वा दुर्घटनावश यस ब्रह्‍माण्डमा अस्तित्वमा आएका हौँ भन्‍ने कुरामा म विश्‍वास गर्नै सक्दिनँ। हामी विनाकारण अस्तित्वमा आएका होइनौँ। यसको पछाडि कुनै न कुनै उद्देश्‍य छ।” हुनत डेभिस ईश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भनेर विश्‍वास गर्दैनन्‌ तर तिनको यो भनाइबाट तपाईँ कस्तो निष्कर्षमा पुग्नुहुन्छ? ब्रह्‍माण्ड र पृथ्वी जीवन धान्‍ने किसिमले बनाइएको हो जस्तो देखिन्छ। यी सबै कुरा विचार गर्दा ब्रह्‍माण्ड कसैले डिजाइन गरेको हुनुपर्छ भनेर देखिँदैन र?

^ नेसनल जियोग्राफिक पत्रिकाको त्यस लेखको उद्देश्‍य ईश्‍वरले पृथ्वी र मानिस बनाउनुभएको हो भनेर बताउनु थिएन। बरु उक्‍त लेखमा पृथ्वी मानिसहरूको लागि उपयुक्‍त छ भनेर चर्चा गरिएको थियो।