कसलाई सेवक भनिन्छ?
बाइबलको दृष्टिकोण
कसलाई सेवक भनिन्छ?
येशूको बलिदानरूपी मृत्युभन्दा एक दिनअघि उहाँका घनिष्ठ मित्रहरूमाझ एउटा चर्को विवाद भयो। लूका २२:२४ अनुसार “तिनीहरूमध्ये को सबैभन्दा ठूलो गनिएको छ भनी तिनीहरूका बीचमा वाद विवाद हुनलाग्यो।” येशूका प्रेरितहरूमाझ यस्तो विवाद भएको त्यो पहिलो पटक थिएन। कम्तीमा पनि पहिला दुई चोटि येशूले तिनीहरूको सोचाइलाई सच्याउनुभएको थियो।
कस्तो दुःखको कुरा, यस्तो महत्त्वपूर्ण रातमा समेत येशूले साँचो मसीही सेवक को हो भनेर सम्झाउनुपऱ्यो! उहाँले यसो भन्नुभयो: “तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानोजस्तो बनिओस्, र नेतृत्व गर्ने चाहिं सेवा गर्ने जस्तो होस्।”—लूका २२:२६.
ओहदा र प्रतिष्ठाबारे प्रेरितहरूको गलत धारणा हुनु कुनै छक्कलाग्दो कुरा होइन। येशूअघि धार्मिक अगुवाइको सन्दर्भमा तिनीहरूको मुख्य उदाहरण शास्त्री तथा फरिसीहरू मात्र थिए। ती झूटा सेवकहरूले मानिसहरूलाई आध्यात्मिक डोऱ्याइ तथा निर्देशन दिनुको साटो अरट्ठो परम्परा तथा नियमकानुनहरूले “मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द” गरे। तिनीहरू ओहदा र प्रतिष्ठालाई महत्त्व दिने स्वार्थी मानिसहरू थिए जो “आफ्ना सारा काम मानिसहरूलाई देखाउनाको निम्ति” गर्दथे।—मत्ती २३:४, ५, १३.
नयाँ प्रकारको सेवक
तथापि, येशूले आफ्ना चेलाहरूलाई आध्यात्मिक सेवकबारे नयाँ धारणा सिकाउनुभयो। उहाँले यसरी सिकाउनुभयो: “तिमीहरूलाई कसैले गुरु नभनोस् किनकि तिमीहरूका गुरु एउटै छन्, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ। . . . तर तिमीहरूमा जो सबैभन्दा ठूलो छ, त्योचाहिं तिमीहरूको सेवक हुनेछ।” (मत्ती २३:८-११) येशूका चेलाहरूले त्यतिबेलाका धर्मगुरुहरूको नकल गर्नु हुँदैनथ्यो। तिनीहरू साँचो सेवक हुने हो भने येशूको अनुकरण गर्नु आवश्यक थियो। उहाँले कस्तो प्रकारको नमुना बसाल्नुभयो?
बाइबलले प्रायजसो “सेवक”-को निम्ति युनानी शब्द डाइकोनस चलाउँछ। द इनसाइक्लोपीडिया अफ रिलिजन-अनुसार यस शब्दले “ओहदा होइन तर जसको सेवा गरिन्छ त्यससितको सम्बन्ध”
बुझाउँछ “र ख्रीष्टको उदाहरण पछ्याउनु नै मसीही सेवकाईको अर्थ राम्ररी बुझ्नु . . . हो।”“सेवक” शब्दको सही व्याख्याअनुरूप येशूले सधैं अरूको सेवा गर्नुभयो। उहाँले धीरजसाथ यसो भन्नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) येशूले निस्स्वार्थता साथ आफ्नो समय, प्रयास र योग्यता अरूलाई शारीरिक र आध्यात्मिक तवरमा मदत गर्न प्रयोग गर्नुभयो। किन? किनभने आध्यात्मिक तवरमा अपहेलित मानिसहरू आफूकहाँ आएको देखेर उहाँ टिठाउनुभयो। उहाँ मदत गर्न चाहनुहुन्थ्यो। साँचो प्रेमले नै उहाँलाई सेवकाईमा उत्प्रेरित गऱ्यो र उहाँका चेलाहरूले पनि त्यस्तै मनोभाव प्रदर्शन गरेको उहाँ चाहनुहुन्थ्यो।—मत्ती ९:३६.
आफ्नो जीवनपद्धतिद्वारा येशूले पछिका सेवकहरूको निम्ति नमुना बसाल्नुभयो। उहाँले भन्नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) हो, ख्रीष्टका सेवकहरूले संसारमा अहिलेसम्म कहिल्यै नगरिएको महान् कार्य अर्थात् परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर तथा सिकाएर सबै मानिसजातिलाई आध्यात्मिक सान्त्वना दिने काम गर्नुपर्थ्यो।—मत्ती २८:१९, २०.
अरूलाई दिने र अरूको सेवा गर्ने यसै पक्षले गर्दा सेवकको सन्दर्भमा ख्रीष्टको दृष्टिकोण भिन्न थियो। उहाँले आफ्ना सेवकहरूलाई राजसी पोशाक लगाएका रहस्यमयी अनि पढैया विद्वान् होइन तर मेहनती, आध्यात्मिक जालहारी र गोठालाहरू हुन सिकाउनुभयो।—मत्ती ४:१९; २३:५; यूहन्ना २१:१५-१७.
बाइबलको दृष्टिकोण
दुःखको कुरा, शताब्दीयौंको दौडान आत्मत्यागी प्रचारक तथा शिक्षकहरूको यो उच्च, निस्स्वार्थ सेवकहरूको धारणा विकृत भयो। मसीही सेवकाई औपचारिक, शासकीय संस्थामा परिणत भयो। मान, पदवी र शक्तिले स्थान पायो र अक्सर तिनीहरूले धेरै धन पनि जम्मा गरे। यसको परिणाम ठूलो विभाजन भयो। अनि मुख्यतया पवित्र विधिविधानहरू गर्ने र गल्ती गर्नेहरूलाई सल्लाह दिने पादरी वर्गको विकास भयो। प्रथम शताब्दीको मसीही धर्म परिवर्तन हुँदै पछिका शताब्दीहरूमा निष्क्रिय धर्ममा परिणत भयो जहाँ पहिलेजस्तै सबै सेवकहरूले नभई केही सीमित प्रशिक्षित र योग्य व्यक्तिहरूले मात्र प्रचार गर्न र सिकाउन पाउँथे।
तथापि, बाइबलले मसीही सेवकहरू भव्य पोशाक, भड्किलो विधिविधान, धेरै तलब वा राज्यको आदेशद्वारा होइन तर निस्स्वार्थ कामले चिनिन्छन् भनेर बताउँछ। प्रेरित पावलले मसीही सेवकहरूले कस्तो मनोभाव प्रदर्शित गर्नुपर्छ भनेर बताए। तिनले ‘फोस्रो घमण्डले होइन तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर,’ सेवा गर्न प्रोत्साहन दिए।—फिलिप्पी २:३.
प्रेरित पावलले निश्चय पनि आफूले जस्तो प्रचार गरे त्यस्तै व्यवहार गरे। ख्रीष्टको नमुना पछ्याउँदै तिनले सधैं ‘आफ्नो होइन तर धेरैको हित खोजे, ताकि तिनीहरूको उद्धार होस्’। “सित्तैंमा सुसमाचार प्रचार” गर्ने महत्त्व र जिम्मेवारी तिनले बुझेका थिए किनभने तिनले “सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्नु नपरोस्” भने। तिनले ‘मानिसहरूबाट आदर खोजिरहेका’ थिएनन्।—१ कोरिन्थी ९:१६-१८; १०:३३, नयाँ संशोधित संस्करण; १ थिस्सलोनिकी २:६.
साँचो मसीही सेवकको निम्ति कस्तो उल्लेखनीय नमुना! येशू ख्रीष्टको उत्कृष्ट नमुनाको अनुकरण गर्दै र उहाँको निस्स्वार्थ पाइलालाई पछ्याउँदै अरूलाई निश्शुल्क आध्यात्मिक मदत र सान्त्वनाको सुसमाचार दिने व्यक्तिले आफूलाई परमेश्वरको साँचो सेवक हो भनेर प्रमाणित गर्छन्।—१ पत्रुस २:२१.