रासायनिक पदार्थहरूको कारण तपाईं बिरामी पर्नुहुँदा
रासायनिक पदार्थहरूको कारण तपाईं बिरामी पर्नुहुँदा
मल्टिपल केमिकल सेन्सिटिभिटी-का (एम सि एस) थुप्रै पक्षहरू बुझ्न गाह्रो छ। त्यसकारण, यो रोगबारे चिकित्साजगत्मा बेग्लाबेग्लै धारणा हुनुको कारण बुझ्न सक्छौं। कोही कोही डाक्टरहरूको विचारमा यसको शारीरिक कारण छ, कसैको विचारमा मनोवैज्ञानिक कारण र अरू कतिपय भने दुवै शारीरिक तथा मनोवैज्ञानिक कारणले गर्दा हुनसक्छ भन्ने विश्वास गर्छन्। कोही कोही डाक्टरहरूको विचारमा एम सि एस, विभिन्न रोगहरूको संयुक्त रूप हुनसक्छ। a
एम सि एस बिरामीहरूमध्ये धेरैजसोको भनाइअनुसार यो कीटनाशकको अत्यधिक परिमाणले गर्दा सुरु भएको हो; अरू कतिपय भने सधैंजसो वा लामो समयसम्म ती कीटनाशकहरूको सम्पर्कमा आइरहँदा यसो भएको हो भन्छन्। एक चोटि एम सि एस लागिसकेपछि, अघिपछि कुनै असर नगर्ने अत्तर र सफा गर्ने झोलमा पाइने रासायनिक पदार्थहरूले समेत अनेकन् लक्षणहरू देखाउन थाल्छन्। त्यसैले त यसलाई अंग्रेजीमा “मल्टिपल केमिकल सेन्सिटिभिटी” भनिन्छ। जोइसलाई विचार गर्नुहोस्।
जोइस स्कूलमा छँदा उसको टाउकोमा जुम्रा पऱ्यो। त्यसैले उसको टाउकोमा कीटनाशक लगाइयो। जोइसको स्वास्थ्य झन् झन् बिग्रन थाल्यो र उसलाई पहिले कुनै असर नगर्ने रासायनिक पदार्थहरूले पनि प्रतिकूल असर पार्न थाल्यो। जस्तै: घरमा सरसफाइ गर्ने सामान,
कोठा सुगन्धित बनाउने बास्ना, अत्तर, स्याम्पु, पेट्रोल इत्यादि। जोइस भन्छन्, “मेरो आँखा सुन्निएर बन्दै हुन्छ र पिनास बल्झिन्छ अनि टाउको दुख्ने, वाकवाक लाग्ने भएर धेरै दिनसम्म थलै पर्छु। . . . मलाई धेरै चोटि निमोनिया भइसक्यो र यसले गर्दा मेरो फोक्सो ४० वर्ष चुरोट खाएको मानिसको जस्तो भएको छ, जबकि मैले जिन्दगीमा कहिल्यै चुरोट खाएको छैन!”विषादीहरूको परिमाण थोरै नै किन नहोस्, घरभित्र वा बाहिर लामो समयसम्म त्यसको प्रभाव परिरह्यो भने पनि एम सि एस हुनसक्छ। हालैका दशकहरूमा, घरभित्र वायु प्रदूषणले निम्त्याएको तीन थुप्रो बिमारीहरूले गर्दा “सिक-बिल्डिङ सिन्ड्रम” भन्ने अंग्रेजी पदावली प्रयोग हुन थालेको छ।
सिक-बिल्डिङ सिन्ड्रम
ऊर्जा बचाउने उद्देश्यले १९७० को दशकमा खुला हावा आवतजावत हुने घर, स्कूल र अफिसहरूको बदलामा हावा नछिर्ने, एयर-कन्डिशन भवनहरू निर्माण गर्न थाल्दा सिक-बिल्डिङ सिन्ड्रम देखा पऱ्यो। यस्ता भवनहरू निर्माण गर्न भित्र इन्सुलेसन, रासायनिक पदार्थ लगाइएको काठ, वाष्पशील गुँद, सिन्थेटिक कपडा र कार्पेट प्रयोग गर्न थालियो।
नयाँ छँदा यी प्रायजसो उत्पादनहरूले फर्माल्डिहाइडजस्ता हानिकारक रासायनिक पदार्थहरू हावामा कम मात्र निष्कासन गर्छन्। कार्पेटहरूले विभिन्न सफाइ सामग्री र झोलहरू सोसेर पछि लामो समयसम्म रासायनिक पदार्थहरू निष्कासन गरिरहने हुँदा समस्या झनै जटिल हुन्छ। केमिकल एक्सपोजर्स—लो लेभल्स एण्ड हाइ स्टेक्स पुस्तक यसो भन्छ, “घरभित्र बढी वायु प्रदूषण गर्ने प्रमुख तत्त्व, विभिन्न घोलनहरूबाट निस्कने बाफ हो। अनि यी रासायनिक पदार्थहरूले तुरुन्तै असर गर्ने रोगीहरूले पनि यी घोलनलाई नै दोष दिन्छन्।
प्रायजसो मानिसहरूलाई ती भवनहरूभित्रको वातावरणले कुनै असर पार्दैन तर कसै कसैलाई भने दमदेखि लिएर श्वासप्रश्वाससम्बन्धी समस्या र टाउको दुख्ने, थकाइ लाग्ने लक्षणहरू देखा पर्नसक्छ। त्यस्तो वातावरणबाट बाहिर निस्केपछि ती लक्षणहरू पनि प्रायजसो हराउँछन्। तर कहिलेकाहीं भने, “बिरामीहरूलाई थुप्रै रासायनिक पदार्थहरूले प्रतिकूल असर पार्न थाल्छ” भनी बेलाइती चिकित्सा पत्रिका द ल्यान्सेट बताउँछ। तर रासायनिक पदार्थहरूबाट कोही बिरामी हुनु र कोही नहुनुको कारण के हो? यो महत्त्वपूर्ण प्रश्न हो किनभने ती पदार्थहरूले आफूलाई कुनै असर पार्दैन भने, त्यसबाट प्रभावित अरू व्यक्तिहरूको समस्या बुझिदिन गाह्रो हुनसक्छ।
हामी सबै एकैनासे छैनौं
चाहे रासायनिक पदार्थ, जीवाणु वा किटाणु नै किन नहोस्, हामी बेग्लाबेग्लै पदार्थहरूप्रति बेग्लाबेग्लै प्रतिक्रिया देखाउँछौ भनेर बिर्सनु हुँदैन। हाम्रो आनुवंशिक संरचना, उमेर, लिंग, स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधी, पुरानो रोग, अनि मद्य, चुरोट वा लागूपदार्थको दुर्व्यसन इत्यादिप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं, त्यसले असर गर्छ।
उदाहरणका लागि, “कुनै औषधीले काम गर्छ या गर्दैन अनि यसको प्रतिकूल लक्षणहरू के हुनसक्छन्” इत्यादि कुराहरू व्यक्तिपिच्छे फरक हुन्छ भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। यसका कुनै कुनै लक्षणहरू एकदमै खतरनाक र मृत्युदायी हुनसक्छ। सामान्यतया, औषधी र प्रदूषकहरूमा हुने रासायनिक पदार्थहरू हाम्रो b
शरीरमा जम्मा हुन्छन् र यसलाई इन्जाइम भनिने प्रोटिनले शरीरबाट निष्कासन गर्छ। तर यी “सफाइ गर्ने” इन्जाइमहरूको वंशाणुगत त्रुटि, विषादीहरूले पारेको असर वा असन्तुलित भोजनको कारण बिग्रेका छन् भने, यी अप्रिय पदार्थहरू शरीरमा अत्यधिक मात्रामा जम्मा हुनसक्छन्।एम सि एस-लाई पोर्फिरियास अर्थात् इन्जाइमले हुने रक्त विकारसित तुलना गरिएको छ। कुनै कुनै प्रकारका पोर्फिरियास भएका मानिसहरू र एम सि एस रोगीहरूले गाडीको धूवाँदेखि लिएर अत्तरमा पाइने रासायनिक पदार्थहरूप्रतिसम्म उस्तै प्रतिक्रिया देखाउँछन्।
दिमागमा पनि असर गर्छ
एक जना एम सि एस रोगीले ब्यूँझनुहोस्!-लाई बताएअनुसार कुनै कुनै सामान्य रासायनिक पदार्थहरूले तिनलाई झुम्म बनाउँछ। तिनले भनिन्: “मेरो व्यक्तित्वमा पनि यसले असर गरेको छ—म रिसाहा, चिढाहा, झनक्क रिसाउने, डरपोक, सुस्त भएकी छु। . . . यी लक्षणहरू केही घण्टादेखि लिएर धेरै दिनसम्म पनि रहिरहनसक्छ।” त्यसपछि, तिनी लट्ठ पर्छिन् र कहिले बढी त कहिले कम मात्रामा निराश हुन्छिन्।
एम सि एस रोगीहरूमा यस्ता लक्षणहरू कुनै नौलो कुरा होइन। डा. क्लडिया मिलरअनुसार “एक दर्जनभन्दा बढी देशहरूमा कीटनाशक वा सिक-बिल्डिङ [सिन्ड्रम] इत्यादिसित सम्बन्धित रासायनिक पदार्थहरूको कारण मनोवैज्ञानिक समस्याहरू देखा परे। . . . रासायनिक घोलनसित दिनहुँ सम्पर्क भइरहने कामदारहरूमा अचानक तर्सिने र निराश हुने खतरा बढी हुन्छ। . . . त्यसकारण, हामीले अरूको ख्याल गर्नुपर्छ र रासायनिक पदार्थले तुरुन्तै असर गर्ने अंग, दिमाग हो भनेर बिर्सनु हुँदैन।”
रासायनिक पदार्थहरूले गर्दा मनोवैज्ञानिक समस्याहरू हुनसक्छन् तर थुप्रै डाक्टरहरूको विचारमा त्यसको उल्टो अर्थात् मनोवैज्ञानिक समस्या छ भने पनि रासायनिक पदार्थले तुरुन्तै असर गर्नसक्छ। माथि उल्लिखित डा. मिलर र डा. निकलस एशफर्ड शारीरिक कारणले गर्दा नै एम सि एस हुन्छ भनेर विश्वस्त छन् र तिनीहरू यसो भन्छन्, “पति वा पत्नीको मृत्यु वा सम्बन्धविच्छेद जस्ता मानसिक स्वास्थ्यमा असर गर्ने सामाजिक अवस्थाले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनसक्छ र कसैलाई ती रासायनिक पदार्थहरूको कम मात्राले पनि तुरुन्तै असर गरिहाल्छ। निस्सन्देह, मानसिक र शारीरिक प्रणालीबीच जटिल सम्बन्ध छ।” एम सि एस-को शारीरिक कारणमा विश्वास गर्ने अर्को व्यक्ति, डा. शेरी रजर्सअनुसार “तनाउले गर्दा पनि रासायनिक पदार्थहरूले तुरुन्तै असर गर्न सक्छ।”
एम सि एस रोगीहरूले आफ्नो स्वास्थ्य सुधार्ने वा लक्षणहरू केही मात्रामा भए पनि कम गर्ने केही उपाय छ कि?
एम सि एस रोगीहरूलाई मदत
एम सि एस-को अहिलेसम्म कुनै उपचार पत्ता नलागे तापनि धेरैजसोले यसका असरहरू कम गर्न र अरू कतिपयले सामान्य जीवन बिताउन सकेका छन्। तिनीहरूलाई कुन कुराले मदत गऱ्यो? कोही कोहीले, डाक्टरले सुझाउ दिएअनुसार लक्षण चर्काउने रासायनिक पदार्थहरूबाट सकेसम्म अलग्गै बसेर यसो गर्न सकेका छन्। c एम सि एस रोगी जुडीले अनुभव गरेअनुसार त्यस्ता पदार्थहरूबाट अलग्गै बस्नु बेस हो। एप्स्टिन-बार नाउँको जीवाणुले गर्दा हुने रोगबाट पीडित हुँदा जुडीले घरभित्र अत्यधिक मात्रामा कीटनाशक प्रयोग गरेकी थिइन् र यसले गर्दा तिनलाई एम सि एस भयो।
एम सि एस पीडित जुडीजस्तै अरू थुप्रैलाई घरमा प्रयोग गरिने अनेकन् रासायनिक पदार्थहरूले प्रतिकूल असर पार्छ। त्यसैकारण, तिनी सरसफाइ गर्दा र लुगा धुँदा कुनै मिसावट नभएको साबुन र बेकिङ सोडा मात्र प्रयोग गर्छिन्। तिनको लागि कपडा नरम पार्न भिनेगर एकदमै उपयोगी साबित भएको छ। तिनको लुगाफाटा र सुत्ने कोठाका कपडाहरू सबै प्राकृतिक रेसाले बनिएका
छन्। तिनको पतिले पनि ड्राइ-क्लिन गरेर ल्याएका लुगाहरू हप्तौंसम्म बाहिर राखेपछि मात्रै दराजभित्र राख्छन्।वर्तमान संसारमा एम सि एस रोगीहरू आफूलाई असर गर्ने सबै रासायनिक पदार्थहरूबाट अलग्गै बस्न त सक्दैनन् होला। अमेरिकन फ्यामिली फिजिशियन यसो भन्छ: “एम सि एस रोगीहरूले भोग्ने प्रमुख कठिनाइ तिनीहरू रासायनिक पदार्थहरूबाट पन्छिन खोज्दा भोग्नुपर्ने एक्लोपन हो।” त्यो लेखले बताएअनुसार चिकित्सकको निगरानीमा बिरामीहरूले बिस्तारै आफ्नो गतिविधि बढाएर घुलमिल गर्न थाल्नुपर्छ। साथै, एकाएक अतालिने र मुटुको धड्कन बढ्दा नहडबडाउने र श्वासप्रश्वास नियन्त्रण गर्ने तरिकाहरू सिक्नुपर्छ। यसो गर्नुको मूल उद्देश्य, बिरामीहरूलाई रासायनिक पदार्थहरू चटक्कै त्याग्न होइन तर त्यस्तै वातावरणमा पनि आवश्यक काँटछाँट गरेर घुलमिल हुन मदत गर्नु हो।
अर्को महत्त्वपूर्ण उपचार, रातको आरामदायी निद्रा हो। अहिले एम सि एस रोगमुक्त भइसकेका डेभिड, हावा राम्ररी आवातजावत हुने कोठामा सुतेकोले निको हुन सकेको हो भन्छन्। अर्नेस्ट र तिनकी पत्नी लरेन, दुवै एम सि एस रोगी हुन् र राती राम्ररी निदाउन सकेको छ
भने दिनभरि अनेकन् रासायनिक पदार्थहरूको सम्पर्कमा आउँदा पनि त्यति गाह्रो नभएको महसुस गरे।”निस्सन्देह, राम्रो स्वास्थ्य कायम राख्न वा पुनः सुस्वस्थ हुन सन्तुलित भोजन पनि नितान्त आवश्यक हुन्छ। भनौं भने, यसलाई “स्वास्थ्य सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण भाग” मानिएको छ। अतः स्वास्थ्य सुधार गर्न शरीरका प्रणालीहरू यथासम्भव सुचारुरूपले सञ्चालन भइरहेको हुनुपर्छ भन्नु तर्कसंगत कुरा हो। भोजनमा थप पोषण पनि मदतकारी हुनसक्छ।
व्यायामले पनि स्वास्थ्य राम्रो बनाउन मदत गर्छ। साथै, पसिना निस्कँदा शरीरको छालाबाट विषाक्त पदार्थहरू बाहिर निस्कन्छन्। असल मानसिक झुकाउ र हँसिलो मिजास अनि अरूबाट माया पाउने र अरूलाई माया गर्ने स्वभावको हुनु पनि त्यत्तिकै महत्त्वपूर्ण छ। भनौं भने, एउटी डाक्टरले आफूकहाँ आउने सबै एम सि एस रोगीहरूलाई दिने ओखती “माया र हाँसो” हो। हो, “प्रसन्न हृदयले हँसिलो अनुहार देखाउँछ।”—हितोपदेश १७:२२.
तथापि, मायालु, आनन्ददायी सरसंगतिबाट आनन्द उठाउनु एम सि एस रोगीहरूको प्रमुख समस्या हुनसक्छ किनभने तिनीहरूलाई अत्तर, सफाइ सामग्री, गन्ध हटाउने सामग्री र अरू रासायनिक पदार्थहरूजस्ता दिनदिनै सम्पर्कमा आइरहने कुराहरूले समेत प्रतिकूल असर पार्छ। यस्तो अवस्थामा एम सि एस रोगीहरूले के गर्नसक्छन्? एम सि एस रोगीहरूलाई अरूले कसरी मदत गर्नसक्छन्, त्यो पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यसपछिको लेखले यी विषयहरू छलफल गर्नेछ।
[फुटनोटहरू]
a ब्यूँझनुहोस्! चिकित्सा पत्रिका होइन र एम सि एस विषयका यी लेखहरू कुनै एउटा चिकित्सा धारणा प्रवर्धन गर्न तयार पारिएका होइनन्। त्यसमा केवल हालै पत्ता लागेका कुराहरू र कोही कोही डाक्टर तथा चिकित्सकहरूलाई यो रोग सामना गर्न मदत गरेका बुँदाहरू प्रस्तुत गरिएका छन्। एम सि एस हुनुको कारण, यसको अवस्था वा बिरामीहरूलाई दिइने सुझाउ र तिनीहरूले प्रयोग गर्ने थुप्रै विधिबारे चिकित्सकहरूमाझ कुनै एकमत छैन भनेर ब्यूँझनुहोस्! मानिलिन्छ।
b इन्जाइमको कमी हुने एउटा साधारण उदाहरण ल्याक्टेज इन्जाइम हो। यो समस्या भएका व्यक्तिहरूले दूधमा हुने ल्याक्टोज पचाउन सक्दैनन् र दूध पिएपछि बिरामी हुन्छन्। अरू कतिपय मानिसहरूको भने चिज र अरू खानाहरूमा पाइने रासायनिक पदार्थ, टाइरामिनलाई पचाउने इन्जाइमको कमी हुन्छ। अतः तिनीहरूले त्यस्तो खाना खाने बित्तिकै कटकटी टाउको दुखेर वाकवाक लाग्ने हुन्छ।
c एम सि एस रोग लागेजस्तो महसुस गर्नेहरूले कुनै नाउँ चलेको चिकित्सकको पेसेवर मदत लिनुपर्छ। कुनै विस्तृत जाँच नगरी निकै पैसा खर्च गरेर आफ्नो जीवनशैलीमा आमूल परिवर्तन गर्नु बुद्धिमानी हुनेछैन। स्वास्थ्य परीक्षणहरू गरिसकेपछि लक्षणहरू कम गर्न तपाईंको भोजन वा जीवनशैलीमा सानोतिनो छाँटकाँट गरे मात्र पुग्ने हुनसक्छ।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
के तपाईंलाई यति धेरै रासायनिक पदार्थ चाहिन्छ?
हामी सबैले घातक विषाक्त पदार्थहरूसित सकेसम्म एकदमै कम मात्र सम्पर्क राख्नुपर्छ। यसमा हाम्रो घरमा प्रयोग हुने पदार्थहरू पनि समावेश छन्। केमिकल एक्स्पोजर्स पुस्तक यसो भन्छ: “घरभित्र प्रयोग गरिने वायु प्रदूषकहरूमा हुने रासायनिक पदार्थहरूले नै मानिसहरूलाई प्रतिकूल असर पारेको जस्तो देखिन्छ। सयौं थरि वाष्पशील जैविक रसायनको सम्मिश्रण घरभित्रै पनि कम मात्रामा हुन्छ।” d
त्यसैले आफैलाई प्रश्न गर्नुहोस्, कीटनाशक र वाष्पशील घोलन भएका सामानहरू के यति धेरै प्रयोग गर्नुपर्छ र? के तपाईंले अविषाक्त पदार्थहरू प्रयोग गर्नुभएको छ? तथापि, घातक हुने सम्भावना भएको रासायनिक पदार्थहरू प्रयोग गर्नुअघि सबै आवश्यक सावधानी अपनाउनैपर्छ। साथै, केटाकेटीले नभेट्टाउने अनि त्यसबाट निस्केको बाफले कुनै हानि नपुऱ्याउने ठाउँमा राख्नुहोस्। एउटा कुरा नबिर्सनुहोस्, बिर्को नखोलेका भाँडाहरूबाट पनि बाफ निस्कनसक्छ।
रासायनिक पदार्थहरूबारे सजग हुनुमा हामी आफ्नो छालामा के लगाउँछौं वा के पोखिन्छ, त्यसमा पनि होसियार हुनुपर्छ। अत्तरलगायत थुप्रै सुगन्ध छालाबाट रगतमा मिसिन्छ। तसर्थ, कुनै कुनै औषधी लगाउने तरिका छालाबाट हो। अतः तपाईंको छालामा कुनै विषाक्त रासायनिक पदार्थ पोखियो भने, “सर्वप्रथम त्यसलाई तुरुन्तै छालाबाट पखाल्नुहोस्” भनी टायर्ड अर टक्सिक? नामक किताब बताउँछ।
मल्टिपल केमिकल सेन्सिटिभिटी भएका थुप्रै मानिसलाई अत्तरले पनि प्रतिकूल असर गर्छ। अत्तरमा प्रयोय हुने ९५ प्रतिशत जति सामग्रीहरू पेट्रोलियमबाट बनाइएका कृत्रिम यौगिकहरू हुन्। यसमा एसिटोन, क्याम्फोर, बेन्जाल्डिहाइड, इथानोल, जि-टर्पेन्टाइन इत्यादि रासायनिक पदार्थहरू प्रयोग गरिन्छ। यी पदार्थहरूसित सम्बन्धित खतराहरू संयुक्त राज्य अमेरिकाको एनभाइरमेन्टल प्रोटेक्सन एजेन्सीजस्ता निकायहरूले प्रकाशित गरेको छ। कोठामा सुगन्ध छर्ने पदार्थहरूबारे पनि यही कुरा लागू हुन्छ। पर्यावरणीय वैज्ञानिकहरूको अध्ययनअनुसार यी पदार्थहरू “घरभित्रको हावा राम्रो बनाउने नभई झनै बिगार्ने” तत्त्वहरू हुन् भनी युनिभर्सिटि अफ क्यालिफोर्निया एट बर्क्ली वेलनेस लेटर बताउँछ। यी सुगन्ध छर्ने पदार्थहरूले दुर्गन्ध हटाउने होइन, त्यसलाई ढाकछोप गर्छ।
क्याल्कुलेटेड रिस्क्स नामक पुस्तकअनुसार “विषविज्ञानको एउटा महत्त्वपूर्ण पक्ष के हो भने, सबै रासायनिक पदार्थ खुला छोड्यो भने कुनै न कुनै अवस्थामा विषालु हुन्छन्।”
[फुटनोट]
d आफ्नो घरलाई घातक विषाक्त पदार्थहरूबाट मुक्त गर्ने तरिका, डिसेम्बर २२, १९९८ अंग्रेजी अंकको ब्यूँझनुहोस्!-मा बताइएको थियो।