भूकम्प!
भूकम्प!
ताइवानको ब्यूँझनुहोस्! संवाददाताद्वारा
“ताइपेइको नवौं तलाको एउटा अपार्टमेन्टमा पल्टेर पढिरहेको बेला बत्तीहरू झ्याप्प झुप्प निभ्नथाले। त्यसपछि, कोठा बेस्सरी हल्लिनथाल्यो। केही राक्षसहरूले भवनलाई च्याप्प समातेर दायाँबायाँ बेस्सरी हल्लाए जस्तै। माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें। धेरै बेरसम्म यस्तै भइरह्यो।” — ताइवानमा बसिरहेका एक पत्रकार।
भूकम्प। यो शब्द सुन्ने बित्तिकै त्रास उत्पन्न हुन्छ अनि तपाईंले हाल भूकम्प गइरहेको निकै घटनाहरू पनि सुन्नुभएको होला। संयुक्त राज्यको भौगोलिक सर्वेक्षणअनुसार १९९९ को दौडान बितेका वर्षहरूमाभन्दा धेरै भूकम्पहरू गए र भूकम्पको कारण वर्षेनी सालाखाला मृत्यु हुने दर पनि दुई गुणाले बढ्यो।
सन् १९९९ को सबैभन्दा ठूलो भूकम्प ताइवानमा गयो। यस बेला पृथ्वीको माथिल्लो तहको दुई प्रमुख महादेशीय प्लेटहरू एक अर्कासित जोडिएको थियो। ताइवानभरि माथिल्लो पत्रमा ५१ वटा चिराहरू परेका थिए। अतः यहाँ हरेक वर्ष १५,००० कम्पहरूको अभिलेख हुनु कुनै असामान्य कुरा होइन। यद्यपि, तिनीहरूमध्ये धेरैजसो चाहिं अनुभवै गर्न नसकिने हल्का खालका हुन्छन्।
तर सेप्टेम्बर २१, १९९९ मा त्यसो भएन। बिहान १:४७ मा भूकम्पले ताइवानलाई यत्तिबिघ्न हल्लायो कि त्यहाँको राष्ट्रपति ली डेङ ह्वाले त्यसलाई “यस टापुको शताब्दीकै नराम्रो” घटना भन्ने संज्ञा दिए। यो भूकम्प ३० सेकेन्ड मात्र गएको भए तापनि ७.६ रेक्टर स्केलको थियो। a भूकम्प जमिनमनि एक किलोमिटर सम्ममात्र आएको भएपनि यसको प्रभाव पूर्णतया महसुस गरियो। “यसको भयानक हल्लाइले गर्दा म झसंग ब्यूँझें” भनेर भूकम्पको केन्द्रबिन्दु नजिकै बस्ने ल्यु स्युस्या बताउँछिन्। “फर्निचरहरू ढले र छतको बत्तीसमेत जोडसित तल खस्यो। खसेका चीजबीज अनि फुटेका सिसाहरूले गर्दा ढोका बन्द भएकोले म बाहिर निस्कन पनि सकिनँ।” भूकम्पले गर्दा खाटबाट भुइँमा बजारिन पुगेकी ह्वाङ शुहोङले एउटा भिन्नै खालको चुनौतीको सामना गर्नुपऱ्यो। तिनी भन्छिन्, “बत्ती तुरुन्तै निभेको हुनाले धेरै अँध्यारो थियो। म लरखराउँदै बाहिर निस्कें र बाँकी रात सडकमै छिमेकीहरूसित बिताएँ। जमिनले त हल्लिन रोक्ने नामै लिएन।”
उद्धार गर्ने प्रयास
घाम झुल्किन थाल्दा भूकम्पले पुऱ्याएको क्षति विस्तारै स्पष्ट देखिन थाल्यो। एक तलेदेखि लिएर धेरै तला भएका भवनहरूसमेत गरेर १२,००० वटा भवनहरू पूर्णतया ध्वस्त भएका थिए। यस प्रकोपबारे चारैतिर खबर फिजिन थालेपछि २३ राष्ट्रबाट उद्धार विशेषज्ञहरू स्थानीय स्वयम्सेवकहरूलाई सहयोग गर्न ताइवान आइपुगे। थुप्रै मानिस अझै पनि भग्नावशेषहरूबीच पुरिएका थिए।
सुरुको ७२ घण्टा बचेकाहरूलाई भेट्टाउन निकै मुस्किल परिरहेको थियो तर यस्तो अवस्थामा पनि उद्धारकर्मीहरूले केही अचम्मका कुराहरू देखे। उदाहरणका लागि, भग्नावशेषमनि थिचिएका एक जना छ वर्षे बालकको ८७ घण्टापछि उद्धार गरियो। अनि ताइपेइमा कामदारहरूले १२ तले भवनको भग्नावशेष हटाउन भारी उपकरणहरूको प्रयोग गरिरहेकै बेला एक जवान मानिस अचानक देखा परे। तिनी र तिनको भाइ त्यहाँ भित्र पाँच दिनभन्दा बढी समयसम्म फसेका थिए र दुवै जना यस्तो संकटबाट बचे!
तथापि, दुःखको कुरा सबैलाई बचाउन सकिएन र उद्धारकर्मीहरूले केही हृदयविदारक क्षणहरूको पनि सामना गर्नुपऱ्यो। उदाहरणका लागि, एक समूहका नेताले यसो भन्दै दुःख पोखे: “हामीले एउटा बच्चाको चित्कार ८ घण्टा अघिसम्म सुनेका थियौं। तर त्यसपछि यो अचानक रोकियो।” अन्तमा ताइवानमा मर्नेहरूको संख्या २,३०० नाघ्यो र ८,५०० भन्दा बढी मानिसहरू घाइते भए।
भूकम्पपछि
भूकम्पका कारण घरबारविहीन भएका लाखौंलाई आश्रय दिने ठूलो प्रयास गरियो। सुरुसुरुमा केही मानिसहरू आफ्नो घर फर्कन हिचकिचाए। यसो हुनु जायजै थियो किनभने त्यस भयानक भूकम्पपछिको दस दिनसम्म पनि लगभग १०,००० वटा स-साना झट्काहरू अभिलेख गरिएको थियो! तिनीहरूमध्ये एउटा भूकम्प ६.८ रेक्टर स्केलको थियो जसले बाँकी कमजोर घरहरूलाई पनि ढाल्यो।
जे भए तापनि, उद्धार कार्य चलिनै रह्यो। विदेशी उद्धार समूह, बौद्ध समूह चीजी र अग्नि नियन्त्रकहरूलगायत थुप्रै गैर सरकारी संगठनले त्यस परिस्थितिमा आफ्नो समय र सीप दिएर सहयोग गरे। त्यस उद्धार कार्यमा यहोवाका साक्षीहरू पनि सामेल थिए। बाइबलले गलाती ६:१० मा दिएको सल्लाहअनुसार तिनीहरूको दुइटा लक्ष्य थियो। तिनीहरू (१) आफ्नो विश्वासका घरानाका लागि जोरजाम गर्न र (२) आफ्नो विश्वासलाई नस्वीकार्नेहरूलगायत सबैप्रति भलाइको काम गर्न चाहन्थे।
पहिलो दिनको अन्तसम्ममा यहोवाका साक्षीहरूले खाना, पानी, पाल तथा बाहिरै खाना पकाउनका लागि भाँडाकुँडाहरू ढुवानी गर्दै थिए। सम्पूर्ण सञ्चारमाध्यमहरू टुटेका हुनाले छवटा मण्डलीका प्राचीनहरूले प्रभावित क्षेत्रमा संगी साक्षीहरू र तिनका नातेदारहरूका साथसाथै बाइबल विद्यार्थीहरू र जिज्ञासु व्यक्तिहरूको खोजी गर्ने प्रबन्ध मिलाए। घरबारविहीन अवस्थामा भेटिएका साक्षीहरूलाई तिनीहरूको राम्रो हेरचाह गर्न र सम्पर्क स्थापित गर्न सजिलो होस् भनेर सबै जनालाई सँगै पाल टाँगेर बस्ने प्रोत्साहन दिइयो। परिभ्रमण निरीक्षक र ताइवान शाखा समितिका सदस्यहरू हरेक समूह तथा मण्डलीलाई प्रोत्साहन दिन गए।
अर्को चरणको काम, क्षतिग्रस्त घर तथा राज्य भवनहरूको मर्मत गर्नु थियो। हरेक मण्डलीले मदत चाहिनेहरूको सूची तयार पारे। त्यसपछि, क्षेत्रीय भवन समितिको निर्देशनमा आवश्यक मर्मत कार्य गर्न स्वयम्सेवकहरूको समूहलाई पठाइयो। भूकम्प गएको महिना दिनभित्रै जम्मै काम सिद्धियो।
यहोवाका साक्षीहरूले गैर-साक्षी छिमेकीहरूलाई पनि मदत गरे। उदाहरणका लागि, साक्षीहरू अस्पताल र पालमा बसिरहेका समुदायहरूकहाँ गएर सान्त्वना दिए। तिनीहरूले अवेक!-को जून २२, १९९६ मा प्रकाशित “प्राकृतिक प्रकोप—तपाईंको बच्चालाई यसको सामना गर्न मदत गर्नुहोस्” लेखको फोटोकपि पनि वितरण गरे। थुप्रै मानिस यो जानकारी पाएर कृतज्ञ भए र तुरुन्तै यसलाई पढ्न थाले। बाटोहरू खुलेपछि भूकम्पले नराम्रोसित प्रभाव पारेका अनकन्टार पहाडी इलाकाहरूमा पनि यहोवाका साक्षीहरूले ट्रकका ट्रक सामग्रीहरू पठाए।
बाइबल अध्ययन गर्नेहरूले यस रीतिरिवाजको अन्तमा “ठाउँ ठाउँमा . . . भैंचालो हुनेछ” भनी धेरै अघिनै बाइबलमा लेखिएको थियो भनेर बुझ्छन्। (मत्ती २४:७) तर बाइबलले अब चाँडैनै परमेश्वरको शान्तिमय राज्यमा मानिसजाति कुनै पनि प्राकृतिक प्रकोपदेखि डराएर बाँच्नुपर्ने छैन भन्ने आश्वासन दिन्छ। त्यसबेला पृथ्वी साँच्चै प्रमोदवन हुनेछ।—यशैया ६५:१७, २१, २३; लूका २३:४३.
[फुटनोट]
a त्यसको विपरीत, १९९९ को अगस्त महिनामा टर्कीमा गएको दुःखलाग्दो भूकम्प ७.४ रेक्टर स्केलको मात्र थियो तर ताइवानमा गएको भूकम्पले भन्दा त्यसले कम्तीमा पनि सात गुणा बढी मानिसहरूको ज्यान लिएको दाबी गरिएको छ।
[पृष्ठ २६-मा भएको चित्र]
पालमा बसिरहेको बेला यहोवाका साक्षीहरूले त्यहीं सभा सञ्चालन गरे
[पृष्ठ २७-मा भएको चित्र]
भूकम्पले थुप्रै बाटोहरू भत्कायो
[स्रोत]
San Hong R-C Picture Company
[पृष्ठ २७-मा भएको चित्रको स्रोत]
San Hong R-C Picture Company
[पृष्ठ २७-मा भएको चित्रको स्रोत]
Seismogram on pages 2, 25-7: Figure courtesy of the Berkeley Seismological Laboratory