सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लुई ब्रेल—अन्धकारका कैदीहरूका लागि ज्योति

लुई ब्रेल—अन्धकारका कैदीहरूका लागि ज्योति

लुई ब्रेल—अन्धकारका कैदीहरूका लागि ज्योति

पढ्‌ने अनि लेख्ने क्षमताको तपाईं कत्तिको कदर गर्नुहुन्छ? कसै कसैले यसलाई एकदम हल्कासित लिन्छन्‌ तर लेखपढ गर्न जानेका छैनौं भने कुनै पनि कुरा सिक्न गाह्रो हुन्छ। पढ्‌ने क्षमता नहुनु भनेको ज्ञानको ठूलो भण्डारको साँचो हराए सरह हो।

सयौं वर्षसम्म अन्धाहरूले पढ्‌न पाएका थिएनन्‌। तथापि, यिनीहरूको बिचल्ली देखेर १९ औं शताब्दीमा एक गम्भीर प्रकृतिका नौजवानले आफूलगायत अन्य लाखौं व्यक्‍तिहरूका लागि कुराकानी गर्ने नयाँ माध्यम पत्ता लगाए।

दुर्घटनाबाट सृजिएको आशा

लुई ब्रेलको जन्म सन्‌ १८०९ मा फ्रान्सको पेरिसबाट लगभग ४० किलोमिटर टाढा पर्ने कुभ्रे गाउँमा भएको थियो। तिनका बुबा, सीमोङ-रने ब्रेल जीविकोपार्जनका लागि हलो वा काठी कस्ने छालाको पट्टा बनाउँथे। बालक लुई अक्सर आफ्नो बुबाको ज्यासलमा खेल्ने गर्थे। तर, एक पटक त्यहाँ गम्भीर दुर्घटना हुने भयो। हातमा बर्मा लिएर खेलिरहेका लुईलाई त्यो ज्यावलले आँखामा घोच्यो। तिनको आँखाको उपचार गर्नै नसकिने भयो। त्यति मात्र होइन, उक्‍त संक्रमणले अर्को आँखालाई पनि बिगाऱ्‍यो। तीन वर्षको कलिको उमेरमै लुई दुवै आँखा नदेख्ने भए।

यस्तो अवस्थामा पनि आफूले सकेजति गर्न लुईका आमाबाबु र त्यो इलाकाका पादरी, झाक पाल्वीले लुईलाई पठनपाठनका लागि स्थानीय स्कूलमा भर्ना गरिदिए। आफूले सुनेको भरमा लुईले थुप्रै कुरा सिके। वास्तवमा, केही वर्ष त तिनी आफ्नो कक्षाका मनिटरसमेत भए! दृष्टि भएकाहरूका लागि तयार पारिएको पद्धति प्रयोगबाट सिक्न अन्धो व्यक्‍तिहरूलाई त्यति सजिलो हुँदैन। त्यसकारण, १८१९ मा लुईलाई रोयल इन्सटिच्युट फर ब्लाइन्ड युथमा भर्ना गरियो।

यस संस्थाका संस्थापक भालेङटाङ अभ्यी अन्धाहरूलाई पढ्‌न सजिलो हुने कार्यक्रम स्थापित गर्ने प्रथम व्यक्‍तिहरूमध्ये एक थिए। तिनको मनसाय अन्धोपनले कुनै पनि व्यक्‍तिका लागि औपचारिक शिक्षाको ढोका बन्द गर्छ भन्‍ने आम धारणालाई जित्नु थियो। सुरुमा अभ्यीले बाक्लो कागतमा ठूलठूला अक्षरहरू कुँदेर प्रयोगमा ल्याए। यो सुरुआत मात्र भए तापनि यी प्रयासहरू भावी कार्यहरूका लागि आधार बने।

ब्रेलले अभ्यीको सानो पुस्तकालयमा भएका किताबहरूका यी उठाइएका ठूलठूला अक्षरहरू पढ्‌ने तरिका सिके। तथापि, यसरी सिक्नु निकै ढिलो अनि अव्यावहारिक भएको तिनले महसुस गरे। हुन पनि अक्षरहरू त आँखाका लागि तयार गरिएका थिए—औंलाहरूका लागि होइनन्‌। खुसीको कुरा, यी सीमितताहरू बुझ्ने व्यक्‍ति देखा पर्नै लागेको थियो।

अप्रत्याशित स्रोतबाट प्राप्त तरकिप

सन्‌ १८२१ मा लुई ब्रेल १२ वर्षको छँदा हातहतियार विभागका अवकाशप्राप्त फ्रान्सिसी क्याप्टेन, शार्ल बारबेइ उक्‍त संस्थामा आए। त्यहाँ तिनले रात्री लेखोटमार्फत वार्तालाप प्रस्तुत गरे र यसलाई पछि सोनोग्राफी भनिन थालियो। युद्धभूमिमा प्रयोग गर्न यो रात्री लेख विकास गरिएको थियो। यो छ थोप्ले उचाइ तथा दुई थोप्ले चौडाइको आयातकार रूपमा मिलाएर कुँदिएका थोप्लाहरू स्पर्शद्वारा वार्तालाप गर्ने तरिका थियो। शब्दहरू उच्चारण गर्न कोड प्रयोग गर्ने यो धारणाप्रति उक्‍त स्कूलमा केही सकारात्मक प्रतिक्रिया देखियो। बडो उत्साहित हुँदै ब्रेलले यो नयाँ पद्धति प्रयोग गर्नुका साथै त्यसमा केही सुधार पनि गरे। तर यस तरिकालाई साँच्चै व्यावहारिक बनाउन ब्रेलले अझ धेरै काम गर्नु थियो। तिनले आफ्नो दैनिकीमा यसो लेखे: “मानिस तथा घटनाहरू, विचार तथा सिद्धान्तहरूबारे सिक्न म आफ्नो आँखामा भर पर्न सक्दिनँ भने मैले अर्को उपाय खोज्नैपर्छ।”

अतः त्यसपछिका दुई वर्षहरूमा यो कोडलाई सरल बनाउन ब्रेलले निकै परिश्रम गरे। अन्ततः तिनले तीन थोप्ले उचाइ र दुई थोप्ले चौडाइ मात्र भएको आकारमा आधारित निश्‍चित आकारप्रकारको उच्चस्तरीय तरिका विकास गरे। सन्‌ १८२४ मा १५ वर्षको उमेरमा लुई ब्रेलले छ थोप्ले सेल प्रणाली पूरा गरे। त्यसको लगत्तै ब्रेलले उक्‍त संस्थानमा सिकाउन थाले र १८२९ मा तिनले आज तिनको आफ्नै नाउँले चिनिने अनुपम सञ्चार प्रणाली प्रकाशित गरे। केही साना सुधारहरूबाहेक तिनको त्यो प्रणाली आजसम्म जस्ताको तस्तै छ।

विश्‍वभरि ब्रेल उपलब्ध गराउँदै

सन्‌ १८२० दशकको अन्ततिर ब्रेलले तयार गरेको कुँदिएका थोप्लाहरू व्याख्या गरिएको पहिलो पुस्तक प्रकाशित भयो। तर यो आविष्कारलाई जताततै सहजै स्वीकार्न अलि समय लाग्यो। संस्थानमा समेत ब्रेलको मृत्युभएको दुई वर्षपछि अर्थात्‌ १८५४ मा मात्र यो नयाँ कोडले आधिकारिक मान्यता पायो। तैपनि, यो अत्यन्तै उत्कृष्ट तरिका लोकप्रिय हुन थाल्यो।

थुप्रै संगठनले ब्रेल साहित्यहरू प्रकाशित गरेका छन्‌। वाचटावर सोसाइटीले १९१२ देखि यस्तो प्रकाशन प्रकाशित गर्न थाल्यो। त्यतिखेर अंग्रेजी भाषा बोलिने ठाउँहरूका लागि मात्र उक्‍त कोड तयार पारियो। आज ब्रेल छाप्ने आधुनिक तरिका प्रयोग गर्दै सोसाइटीले वर्षेनी आठ भाषाहरूमा लाखौं पृष्ठहरूमा अक्षरहरू कुँद्‌छ र ७० भन्दा धेरै मुलुकहरूमा वितरण गर्छ। हालै, सोसाइटीले बाइबलमा आधारित ब्रेल साहित्यको बढ्‌दो माग पूरा गर्न आफ्नो प्रकाशन दोब्बर गरेको छ।

आज सरल, सुस्पष्ट ब्रेल कोडहरूले गर्दा लाखौं नेत्रहीन व्यक्‍तिहरू पढ्‌न सक्ने भएका छन्‌। झन्डै २०० वर्षअघि एक जना नौजवानले गरेको समर्पण र प्रयासलाई मुरी मुरी धन्यवाद।

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

ब्रेल कोडको भेद पत्ता लगाउने

एउटा वा दुवै हात प्रयोग गरेर ब्रेल बायाँबाट दायाँतिर पढिन्छ। प्रत्येक ब्रेल सेलमा ६३ वटा थोप्लाहरूको संयोजन हुन्छन्‌। यसर्थ, अधिकांश अक्षर तथा विराम चिह्नहरूलाई केही खास थोप्लाहरूले संकेत गर्छन्‌। थुप्रै भाषाले ब्रेलको संक्षिप्त रूप प्रयोग गर्छन्‌ र यसमा केही सेलहरू बारम्बार प्रयोग हुने संयुक्‍त शब्दहरू वा सिंगो शब्दहरूका लागि छुट्याइएका हुन्छन्‌। कोही कोही मानिसहरू त ब्रेलमा यति पोख्त भइसके कि तिनीहरू प्रति मिनेट २०० वटा शब्दहरू पढ्‌नसक्छन्‌!

[चित्र]

सुरुका दस अक्षरहरूका लागि माथिल्ला दुई हरफका थोप्लाहरू मात्र प्रयोग गरिन्छन्‌

त्यसपछिका दस अक्षरहरूमा माथिका प्रत्येक प्रथम दस अक्षरहरूको बायाँतिरको तल्लो थोप्ला थपिन्छ

अन्तिम पाँच अक्षरहरूमा प्रथम पाँच अक्षरहरूको दायाँतिर तल्लो थोप्ला थपिन्छ; “w” अक्षर अपवाद हो किनकि यो फ्रान्सेली वर्णमालामा पछि मात्र थपिएको थियो

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

तस्बिर: © Maison Natale de Louis Braille - Coupvray, France/Photo Jean-Claude Yon