विश्वदर्शन
विश्वदर्शन
विश्व भोकमरीको ताजा खबर
“विश्व स्वास्थ्य संघको (डब्ल्यु एच ओ) अनुमानअनुसार धनी, गरिब सबै राष्ट्रमा आधाभन्दा बढी जनसंख्या एउटा न एउटा प्रकारको पौष्टिक आहारको कमीबाट पीडित छन्” भनी स्टेट अफ द वर्ल्ड २०००-ले रिपोर्ट गर्छ। विश्वभरि १.२ अरब मानिसहरू कुपोषणबाट पीडित भएको अनुमान लगाइएको छ। यसबाहेक, भनिन्छ, थप अरबौं मानिसहरू ‘छिपेको भोकमरी’-बाट पीडित छन्। यसले पर्याप्त पोषण पाएजस्तो देखिने तर महत्त्वपूर्ण भिटामिन तथा खनिज पदार्थको कमी भएका मानिसहरूलाई संकेत गर्छ। “मानिसहरू अक्सर खानाको आपूर्तिमा कमी आएमा भोकमरी हुन्छ भन्ठान्छन्” भनी वार्षिक स्टेट अफ द वर्ल्ड रिपोर्ट निकाल्ने वर्ल्ड वाच इन्स्टिच्युट बताउँछ। “तर वास्तविकता के हो भने, भोकमरी मानिसकै निर्णयको फल हो। . . . देशको कृषिजन्य क्षमताले भन्दा पनि मानिसहरूको जीवनस्तर राम्रो छ कि छैन, महिलाहरूलाई सम्मान दिइन्छ कि दिइँदैन अनि सरकारहरू आफ्ना जनताप्रति उत्तरदायी महसुस गर्छन् कि गर्दैनन् जस्ता कुराहरूले कसले खान पाउँछ, कसले पाउँदैन भन्ने कुरामा धेरै फरक पार्छ।”
पिठ्यूँमा बोक्ने गह्रौं झोला
अमेरिकन एकाडेमी अफ अर्थोपेडिक सर्जन्सद्वारा गरिएको अध्ययनअनुसार केटाकेटीको पिठ्यूँ तथा कुम दुखाइ र पछाडि बोक्ने गह्रौं झोलाहरूबीच नजिकको सम्बन्ध छ। कोही कोही केटाकेटीले झोलामा पाठ्यपुस्तक, खाना तथा पेय पदार्थ, वाद्ययन्त्र, फेर्ने लुगा सबै गरेर जम्माजम्मी १८ किलोग्रामसम्म बोक्छन्। दिनहुँ स्कूलमा त्यस्तो गह्रौं बोझ बोकेर जाँदा माध्यमिक विद्यालयमा पढ्ने केटाकेटीको ढाडमा करङ बांगिने जस्तो गम्भीर समस्या हुनसक्छ भनेर बालचिकित्सकहरू चेताउनी दिन्छन्। केही विशेषज्ञहरूले प्रिन्सिपल तथा शिक्षकहरूलाई केटाकेटीको झोला तिनीहरूको शरीरको वजनको २० प्रतिशतभन्दा बढी हुनु हुँदैन र त्योभन्दा बढी वजन छ भने यो “गुडाउने कुनै कुरामा लग्नुपर्छ, कम्मरमा बेल्ट लगाउनुपर्छ र प्याडसमेत लगाउनसक्छन्” भनी मेक्सिको सिटीको एक्सेलर अखबार रिपोर्ट गर्छ।
अमेरिकीहरूसित सबैभन्दा धेरै पाल्तुपशु
विश्वमा भएको ५० करोड पाल्तुपशुहरूमध्ये झन्डै ४० प्रतिशत संयुक्त राज्य अमेरिकामा छ। “देशभरि झन्डै ६० प्रतिशत घरहरूमा ७ करोड बिरालो, ५ करोड ६० लाख कुकुर, ४ करोड चरा, १० करोड माछा, १ करोड ३० लाख मुसा र अन्य साना स्तनपायी र ८० लाख घस्रने जनावरहरू छन्” भनी नेसनल जियोग्राफिक रिपोर्ट गर्छ। सबैभन्दा धेरै पाल्तुपशु भएको दोस्रो देश बेलाइत हो। त्यहाँ प्रायः कुकुर र बिरालाहरू छन्। “तर फ्रान्समा कुकुर र बिरालोभन्दा पनि बढी २ करोड १० लाखभन्दा धेरै माछाहरू छन्” भनी पत्रिका बताउँछ।
जापानको सर्वोच्च अदालतले साक्षीहरूको पक्षमा निर्णय गऱ्यो
जापानको सर्वोच्च अदालतले “शल्य चिकित्सकहरूले शल्यक्रियाको दौडान रक्तक्षेपण लिन नचाहने एक महिलाको अधिकार हनन गरेको र मृत्युको मुखमा पर्दासमेत रगत नदिने वाचालाई तोडेको” कुरा डेलि यमरी अखबारले उल्लेख गऱ्यो। “सर्वोच्च अदालतले बिरामीले आफ्नो उपचारसम्बन्धी निर्णय गर्न पाउनु मानव अधिकारको कुरा हो भनेर निर्णय गरेको यो पहिलो चोटि हो।” मिसाइ टाकिडा यहोवाका साक्षी हुन् र सन् १९९२ मा उनको कलेजोबाट घातक ट्युमर हटाउन गरिएको शल्यक्रियापछि बेहोसी अवस्थामा हुँदै उनलाई रक्तक्षेपण गरिएको थियो। सर्वोच्च अदालतका चार न्यायाधीशहरूको सर्वसम्मतिले डाक्टरहरू दोषी भएको निर्णय गरे। किनभने तिनीहरूले बिरामीलाई आवश्यक परेको खण्डमा रक्तक्षेपण गरिनेछ भनेर बुझाएनन् र उपचारविधि छनौट गर्ने अधिकार हनन गरे। फेब्रुअरी २९, २००० को निर्णयमा यस्तो भनिएको थियो: “बिरामीले आफ्नो धार्मिक विश्वासको कारण रक्तक्षेपण गर्न इन्कार गर्दा त्यसको आदर गर्नुपर्छ।” सन् १९९७ मा मिसाइको मृत्युपछि पनि नातेदारहरूले मुद्दा लडिरहेका थिए।—विस्तृत विवरणको निम्ति कृपया डिसेम्बर १५, १९९८, प्रहरीधरहरा-को पृष्ठ २६-९ हेर्नुहोस्।
पादरीहरूको बढ्दो अभाव
संयुक्त राज्य अमेरिकाको ग्रामीण इलाकादेखि ठूलठूलो शहरसम्म “पादरीहरूको अभाव” व्याप्त छ भनी द न्यु योर्क टाइम्स उल्लेख गर्छ। तीन वर्षदेखि रब्बीहरूलाई आकर्षित गर्न खोजिरहेको ११० वर्ष पुरानो यहूदी सभाघरको प्रयास व्यर्थै गएको घटनालाई उदारहण स्वरूप उल्लेख गर्दै उक्त लेखमा यसो भनिएको छ: “यस्तो अवस्था असामान्य होइन। सभाघरहरूलाई मात्र होइन तर रोमन क्याथोलिक र प्रोटेस्टेन्ट चर्चहरूलाई पनि पादरीहरू भेट्टाउन गाह्रो भइरहेको छ।” सन् १९९२ देखि १९९७ सम्ममा पादरीहरूको संख्या १२ प्रतिशतले घटेको छ। इपिस्कोपल चर्चका प्रवक्ता आफ्नो अवस्था गम्भीर भएको बताउँछन्। आफ्ना १५,००० सदस्यीय पादरीहरूमध्ये ३०० भन्दा कम १९६४ पछि जन्मेका पादरीहरू भएको तिनीहरू बताउँछन्। बाइस प्रतिशत सुधारवादी यहूदी धर्मका मण्डलीहरूमा पूर्ण-समय सेवा गर्ने रब्बीहरू छैनन्। पाँच वर्षअघिसम्म मात्र पनि सभाघरहरूभन्दा धेरै रब्बीहरू थिए। केही पादरीहरूले यसको दोष “शक्तिशाली अर्थतन्त्र”-लाई दिन्छन् जसको कारण मानिसहरू “धेरै पैसा आउने क्षेत्रहरूतिर आकर्षित भएका” छन्। अरूचाहिं पादरीहरूको कामतर्फ “घट्दो आकर्षणले गर्दा” हो भन्छन्। हिब्रू युनियन कलेजका अध्यक्ष रब्बी शेल्डेन जिमरम्यान यस्तो चेताउनी दिन्छन्: “हामीले जसरी भए पनि धार्मिक पेसा छान्ने मानिसहरूको संख्या बढाएनौं भने यो अन्ततः संगठित धार्मिक जीवनको निम्ति विपत्ति हुनेछ।”
दाँत माझ्दा ध्यान दिनुपर्ने कुरा
द वल स्ट्रिट जर्नल-को रिपोर्ट यसो भन्छ: “तपाईंले दाँत चाहिनेभन्दा धेरै माझिरहनुभएको हुनसक्छ। यस समस्यालाई धेरै जसो ‘टुथब्रस रगडाइ’ भनिन्छ र यसको कारण दाँतको इनामेल खिइनसक्छ, गिजा सर्नसक्छ र दाँतको जरा कमजोर हुनसक्छ।” संयुक्त राज्य अमेरिकाको कुल जनसंख्यामध्ये १० देखि २० प्रतिशतको “दाँत वा गिजा बढी बुरुस गरेकोले बिग्रेको” अनुमान गरिएको छ। लगनशील भई दाँत माझ्नेहरू र कडा बुरुसहरू प्रयोग गर्नेहरू बढी खतरामा छन्। “राम्ररी सफा गर्ने धुनमा तिनीहरूले अन्तमा झन् धेरै हानि गर्छन्” भनी दन्त चिकित्सक मिलन सगोल भन्छन्। कोही कोही मानिसहरूको वंशाणुगत दाँतको समस्या हुनसक्छ किनभने जन्मदै तिनीहरूको दाँत वरिपरि कम इनामेल हुन्छ। साथै, तार लगाएर दाँत मिलाउनेहरू र दाँत किट्नेहरूको पनि दाँत कमजोर हुनसक्छ। हानि हुनबाट बच्न विशेषज्ञहरू निम्न सुझाउ दिन्छन्: दाँत माझ्न नरम बुरुस चलाउनुहोस्। सुरुमा दाँतको भित्रपट्टी बुरुस गर्नुहोस् किनभने सुरुमा नरम बुरुस पनि अलि कडा हुन्छ र मन्जनले झन् धेरै रगड्ने गर्छ। बुरुस सबै औंलाले बेस्मारी समात्नुको सट्टा केही औंलाले हल्कासित समात्नुहोस्। बुरुसलाई गिजाभन्दा तल ४५ डिग्री कोणमा पर्ने गरी हाल्नुहोस् र करौंती जस्तो अगाडि पछाडि गर्नुको साटो माथितल गर्दै बिस्तारै माझ्नुहोस्।
ढल्कँदै गएको पिसाको धरहरालाई सोझ्याउने
ढल्कँदै गइरहेको पिसाको धरहरालाई सोझ्याउन गरिएको प्रयासको कारण वर्षको पहिलो तीन महिनामै पाँच सेन्टिमिटरले उन्नति भएको छ भनी द असोसिएटेड प्रेस बताउँछ। इन्जिनियरहरूका अनुसार जून २००१ सम्ममा यो सर्वसाधारणको निम्ति खुल्ला गर्न सकिनेछ। यस १२ औं शताब्दीको धरहरा पर्यटकहरूका निम्ति अन्तिम चोटि १० वर्षअघि खुला थियो र त्यतिबेलादेखि यो खतरनाक ढंगले ढल्किन थाल्यो र यसलाई सोझ्याउने प्रयास सुरु भयो। यो काम अहिले अन्तिम अवस्थामा पुगेको छ र अनुमान लगाइएअनुसार यो काम पूरा हुँदा ५० सेन्टिमिटर जति धरहरा सोझिने छ। यो पुनः खोल्नुअघि यसलाई बलियो बनाउनको निम्ति जगमा राखिएको ८०० टन सिसा र दसवटा स्टिल रिंग निकालिनेछ।
स्तनपानको थप लाभ
“स्तनपानले शिशुलाई पखाला, कानको संक्रमण तथा एलर्जी विरुद्ध लड्ने क्षमता दिनुको अलावा क्यान्सरबाट पनि बचाउनसक्छ” भनी प्यारेन्ट्स पत्रिका बताउँछ। युनिभर्सिटि अफ मिनसोटा क्यान्सर सेन्टरमा गरिएको अध्ययनअनुसार स्तनपान गराइएका बच्चाहरूलाई ल्युकेमिया—बच्चाहरूमा सबैभन्दा धेरै लाग्ने क्यान्सर लाग्ने सम्भावना कम भएको पाइयो। कम्तीमा पनि एक महिना स्तनपान गराएका बच्चाहरूलाई क्यान्सर हुने खतरा २१ प्रतिशत र ६ वा त्योभन्दा बढी महिना स्तनपान गराइएकाहरूलाई ३० प्रतिशत कम भएको पाइयो।