बुबाले हामीलाई छोडेर जानुभयो, अब के गर्ने होला?
युवा जनहरू सोध्छन्
बुबाले हामीलाई छोडेर जानुभयो, अब के गर्ने होला?
“मलाई बुबाविना हुर्कनु असाध्यै गाह्रो भयो। म मायाको भोको थिएँ।”—हेनरी। a
जोन १३ वर्षकी छँदा तिनको बुबाले घर छोडेर गए। रक्सीको दुर्व्यसनी तिनको बुबाले घर छोडेपछि छोराछोरीहरूलाई एक दुई चोटि मात्र भेट्ने प्रयास गरे। दुःखको कुरा, जोन मात्र होइन धेरै जवानहरू बुबाद्वारा त्यागिएका छन्।
यदि तपाईंको अवस्था पनि यस्तै छ भने, यस्तो परिस्थिति सामना गर्न तपाईंलाई पनि गाह्रो परिरहेको होला। बेला बेलामा पीडा अनि क्रोध जस्ता भावनाहरू आउनसक्छन्। तपाईं कहिलेकाहीं खिन्न अनि निराश महसुस गर्नुहुन्छ होला। तपाईंलाई विद्रोह गरूँ गरूँ जस्तो पनि लाग्ला। बाइबल लेखक सुलेमानले एक चोटि भनेझैं, “करकापले (थिचोमिचो NW) बुद्धिमान् मानिसलाई पनि मूर्ख बनाउँछ।”—उपदेशक ७:७. नयाँ संशोधित संस्करण।
‘मूर्ख व्यवहार देखाउने’
बुबाले घर छोडेपछि जेम्सले ‘मूर्ख व्यवहार देखाउन थाले।’ जेम्सले यसो भने: “मैले आफूभन्दा ठूलाबडा कसैको कुरा सुनिनँ आफ्नी आमाको कुरासमेत सुनिनँ। सधैं कोही न कोहीसित मेरो झगडा भइरहन्थ्यो। म सधैं झूट बोल्थें र राती सुटुक्क घरबाट भाग्थें किनकि मलाई अनुशासन दिने कोही थिएन। आमाले मलाई सम्झाउने प्रयास गर्नुहुन्थ्यो तर सक्नुभएन।” के विद्रोह गरेर जेम्सको जीवन राम्रो भयो? कदापि भएन। जेम्सको भनाइअनुसार नभन्दै उनी “लागूऔषध सेवन गर्न र स्कूलबाट भाग्न थाले अनि जाँचमा पनि फेल भए।” यस्तो कुव्यवहार झन् झनै चर्किंदै गयो। उनले आफ्नो गल्ती यसरी स्वीकारे, “मैले पसलबाट चोरी गर्नथालें अनि मानिसहरूलाई पनि लुटपिट गरें। म दुई पटक पक्राउमा परें र मलाई केही समयको लागि जेलमा पनि थुनियो तर केही फरक परेन।”
यस्तो विद्रोही हुनुको कारणबारे सोध्दा जेम्सले यस्तो जवाफ दिए: “बुबाले छोडेर जानुभएकोले मलाई अनुशासन दिने कोही थिएन। मैले मेरी आमा, भाइबहिनी अनि आफैलाई पनि कति चोट पुऱ्याइरहेको छु भनेर सोचेकै थिइनँ। म सधैं मेरो बुबाबाट माया र अनुशासन आशा गर्थें।”
तर विद्रोह गर्दा खराब परिस्थिति झनै बिग्रन्छ। (अय्यूब ३६:१८, २१) उदाहरणका लागि, जेम्सले आफूलाई मात्र नभई आफ्नी आमा र भाइबहिनीलाई समेत समस्यामा पारे। तिनीहरूले अनावश्यक दबाउ अनि तनाउ भोग्नु पऱ्यो। यो भन्दा गम्भीर कुरा त के हो भने, विद्रोही चालचलनले परमेश्वरसितको सम्बन्ध पनि बिगार्न सक्छ। किनभने यहोवाले जवानहरूलाई आफ्नी आमाप्रति आज्ञाकारी हुने आज्ञा दिनुभएको छ।—हितोपदेश १:८; ३०:१७.
रिस काबुमा राख्ने
आफ्नो बुबाप्रतिको रिस अनि क्रोधलाई तपाईं कसरी काबुमा राख्न सक्नुहुन्छ? सर्वप्रथम, बुबाले छोडेर जानुमा तपाईंको कुनै दोष छैन भनेर आफूलाई सम्झाउनुपर्छ। यसको अर्थ, उहाँको तपाईंप्रति कुनै प्रेम अनि चासो छैन भन्ने होइन। हो, बुबाले भेट्न अनि कुरा गर्न खासै प्रयास नगर्दा चित्त दुख्नसक्छ। तर यसै विषयसँग सम्बन्धित अघिल्लो अंकको लेखमा भनिएझैं b छोराछोरीबाट टाढिने धेरैजसो बुबाहरूले आफ्ना बच्चाहरूलाई नभेट्नुको कारण उनीहरूप्रति प्रेम नभएर होइन तर दोषी भवाना र लाजले गर्दा हो। अर्कोतिर, जोनका बुबा जस्ताहरूलाई चाहिं सामान्य व्यवहार गर्न रक्सी र लागूऔषधको दुर्व्यसनले बाधा दिन्छ।
परिस्थिति जस्तो सुकै भए तापनि, तपाईंका आमाबुबा असिद्ध हुनुहुन्छ भनेर नबिर्सनुहोस्। बाइबल यसो भन्छ, “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।” (रोमी ३:२३; ५:१२) हो, यसो भन्दैमा अरूलाई चोट पुऱ्याउने वा गैरजिम्मेवारीपूर्ण व्यवहारलाई छुट दिन मिल्दैन। तर हामी सबै नै जन्मजात असिद्ध छौं भन्ने तथ्यलाई स्वीकाऱ्यौं भने विनाशकारी रिस तथा आक्रोस त्याग्न सजिलो हुनसक्छ।
उपदेशक ७:१० को सल्लाहले आफ्ना आमाबुबाप्रतिको रिस तथा क्रोधलाई काबुमा राख्न तपाईंलाई मदत दिनसक्छ। बितेका कुराहरूलाई मात्र नकोट्याउन यसरी सल्लाह दिइएको छ: “उहिले उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध, किनभने त्यो ता मूर्ख सवाल हो।” तसर्थ, बितिसकेको घटनालाई मनमा राखिरहनुभन्दा वर्तमान परिस्थितिलाई अझ राम्रो बनाउनु बेस हुन्छ।
आफै अग्रसर हुने
उदाहरणका लागि, बुबासँग सम्पर्क राख्न तपाईं आफै अग्रसर हुन सक्नुहुन्छ। हो, तपाईंलाई छोडेर जाने उहाँ हो र उहाँले नै पहिलो कदम चाल्नुपर्छ जस्तो तपाईंलाई लाग्नु कुनै गलत कुरा होइन। तर यदि उहाँले यसो गर्नुभएन अनि उहाँसँग भेट्न नपाएकोले तपाईं निराश तथा दुःखी हुनुहुन्छ भने तपाईं आफैले पहिला कदम चाल्नुभए बेस होला कि? आफ्ना केही मित्रहरूले चित्त दुखाउँदा येशूले कस्तो व्यवहार गर्नुभयो, विचार गर्नुहोस्। आफ्नो मानव जीवनको अन्तिम रात चेलाहरूले उहाँलाई छोडेर गए। जस्तो सुकै परिस्थितिमा पनि येशूलाई छाड्ने छैन भनी पत्रुसले खूब घमण्ड गरेका थिए। तर पत्रुसले एक पटक होइन, तीन तीन पटक येशूलाई इन्कार गरे!—मत्ती २६:३१-३५; लूका २२:५४-६२.
पत्रुसको यस्तो कमजोरीको बावजूद येशूले पत्रुसलाई प्रेम गर्न छोड्नुभएन। पत्रुससितको आफ्नो सम्बन्धलाई राम्रो बनाउन येशूले नै पहिला कदम चाल्नुभएर पुनरुत्थान पश्चात् सबैभन्दा पहिला पत्रुसकहाँ देखा पर्नुभयो। (१ कोरिन्थी १५:५) चाखलाग्दो कुरा के छ भने, “के तिमी मलाई . . . प्रेम गर्दछौ?” भनी येशूले पत्रुसलाई प्रश्न सोध्नुहुँदा पत्रुसले यस्तो जवाफ दिए, “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।” आफ्नो कामबाट लज्जित भए तापनि पत्रुसले अझै येशूलाई प्रेम गर्थे।—यूहन्ना २१:१५.
येशू र पत्रुसको सम्बन्धबाट स्पष्ट भएझैं तपाईं र तपाईंको बुबाबीचको सम्बन्ध त्यत्ति नराम्रो नहोला। यदि तपाईंले टेलिफोन गरेर, चिठी लेखेर वा भेटेर केही अग्रसरता देखाउनुभएको खण्डमा सायद उहाँले राम्रो प्रतिक्रिया देखाउनुहुन्छ होला। सुरुमा उल्लेख गरिएको हेनरी यसो भन्छन्: “एक चोटि मैले बुबालाई चिठी लेखें, उहाँले ममा गर्व गर्नुहुन्छ भनेर मलाई चिठी पठाउनुभयो। मैले त्यो चिठी फ्रेममा राखेर वर्षौंसम्म भित्तामा झुन्डाएर राखें। मसँग अहिले पनि त्यो चिठी छ।”
त्यसै गरी जोन अनि उनका भाइबहिनीहरू आफ्नो जँड्याहा बुबालाई भेट्न अग्रसर भए। जोन भन्छिन्, “उहाँको अवस्था राम्रो थिएन तर उहाँलाई भेट्न पाउँदा खुसी लाग्यो।” यसरी नै अग्रसर हुनुभयो भने तपाईंले पनि राम्रो परिणाम हासिल गर्नसक्नुहुनेछ। पहिलो पटक कुनै जवाफ आएन भने अलि समय पर्खेर फेरि प्रयास गर्न सक्नुहुन्छ।
तिरस्कृत हुनुको पीडा सहने
सुलेमान हामीलाई यसरी सम्झाउँछन्, “भेट्टाउने एउटा समय छ, हराउने एउटा समय।” (उपदेशक ३:६) बुबाले आफ्ना छोराछोरीलाई पटक्कै भेट्न नचाहेको तीतो वास्तविकतालाई कहिलेकाहीं जवानहरूले सहनुपर्ने हुन्छ। यदि तपाईंको बुबाले पनि यस्तै गर्नुभएको छ भने, तपाईंसँगको सम्बन्धलाई लत्याउँदा सायद एक दिन उहाँले धेरै कुरा गुमाउनु परेको महसुस गर्नुहुनेछ।
तर त्यतिञ्जेल उहाँले तपाईंलाई इन्कार गर्नुभयो भन्दैमा आफूलाई बेकम्मा नठान्नुहोस्। बाइबल भजनहार दाऊदले यस्तो लेखे: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।” (भजन २७:१०) हो, परमेश्वरको नजरमा तपाईं अझै मूल्यवान् हुनुहुन्छ।—लूका १२:६, ७.
यदि तपाईं निरुत्साहित वा खिन्न हुनुहुन्छ भने, प्रार्थना गरेर यहोवासँग नजिक हुनुहोस्। (भजन ६२:८) आफ्नो मनमा लागेको यथार्थ कुरा उहाँलाई पोख्नुहोस्। उहाँले तपाईंको प्रार्थना सुन्नुहुनेछ अनि ढाडस दिनुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। अर्का भजनहारले यस्तो लेखे: “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्।”—भजन ९४:१९.
यसरी तिरस्कृत हुनुपर्दा सँगी मसीहीहरूको न्यानो संगतिले पनि तपाईंलाई मदत दिनसक्छ। हितोपदेश १७:१७ ले भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” तपाईंले यहोवाका साक्षीहरूको मसीही मण्डलीभित्र यस्ता साँचो मित्रहरू पाउन सक्नुहुन्छ। विशेष गरी, मण्डलीका कोही कोही प्राचीनसँग चिनजान बढाउनु मदतकारी हुनसक्छ। जोनको भाइ पिटर यस्तो सल्लाह दिन्छन्: “मण्डलीका पाको व्यक्तिहरूसँग कुरा गर्नुहोस् र उहाँहरूले तपाईंलाई धेरै मदत गर्नुहुनेछ। यदि तपाईंको बुबाले त्याग्नुभएको छ भने आफ्नो मनका कुराहरू उहाँहरूलाई पोख्नुहोस्।” तपाईंको बुबाले पहिले गरिरहनुभएका जिम्मेवारीहरू जस्तै, घर मर्मत गर्ने कार्यहरू आदि पूरा गर्न मण्डलीका प्राचीनहरूले तपाईंलाई व्यावहारिक सल्लाहहरू दिनसक्छन्।
तपाईंकी आमाले पनि तपाईंलाई मदत दिन सक्नुहुन्छ। हो, उहाँले भावनात्मक पीडा खपिरहनुभएको होला। तर यदि तपाईंले आदरणीय ढंगमा आफ्ना भावनाहरू व्यक्त गर्नुभएको खण्डमा उहाँले पक्कै पनि यथासक्दो गर्नुहुनेछ।
परिवारलाई सहयोग गर्नुहोस्!
तपाईंको बुबाको अनुपस्थितिले धेरै तरिकामा तपाईंको परिवारलाई असर गर्नसक्छ। परिवारका आवश्यकताहरू पूरा गर्न तपाईंकी आमाले जागिर खानुपर्ने र सायद उहाँले दुइवटा जागिर पनि खानु पर्ने हुनसक्छ। तपाईं अनि तपाईंका भाइबहिनीहरूले घरायसी कामको थप जिम्मेवारीहरू उठाउनुपर्ने हुनसक्छ। तर यदि तपाईंले निःस्वार्थ मसीही प्रेम विकास गर्नुभयो भने यस्ता परिवर्तनहरूको सामना गर्नसक्नुहुनेछ। (कलस्सी ३:१४) यसले तपाईंलाई सकारात्मक मनोवृत्ति कायम राख्न तथा क्रोध शान्त पार्न मदत गर्न सक्छ। (१ कोरिन्थी १३:४-७) पिटर यसो भन्छन्: “मैले आफ्नो परिवारलाई मदत गर्नैपर्छ अनि मैले आमा र दिदीहरूलाई मदत गरिरहेको छु भन्ने महसुस हुँदा मलाई राम्रो लाग्छ।”
निस्सन्देह, बुबाले घर छोड्दाको क्षण दुःखद अनि पीडादायी हुन्छ। तर परमेश्वर अनि मायालु मसीही मित्र तथा परिवारको मदत पाएर तपाईं र तपाईंको परिवारले यस्तो परिस्थितिलाई सहन सक्नुहुन्छ। c
[फुटनोटहरू]
a नाउँहरू परिवर्तन गरिएका छन्।
b नोभेम्बर २२, २००० अंग्रेजी अंकको लेख “युवा जनहरू सोध्छन् . . . ह्वाइ डिड ड्याड लिभ अस्?” हेर्नुहोस्।
c एकल परिवारमा जीवन बिताउने सन्दर्भमा थप जानकारीको लागि डिसेम्बर २२, १९९० तथा मार्च २२, १९९१ (अंग्रेजी) अंकको “युवा जनहरू सोध्छन् . . . ” लेख पढ्नुहोस्। (g00 12/22)
[पृष्ठ २६-मा भएको चित्र]
केही जवानहरू आफ्ना बुबालाई भेट्न आफै अग्रसर भएका छन्