सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ज्यानमारा छालहरू—मिथ्या र वास्तविकता

ज्यानमारा छालहरू—मिथ्या र वास्तविकता

ज्यानमारा छालहरू—मिथ्या र वास्तविकता

भर्खरै मात्र घाम डुबेको थियो। जुलाई १७, १९९८ शुक्रबारको शान्त दिन पापुवा न्यु गिनीका उत्तरी समुद्र किनारका केही स-साना गाउँका पुरुष, स्त्री र केटाकेटीहरूले अचानक ७.१ रेक्टर स्केलको भूकम्पले हल्लाएको महसुस गरे। साइन्टीफिक अमेरिकाना यसो भन्छ, “सबैभन्दा ठूलो धक्काले समुद्रबाट ३० किलोमिटर परको स्थानमा बेसरी कम्प भयो . . . र समुद्रको पींध अचानक अर्कै आकारको भयो। सामान्य समतल पींध माथि उठेर डरलाग्दो सुनामी छाल बन्यो।”

त्यो दृश्‍य देख्ने एक जना मानिसले टाढामा चट्याङ बज्रेकोजस्तो आवाज सुनेको र पानी घटेर पहिलेकै तहमा पुग्दा त्यो स्वर सानो हुँदै गएको कुरा बताए। तिनले त्यसको केही मिनेटपछि तीन मिटरजति अग्लो पहिलो छाल देखे। तिनी भाग्न खोज्दाखोज्दै पनि उम्कन सकेनन्‌। त्यसपछि आएको झनै डरलाग्दो छालले तिनको गाउँलाई नै सोतर बनायो र तिनलाई पनि झन्डै एक किलोमिटर जति टाढा जडीबुटीको जंगलमा हुत्यायो। “खजुरका रूखको टुप्पोबाट झुन्डिएका टुक्राटाक्रीले छाल १४ मिटर माथिसम्म पुगेछ भनेर देखाउँछ” भन्दै साइन्स न्युज रिपोर्ट गर्छ।

त्यस साँझको भयानक छालले कम्तीमा पनि २,५०० जनाको ज्यान लियो। एउटा काठ कम्पनीले नयाँ स्कूल बनाउन चन्दास्वरूप काठ त दिए तर दुःखको कुरा स्कूल जाने केटाकेटीहरू कोही पनि बचेका थिएनन्‌। त्यहाँका २३० जनाभन्दा बढी भनौं सबै जसो सुनामीको सिकार भए।

सुनामी भनेको के हो?

जापानी शब्दमा सुनामी भनेको “बन्दरगाहमा आउने छाल” हो। सुनामी! नामक पुस्तक यसो भन्छ, “यो पदावली सुहाउँदो छ किनभने यी भयंकर छालहरूले जापानी बन्दरगाह तथा समुद्र किनारका गाउँमा बारम्बार मृत्यु र विनाश निम्त्याएको छ। असाधारण छालहरू यतिबिघ्न भयानक र विशाल हुनुको कारण के  हो?

सुनामीलाई कहिलेकाहीं ज्वारभाटा पनि भनिन्छ। खासै भन्‍ने हो भने, ज्वारभाटाहरू भनेको सूर्य र चन्द्रमाको गुरुत्वाकर्षण शक्‍तिका कारण समुद्रबाट पानी माथि उठ्‌नु र बस्नु हो। कहिलेकाहीं २५ मिटरभन्दा माथि उठ्‌ने यस्ता विशाल छालहरूलाई तुफानी आँधीले हिर्काए तापनि सुनामीको दाँजोमा यो केही पनि होइन। यस्तो ज्वारभाटामा डुबुल्की मार्नु पऱ्‍यो भने जति जति तल पुग्नुहुन्छ त्यति नै यसको शक्‍ति क्षीण हुँदै गएको महसुस गर्नुहुनेछ। एउटा निश्‍चित गहिराइमा पुगेपछि पानी पटक्कै चलेको हुँदैन। तर सुनामी त्यस्तो हुँदैन। समुद्र कैयौं किलोमिटर गहिरो भए तापनि यसको असर त्यसको पींधसम्मै हुन्छ!

सुनामीको असर भित्र गहिराइसम्म हुन्छ किनभने यो समुद्री पींधमा हुने भौगर्भिक उथलपुथल हो। यसैकारण वैज्ञानिकहरू सुनामीलाई कहिलेकाहीं भौगर्भिक छाल भन्‍ने गर्छन्‌। समुद्री पींधको सतह माथि उठेर पानीको खाँबाले २५,००० वर्ग किलोमिटर क्षेत्रफल ढाक्नसक्छ। अथवा महासागरीय सतहमा खाली हुने गरी पींधको सतह तल पुग्नसक्छ।

दुवै अवस्थामा गुरुत्वाकर्षणले पानीलाई तल माथि हल्लाउँछ र पोखरीमा ढुंगा फ्याँक्दाझैं छाललहरी उत्पन्‍न गर्छ। यसकारण, अधिकांश मानिसहरूले सोचेजस्तो सुनामी एउटा भयानक छाल मात्र होइन। बरु, पंखाजस्तै घुमेर सुनामी छाललहरी बन्छ। सुनामी ज्वालामुखी विस्फोटन अथवा समुद्रमा पहिरो जाँदा पनि उत्पन्‍न हुनसक्छ।

इतिहास पल्टाएर हेर्ने हो भने, अगस्त १८८३ मा इन्डोनेसियाको क्राकाटोमा ज्वालामुखी विस्फोट भएर उत्पन्‍न भएको सुनामी सबैभन्दा विनाशकारी थियो। केही विध्वंसकारी छालहरू पत्याउनै नसकिने गरी समुद्री सतहभन्दा ४१ मिटर माथिसम्म पुगे र समुद्र किनारमा अवस्थित झन्डै ३०० शहर र गाउँलाई बगाए। यसले ४०,००० भन्दा बढीको ज्यान लियो।

सुनामीको दोहोरो रूप

आँधीले उत्पन्‍न गरेका छालहरू कहिले पनि १०० किलोमिटर प्रतिघण्टाभन्दा वेगले उर्लंदैनन्‌ र प्रायजसो वेग कमै हुन्छ। “अर्कोतिर, सुनामी छालहरू समुद्रमा जेट जहाज जत्तिकै छिटो [८०० किलोमिटर] प्रति घण्टाको दरले वा त्योभन्दा बढी वेगले हुइँकिन सक्छन्‌” भनी सुनामी! पुस्तक बताउँछ। तथापि, जतिसुकै वेगमा हुइँकिए पनि पानीभित्र चाहिं तिनीहरू खतरनाक हुँदैनन्‌। किन?

पहिलो कारण, खुला समुद्रमा आउने एकसरो छाल तीन मिटरभन्दा कम हुन्छ। अनि दोस्रो, एउटा छालबाट अर्को छाल सयौं किलोमिटर टाढा हुने भएकोले उचाइ कम हुँदै जान्छ। त्यसैले, सुनामीहरू जहाजमनिबाट जाँदासमेत थाहै हुँदैन। हवाइ भनिने टापुहरूको किनारमा रोकिराखेको एउटा जहाजका प्रशिक्षकलाई विशाल छालहरू टाढाको किनारमा गएर नठोक्किउञ्जेल सुनामी आफ्नो जहाजमनिबाट गएको पत्तै भएन। समुद्रमा जहाजहरू १८० मिटर गहिरो पानी भएर जानु सुरक्षितै मानिन्छ।

जमिन नजिकै र कम गहिराइमा आइपुग्दा सुनामीको स्वभाव अर्कै हुन थाल्छ। यहाँ, समुद्री पींधसित घस्रन थाल्दा ती छालहरूको वेग घट्‌छ तर एकैनासे हुँदैन। छालको पछिल्तिरको भाग सधैं गहिरो पानी भएको ठाउँमा हुन्छ र त्यसैले वेग अलि बढी हुन्छ। वास्तवमा छाल खुम्चिंदा गति कम हुन्छ र फलतः उचाइ बढ्‌छ। साथै, पछिल्तिरका छालहरू अघिल्तिरका छालहरूमा थुप्रिन्छन्‌।

अन्तिम चरणमा सुनामी भयंकर छाल अथवा पानीको भित्ताजस्तै भएर समुद्र किनारमा आउँछ तर प्रायजसो समुद्री सतहभन्दा निकै माथि उठेर ज्वारभाटाजस्तै देखिन्छ। पानी सामान्य समुद्री सतहभन्दा लगभग ५० मिटर माथिसम्म हुन्छ र यसले भग्नावशेष, माछा अनि कहिलेकहीं त सिपीका चौटाहरूलगायत भेटेजति सबै हजारौं मिटर टाढा समुद्री किनारमा थुपार्छ।

सुनामी भनेको सधैं किनारतिर उर्लिरहेको पानीको भलजस्तो हुँदैन। यो कहिलेकाहीं ठ्याक्कै उल्टो पनि हुनसक्छ। यसले समुद्र किनार, खाडी र बन्दरगाहहरूलाई सुक्खा पार्छ र माछाहरू बालुवा अथवा माटोमा छटपटाउँछन्‌। वेभ ट्रेनको समुद्र किनारमा पुग्ने पहिलो छाल माथि उठेको अथवा तलतिर दबेको छाल हेरेर यसको आउने तरिका थाह पाउन सकिन्छ। a

समुद्रीतट सुक्खा हुँदा

यो नोभेम्बर ७, १८३७, हवाइ टापुस्थित माउइको शान्त साँझको कुरा हो। त्यो साँझ करिब सात बजेतिर पानीको सतह घटेर चट्टानहरू स्पष्टसित देखापर्दा माछाहरू अलपत्र भए भनी सुनामी! पुस्तक बताउँछ। त्यहाँ थुप्रै माछा देखेर मक्ख पर्दै मानिसहरू माछा समात्न दौडे तर केही मानिसहरूको मनमा भने पुरानो घटना ताजै भएकोले अग्ला ठाउँतिर भागे। तुरुन्तै, पानी उर्लियो र भयावह छालहरूले नजिकैका बासिन्दाहरू अनि पाल्तुपशुलगायत त्यहाँका २६ वटा झुप्रो भएको गाउँलाई नै २०० मिटर भित्रसम्म बगाएर एउटा सानो तालमा थुपारिदियो।

त्यसै साँझ अर्को टापुको किनार हजारौं मानिसहरू धार्मिक उत्सवका लागि भेला भएका थिए। फेरि एक पटक अचानक त्यहाँ पानी सुक्दा हवाइका बासिन्दाहरू छक्कै परेर किनारतिर दौडे। त्यसपछि साबिक भन्दा छ मिटर माथिसम्म छाल उर्ल्यो र “धावक घोडाको तेजगतिले” किनारतिर आयो भनी एकजना दर्शकले बताए। फर्केको पानीले बलिया पौडीबाजहरूलाई समेत लछारपछार पारेर समुद्रमा लग्यो भने कोही कोही निस्सासिएर मरे।

यो अक्सर कतिपल्ट देखापर्छ?

साइन्टिफिक अमेरिकन बताउँछ, “सन्‌ १९९० देखि आएको १० वटा सुनामीले ४,००० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ। गएको दस वर्षभित्र संसारभरि जम्माजम्मी ८२ वटा सुनामीहरूबारे रिपोर्ट गरिएको छ भने यो संख्या त्यसअघिको सरदर ५७ वटाभन्दा निकै बढी छ।” तथापि, यस पत्रिकाले बताएअनुसार मृत्युदर वृद्धि भएको समाचार प्राप्त हुनुको कारण सञ्चार माध्यमको विकास र समुद्र किनारमा बसोबास गर्नेहरूको संख्या बढेकोले हो।

प्रशान्त महासागरको जलाशयमा भौगर्भिक उथलपुथल भइरहने हुनाले यो सुनामीहरू धेरै उत्पन्‍न हुने ठाउँको रूपमा प्रख्यात छ। एउटा सन्दर्भ सामग्रीअनुसार वास्तवमा “प्रशान्त महासागरमा वर्षको एउटा विनाशकारी सुनामी आएकै हुन्छ।” अनि त्यसै सामग्रीले थप यसो पनि भन्छ, “विगत पचास वर्षमा संयुक्‍त राज्यमा मानिसहरू भूकम्पमा परी मर्नेहरूमध्ये ६२ प्रतिशतजति त सुनामीकै कारण मरेका हुन्‌।”

के त्यसको पूर्वानुमान लगाउन सकिन्छ?

सन्‌ १९४८ र १९९८ बीच हवाइमा सुनामी आउँदैछ भनेर चेताउनी दिइए तापनि ७५ प्रतिशत जति चेतावनी गलत साबित भए। यस्तो रेकर्डले गर्दा मानिसहरू सतर्क नहुनु स्वाभाविकै हो। तथापि, त्यस्तो खतराबारे पूर्व सूचना दिन एउटा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ। यस सूचक प्रणालीको मुख्य भाग बटम प्रेसर रेकर्डर (बी पी आर) हो। यसको नाउँअनुसारै यसलाई हजारौं मिटर तल महासागरको पींधमा राखिन्छ।

यो अति संवेदनशील सामग्रीले आफू माथिको पानीको दबाउको भिन्‍नता चाल पाउँछ। चाहे सुनामी एक सेन्टिमिटरभन्दा सानै किन नहोस्‌ यसले पत्तो पाइहाल्छ। ध्वनि तरंगद्वारा यस बी पी आर-ले एउटा विशेष किसिमको यन्त्रमा सूचना पठाउँछ र त्यसले भूउपग्रहमा प्रसारण गर्छ। त्यसपछि, उक्‍त भूउपग्रहले ती संकेतहरू सुनामी संकेत केन्द्रमा पठाउँछ। यस्तो भरपर्दो सूचना प्रणालीले झूटा संकेतहरू पनि थुप्रै पठाउला कि भन्‍ने कुरामा वैज्ञानिकहरूलाई कुनै शंका छैन।

सुरक्षा प्रवर्धन गर्ने महत्त्वपूर्ण तत्त्व जन सजगता तथा शिक्षा हो। मानिसहरूले वास्ता गरेनन्‌ भने जस्तोसुकै राम्रो चेताउनी प्रणाली पनि बेकामको हुन्छ। त्यसैले, तपाईं पनि सुनामी सक्रिय रहने ठाउँ, समुद्र किनार नजिकै बसोबास गर्नुहुन्छ र स्थानीय अधिकारीहरूले सुनामीको खतराबारे चेताउनी दिंदा अथवा आफैले भूकम्प महसुस गर्दा वा असाधारण ज्वारभाटा देख्नुहुँदा तुरुन्तै अग्लो ठाउँतिर भागिहाल्नुहोस्‌। खुला समुद्रमा सुनामीहरू जेट जहाजजस्तै तेज गतिमा आउँछन्‌ र समुद्र किनारमा चाहिं राजमार्गमा जस्तै तेज गतिमा हुइँकिनसक्छ भन्‍ने कुरा पनि नबिर्सुहोस्‌। त्यसैले, तपाईंले त्यस्तो छाल देख्नुभयो भने त्यसबाट उम्कन सक्ने सम्भावना कमै हुन्छ। तथापि, तपाईं समुद्रमा डुंगा खियाउँदै वा माछा मार्दै हुनुहुन्छ भने नडराउनुहोस्‌, तपाईंको टेबलमा रहेको कफी वा मद्यको गिलासलाई समेत त्यसले ढलाउनेछैन। (g01 2/08)

[फुटनोट]

a डिस्कभर पत्रिकाअनुसार सम्पूर्ण छालमा रहेको वृत्ताकार वा अर्धवृत्ताकार चाल नै पानीको तह घट्‌नुको मुख्य कारण हो। महासागरमा पौडँदा छालले छुनै लाग्दा मात्र मानिसहरूले घचेटेको महसुस गर्छन्‌। सुनामीमा यस्तो असर प्रबल हुन्छ र यसैकारण पहिलो छाल आउनुअघि नै समुद्र किनार अथवा बन्दरगाहहरू सुक्खा हुन्छन्‌।

[पृष्ठ २१-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सुनामी प्रायः महासागरको पींधमा हुने भौगर्भिक उथलपुथलले गर्दा उत्पन्‍न हुन्छ

भ्रंशको

उत्पत्ति

प्रसारण

जलमग्न

[पृष्ठ २३-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

महासागरको पींधमा राखी खतरा पत्ता लगाउने नयाँ प्रविधिको सूचकले सुनामीबारे पूर्वानुमान गर्न खोज्दै

भूउपग्रह सम्पर्क

पानीभित्र तैरिरहेको यन्त्र

हाइड्रोफोन

लंगर

ध्वनि सम्पर्क

सुनामी पत्ता लगाउने यन्त्र

५,००० मिटर

[स्रोत]

Karen Birchfield/NOAA/Pacific Marine Environmental Laboratory

[पृष्ठ २१-मा भएको चित्र]

सुनामीले गर्दा जहाजको पाताले ट्रकको यो टायरलाई नै छेड्यो

[स्रोत]

U.S. Geological Survey

[पृष्ठ २२-मा भएको चित्र]

सन्‌ १९४६ मा सुनामीले प्रहार गर्नुअघि अलास्काको स्कट क्याप लाइटहाउस (बायाँ)

पछि पूर्णतया ध्वस्त भएको (माथि)

[स्रोत]

U.S. Coast Guard photo

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

U.S. Department of the Interior