मसलाको रूख—यो कत्तिको उपयोगी छ?
मसलाको रूख—यो कत्तिको उपयोगी छ?
अस्ट्रेलियाका ब्यूँझनुहोस्! लेखकद्वारा
कुनै कुनै ९० मिटरभन्दा पनि भयंकर अग्ला हुन्छन् र यसलाई संसारकै सबैभन्दा अग्ला रूख हरू मध्ये गनिन्छ। अरूचाहिं होचा र सुक्खा जमिनसँग मितेरी गाँस्न खोजेजस्तो गरी निहुरिएका हुन्छन्। यसको पातको रूपरेखा निकै आश्चर्यलाग्दो छ र यसको फूल एकदमै मनमोहक छ, हेर्दा मनै आनन्दले भरिएर आउने। एक न एक तरिकामा तपाईंले पनि यस रूखको कुनै भागको प्रयोग गर्नुभएको होला।
कुनै कुनैको अंग्रेजीमा एकदमै विशेष नाउँ सुनिन्छ जस्तै, अल्पाइन आश अनि टास्मेनियन ओक, तर प्रायजसो गमको रूख भनेर चिनिन्छ। तथापि, वास्तवमा भन्ने हो भने कार्बोहाइड्रेटबाट बनेको साँच्चैको गम पानीमा घुल्छ तर कुनै पनि मसलाको रूखले यस्तो गम उत्पादन गर्दैन। त्यसैले वास्तवमा यसको नाउँ गमको रूख हुनु नसुहाउँदो छ। यी रूखहरूलाई युकालिप्टस जात भन्नु नै बेस हुनेछ र अस्ट्रेलियामा मात्र यसको ६०० वटा भन्दा बढी प्रजाति पाइन्छ।
अस्ट्रेलियाको उत्तरी भागको न्यानो तापक्रम र अनकन्टार सुक्खा मैदानहरूमा पनि मसलाको रूख फस्टाएको छ। तर अन्टार्कटिकाको चिसो हावा बहने दक्षिणी टास्मेनिया तथा समुद्र किनाराका हुस्सुले डम्मै भरिने पहाडी इलाकामा पनि ती उम्रन्छन्। यो त्यत्तिबिघ्न सर्वव्याप्त हुनाले १९ औं शताब्दीका अन्वेषक र पशुशास्त्रीले यस्तो गुनासो गरे: “हामी जहाँसुकै गए तापनि यी अविनासी गम रूखहरू हुनेछन्। एकपछि अर्को किलोमिटर पार गर्दै जाँदा पनि यी बोटहरूमा कुनै भिन्नता पाइँदैन।”
युरोपेली बासिन्दाहरू १९ औं शताब्दीमा अस्ट्रेलिया आउन थालेदेखि यस मसलाको रूखले निकै क्षति भोग्नुपरिरहेको छ। विकासमा बाधा पुऱ्याउँछ भन्ने धारणाले गर्दा झन्डै ३,००,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटेका रूखहरू उखेलिए। तथापि, यस बहुमूल्य स्रोतप्रति चासो देखाउनेहरू पनि थिए। उन्नाइसौं शताब्दीको दौडान मसलाको रूख परिवारले फेरि एक चोटि संसारमाथि विजय हासिल गर्न थाले।
सम्राट अनि चिकित्सक
सन् १८८० मा हाल इथियोपिया भनिने अबिसिनियाका सम्राट मेनेलिक द्वितीयलाई आफ्नो सुक्खा नयाँ राजधानी शहर अडिस अबाबामा छहारी र आगोको लागि रूखहरूको आवश्यकता पऱ्यो। यस बन्जर क्षेत्रको लागि कुनै पनि अफ्रिकी मुलुकका रूखहरू उपयुक्त भएन। तसर्थ, उक्त सम्राटका विशेषज्ञहरूले त्यस्तो चर्को अथवा टन्टलापुर घाममा पनि फस्टाउनसक्ने रूखहरू अरू ठाउँमा खोज्न थाले। “अडिस अबाबा” नाउँको अर्थ “नयाँ फूल” हो र यो नाउँ मसलाको रूखकै सम्मानमा दिइएको हुनसक्छ किनभने यस उपयोगी बोट आयात गरेपछि इथियोपियाको अर्थतन्त्रमै यसले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो।
मसलाको रूखलाई अरू भूभागमा सार्नुमा डा. एडमन्डो नाभारु डे आन्ड्राडेको ठूलो योगदान छ। ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा तिनले अस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले। तीमध्ये ३ करोड ८० लाखको वृक्षारोपण तिनी आफैले गरेका थिए।
आधुनिक ब्राजिलमा दुई अरबभन्दा बढी मसलाका रूखहरू पाइन्छन्।तसर्थ, ब्राजिलले रेन फरेस्टबाहेक अस्ट्रेलियापछि सबैभन्दा बढी मसलाको रूख भएको ठाउँ भनेर दाबी गर्छ। यसले गर्दा ब्राजिलमा प्रशस्त आर्थिक लाभ भएको हुनाले यो बहुमूल्य सम्पत्ति उपलब्ध गराएकोमा डा. नाभारुलाई तिनको उत्कृष्ट सेवाको लागि विशेष तक्माद्वारा पुरस्कृत गरियो।
जीवनको रूख
मालिजजस्ता कुनै कुनै मसलाको रूख जमिनै चिरा चिरा पर्ने खडेरीमा समेत जरामा सञ्चय गरेर राखेको पानीले गर्दा जीवित रहनसक्छ। अस्ट्रेलियाली आदिवासी र प्रारम्भिक अन्वेषकहरू अनकन्टार सुक्खा ठाउँमा यी जमिनमनि भएका पानीका घैंटाहरूकै भरमा बाँचेका थिए। सतहमा फैलिएका जरालाई स-साना भागमा टुक्रा टुक्रा पारिन्छन्। अनि यसको एक छेउबाट हावा फुक्दा अर्कोपट्टिबाट हल्का पहेंलो रंगको रस निस्कन्छ। यो पेय पदार्थ स्वादिलो नभए तापनि ९ मिटर लामो जराबाट डेढ लिटर जीवनदायी तरल पदार्थ निकाल्न सकिन्छ भन्ने अनुमान गरिएको छ।
यस जातका अन्य प्रजातिहरू दलदले ठाउँमा पनि जमिनमनिको पानी सोसेर फस्टाउँछन्। इटालेलीहरूले यस क्षमताको उपयोग गर्दै दलदलमा बाँच्न रुचाउने मसलाको रूख रोपेर लामखुट्टे फस्टाउने पोन्टाइन दलदलहरूको पानी सुक्खा पारे। अहिले यो क्षेत्र बहुमूल्य खेतीयोग्य जमिनमा परिणत भएको छ।
अफ्रिका, उत्तर तथा दक्षिण अमेरिका, एसिया तथा युरोपमा गरी जम्माजम्मी ५० भन्दा बढी देशहरूले आर्थिक अनि सौन्दर्यताको कारण मसलाको रूख रोपेका छन्। सिकर्मीहरूले पनि तिनीहरूको रातो अनि हलका पहेंलो रंगको काठ नै रुचाउँछन्। एक जना अधिकारी यसो भन्छन्: “मसलाको रूखको काठ सबैभन्दा गह्रुंगो, कडा अनि टिकाउ काठमा पर्छ। काठको यही गुण र छिटो छिटो बढ्ने हुनाले . . . यो संसारमा पाइने कडा काठको एउटा बहुमूल्य स्रोत हो।”
जहाज, पनडुब्बी अड्याउने वस्तु, टेलिफोनको खम्बा, बार तथा भुइँमा छाप्ने ब्लकहरूको लागि पानीले नखाने विभिन्न किसिमका मसलाका रूखहरू प्रयोग गरिन्छन्। त्यसबाहेक, यल्लो बक्स र आइरनबार्क भनेर चिनिने
गम-नटमा फुल्ने मसलाको रूखको सुन्दर फूलहरूले गुलियो रस उत्पादन गर्छ र मौरीले यसलाई विशेष किसिमको स्वादिलो महमा परिणत गर्छ। हालै अस्ट्रेलियाले ४५ लाख टन मसलाको रूख काठ निर्यात गरेर वार्षिक २५ करोड डलर आम्दानी गर्ने गरेको छ।किनो, तेल अनि टानिन
मसलाको रूखको बोक्रा अनि काठबाट निस्कने च्याप च्याप हुने रातो रंगको गमजस्तो पदार्थलाई किनो भनिन्छ। कुनै कुनै किसिमको किनो जहाजलाई जहाजमा लाग्ने कीराबाट बचाउन प्रयोग गरिन्छ। त्यस्तै गरी, रक्तस्राव रोक्ने औषधीहरूमा पनि किनो मिसाइएको हुन्छ। अन्य जातका काठका बोक्राहरूमा टानिन पाइन्छ र यसलाई छाला टल्काउन र कपडाहरू रंगाउन प्रयोग गरिन्छ।
यसका पातहरूको रचना एकदमै अचम्मलाग्दो छ र यी पातहरू बहुमूल्य तेलको भण्डार हुन्। तिनीहरू लुलो हातमा थकित औंलाजस्तै लत्रिएका हुन्छन् भने पातका टुप्पाहरूचाहिं रूखको फेदतिर फर्किएका हुन्छन्। यस्तो आकृतिले गर्दा एउटा विशाल सोलीजस्तै देखिन्छ। यस रूखको लागि नभै नहुने शीत पातमा परेपछि यसको टुप्पोबाट जरामा पुग्छ।
कडा अनि स्फूर्तिदायी सुवास भएको मसलाको रूख तेल पातबाट आसवन प्रक्रियाद्वारा निकालिन्छ। उदाहरणका लागि, पर्फ्युम, साबुन, औषधी, मिठाई अनि सफाइका सामानहरूमा यसको व्यापक प्रयोग गरिन्छ। यो प्राकृतिक अवस्थामा रहँदा पातबाट तेल निस्कन्छ र हावामा स-साना थोपा जम्मा हुन्छन् जसले सूर्यको किरणलाई परावर्तन गर्छ अनि मसलाको रूखको जंगल नीलो देखिन्छ। यसै अपूर्व दृश्यका कारण सिड्नी शहरको पश्चिमी भागलाई ब्लु माउन्टेन्स भन्ने अनौठो नाउँ दिइएको छ।
सोखिन भक्षकहरूका लागि घर
मसलाको रूख जंगलका प्रख्यात बासिन्दाहरू कोआला भनेर चिनिने हेर्दै रहरलाग्दो भुवादार जनावर हुन्। यी सोखिन शाकाहारी जन्तुहरूले लगभग १२ थरीका मसलाको रूखको पात खान रुचाउँछन्। त्यस्तो अनौठो भोजन थुप्रै जनावरका लागि घातक हुनसक्छ तर कोआलालाई केही हानि गर्दैन। किन?
किनकि कोआलाका एकदेखि दुई मिटर लामो एपेन्डिक्स भएको विशेष किसिमको पाचन प्रणाली हुन्छ। तुलना गर्ने हो भने, मानिसको एपेन्डिक्स ८ देखि १५ सेन्टिमिटर मात्र लामो हुन्छ। यिनीहरूको विशेष प्रकारको पाचन प्रणालीले यी जनावरहरूलाई मसलाको रूखका पातबाट आवश्यक प्रोटिन, कार्बोहाइड्रेट अनि चिल्लो पदार्थ सोस्न मदत गर्छ।
कोआलाबाहेक मसलाको रूखको पात मात्रै खाने जन्तु अस्ट्रेलियाका ओपसम हुन्। यी भुवादार जन्तुहरू घर पालुवा बिराला जत्रै हुन्छन्। यसको ४० सेन्टिमिटर लामो झ्यापुल्ले पुच्छर हुन्छ र अघिल्ला र पछिल्ला पन्जाहरूको बीचमा छाला झुन्डिएको हुन्छ। यी लचकदार पखेटाहरूको प्रयोग गरेर ओपसमहरू उफ्रन्छन् र १०० मिटरसम्म उड्नसक्छन्। त्यसपछि, उड्दा उड्दै ९० डिग्रीको कोण बनाउँदै फनक्क फर्केर अर्को हाँगा समात्छन्।
जंगलमा आगलागी र पुनर्वृद्धि
वनमा आगलागी हुनु मसलाको रूखको लागि ठूलो खतरा हो। तथापि, यी रूखहरूको संरचनाले गर्दा त्यसबाट बच्न सक्छन्। तर कसरी?
ती रूखका ठुटाहरूमा भित्रतिर काण्डदेखि हाँगासम्मै पालुवा पलाएका हुन्छन्। आगोले रूखका ठुटाहरूको बोक्रा अनि पात नाश गरेपछि यी पालुवाहरू बढ्न थाल्छन्। आगोले कालो बनाएको रूखको काण्डलाई ताजा हरियो पातले ढाक्छन्। परिणामस्वरूप, यो बूढो रूख मर्दैन। यसबाहेक, जमिनमनि निष्क्रिय रहेका यस रूखका बीउहरूले फस्टाउने मौका खोजेर फेरि बढ्न थाल्छन्।
अनमोल रूख
के मसलाको रूखबाट बनेको औषधी खाएर तपाईंको घाँटी सन्चो भएको छ अथवा मह हालेर बनाएको यसको चकलेट खानुभएको छ? के तपाईं यस रूखको काठबाट बनेको डुँगा चढ्नुभएको छ अथवा मसलाको रूखकै काठबाट बनेको घरमा बस्नुहुन्छ वा आगो ताप्नुहुन्छ? तपाईंले कुनै न कुनै तरिकामा यस उल्लेखनीय रूखबाट फाइदा उठाइरहनुभएको हुनसक्छ। त्यसैले, अर्कोपल्ट तपाईंले भुवादार कोआला देखेर वा त्यसको फोटो हेरेर मक्ख पर्नुहुँदा त्यसले आफ्नो घर ठान्ने रूख कत्ति अचम्मको हुँदो रहेछ भनेर नबिर्सनुहोस्।
साँच्चै, यो मसलाको रूख विभिन्न काममा प्रयोग हुने अनि अति मजबुत रूख हो। (g01 2/08)
[पृष्ठ १७-मा भएको चित्र]
मसलाको रूख संसारकै सबैभन्दा अग्ला रूखहरूमध्ये पर्छन्
[पृष्ठ १७-मा भएको चित्र]
उत्कृष्ट मह उत्पादन गर्न मौरीहरूले मसलाको रूखको रस प्रयोग गर्छन्
[पृष्ठ १८-मा भएको चित्र]
मसलाको रूखले “सबैभन्दा गह्रुंगो, कडा अनि टिकाउ काठ उत्पादन गर्छ”
[पृष्ठ १८-मा भएको चित्र]
कोआला (बायाँ) र उड्ने ओपसमहरूले (माथि) मसलाको रूखकै पात खान्छन्
[स्रोत]
© Alan Root/Okapia/PR
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
Geoff Law/The Wilderness Society
[पृष्ठ १७-मा भएको चित्रको स्रोत]
Courtesy of the Mount Annan Botanic Gardens