मलाई खाइरहेको बिमारी विरुद्ध संघर्ष
मलाई खाइरहेको बिमारी विरुद्ध संघर्ष
टान्या सालेइको वृत्तान्तमा आधारित
केही वर्षअघिसम्म म असाध्यै फूर्तिलो आमा तथा पूर्ण-समय सेविका थिएँ र म अलाबामाको सानो शहर लुभर्नमा बस्थें। यहाँ जीवन शान्त र सुस्त छ। म, मेरो श्रीमान् र सानो छोरा डानियलको साथ हाम्रो जीवन राम्रैसँग चलिरहेको थियो। तर एउटा सानो शल्यक्रियाले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्यायो।
मेरो पाठेघर निकाल्न १९९२ मा गरेको शल्यक्रियापछि समस्या सुरु हुन थाल्यो। त्यसको केही समयपछि मलाई अचाक्ली पीडा हुनथाल्यो र छिन छिनमा पिसाब (दिनमा ५०, ६० पटकसम्म) गरिरहनुपर्ने भयो। मेरो उपचार गरिरहनुभएको स्त्रीरोग विशेषज्ञले समस्याको मूल कारण पत्ता लगाउन मूत्राशय र मूत्रनलीसम्बन्धी विशेषज्ञ अर्थात् युरोलोजिस्टसित भेट्ने मेरोलागि प्रबन्ध मिलाइदिइन्।
केही परीक्षणहरू गर्न म अस्पताल गएँ। पहिलो पटक जाँदै युरोलोजिस्टले मेरो समस्या पत्ता लगाए। मलाई इन्टरस्टिटियल सिस्टिटिस (आइ सि) अथवा मूत्राशय सुन्निने समस्या रहेछ। समस्या निदान गर्न सजिलो भएन किनभने आइ सि-का लक्षणहरू मूत्र प्रणालीसम्बन्धी अन्य विकारसित मिल्दाजुल्दा हुन्छन्। यसबाहेक, आइ सि यकिन गर्ने त्यस्तो कुनै परीक्षण छैन। त्यसकारण, डाक्टरहरूले आइ सि निदान गर्नुअघि अन्य अवस्थाहरूबारे बुझ्नैपर्छ।
हाम्रो डाक्टरले, उपचारले खासै फरक पार्दैन र मूत्राशय नै झिकेर फ्याल्नुपर्छ भनेर खुलस्तसँग भन्नुभयो! अरू उपचार नभएका त होइनन् तर ती सफल भएका छैनन् पनि भन्नुभयो। यसले हामीलाई पुऱ्याएको आघात त भनिरहनु नपर्ला। त्यतिबेलासम्म म स्वस्थ नै थिएँ। यहोवाका साक्षीहरूको हैसियतमा ड्युक र मैले पूर्ण-समय सेवकाईमा निकै वर्ष बिताइसकेका थियौं र जीवनको यो क्षणमा मेरो मूत्राशय झिकेर फ्याल्नुपर्ने कुरा सुन्नुपऱ्यो। श्रीमान्बाट राम्रो सहयोग पाएकोमा म कृतज्ञ छु।
हामीले अर्को युरोलोजिस्टको राय लिने निर्णय गऱ्यौं। हामीले थुप्रै डाक्टरलाई भेट्यौं। तर दुःखको कुरा, त्यतिबेला धेरैजसो डाक्टरहरूलाई आइ सि-बारे त्यति ज्ञान थिएन। साथै, आइ सि-बारे सबैजसोको आ-आफ्नै धारणा भएको हुँदा प्रत्येकको सुझाउ फरक फरक थियो। एउटा चिकित्सा पुस्तक यसो भन्छ: “यो रोग गम्भीर हुन्छ।” अर्कोमा भनिएको थियो: “वैज्ञानिकहरूले अहिलेसम्म आइ सि-को उपचार फेला पारेका छैनन् र कुन उपचार, कसको लागि राम्रो हुनेछ भनेर पनि तिनीहरू अनुमान गर्न सक्दैनन्। . . . डाक्टरहरूलाई आइ सि हुनुको कारण थाह नभएको हुँदा उपचारविधिले रोगका लक्षणहरू मात्र कम गर्न खोज्छ।”
पेट बाउँडिने र छिन छिनमा पिसाब गरिरहनुपर्ने भएकोले मलाई असह्य पीडा हुन्थ्यो। त्यसैले, म डाक्टरहरूले जे भने पनि गर्न तयार थिएँ। मैले ४० वटाभन्दा बढी किसिमका औषधी, जडीबुटी, अकुपंक्चर, नसा अचेत बनाउने, मेरुदण्डमा सुई लाउने, शरीरमा केही मिनेट वा घण्टा हल्का विद्युतीय प्रवाह इत्यादि जानेबुझे जति सबै गरिसकें। मैले सकेजति अनुसन्धान पनि गरें र यसो गर्दा मलाई के भएको रहेछ भनेर अलिकता भए पनि थाह पाएँ।
अहिले, मैले अरू छ वटा औषधीलगायत पीडा धेरै कम गर्ने मेथोडोन सेवन गरिरहेकी छु। म नियमित तवरमा पीडा कम गर्ने क्लिनिकमा पनि जान्छु र त्यहाँ तिनीहरूले मेरुदण्डमा सुई लाउने र अरू औषधीहरू दिएर पीडा कम गर्ने गर्छन्। छिन छिनमा पिसाब गर्नुपर्ने समस्याको लागि भने म हरेक तीन चार महिनामा अस्पताल गएर हाइड्रोडिस्टेन्सन गर्ने गर्छु। यो मूत्राशयलाई बेलुनजस्तै फुलाउन झोल पदार्थ प्रवाह गर्ने प्रक्रिया हो। यो मैले धेरै चोटि गरिसकें। यसो गर्दा दुई चार महिना सन्चो हुन्छ। गत केही वर्षभित्र म लगभग ३० पटक जति अस्पताल भर्ना भइसकें।
पूर्ण निवारणको लागि मूत्राशय झिक्ने कुरा नि? एक जना विशेषज्ञ भन्छन्: “धेरैजसो डाक्टरहरू यो शल्यक्रिया गर्न हिचकिचाउँछन् किनभने मानिसपिच्छे यसको परिणाम फरक फरक हुन्छ। कसै कसैलाई शल्यक्रिया गरिसकेपछि पनि सन्चो हुँदैन।” त्यसकारण, मैले त्यो शल्यक्रिया गरेकी छैन।
कहिलेकाहीं त पीडा असह्य र निकै समयसम्म भइरहँदा, बरु मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। आफ्नो जीवनै टुंग्याउनेबारे पनि नसोचेकी होइन। तर यसबाट यहोवाको नाउँमा आइपर्ने निन्दा सहन सक्ने हिम्मत ममा छैन। मैले प्रार्थना र व्यक्तिगत अध्ययनको साथसाथै यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्नुपर्ने महत्त्व बुझेकी छु किनभने जीवनमा कतिबेला कस्तो मोड आइपर्छ, कसैले भन्न सक्दैन। यही सम्बन्धले गर्दा मैले साँच्चै नै आफ्नो जीवन थामिराख्न सकेकी छु किनभने मलाई थाह छ, यसो नगरेको भए मैले आत्महत्या गरिसकेको हुने थिएँ।
विगतको नौ वर्षलाई फर्केर हेर्दा जीवनमा परिस्थिति सधैं एकैनासे रहँदैन रहेछ भनेर बुझेकी छु। मैले उपदेशक १२:१ का यी शब्दहरूको मर्म राम्ररी बुझेकी छु, जहाँ यसो भनिएको छ: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्नेछस्, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।” मैले १५ वर्षकी छँदा पूर्ण-समय सेवकाई सुरु गरेर लगभग २० वर्षसम्म गर्न सकेकोमा म साह्रै खुसी छु। त्यतिबेला मैले यहोवासित घनिष्ठ सम्बन्ध विकास गरें।
मलाई सधैं सहयोग गरिरहने मेरो श्रीमान् र छोरा, डानियलप्रति पनि म साह्रै कृतज्ञ छु। साथै, मण्डलीका भाइबहिनीहरूले फोन गर्दा वा भेट्न आउँदा पनि साह्रै प्रोत्साहित हुन्छु। हिउँदमा घरबाट बाहिर निस्कन अति गाह्रो हुन्छ किनभने चिसोले पीडा बढाउँछ। त्यसकारण, म घरैमा बसेर टेलिफोन साक्षी दिने गर्छु र यसो गर्दा प्रमोदनवको आशा वास्तविक हुनुका साथै त्यसमा मेरो विश्वास स्थिर रहन्छ। म रोगबिमार अनि दुःखकष्ट सबै विगतका कुरा हुने समयको उत्कट प्रतीक्षामा छु।—यशैया ३३:२४. (g01 3/8)