सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शहरहरू किन संकटमा?

शहरहरू किन संकटमा?

शहरहरू किन संकटमा?

“लौ, हामी आफ्ना निम्ति एउटा शहर र टुप्पा स्वर्गैसम्म भएको एउटा धरहरा बना[औं] . . . नत्रता हामीलाई पृथ्वीभरि जताततै छरिनुपर्नेछ।”– उत्पत्ति ११:४.

चार हजार वर्षअघि व्यक्‍त गरिएका यी शब्दहरूले महान्‌ शहर बाबेलको निर्माण गर्ने घोषणा गऱ्‍यो।

पछि बेबिलोन नाउँले प्रख्यात भएको बाबेल शहर एकताका ऊर्बर जमिनहरूबीच रहेको मेसोपोटामियाको सिनारमा पर्थ्यो। थुप्रै मानिसले बाइबलमा रेकर्ड गरिएको सबैभन्दा पहिलो शहर यही हो भन्ठान्छन्‌ तर यो धारणा सही होइन। वास्तवमा, नूहको समयको जलप्रलयअघि नै शहरहरूको सुरुआत भइसकेको थियो। रेकर्ड गरिएको सबैभन्दा पहिलो शहर हत्यारा कयिनले बनाएका थिए। (उत्पत्ति ४:१७) हनोक भनिने यो शहर सुरक्षित बस्ती अथवा गाउँभन्दा अलिकति मात्र राम्रो हुनसक्थ्यो। अर्कोतिर बाबेल एउटा ठूलो शहर थियो, यो झूटो धर्मको मुख्य केन्द्र हुनुका साथै त्यहाँ आश्‍चर्यलाग्दो धार्मिक धरहरा पनि थियो। तथापि, बाबेल र यसको कुख्यात धरहरा सरासर परमेश्‍वरको विरुद्धमा थियो। (उत्पत्ति ९:७) त्यसैले बाइबलअनुसार परमेश्‍वरले हस्तक्षेप गर्नुभएर ती निर्माताहरूको भाषा खलबल पारिदिनुभयो। अतः तिनीहरूको महत्त्वाकांक्षी धार्मिक योजना विफल भयो। परमेश्‍वरले “तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर-बितर पारिदिनुभयो” भनेर उत्पत्ति ११:५-९ ले बताउँछ।

यसप्रकार, शहरहरूको विस्तार हुनु कुनै आश्‍चर्यजनक कुरा होइन। कुरा जस्तोसुकै भए पनि, शहरले शत्रुहरूको आक्रमणबाट जोगाउँथ्यो। शहरमा किसानहरूले आफ्नो उब्जनी भण्डार गर्ने र वितरण गर्ने विशेष ठाउँ पाए। बजारको विकासपछि थुप्रै नगरवासीहरूलाई खेतीपातीबाहेक जीविकोपार्जन गर्ने अन्य माध्यम पनि उपलब्ध भयो। द राइज अफ सिटिज यसो भन्छ: “हातमुख जोर्नै धौधौ पर्ने समस्याबाट मुक्‍त भएपछि नगरवासीले व्यापारमा निरन्तर माग भइरहने व्यापारीक कामहरू जस्तै: डोकोडालो बुन्‍ने, माटोको भाँडा बनाउने, धागो कात्ने, बुन्‍ने, छालाको काम गर्ने, काठको सामान बनाउने र ढुंगाको काम गर्नेलगायत बजारमा कारोबार भइरहने सामानहरू बनाउन थाले।”

त्यस्ता सामानहरू वितरणको निम्ति शहर उपयुक्‍त ठाउँ भयो। मिश्रको अनिकालसम्बन्धी बाइबलको विवरण विचार गर्नुहोस्‌। प्रधानमन्त्री यूसुफले मानिसहरूलाई शहरमा बसोबास गर्न दिनु उचित देखे। किन? किनभने यसो गर्दा बाँकी रहेको खाद्यान्‍न अझ प्रभावकारी ढंगमा वितरण गर्नसकिन्थ्यो।—उत्पत्ति ४७:२१.

यातायातका सुविधाहरू त्यति धेरै नभएको बेला मानिसहरूबीच सञ्चार अनि पारस्परिक सम्बन्ध कायम गर्न शहरले मदत पुऱ्‍यायो। अतः यसले सामाजिक तथा सांस्कृतिक परिवर्तनहरूमा गति प्रदान गऱ्‍यो। शहरहरू प्राविधिक विकास र प्रवर्धनका केन्द्र भए। नयाँ विचारहरू स्वतन्त्रतापूर्वक प्रवाह हुन थालेपछि वैज्ञानिक, धार्मिक अनि दार्शनिक धारणाहरूमा नयाँपन देखिन थाल्यो।

अधूरा सपनाहरू

आधुनिक समयमा शहरहरूले धेरैजसो त्यस्तै किसिमका फाइदा पुऱ्‍याइरहेका छन्‌। तसर्थ, विशेष गरी जीवन धान्‍नै धौधौ पर्ने गाउँले इलाकाका करोडौं बासिन्दालाई यस्ता शहरहरूले तान्‍नु कुनै अनौठो कुरा होइन। तथापि, सुखमय जीवनको सपना बोकेर शहरमा बसाइँ सर्ने थुप्रै मानिसको सपना अधूरै हुन्छन्‌। यस सम्बन्धमा भाइटल साइन्स १९९८ पुस्तक यसो भन्छ: “पपुलेशन काउन्सिल नामक जनसंख्या गणना गर्ने संस्थाले हालै गरेको अध्ययनअनुसार विकासोन्मुख देशहरूको शहरमा बस्ने मानिसहरूको जीवनस्तर ग्रामीण इलाकामा बस्ने मानिसहरूको जीवनस्तरभन्दा एकदमै नाजुक छ।” कसरी त्यस्तो भएको?

द ह्‍युमन फेस अफ दी अर्बान इन्भाइरोमेन्ट नामक पुस्तकमा हेनरी जी. सिस्नेरोस यसरी लेख्छन्‌: “गरिब मानिसहरू एकै ठाउँमा धेरै जम्मा हुन थालेपछि तिनीहरूको समस्या पनि तीव्र गतिमा वृद्धि हुन थाल्छ। . . . गरिबहरू, अझ विशेष गरी अल्पसंख्यक मानिसहरू धेरै जम्मा भएको कारण बेरोजगारी अकासिंदै गएको, सरकारले लामो समयसम्म भत्ता दिइरहनुपरेको र त्यसमा भर पर्ने व्यक्‍तिहरूको संख्यामा पनि वृद्धि भएको, सार्वजनिक स्वास्थ समस्याहरू अचाक्ली बढेको र अझ बढी आश्‍चर्यलाग्दो कुरा त अपराध चर्कंदै गएको छ।” मेगा-सिटी ग्रोथ एण्ड द फ्युचर पुस्तकले पनि त्यस्तै कुरा बताउँछ: “बृहत्‌ संख्यामा मानिसहरू ओइरिंदा अक्सर जागिर खोज्नेहरूको बढ्‌दो संख्यालाई काम उपलब्ध गराउन असमर्थ भएकोले बेरोजगारी र योग्यताअनुसारको जागिर नपाउने समस्या झनै बढ्‌छ।”

विकासोन्मुख राष्ट्रका शहरको दरिद्रताको दुःखलाग्दो प्रमाण सडकमा जीवन बिताउने केटाकेटीहरूको संख्याबाट पनि देख्न सकिन्छ। कुनै कुनै अनुमानअनुसार संसारभरि यस्ता केटाकेटीहरू तीन करोडभन्दा बढी छन्‌! मेगा-सिटी ग्रोथ एण्ड द फ्युचर पुस्तक यसो भन्छ: “गरिबी तथा अन्य समस्याहरूले गर्दा पारिवारिक सम्बन्ध नाजुक भएको छ। त्यसकारण, आफ्नो पेट पाल्न यी केटाकेटीहरू सडकमा जीवन बिताउन विवश भएका छन्‌।” त्यस्ता केटाकेटीले प्रायजसो फोहोरबाट कामलाग्ने चीजबीजहरू बटुलेर, मागेर वा स्थानीय बजारमा सानातिना काम गरेर जसोतसो आफ्नो जीवन धान्छन्‌।

अन्य कहालिलाग्दा वास्तविकता

गरिबीले अपराध निम्त्याउँछ। नवीनतम डिजाइनका भवनहरूका लागि प्रसिद्ध दक्षिण अमेरिकाको एउटा शहरमा व्यापक अपराधिक गतिविधिको कारण जताततै फलामका छेकबारहरू मात्र देख्न सकिन्छ। धनी होऊन्‌ या गरिब, सबैले आफ्नो सम्पत्तिको सुरक्षा गर्न र आफ्नो काम कुरामा कसैले दखल नदेऊन्‌ भनेर फलामका बार राख्न थालेका छन्‌। परिणामस्वरूप, तिनीहरू खोरमा थुनिएझैं भएका छन्‌। अझ, कसैकसैले त आफ्नो घर बनाउन सकिनुअघि नै रेलिङहरू राख्छन्‌।

जनसंख्याको चापले गर्दा शहरभरि पानी र ढल निकासजस्ता आधारभूत सेवासमेत उपलब्ध गराउन सकिंदैन। अनुमानअनुसार एसियाको एउटा शहरमा ५,००,००० वटा सार्वजनिक शौचालयको खाँचो छ। तथापि, हालैको एउटा सर्वेक्षणअनुसार अहिले जम्मा २०० वटा मात्र शौचालय छन्‌!

जनसंख्याको चापले स्थानीय वातावरणमा पार्ने विनाशकारी असरलाई पनि हामीले बेवास्ता गर्नु हुँदैन। शहरको विस्तार हुँदै जाँदा खेतीयोग्य जमिन हराउँदै जान्छ। संयुक्‍त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनका भूतपूर्व प्रमुख फेड्रिक मेयर यसो भन्छन्‌: “शहरले अत्यधिक मात्रामा ऊर्जा खपत गर्छ, पानी, खाना र अन्य सामग्रीहरू पनि धेरै मात्रामा उपभोग गर्छ। . . . यसकारण पर्यावरण, आवश्‍यक तत्त्वहरू दिन र अनावश्‍यक तत्त्वहरूको भार वहन गर्न नसक्ने भएको छ।”

पश्‍चिमी मुलुकहरूमा ठूलै समस्या

पश्‍चिमी मुलुकका अवस्था त्यति दयनीय नहोला तर समस्या हुँदै नभएको चाहिं होइन। उदाहरणका लागि, द क्राइसिस अफ अमेरिकाज सिटिज पुस्तक यसो भन्छ: “अमेरिकी शहरहरूमा आज असाधारण अनुपातमा हिंसा बढिरहेको छ। . . . अमेरिकी शहरहरूमा व्याप्त हिंसाको कारण चिकित्सासम्बन्धी पत्रपत्रिकाहरूले समेत यसलाई जन स्वास्थ्यसम्बन्धी प्रमुख चिन्ताको विषयको रूपमा छुट्टै विशेष ठाउँ दिन थालेका छन्‌।” हो, संसारका थुप्रै प्रमुख शहरहरूमा हिंसा महामारीको रूपमा फैलिरहेको छ।

कम्पनीका मालिकहरूलाई शहर अप्रिय लाग्न थाल्नुको एउटा कारण शहरी जीवन खस्कँदै जानु पनि हो। द ह्‍युमन फेस अफ दी अर्बान इन्भाइरोमेन्ट पुस्तक यसो भन्छ: “व्यापारीहरू शहरबाहिर सरेका हुनाले कलकारखानाहरू बन्द भएका छन्‌। यसरी विषालु तत्वहरूले दूषित पारेको विकासका लागि अनुपयुक्‍त ‘निर्जन भूमि’ छोडिएका छन्‌।” परिणामस्वरूप, थुप्रै शहरहरूमा गरिबहरू “वातावरणीय समस्याहरूलाई हेलचेक्य्राइँ गरिएका ठाउँहरूमा बस्नुपरिरहेको छ। त्यस्ता ठाउँमा ढल निकासको व्यवस्था गरिएको हुँदैन, स्वच्छ पानी हुँदैन, फोहरका डंगुर र असुरक्षित बासस्थानहरूमा प्रशस्तै जीवाणु हुन्छ। साना केटाकेटीले जीर्ण अवस्थाको घरमा लगाइएको सिसा मिसिएको रंग खान्छन्‌। . . . अनि त्यहाँ कसैले पनि केही वास्ता गर्दैन।” त्यस्तो वातावरणमा हिंसा, अपराध तथा निराशा फस्टाउँछ।

त्यसबाहेक, पश्‍चिमी शहरहरूमा आधारभूत सेवाहरू उपलब्ध गर्न गाह्रो भइरहेको छ। सन्‌ १९८१ मा लेखकद्वय प्याट चावट र सुजान वल्टरले अमेरिका इन रुइन्स—द डिकेइंग इन्फ्रास्ट्रक्चर भन्‍ने नाटकीय शीर्षक राखेर एउटा पुस्तक लेखे। त्यसमा तिनीहरूले यसो लेखे: “अमेरिकाका सार्वजनिक सुविधाहरू यस्तो तीव्र गतिमा बिग्रिरहेका छन्‌ कि त्यसको पूर्ति गर्न असम्भव देखिन्छ।” ती लेखकहरूले मुख्य मुख्य शहरहरूमा थुप्रै पुलहरू खिया लागेका र बाटो तथा ढलहरू भत्कँदै गरेका छन्‌ भनेर गम्भीर चेताउनी दिए।

बीस वर्षपछि पनि न्यु योर्कजस्तो शहरमा समेत संकटग्रस्त आधारशिला यथावत्‌ रहनेछ। न्यु योर्क म्याग्याजिन-को एउटा लेखमा तेस्रो ठूलो जलस्रोत सुरुङ आयोजनाबारे वर्णन गरिएको छ। उक्‍त योजना ३० वर्षदेखि सञ्चालन भइरहेको छ र यसलाई “पश्‍चिमी गोलार्धकै सबैभन्दा ठूलो आधारशिला आयोजना हो” भनेर वर्णन गरिएको छ। यसको लागि झन्डै पाँच अरब अमेरिकी डलर छुट्याइएको छ! यस सुरुङको निर्माण सिद्धिएपछि न्यु योर्क शहरमा दैनिक ३ अरब ८० करोड लिटर स्वच्छ पानी उपलब्ध हुनेछ। उक्‍त लेखक यसो पनि भन्छन्‌, “तर यस असामान्य खनाइमा, सुरुङ बनाउनु भनेको यस शताब्दीको सुरुमा बिछ्याइएका हाल जमिनमनि रहेका पाइपहरू पहिलोपल्ट मर्मत सम्भार गर्नु र फेर्नु मात्र हो।” द न्यु योर्क टाइम्स-मा छापिएको एउटा लेखअनुसार यस शहरका बाँकी भत्कनै लागेका आधारशिलाहरू जस्तै सबवे, पानीका पाइप, बाटोघाटो र पुलहरू बनाउन झन्डै ९० अरब डलर खर्च हुने अनुमान गरिएको छ!

आधारभूत सेवाहरू उपलब्ध गर्न कठिनाइ परिरहेको शहर न्यु योर्क मात्र होइन। वास्तवमा, अरू थुप्रै ठूला शहरहरूमा विभिन्‍न कुराहरूबाट समस्या उत्पन्‍न हुने खतरा छ। फेब्रुअरी १९९८ मा न्यु जील्याण्डको अक्ल्याण्ड शहरमा विद्युत आपूर्ति बन्द हुँदा झन्डै दुई हप्ता त्यहाँको जनजीवन अस्तव्यस्त भयो। अस्ट्रेलियाको ग्याँस उत्पादन उद्योगमा औद्योगिक दुर्घटनाका कारण ग्याँस वितरण ठप्प हुँदा मेलबर्नका बासिन्दाहरूले १३ दिनसम्म तातो पानीविना जीविका चलाउनुपऱ्‍यो।

अनि झन्डै सबै शहरले भोगिरहेको अर्को एउटा समस्या छ। त्यो हो—सवारी चाप। आर्किटेक्ट मोशे साफ्दी यसो भन्छन्‌: “शहरको चौडाइ र यातायात प्रणालीबीच आधारभूत बेमेल वा भिन्‍नता रहेको पाइन्छ। . . . पुराना शहरहरू निर्माण गर्दा सुरुमा सोच्दै नसोचेका तीन थुप्रा सवारी साधनहरूले तिनका मुख्य व्यापारिक क्षेत्रहरू भरिएका छन्‌।” द न्यु योर्क टाइम्स-का अनुसार काइरो, बैंकक अनि साओ पाऊलोमा सवारी चाप “दिनचर्याको भाग नै भइसक्यो।”

यी सबै समस्याहरूका बावजूद शहरमा बसाइँ सर्ने काममा कुनै कमी आएको देखिंदैन। द युनेस्को कुरियर-को एउटा लेखले यसबारे यसो भन्छ, “अवस्था जस्तै भए तापनि शहरले उन्‍नति र स्वतन्त्रता अनि सुअवसर प्रदान गर्छ जस्तो लाग्छ र यसले एकदमै लोभ्याउनसक्छ।” तर संसारका ठूलठूला शहरहरूको भविष्य कस्तो छ? के तिनीहरूले भोगिरहेका समस्याहरूको कुनै वास्तविक समाधान छ? (g01 4/8)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“बृहत्‌ संख्यामा मानिसहरू ओइरिंदा . . . बेरोजगारी र योग्यताअनुसारको जागिर नपाउने समस्या झनै बढ्‌छ”

[पृष्ठ ७-मा भएको चित्र]

सवारी चापको समस्याले थुप्रै शहरलाई सताइरहेको छ

[पृष्ठ ७-मा भएको चित्र]

सडकमा जीवन बिताइरहेका करोडौं केटाकेटीले आफ्नो जीवन धान्‍न संघर्ष गर्नुपर्छ

[पृष्ठ ७-मा भएको चित्र]

थुप्रै शहरबासीको सुन्दर जीवनको सपना अधूरै रहन्छ