सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?

के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?

बाइबलको दृष्टिकोण

के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?

असिनपसिन भएको कालो शरीर कपासको गह्रौं भारीले गर्दा दुई टुक्रा नै होला जस्तो गरी असाध्यै घोप्टो परेर काम चलाउ पुलमा धर्मराउँदै हिंडिरहेका छन्‌। क्रूर मालिकहरूले आलो छालाको कोर्राले हिर्काउँदै तिनीहरूलाई जबरजस्ती काममा लगाइरहेका छन्‌। डाँको छोडि रोइरहेका आमाहरूबाट तिनीहरूका छोराछोरी जबरजस्ती खोसेर लगिन्छन्‌ र लिलाममा सबैभन्दा धेरै पैसा तिर्ने मानिसलाई बेचिन्छन्‌। सम्भवतः दासप्रथाबारे सम्झँदा तपाईंको मनमा यस्तै दुःखलाग्दा दृश्‍यहरू आउने गर्छन्‌ होला।

एउटा हाँसउठ्‌दो कुरा के छ भने, भनिन्छ थुप्रै दास व्यापारी र दासका मालिकहरू अत्यन्तै धार्मिक आस्था भएका व्यक्‍तिहरू थिए। इतिहासकार जेम्स वोल्भिनले यस्तो लेखे: “युरोप तथा अमेरिकाका त्यस्ता थुप्रै मानिस थिए, जसले आफ्नो जहाज दासहरू लिएर पश्‍चिमी गोलार्धतर्फ फर्कंदा प्रभुको, उहाँले दिनुभएको आशिष्‌को निम्ति प्रशंसा गर्नुका साथै अफ्रिकामा फाइदाजनक तथा भरपर्दो व्यापार गर्न पाएकोमा कृतज्ञता जाहेर गर्थे।”

कसैकसैले त परमेश्‍वरले दासप्रथाप्रति आँखा चिम्लिनुभएको छ समेत भनेका छन्‌। उदाहरणका लागि, १८४२ मा मेथोडिस्ट प्रोटेस्टेन्ट चर्चको साधारण सभामा अलेक्जान्डर म्याककेनले दासप्रथाको सुरुआत “स्वयम्‌ परमेश्‍वरले नै गर्नुभएको” हो भने। के म्याककेनको कुरा सही थियो? के म्याककेनको समयका दासप्रथाका अभिन्‍न भाग जस्तै, अपहरण, केटीहरूको बलात्कार, निर्दयतासाथ परिवारहरूलाई छुट्याउने र क्रूरतासाथ पिट्‌ने सबैलाई परमेश्‍वरले अनुमोदन दिइरहनुभएको थियो? अनि आज अत्यन्तै क्रूर परिस्थितिमा जबरजस्ती दासको रूपमा काम गर्नुपर्ने लाखौंबारे चाहिं के भन्‍न सकिन्छ नि? के यहोवाले त्यस्तो अमानवीय व्यवहारको भर्त्सना गर्नुहुन्छ?

दासप्रथा र इस्राएलीहरू

“एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो” भनी बाइबलले बताउँछ। (उपदेशक ८:९) उक्‍त कुरा मानिसले सुरु गरेको शोषणकारी दासप्रथामा जस्तो अन्य कतै देखिंदैन। दासप्रथाले निम्त्याएको दुःखकष्टप्रति यहोवा परमेश्‍वर भावशून्य हुनुहुन्‍न।

उदाहरणका लागि, इस्राएलको एउटा अवस्थालाई विचार गर्नुहोस्‌। मिश्रीहरूले “हिलो र इंटाका र खेतका सबै किसिमका काम गर्न लगाएर उनीहरूको जीवनै खल्लो बनाइदिए, हो, जुनै पनि कामको निम्ति तिनीहरूलाई चलाएर तिनीहरूसँग कठोर व्यवहार गरे” भनी बाइबलले बताउँछ। “इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्नलागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्‍वरकहाँ पुग्यो।” के यहोवा तिनीहरूको दुर्दशालाई बेवास्ता गर्नुभयो। त्यसको विपरीत, “परमश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो।” यसबाहेक, यहोवाले आफ्ना जनहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई मिश्रीहरूका बोझमनिबाट निकाल्नेछु, र तिनीहरूका दासत्वबाट छुटकारा दिनेछु।”—प्रस्थान १:१४, NW; २:२३, २४; ६:६-८.

स्पष्टतः दुर्व्यवहारपूर्ण दासत्वद्वारा ‘एउटा मानिसले अर्को मानिसलाई दुःख’ दिंदा यहोवाले अनुमोदन दिनुहुन्‍न। तर के यहोवाले पछि आफ्ना जनहरूमाझ दास राख्ने अनुमति दिनुभएन र? हो, उहाँले अनुमति दिनुभयो। तथापि, इस्राएलमा भएको दासप्रथाको इतिहासभरि पाइने विभिन्‍न अत्याचारपूर्ण दासप्रथाभन्दा त्यो धेरै भिन्‍न थियो।

अपहरण गर्ने र मानिसहरूलाई बेच्नेहरू मृत्युदण्डको योग्य छ भनी परमेश्‍वरको व्यवस्थाले उल्लेख गरेको थियो। यसबाहेक, दासहरूको सुरक्षाको लागि यहोवाले नियमहरू दिनुभयो। उदाहरणका लागि, मालिकले गर्दा दास अपांग भयो भने तिनलाई मुक्‍त गरिदिनुपर्थ्यो। मालिकको पिटाइको कारण दासको मृत्यु भयो भने मालिकले मृत्युदण्ड पाउनसक्थे। बन्दी बनाइएका स्त्रीहरूलाई दास बनाउन सकिन्थ्यो वा तिनीहरूलाई पत्नीको रूपमा लिन सकिन्थ्यो। तर तिनीहरूलाई केवल यौन तृप्तिका लागि प्रयोग गर्नु हुँदैन्थ्यो। व्यवस्थाको मुख्य सारले असल हृदय भएका इस्राएलीहरूलाई आफ्ना दासहरूलाई ज्यालादारीमा ल्याइएका कामदारहरूलाई जत्तिकै आदर र दयाका साथ व्यवहार गर्न उत्प्रेरित गरेको हुनुपर्छ।—प्रस्थान २०:१०; २१:१२, १६, २६, २७; लेवी २२:१०, ११; व्यवस्था २१:१०-१४.

कोहीकोही यहूदीहरू आफ्नो ऋण चुक्‍ता गर्न स्वेच्छाले सँगी यहूदीको दास बन्थे। यस्तो चलनले मानिसहरू भोकभोकै पर्नदेखि बच्थे र वास्तवमा तिनीहरू गरिबीको रेखामुनिबाट उठ्‌नसक्थे। यसबाहेक, यहूदी पात्रोअनुसार कुनै खास दिनहरूमा दासहरू स्वतन्त्र हुन चाहन्छन्‌ भने उनीहरूलाई मुक्‍त गरिदिनुपर्थ्यो। a (प्रस्थान २१:२; लेवी २५:१०; व्यवस्था १५:१२) दासहरूसित सम्बन्धित यी नियमहरूबारे टिप्पणी गर्दै यहूदी शास्त्रविद्‌ मोजेज मेल्जिर्नले “दास पनि एक जना मान्छे भएकोले तिनलाई केही खास मानव अधिकार भएको व्यक्‍तिको रूपमा हेरिन्थ्यो र यस कुरालाई तिनको मालिकले पनि नकार्न सक्दैनथे।” इतिहासभरि व्याप्त दुर्व्यहारपूर्ण दासप्रथा भन्दा कत्ति भिन्‍न!

दासप्रथा र मसीहीहरू

दासप्रथा रोमी साम्राज्यको आर्थिक व्यवस्थाको एउटा भाग थियो, जुन व्यवस्थाअन्तर्गत प्रथम शताब्दीका मसीहीहरू बस्थे। तसर्थ, कोही मसीहीहरू दास थिए भने कोही दासका मालिकहरू थिए। (१ कोरिन्थी ७:२१, २२) तर के यसको अर्थ येशूका चेलाहरू दुर्व्यवहार गर्ने मालिकहरू थिए भन्‍न खोजिएको हो त? पटक्कै होइन! रोमी व्यवस्थाले जेसुकै गर्न दिए तापनि मसीहीहरूले आफ्नो अधीनमा भएकाहरूसँग नराम्रो व्यवहार गरेनन्‌ भनी हामी ढुक्क हुनसक्छौं। प्रेरित पावलले फिलेमोनलाई मसीही भएका दास ओनसिमसलाई आफ्नो “भाइ[जस्तो]” व्यवहार गर्न प्रोत्साहन समेत दिए। bफिलेमोन १०-१७.

एउटा मानिस अर्को मानिसको दास भएर बसोस्‌ भनेर परमेश्‍वरले मानिसजातिको लागि सोच्नुभएको सुरुको उद्देश्‍य थियो भनी बाइबलले कतै पनि बताएको छैन। यसबाहेक, परमेश्‍वरको नयाँ संसारमा कुनै पनि मानिस दासप्रथाको कारण सँगी मानवको अधीनमा बस्नुपर्ने छ भनी बाइबल भविष्यवाणीहरूले संकेत गर्दैन। बरु, आउन लागेको प्रमोदवनमा “हरेक [धर्मी] मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

स्पष्टतः बाइबलले सबै प्रकारको दुर्व्यवहारको भर्त्सना गर्छ। त्यसको ठीक विपरीत, यसले मानिसहरूलाई समानता र आदरपूर्वक व्यवहार गर्न प्रोत्साहन दिन्छ। (प्रेरित १०:३४, ३५) अरूले आफूलाई जस्तो व्यवहार गरेको मनपर्छ अरूलाई पनि त्यसै गरी व्यवहार गर्नु भनी यसले सल्लाह दिन्छ। (लूका ६:३१) यसबाहेक, अर्को व्यक्‍तिको सामाजिक ओहदा जस्तोसुकै भए तापनि अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नु भनी बाइबलले मसीहीहरूलाई प्रोत्साहन दिन्छ। (फिलिप्पी २:३) यी सिद्धान्तहरू विशेष गरी विगतका केही शताब्दीदेखि थुप्रै राष्ट्रमा व्याप्त अत्याचारी दासप्रथाभन्दा बिलकुलै विपरीत छ। (g01 9/8)

[फुटनोटहरू]

a कोहीकोही दासहरू मालिकसँगै बस्न चाहेमा, बस्नसक्ने प्रबन्धबाट पनि इस्राएलीहरूको दासत्व दुर्व्यवहारपूर्ण थिएन भनी स्पष्ट हुन्छ।

b त्यसै गरी, आज पनि कोही मसीहीहरू हाकिम छन्‌ भने कोही कर्मचारी छन्‌। जसरी मसीही हाकिमहरूले आफूअन्तर्गत काम गर्नेहरूसँग दुर्व्यवहार गर्दैनन्‌ त्यसरी नै प्रथम शताब्दीका येशूका चेलाहरूले पनि आफ्ना दासहरूलाई मसीही सिद्धान्तअनुरूप व्यवहार गरेको हुनुपर्छ।—मत्ती ७:१२.