क्रोधको जमानालाई कुन कुराले बढावा दिइरहेको छ?
क्रोधको जमानालाई कुन कुराले बढावा दिइरहेको छ?
चेक गणतन्त्रको प्रागमा एउटा भट्टीभित्र बसिरहेको बेला एक जनालाई गोली हानी मारिन्छ। किन? किनभने यस मृतकले चर्को आवाजमा क्यासेट घन्काइरहेकोले बन्दुकधारी रिसले चूर भएका थिए। दक्षिण अफ्रिकाको केप टाउनको एउटा चौबाटोमा एक जना मोटर चालकलाई हक्की खेल्ने लौरोले हिर्काएर मारिन्छ। सम्भवतः चालकले गाडीको हेडलाइट आफूतिर पर्ने गरी बालेको कारण त्यस आक्रमणकारी क्रोधित भएका थिए। अस्ट्रेलियामा बस्दै आएकी बेलाइती नर्सको पहिलेको केटा साथीले क्रोधित हुँदै उनको घरको अगाडिको ढोकामा लातले हिर्कायो र पछि उनलाई पनि पेट्रोल खन्याएर आगो सल्काई मार्ने कोसिससमेत गऱ्यो।
के सडक क्रोध, घरेलु क्रोध, हवाई क्रोधजस्ता क्रोधहरूको रिपोर्ट अति नै बढाइचढाइ गरेर प्रस्तुत गरिन्छ? वा कुनै भवनको भित्तामा देखिएका चिराझैं, यी कुनै गम्भीर समस्याका प्रत्यक्ष चेताउनीहरू हुन्? तथ्यहरूले देखाएअनुसार पछिल्लो भनाइचाहिं ठीक हो।
सडकहरूमा “घट्ने घातक सवारी घटनाहरू सन् १९९० देखि हरेक वर्ष झन्डै ७ प्रतिशतको दरले वृद्धि भइरहेको छ” भनी सवारी सुरक्षाको लागि अमेरिकन अटोमोबाइल असोसिएसन (ए ए ए) फाउन्डेसनले भर्खरै प्रकाशित रिपोर्टमा बतायो।
घरमा हिंसा व्याप्त छ। उदाहरणका लागि, अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्तका प्रहरीहरूले सन् १९९८ को दौडान घरेलु हिंसामा ५० प्रतिशत वृद्धि भएको कुरा बताए। त्यस देशमा विवाहित वा कानुनी रूपमा विवाह नगरीकन सँगै बस्ने आइमाईहरूमध्ये हरेक चार जनामा एक जनाले आफ्नो जोडीबाट हिंसा भोगेका छन्।
हवाई यात्राको कथा पनि उस्तै छ। हवाई यात्रीहरू एक्कासी क्रोधित भएर परिचारिका, सँगी यात्रु र विमान चालकहरूलाई समेत आक्रमण गर्न सक्ने डरले गर्दा विश्वका कतिपय ठूल-ठूला हवाईजहाजहरूले यस्ता हिंसात्मक आक्रमणकारीहरूलाई तिनीहरूको आफ्नै सिटमा बाँधेर राख्नको लागि विशेष यन्त्रहरूको प्रबन्ध गरेका छन्।
किन यति धेरै मानिसहरूले आफ्ना भावनाहरूलाई वशमा राख्न नसकेका होलान्? क्रोधका यस्ता कार्यहरूलाई कुन कुराले बढावा दिन्छ? के यस्ता भावनाहरूलाई वशमा राख्नु साँच्चै सम्भव छ?
क्रोध किन बढेको?
क्रोधित हुनु भनेको असाध्यै रिसाउनु वा रिस पोख्नु हो। रिसलाई गुम्साइरह्यो भने यसले क्रोधको हिंसात्मक रूप लिन्छ। सवारी सुरक्षाको लागि ए ए ए फाउन्डेसनका अध्यक्ष डेभिड के. विलिस् यसो भन्छन्: “प्रायजसो हिंसात्मक ट्राफिक विवादहरू तत्काल घटेको घटनाले गर्दा मात्र भएका हुँदैनन्। बरु, त्यो व्यक्तिगत मनोवृति र चालकको दिनचर्यामा थुप्रिंदै गएका तनाउहरूको नतिजा हो कि जस्तो देखिन्छ।”
हामीले हरेक दिन हासिल गर्ने तीन थुप्रो जानकारीहरूले पनि तनाउ बढाउन सक्छ। डेभिड लुइसद्वारा लिखित
इन्फर्मेशन ओभरलोड भन्ने पुस्तकको पछिल्लो आवरणमा यस्तो लेखिएको छ: “आज धेरै कामदारहरू तीन थुप्रो जानकारीहरूको दलदलमा भासिंदैछन् . . . तीन थुप्रो जानकारीहरू के हो कसो हो भनेर विचार गर्दा-गर्दा . . . तिनीहरू तनाउग्रस्त, असावधान र ठीक तरिकाले कामसमेत गर्न नसक्ने हुन्छन्।” जानकारीहरूको यस प्रकारको बाढीबारे एउटा अखबारले यसो भन्यो: “एक जना साधारण मानिसले १७ औं शताब्दीमा आफ्नो जीवनभरिमा हासिल गर्ने गरेको जति जानकारी अचेल एक दिनको एउटा अखबारमा हुन्छ।”हामीले सेवन गर्ने कुराले पनि रिसलाई बढाउन सक्छ। दुईवटा ठूला अध्ययनले देखाएअनुसार धूम्रपान, मद्यपान र अस्वास्थ्यकर खानाले शत्रुवत् व्यवहारलाई बढाउँछ। यस प्रकारको सर्वव्याप्त जीवनशैलीले तनाउ र विरक्तता बढाउँछ र विरक्त भएकाहरू फोहोर बोली बोल्ने र अधैर्य साथै असहनशील हुन्छन्।
अशिष्टता र चलचित्र
अशिष्टता र अपराधबीचको सम्बन्धबारे अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका (ए आइ सि) निर्देशक डा. आडम ग्रेकर यस्तो टिप्पणी गर्छन्: “आदर र शिष्टताको मूल आशयलाई बुझेर त्यसलाई अलिकति जोड दिंदा मात्र पनि साना-तिना अपराधहरू रोक्न त्यो महत्त्वपूर्ण कदम साबित हुन सक्छ।” यस इन्स्टिच्युटले धैर्यता अभ्यास गर्ने, सहनशीलता देखाउने र फोहोर बोली नबोल्न सल्लाह दिन्छ। यसो नगर्दा अशिष्ट बानीबेहोराको कारण अपराधिक कार्य हुन सक्छ भनी यसले दाबी गर्छ। अमिल्दो कुरा त के छ भने, निराशा र तनाउबाट छुटकारा प्राप्त गर्नको लागि धेरै जनाले रोजेको आरामले नै वास्तवमा असहनशीलता र क्रोधलाई बढावा दिइरहेको छ। कसरी?
“बच्चा र वयस्कहरू सिनेमामा झुम्मिएर मृत्यु र विनाशका दृश्यहरू हेर्छन्। हिंसात्मक भिडियोहरूको बजार विशाल र मुनाफादायी छ। आमाबाबुहरूले मन नपराए तापनि ‘लडाइँसित सम्बन्धित खेलौनाहरू’ थुप्रै बच्चाहरूमाझ लोकप्रिय छन्। टेलिभिजनमा देखाइने हिंसा वयस्क र बच्चा दुवैलाई उत्तिकै मन पर्छ र सांस्कृतिक मूल्य तथा मान्यताहरू सिकाउन टेलिभिजनको ठूलो भूमिका छ” भनी ए आइ सि-को रिपोर्टमा बताइएको छ। घरमा र सडकहरूमा हुने क्रोधसित यसको के सम्बन्ध छ? उक्त रिपोर्ट यस्तो तर्क गर्छ: “समाजले जुन हदसम्म हिंसालाई स्वीकृति दिन्छ, समाजका मानिसहरूको स्तर पनि त्यसैले निर्धारण गर्छ।”
रिस पोखाउनु भनेको तनाउ, अत्याधिक दबाउ र कठोर समाजप्रति स्वतः देखाइने प्रतिक्रिया मात्र हो भनेर अचेल धेरै जनाले भन्ने गर्छन्। त्यसोभए, “रिस उठ्यो भने त्यसलाई पोखाउनुहोस्” भन्ने प्रख्यात भनाइले के फाइदा गर्छ त?
के क्रोधलाई वशमा राख्नुपर्छ?
ज्वालामुखी विस्फोट हुँदा यसले वरिपरि बस्नेहरूलाई सखाप पारेझैं, रिसाहा मानिसले अरूलाई हानि पुऱ्याइरहेको हुन्छ। उसले आफैलाई पनि असाध्यै हानि पुऱ्याइरहेको हुन्छ। कसरी? “रिस पोखाउनाले अझ बढी रिसारिस हुन्छ” भनी द जर्नल अफ दी अमेरिकन मेडिकल
असोसिएसन (जामा) बताउँछ। अनुसन्धानबाट थाह लागेअनुसार, “रिस नदेखाउने मानिसहरूभन्दा रिस देखाउने मानिसहरू ५० वर्षको उमेर नपुग्दै मर्ने सम्भावना बढी हुन्छ।”त्यस्तै, अमेरिकन हार्ट असोसिएसन यसो भन्छ: “आफ्नो रिसलाई वशमा राख्नेहरूलाई भन्दा एक्कासी रिसाइहाल्ने मानिसहरूलाई मस्तिष्कघात हुने खतरा दोब्बर हुन्छ।” यी चेताउनीहरू पुरुष र महिला दुवैलाई लागू हुन्छ।
त्यसोभए, वास्तवमा कस्तो सल्लाह पालन गर्नु बेस हुन्छ त? सांसारिक अख्तियारवालाहरू र मानवजातिबीच सबैभन्दा बढी वितरित पुस्तक, बाइबलका सल्लाहहरूबीचका समानताहरूमा ध्यान दिनुहोस्।
रिसलाई वशमा राख्नुहोस् —क्रोधलाई त्याग्नुहोस्
डा. रेडफर्ड बि. विलियम्स जामा-मा यस्तो लेख्छन्: “ ‘रिस उठ्यो भने यसलाई पोखाउनुहोस्’ भन्ने सरल सल्लाह त्यति मदतकारी . . . हुँदैन। महत्त्वपूर्ण कुरा त रिस उठ्नुको कारण के हो र त्यसलाई कसरी वशमा राख्ने भनी सिक्नु हो।” तिनी आफूले आफैलाई यस्ता प्रश्नहरू सोध्न सुझाउ दिन्छन्: “(१) के यो परिस्थिति मेरोलागि महत्त्वपूर्ण छ? (२) के मेरा सोचाइ र भावनाहरू वास्तविकतासँग मेल खान्छ? (३) म रिसाउन नपरोस् भनेर कतै यस परिस्थितिलाई छाँटकाँट गर्न सकिन्छ कि?”
हितोपदेश १४:२९; २९:११ “धीरज धारण गर्नु ठूलो समझ-शक्ति देखाउनु हो, झ्वाट्टै रीस गर्नु मूर्खताको चरमसीमा हो। मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुनदिन्छ।”
एफिसी ४:२६ “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।”
फ्रांक डोनोभान आफूले लेखेको डिलिङ विथ् एङ्गर—सेल्फ–हेल्प सलुसन्स फर मेन भन्ने पुस्तकमा यस्तो सल्लाह दिन्छन्: “तपाईंलाई एकदमै रिस उठेको बेला रिस त्याग्नु अथवा किटेरै भन्ने हो भने, त्यो ठाउँ र आफूलाई रिस उठेका मानिसहरू भएको ठाउँमा नबस्नु यसबाट टाढै बस्ने महत्त्वपूर्ण तरिका हो।”
हितोपदेश १७:१४ “झगड़ाको शुरू मूल फुटेर निस्केको बेरोक पानीजस्तै हो, यसकारण त्यो बढ़नअघिनै रीस छोड़िदेऊ।”
बट्राम रथचाइल्ड, द ह्युम्यानिस्ट भन्ने पत्रिकामा यस्तो लेख्छन्: “रिस . . . मुख्यतया हरेकको व्यक्तिगत जिम्मेवारी हो। रिस हाम्रै दिमागबाट सुरु हुन्छ। . . . कहिलेकाहीं मात्र तपाईंले रिसाएर आफूले चाहेको कुरा पूरा गर्नु भएको होला तर धेरैजसो भने यसले कामकुरो झनै बिगार्छ। रिस पोखाउनुभन्दा रिस उठ्नै नदिनु बेस हो।”
भजन ३७:८ “रिसाउन छोड़ र क्रोधलाई त्याग्। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।”
हितोपदेश १५:१ “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।”
हितोपदेश २९:२२ “रिसाउने मानिसले झगड़ा उठाउँछ, औ गरम-मिजास भएको मानिसले धेरै खराब काम गर्छ।”
विश्वभरिका लाखौं यहोवाका साक्षीहरूले माथि दिइएका सल्लाहहरू पालन गर्छन्। तिनीहरूको स्थानीय राज्यभवनमा हुने सभाहरूमा उपस्थित हुन हामी तपाईंलाई आमन्त्रण गर्दछौं र क्रोधलाई बढावा दिने जमानामा हामी बाँचिरहेको भए तापनि बाइबलको सल्लाह साँच्चै प्रभावकारी छ भन्ने कुरा तपाईंले आफ्नै आँखाले देख्नुहुनेछ। (g02 2/8)
[पृष्ठ २१-मा भएको चित्र]
विस्फोटन भएको ज्वालामुखीले जस्तै, अनियन्त्रित रिस देखाउने मानिसले हानि गर्छ
[पृष्ठ २२-मा भएको चित्र]
बाइबलको सल्लाह साँच्चै प्रभावकारी छ