सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो श्रवणशक्‍ति जोगाउनुहोस्‌!

आफ्नो श्रवणशक्‍ति जोगाउनुहोस्‌!

आफ्नो श्रवणशक्‍ति जोगाउनुहोस्‌!

“विश्‍वमा १२ करोडभन्दा बढी मानिसहरू राम्ररी सुन्‍न सक्दैनन्‌।”—विश्‍व स्वास्थ्य संगठन

हामीलाई दिइएको सुन्‍ने क्षमता एउटा बहुमूल्य उपहार हो। यद्यपि, उमेर ढल्कदै जाँदा हाम्रो सुन्‍ने क्षमतामा पनि बिस्तारै ह्रास आउँछ। धेरै अनि विविध प्रकारका ध्वनि तथा होहल्लाहरूले भरिएको आधुनिक समाजमा मानिसहरूको सुन्‍ने क्षमतामा झनै छिटो ह्रास आउँदैछ। संयुक्‍त राज्य अमेरिकाको सेन्ट लुइस, मिसोरीस्थित सेन्ट्रल इन्स्टिच्यूट फर द डेफमा कार्यरत एक वरिष्ठ वैज्ञानिकले यसो भने: “श्रवणशक्‍ति गुमाउने अमेरिकीहरूमध्ये ७५ प्रतिशतले आयुको कारण नभई जिन्दगीभर तिनीहरूले सुनेका आवाजहरूले गर्दा श्रवणशक्‍ति गुमाए।”

कानमा केही छिन मात्र भए पनि चर्को आवाज पर्दा त्यसले कानको भित्री भागको संवेदनशील बनौटलाई हानि गर्न सक्छ। यद्यपि, श्रव्य विशेषज्ञ डा. मारग्रेट चिजमेनको भनाइअनुसार अक्सर “धेरै समयसम्म चर्को आवाजमा काम गर्दा, चर्को आवाजका सोखहरू राख्दा, चर्को अवाजका मनोरञ्जन गतिविधिहरूले” गर्दा नै श्रवणशक्‍ति गुम्ने गर्छ। आफ्नो श्रवणशक्‍ति जोगाउन तपाईं के गर्न सक्नुहुन्छ? यसको जवाफ पाउनको लागि तपाईंको श्रवण क्षमताले कसरी काम गर्छ भनी थाह पाउनु लाभदायी हुन्छ।

हामीले सुन्‍ने आवाजहरू

हामी जताततै चर्को आवाज मात्र सुन्‍न थालेका छौं। दिनहुँ धेरै मानिसहरू कार, बस र ट्रकको आवाजदेखि लिएर कार्यस्थलमा विद्युतीय यन्त्रहरूले लगातार निकाल्ने चर्को आवाज सुन्‍न बाध्य छन्‌।

कहिलेकाहीं सुन्‍ने उपकरणको आवाज घन्काएर हामी आफै समस्या चर्काउँछौं। संगीत सुन्‍ने एउटा लोकप्रिय तरिका खल्तीमा बोक्न सकिने सिडी वा क्यासेट प्लेयरमा हेडफोन जडान गरेर सुन्‍नु हो। म्युजिसियन्स क्लिनिक्स अफ क्यानाडाका उप-संस्थापक मार्सल चासेनको भनाइअनुसार क्यानाडा र संयुक्‍त राज्य अमेरिकामा लिइएको सर्वेक्षणले देखाएअनुसार आवाज घन्काएर हेडफोनद्वारा संगीत सुन्‍ने गरेकाले नै बढ्‌दो युवाहरूले आफ्नो श्रवणशक्‍ति गुमाइरेहका छन्‌।

तर कस्तो आवाजलाई चर्को भन्‍ने? ध्वनि मुख्यतया तीन प्रकारले प्रसारण हुन्छ—अवधि, आवृत्ति र विस्तार। अवधिले आवाज कुन समयसम्म सुनिएको हो, त्यसको अवधिलाई जनाउँछ। आवाजको आवृत्ति वा तीक्ष्णतालाई साइकल प्रति सेकेन्ड वा हर्जमा नापिन्छ। कानलाई कुनै असर नगरी राम्ररी सुन्‍न सकिने आवाजको आवृत्ति २० देखि २०,००० साइकल प्रति सेकेन्ड हुन्छ।

आवाजको विस्तार वा शक्‍ति नाप्ने एकाइ डेसिबल हो। साधारण कुराकानीको आवाज करिब ६० डेसिबलको हुन्छ। ध्वनि विशेषज्ञहरूको भनाइअनुसार तपाईंले ८५ डेसिबलभन्दा चर्को आवाजमा जति धेरै समय बिताउनुहुन्छ, श्रवण क्षमताको ह्रास पनि त्यही अनुपातमा हुन्छ। आवाज जति चर्को भयो त्यति नै छिटो श्रवणशक्‍तिलाई हानि पुग्छ। न्युजवीक पत्रिकाले यस्तो रिपोर्ट दियो: “तपाईंको कानले दुई घण्टासम्म (१०० डेसिबल) आवाज सजिलै थाम्न सक्छ तर चर्को होहल्ला भएको भिडियो गेम पार्लरको (११० डेसिबल) आवाजलाई ३० मिनेटभन्दा बढी थाम्न सक्दैन। ध्वनिको मापमा १० डेसिबलको वृद्धिले कानै खाने आवाजमा १० गुणा तीव्रता बढाउँछ। करीब १२० डेसिबलको आवाजले शारीरिक पीडा उत्पन्‍न हुन थाल्छ भनी परीक्षणहरूले पुष्टि गर्छ। सुन्दा अचम्म लाग्ला तर घरमा बजाइने कुनै-कुनै स्टेरियोको आवाज १४० डेसिबलभन्दा चर्को हुन्छ!—सँगैको पेटीमा हेर्नुहोस्‌।

तपाईंको सुन्‍ने क्षमतालाई चर्को ध्वनिले हानि पुऱ्‍याउन सक्छ भन्‍नुको कारणबारे बुझ्न आउनुहोस्‌, ध्वनिका तरंगहरू तपाईंको कानसम्म पुग्दा के हुन्छ, ध्यान दिऔं।

हाम्रो सुन्‍ने क्षमताले कसरी काम गर्छ

कानको बाहिरी नरम भागलाई अरिकल वा पिन्‍ना भनिन्छ। यो ध्वनिका तरंगहरू संकलन गरेर त्यसलाई सीधै इयर क्यानलसम्म लैजानको लागि बनाइएको हो र तुरुन्तै ती तरंगहरू इयर क्यानल हुँदै कानको पर्दासम्म पुग्छन्‌। अब ती ध्वनिका तरंगहरूले कानको जालीलाई कम्प गराउँछ र यो कम्पले मध्य कानको तीनवटा हड्डीमा पनि कम्प हुन्छ। त्यसपछि, यी तरंगहरू कोक्लिया अर्थात्‌ तरल पदार्थ भरिएको थैली रहेको भित्री कानको हड्डीमा प्रसारण हुन्छ। यहाँ यी तरंगहरू कक्लियाभित्र रहेको तरल पदार्थ हुँदै भित्री कानको शंखे कीरा आकारको भागसम्म पुग्छ जसमा केश कोषिकाहरू हुन्छन्‌। ती तरंगहरूलाई स्नायु उत्प्रेरणाहरूमा परिणत गर्न कक्लियाभित्र रहेको तरल पदार्थले केश कोषिकाहरूको माथिल्लो भागलाई सक्रिय बनाउँछ। त्यसपछि यी तरंगहरू मस्तिष्कसम्म प्रसारण हुन्छन्‌ जहाँ तिनीहरू ध्वनिमा परिणत हुन्छन्‌।

मस्तिष्कको लिम्बिक प्रणालीले कुनचाहिं आवाजलाई ध्यान दिने अनि कुनलाई नदिने भनी निर्णय गर्न मस्तिष्कलाई मदत गर्छ। उदाहरणको लागि, आमाले बच्चा खेलिरहँदाको सामान्य आवाजलाई त्यति राम्ररी नसुन्‍न सक्छिन्‌ तर बच्चा रोएको आवाज भने तुरुन्तै कानमा परिहाल्छ। दुइटै कानले विभिन्‍न दिशाबाट सुन्‍न मदत गर्छन्‌, यसले ठूलो काम गर्छ। यसले हामीलाई ध्वनि कुन दिशाबाट आइरहेको छ भनी खुट्याउन मदत गर्छ। यद्यपि, कुराकानीको ध्वनि हो भने, मस्तिष्कले एक पटकमा एउटा मात्र सन्देश बुझ्न सक्छ। “त्यसैले गर्दा”, द सेन्सेज नामक पुस्तक अझ यसो भन्छ, “टेलिफोनमा कुराकानी गर्दा आफू नजिकैको व्यक्‍तिले भनेका कुराहरू हामी सजिलै सुन्‍न सक्दैनौं।”

आवाजले कसरी हाम्रो सुन्‍ने क्षमतालाई हानि पुऱ्‍याउँछ

हाम्रो सुन्‍ने क्षमतालाई कसरी चर्को आवाजले हानि पुऱ्‍याउन सक्छ भनी कल्पना गर्न निम्न तुलनालाई ध्यान दिनुहोस्‌। एउटा व्यावसायिक सुरक्षा रिपोर्टले भित्री कानको केश कोषिकाहरूलाई खेतको गहुँसित अनि कान भित्र प्रवेश गर्ने ध्वनिलाई हावासित तुलना गरेको छ। ठिक्कको ध्वनिले जस्तै सुस्तरी बगेको हावाले गहुँको माथिल्लो भागलाई केवल हल्लाउँछ तर कुनै हानिनोक्सानी गर्दैन। यद्यपि, हावाको गति बढेमा गहुँको डाँठमा धेरै तोड पर्छ। अचानक जोडसित चलेको तीव्र बतास वा लामो समयसम्म चलिरहेको बतासले डाँठलाई क्षतिग्रस्त पार्छ र खत्तमै हुने गरी ढालिदिन्छ।

ध्वनि अनि भित्री कानको स-साना र कोमल केश कोषिकाहरूको अवस्था पनि यस्तै हुन्छ। ठूलो झट्‌काले भित्री कानका तन्तुहरू च्यातिन सक्छन्‌ अनि त्यसमा खत बस्छ जसले गर्दा सधैंभरिको लागि सुन्‍ने क्षमता ह्रास हुन्छ। साथै लामो समयसम्म कानै खाने आवाज सुनिरहँदा त्यसले मुलायम केश कोषिकाहरूलाई क्षतिग्रस्त बनाउन सक्छ। यो एक चोटि क्षतिग्रस्त भएपछि फेरि पलाउन सक्दैन। यसले गर्दा टिनिटस हुन सक्छ अर्थात्‌ कान वा टाउकोको नजिक हुनहुनाएको, टिन्‍न वा गड्याङगुडुङ गरेको आवाज गुञ्जिरहन्छ।

तपाईंको श्रवणशक्‍तिलाई जोगाउनुहोस्‌ र हतपती बिग्रन नदिनुहोस्‌

वंशाणुगत गुण वा नचिताएको दुर्घटनाहरूले श्रवणशक्‍ति गुम्न सक्ने भए तापनि आफ्नो बहुमूल्य श्रवणशक्‍तिलाई जोगाउन अनि हतपती नबिगार्न सुरक्षात्मक कदम उठाउन सक्छौं। सुन्‍ने क्षमतालाई हानि गर्न सक्ने खतराहरू पहिले नै थाह पाइराख्नु बेस हो। जस्तै, एक जना श्रवण विशेषज्ञले यसो भने, “कुनै कदम चाल्नुअघि समस्यालाई नै कुरेर बस्नु भनेको घामले डढिसकेपछि घामबाट बच्न मलहम दल्नु जस्तै हो।”

अक्सर हामीले के सुन्छौं भन्‍ने होइन तर कसरी सुन्छौं भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। उदाहरणको लागि, यदि तपाईं हेडफोन राखेर स्टेरियो सुन्‍नुहुन्छ भने आफू वरपरको आवाज सुन्‍न सकिने गरी ध्वनि मिलाउनु बेस होला। यदि साधारण कुराकानीको आवाज पनि सुन्‍न नसक्ने गरी तपाईंले आफ्नो कार वा घरको स्टेरियो घन्काउनु भएको छ भने यो तपाईंको श्रवणशक्‍तिलाई हानि पुऱ्‍याउने एउटा संकेत हुन सक्छ। यदि तपाईंले दुई तीन घण्टा लगातार ९० डेसिबलको आवाज सुनेको सुन्यै गर्नुभएमा त्यसले तपाईंको कानमा क्षति पुऱ्‍याउन सक्छ भनी विशेषज्ञहरू चेताउनी दिन्छन्‌। अचाक्ली आवाज भएको ठाउँमा बस्दा इयरप्लग वा श्रवण क्षमता जोगाउने अन्य उपकरण चलाउने सुझाउ दिइन्छ।

वयस्कहरूको भन्दा बच्चाहरूको सुन्‍ने क्षमतामा छिटो हानि पुग्न सक्छ भन्‍ने कुरा आमाबाबुहरूले बिर्सनु हुँदैन। चर्को आवाज निकाल्ने खेलौनाहरूले पार्न सक्ने खतराबारे सजग हुनुहोस्‌। एउटा खटखट आवाज निकाल्ने खेलौनाले ११० डेसिबलसम्मको आवाज निकाल्न सक्छ!

हाम्रो कान संवेदनशील, सानो अनि अद्‌भुत संरचना हो। यसको मदतले हामी आफू वरपर संसारमा भएको सबै प्रकारका विविध अनि सुन्दर ध्वनिहरू सुन्‍न सक्छौं। निस्सन्देह, सुन्‍ने क्षमता एक बहुमूल्य उपहार भएकोले यसलाई जोगाउनुपर्ने हामीसित उचित कारण छ। (g02 5/22)

[पृष्ठ २०-मा भएको पेटी]

केही आवाजहरूको मोटामोटी डेसिबल लेभल

• सास फेर्दा—१० डेसिबल

• कानेखुसी गर्दा—२० डेसिबल

• कुराकानी गर्दा—६० डेसिबल

• ट्राफिक चापाचाप हुँदा—८० डेसिबल

• फुड ब्लेन्डर—९० डेसिबल

• रेल गुड्‌दा—१०० डेसिबल

• करौंतीले चिर्दा—११० डेसिबल

• जेट बिमान उड्‌दा—१२० डेसिबल

• बन्दुक पड्‌किंदा—१४० डेसिबल

[पृष्ठ २१-मा भएको पेटी]

तपाईंले आफ्नो श्रवणशक्‍ति गुमाउने सम्भावना हुन्छ यदि

• तपाईंलाई ठिकै लाग्ने रेडियो वा टेलिभिजनको आवाज अरूलाई चर्को लागेमा

• एक चोटि सुनेपछि फेरि दोहोऱ्‍याएर सोधिरहनुभएमा

• अक्सर आफूसित कुरा गर्ने व्यक्‍तिको भनाइ सुन्‍नु पर्दा निधार खुम्चाएर ध्यान दिन, अलि झुक्न र टाउको फर्काउन परेको खण्डमा

• सामाजिक जमघट वा व्यस्त पसलजस्ता ठाउँहरूमा मानिसहरूको भीडभाड वा कुनै हल्लाखल्ला मच्चिरहेको बेला कसैले बोलेको सुन्‍न गाह्रो भएमा

• कसैले भनेको कुरा बुझ्न अक्सर अरूको भर पर्नु परेमा

[पृष्ठ २०-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अरिकल

मध्य कानको तीनवटा हड्डी

कानको जाली

कक्लिया

मस्तिष्कसम्म पुगेका स्नायुहरू