हिंसाले भरिएको शताब्दी
हिंसाले भरिएको शताब्दी
अल्फ्रेड नोबेलले कस्तो सोचाइ राखेका थिए भने, राष्ट्रहरूसित घातक हतियारहरू भएको खण्डमा शान्ति कायम गर्न सकिन्छ । आखिर, राष्ट्रहरूसित आफू एकजुट भएर कुनै विरोधीको विनाश गरेर चकनाचूर पार्न सक्ने क्षमता छ। “यो एउटा त्यस्तो शक्ति हुनेछ जसले युद्धलाई असम्भवै बनाउनेछ,” भनेर तिनले लेखे। नोबेलको विचारमा आफैलाई नामेट पार्ने लडाइँ कुनै पनि राष्ट्रले गर्नेछैन भन्ने थियो। तर बितेको शताब्दीले के देखायो?
नोबेलको मृत्यु भएको २० वर्ष पनि नबित्दै प्रथम विश्वयुद्ध चर्कियो। यस युद्धमा मेसिन गन, विषालु ग्याँस, अग्निवर्षक यन्त्र, ट्यांक, हवाईजहाज तथा पनडुब्बीहरूलगायत नयाँ नयाँ घातक हतियारहरू प्रयोग भए। झन्डै एक करोड सैनिकहरू मारिए र त्योभन्दा दुई गुणा बढी मानिसहरू घाइते भए। पहिलो विश्वयुद्धको अमानवीय व्यवहारले शान्तिप्रतिको चासो फेरि जगायो। यसले गर्दा राष्ट्र संघको स्थापना भयो। अनि यसको स्थापनाको लागि विशेष योगदान पुऱ्याउने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति वुड्रो विल्सनले १९१९ मा नोबेल शान्ति पुरस्कार पाए।
यद्यपि, युद्ध अब सदाका लागि नामेट हुनेछ भन्ने आशा १९३९ मा दोस्रो विश्वयुद्ध भएपछि त्यो आशा चकनाचूर भयो। धेरै तरिकामा हेर्ने हो भने, यो प्रथम विश्वयुद्धभन्दा पनि डरलाग्दो थियो। यस युद्धको दौडान अडोल्फ हिटलरले क्रुमेलमा अवस्थित नोबेलको कारखानालाई
जर्मनीको एकदमै ठूलो बारुद कारखानामा परिणत गरे जहाँ ९,००० जना मानिस कार्यरत थिए। त्यसपछि, युद्धको अन्तमा विरोधी राष्ट्रहरूको संयुक्त गठबन्धनले हवाई आक्रमण गरेर नोबेलको कारखानामा हजारवटा भन्दा बढी बम खसालेर ध्वस्त पारिदियो। विडम्बनाको कुरा ती बमहरू नोबेलकै आविष्कारको मदतद्वारा तयार पारिएका थिए।नोबेलको मृत्युपछिको शताब्दीमा दुईवटा विश्वयुद्ध मात्र होइन तर अन्य असंख्य सानातिना युद्धहरू पनि भए। त्यस अवधिभर हतियारहरूको छेलोखेलो भयो भने तीमध्ये केही त एकदमै हानिकारक थिए। नोबेलको मृत्युपछिको दशकमा बनेका केही मुख्य मुख्य सैन्य सामग्रीहरूबारे विचार गर्नुहोस्।
सानातिना बन्दुक तथा चलाउन सजिला हतियारहरू। यसमा सानो बन्दुक, राइफल, हातेबम, मेसिन गन, मोर्टार तथा अन्य यताउता लैजानसकिने उपकरणहरू पर्छन्। सानातिना बन्दुक तथा चलाउन सजिला हतियारहरू त्यति महँगो नहुने, मर्मत गर्न पनि सजिलो अनि प्रयोग गर्न त झनै सजिलो हुन्छ।
के यस्ता हतियारहरूले जनसाधारणमा डर पैदा गरेर युद्धको खतरा अन्त गरेको छ? कदापि छैन! चलाउन सजिला हतियारहरू “शीतयुद्धपछि सबैजसो मुख्य युद्धहरूमा प्रयोग हुँदै आएको छ” भनेर बुलेटिन अफ द अटोमिक साइन्टिस्ट्स-मा माइकल क्लार लेख्छन्। साँच्चै भन्ने हो भने, हालैका युद्धहरूमा भएको ९० प्रतिशतभन्दा बढी क्षति सानातिना बन्दुक तथा चलाउन सजिला हतियारहरूले गर्दा भएका छन्। यी हतियारहरूले गर्दा १९९० को दशकमा मात्र ४० लाखभन्दा बढी मानिसहरूको हत्या भएको थियो। यस्ता हतियारहरू सैनिक तालिम नै नलिएका र युद्धका नियमहरू उल्लंघन गर्नु हुँदैन भन्ने बोध नै नभएका युवाहरूले प्रायजसो प्रयोग गर्ने गर्छन्।
जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थहरू। बीसौं शताब्दीको अन्तसम्ममा जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थहरूले गर्दा दिनहुँ लगभग ७० जना मानिस अपाङ्ग भए वा मारिए! तीमध्ये अधिकांश त सैनिकहरू नभई आम नागरिकहरू थिए। जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थहरू प्रायजसो मार्नका लागि नभई अपाङ्ग पार्न र त्यसबाट क्षति भोग्नेहरूको माझमा डर र आतंक फैलाउन प्रयोग गरिएका हुन्छन्।
हो, हालैका वर्षहरूमा त्यस्ता विस्फोटक पदार्थहरूलाई जमिनबाट निकाल्न निकै परिश्रम गरिएको छ। तर एउटा विस्फोटक पदार्थ हटाउँदा अर्को २० वटा जमिनमुनि बिछ्याइन्छ र त्यसले गर्दा विश्वभरि छ करोड विस्फोटक पदार्थहरू जमिनमुनि बिछ्याइएका हुन सक्छन् भन्ने कसै कसैको अनुमान छ। जमिनमुनि
गाडिएका विस्फोटक पदार्थहरूले एक जना सिपाहीको पाइला र चौरमा खेलिरहेको बच्चाबीचको भिन्नता छुट्याउन सक्दैन भन्ने थाह पाउँदा पाउँदै पनि त्यस विनाशकारी वस्तुको उत्पादन तथा प्रयोगमा कुनै कमी आउन सकेको छैन।आणविक हतियारहरू। आणविक हतियारहरूको आविष्कारपछि कुनै पनि सैनिक भिडन्तविना नै पूरै शहरलाई केही सेकण्डभित्रै ध्वस्त गर्न सकिने भयो। उदाहरणका लागि, १९४५ मा हिरोशिमा र नागासाकीमा बम खसालेपछि भएको भयंकर विनाशलाई विचार गर्नुहोस्। केही मानिसहरू प्रचण्ड प्रकाशले गर्दा अन्धो भए। अरूचाहिं त्यसको विकिरणले गर्दा बिरामी भए। थुप्रै मानिसहरू त्यसको आगो र तापले गर्दा भष्म भए। यी दुवै शहरमा जम्माजम्मी ३,००,००० मानिसहरू मारिएको अनुमान गरिएको छ!
पुरानै तरिकामा युद्ध लडिएको भए अझ बढी मानिस मारिने थिए तर यसरी बमहरू खसाल्दा भने थोरै संख्यामा मानिसहरूको मृत्यु भयो भनेर कसै कसैले दाबी गर्लान्। तर जे होस्, त्यति धेरै मानिसको ज्यान गएकोले स्तब्ध भएका कोही कोहीले यस्तो डरलाग्दो हतियारलाई विश्वव्यापी तवरमा नियन्त्रण गर्न आवाज उठाउँदै आएका छन्। साँच्चै भन्ने हो भने, मानिसले आफैलाई नाश गर्ने क्षमता विकास गरिसकेका छन् भनेर धेरैजसो डराइरहेका छन्।
के आणविक हतियारहरूको विकासले शान्ति सम्भव तुल्याएको छ? कसै कसैले सम्भव तुल्याएको छ भन्छन्। त्यस्ता
शक्तिशाली हतियारहरू बितेको आधा शताब्दीभरि प्रयोग नभएको तथ्यलाई तिनीहरू औंल्याउँछन्। तैपनि, ठूलो मात्रामा क्षति पुऱ्याउनसक्ने हतियारहरूको प्रयोगले युद्धलाई पूर्णतया नामेट पार्नेछ भन्ने नोबेलको विश्वास सत्य साबित भएको छैन किनभने अन्य सामान्य हतियारहरू प्रयोग हुन बन्द भएका छैनन्। साथै, आणविक नीतिको समितिअनुसार हजारौं आणविक हतियारहरू कुनै पनि बेला विस्फोटन गर्न तयारी अवस्थामा छन्। अनि आतंकवादले उग्र रूप लिइरहेको युगमा कुनै गलत व्यक्तिको हातमा यस्तो आणविक हतियार बनाउने पदार्थहरू पऱ्यो भने के हुने होला भन्ने त्रास थुप्रैको मनमा छ। “सही” व्यक्तिकै हातमा परे तापनि एउटा सानो दुर्घटना भएको खण्डमा आणविक विनाश हुन सक्छ भन्ने कुरासमेत ठूलो चिन्ताको विषय हो। स्पष्टतया, यी विनाशकारी हतियारहरूलाई विचार गर्ने हो भने नोबेलले परिकल्पना गरेको शान्ति यस्तो पटक्कै थिएन।जैविक तथा रासायनिक हतियारहरू। जीवाणुहरूको प्रयोग गरेर बनाइने हतियारहरूमा एन्थ्रेक्सजस्ता घातक ब्याक्टेरिया वा बिफर ल्याउने भाइरसको प्रयोग पनि समावेश छ। बिफर यसकारणले अझ डरलाग्दो छ किनभने यो एकदमै छिटो सर्ने सरूवा रोग हो। त्यस्तै गरी विषालु ग्याँसजस्ता रासायनिक हतियारको डर पनि छ। यी विषालु तत्त्वहरू विभिन्न रूपमा पाइन्छन् अनि धेरै दशकअघि देखि यसको प्रयोगमा प्रतिबन्ध लगाइए तापनि त्यसको प्रयोग भने रोकिएको छैन।
के यस्ता भयानक हतियारहरू तथा त्यसको आतंकले गर्दा मानिसहरूले नोबेलले पूर्वानुमान गरेजस्तै “त्रासबाट भएभित भएर पछि हट्नेछन् र सबै सैनिक संगठनहरू विघटन हुनेछन्” भन्ने कुरा सही साबित भएको छ त? त्यसको विपरीत, कुनै दिन सिकारु व्यक्तिहरूबाटै यस्ता हतियारहरूको प्रयोग हुन सक्छन् भन्ने डर मात्र बढेको छ। एक शताब्दीअघि सं.रा.अ. हातहतियार नियन्त्रण तथा निश्शस्त्रीकरण निकायका निर्देशकले
यसो भने: “रासायनिक हतियारहरू जसले पनि जहाँ पनि बनाउन सक्छ र यसको लागि उच्च माध्यामिक विद्यालयमा पढ्ने रसायनशास्त्रसम्बन्धी ज्ञान पर्याप्त छ।”बीसौं शताब्दी अरू कुनै युगभन्दा बढी विध्वंशकारी युद्धहरू भएको समय भनेर चिनिन्छ भन्नुमा कुनै शंकै छैन। अहिले २१ औं शताब्दीको शुरुतिर पनि शान्ति पाउने आशा त्यति साकार होला जस्तो देखिंदैन। अझ विशेष गरी २००१ को सेप्टेम्बर ११ मा न्यु योर्क शहर र वासिंङटन डि.सी.-मा भएको आतंककारी आक्रमणपछि त यो केवल एउटा दृष्टिभ्रम मात्र भएको छ। “प्रविधिको सन्तुलन बिग्रेर दुष्ट व्यक्तिहरू पो शक्तिशाली हुने होइन भनेर सोध्ने आँट कसैसित पनि छैन” भनेर न्युजवीक पत्रिकामा स्टिभन लेवी लेख्छन्। तिनी अझ यसो भन्छन्: “त्यस्तो परिस्थितिलाई कसरी नियन्त्रण गर्ने भनेर कसलाई थाह छ र? मानिसहरू आफ्नो दृष्टिकोणमा उन्नति गरेजस्तो लागेका कुराहरूको एक एक अभिलेख राख्छन् तर त्यसलाई राम्ररी नियाल्ने काम भने पछि मात्र हुन्छ। अपत्यारिलो देखिने कुरालाई पत्याउन अस्वीकार गरेर हामी झनै त्यस्तो विध्वंश हुने परिस्थितिको सिर्जना गरिरहेका हुन्छौं।”
तसर्थ इतिहासले अहिलेसम्म हामीलाई यस्ता खतरनाक विस्फोटक पदार्थहरू तथा सांघातिक हतियारहरूको आविष्कारले यस संसारमा शान्ति ल्याएको छैन भन्ने कुरा इतिहासमा स्पष्ट छ। उसोभए के विश्वशान्ति सपना मात्र हो त? (g02 5/8)
[पृष्ठ ८-मा भएको पेटी/चित्रहरू]
नाइट्रोग्लिसरीनलाई नियन्त्रणमा राख्ने
इटालेली रसायन शास्त्री अस्कान्यो सोब्रेरोले १८४६ मा भारी तेलको विस्फोटक तरल पदार्थ नाइट्रोग्लिसरीन पत्ता लगाए। त्यो पदार्थ एकदमै विनाशकारी साबित भयो। यसको विस्फोटले गर्दा फुटेर निस्केका सिसाका टुक्राहरूले सोब्रेरोको अनुहार छियाछिया पाऱ्यो र अन्ततः तिनले यस पदार्थसम्बन्धी काम गर्नै छाडे। यसबाहेक, त्यस तरल पदार्थको एउटा समस्यालाई सोब्रेरोले समाधान गर्नै सकेनन्: यसलाई खन्याएर घनले ठोकेको खण्डमा घनले लागेको अंशमात्र विस्फोट हुन्थ्यो र बाँकी जम्मै जस्ताको तस्तै रहन्थ्यो।
एउटा विस्फोटक पदार्थ थोरै मात्रामा प्रयोग गरेर अर्को विस्फोटक पदार्थको विशाल मात्रालाई पड्काउन सकिने वस्तुको आविष्कार गरेपछि नोबेलले यस पदार्थको रहस्य सुल्झाए। त्यसपछि नोबेलले १८६५ मा विस्फोटक ढकनी भनिने विस्फोटक पारो हालिने सानो बट्टालाई नाइट्रोग्लिसरीन राखिएको भाँडोमा हाली त्यसलाई पगालेपछि यसबारे राम्रोसित बुझे।
तथापि, नाइट्रोग्लिसरीनसित काम गर्नु अझैपनि खतरनाक थियो। उदाहरणको लागि, सन् १८६४ मा स्टकहोमबाहिर नोबेलकै कारखानामा विस्फोटन हुँदा नोबेलकै कान्छो भाइ एमिललगायत पाँच जना मानिसको मृत्यु भयो। जर्मनीको क्रुमेलस्थित नोबेलको कारखानामा दुईपल्ट भएको विस्फोटनले गर्दा ध्वस्त भयो। त्यसपछि पनि मानिसहरूले त्यस तरल पदार्थलाई बत्ती बाल्न, जुत्तामा पालिस लगाउन वा गाडीको पाङ्ग्रामा तेलको रूपमा प्रयोग गर्न छोडेनन् तर गम्भीर परिणामहरू भोग्नुपऱ्यो। पहाडहरू पड्काउँदा पनि बढी भएका तेलहरू चिराहरू भित्र पसेर पछि दुर्घटनाहरू हुनपुग्यो।
नोबेलले पछि १८६७ मा नाइट्रोग्लिसरीनमा अविस्फोटक तथा सोसनीय पदार्थ कीजेलगुर मिसाएर तेलबाट ठोस पदार्थ बनाए। नोबेलले युनानीमा “शक्ति” अर्थ लाग्ने डाइनामिज भन्ने शब्दबाट डाइनामाइट नाउँ बनाए। नोबेलले पछि त्योभन्दा पनि उच्च प्रविधियुक्त विस्फोटक पदार्थहरू विकास गरे तापनि डाइनामाइटलाई तिनको सबैभन्दा महत्त्वपूर्ण आविष्कारको रूपमा लिइन्छ।
हो, नोबेलले बनाएका विस्फोटक पदार्थहरू युद्धमा मात्र प्रयोग भएका छैनन्। उदाहरणको लागि, सेन्ट गोट्हार्ड सुरुङको निर्माणमा (१८७२-८२), न्यु योर्कको इस्ट रिभरको पानीको सतहमुनि रहेको ढुंगेनी पहाड पड्काउन (१८७६, १८८५) अनि ग्रीसको कोरिन्थ नहर खन्न (१८८१-९३) पनि ती पदार्थहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। जे होस्, डाइनामाइटको आविष्कार भएदेखि यसले विनाश र मृत्युको साधन भनेर तुरुन्तै नाउँ कमायो।
[चित्र]
डाइनामाइटले भरिएको विस्फोटक पदार्थ पड्केर क्षतिग्रस्त भएको कोलम्बियाको प्रहरी चौकी
[स्रोत]
© Reuters NewMedia Inc./CORBIS
[पृष्ठ ४-मा भएको चित्र]
नोबेलको मृत्यु भएको २० वर्ष पनि नपुग्दै प्रथम विश्वयुद्धमा नयाँ किसिमका सांघातिक हतियारहरूको प्रयोग गरियो
[स्रोत]
U.S. National Archives photo
[पृष्ठ ६-मा भएको चित्र]
कम्बोडिया, इराक र अजरबैजानका जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थहरू पड्केर घाइते भएकाहरू
[स्रोत]
UN/DPI Photo 186410C by P.S. Sudhakaran
UN/DPI Photo 158314C by J. Isaac
UN/DPI Photo by Armineh Johannes
[पृष्ठ ६-मा भएको चित्र]
आणविक नीतिको समितिअनुसार आणविक हतियारहरू कुनै पनि बेला विस्फोटन गर्न तयारी अवस्थामा छन्
[स्रोत]
UNITED NATIONS/PHOTO BY SYGMA
[पृष्ठ ७-मा भएको चित्रहरू]
सन् १९९५ मा टोकियोको सबवे स्टेशनमा सारीन ग्याँसको प्रयोग हुँदा विनाशकारी रासायनिक हतियारहरूको व्यापक प्रचारप्रसार भयो
[स्रोत]
Asahi Shimbun/Sipa Press
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
UN/DPI Photo 158198C by J. Isaac