सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बोस्पोरसकी एक्ली “महिला”

बोस्पोरसकी एक्ली “महिला”

बोस्पोरसकी एक्ली “महिला”

टर्कीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

आफ्नो प्रियजन पर्खेर ढोकामा उभिरहेकी आमाजस्तै उनी एक्ली र दुःखी देखिन्छिन्‌ अनि उनी बोस्पोरस स्ट्रेट्‌स मारमारा समुद्रमा फैलिने बिन्दुमा उभिरहेकी सयौं वर्ष भइसक्यो। (मानचित्र हेर्नुहोस्‌।) तीव्र गतिमा बग्ने पानीको धार छेवैको चट्टानमा ठोक्किंदा देखिने कडा लहरहरू जामाको झल्लरजस्तो देखिन्छ। उनको अवलोकन स्थानबाट यी “महिला” अर्थात्‌ मेडन्स टावरले इतिहासको गतिलाई मौन बसेर हेरिरहेको छ।

उनले शताब्दीयौंको दौडान जहाजहरू डुबेको, सेनाहरूको भागदौड, रक्‍तपातपूर्ण विवाद अनि दरबारीय आमोदप्रमोद देखेकी छिन्‌। निस्सन्देह, इस्तानबुलको नाउँ उल्लेख हुने बित्तिकै थुप्रैले यस पुरानो शहरको प्रतीकको रूपमा सजिएको यो धरहरा सम्झन्छन्‌।

यस धरहराले यति धेरै मानिसहरूलाई आकर्षित गर्नुको कारण बताउन गाह्रो छ। हरेक साँझ सूर्य अस्ताउँदा एसियाली किनाराबाट मेडन्स टावरलाई कसै न कसैले टोलाएर हेरिरहेकै हुन्छ र पृष्ठभूमिमा इस्तानबुल शहर देखिन्छ। सायद त्यहाँ उभिरहेको वृद्ध पुरुषले आफ्नो जीवनका घटनाहरू वा अनेकन्‌ आशा बोकेका जवानले भविष्यमा के-के हुने हो भनेर सम्झिरहेका होलान्‌। अथवा आफ्नो प्रियजन गुमाएकी स्त्रीले त्यो धरहरा आफूजस्तै एक्ली छिन्‌ भनिरहेकी होली। त्यस धरहराबारे बारम्बार उल्लेख गर्ने टर्केली कवि सुनेए आकिनले एक चोटि यसो भनेका थिए: “इस्तानबुलको सबैभन्दा नरमाइलो दृश्‍य भनेको मेडन्स टावरबाट हेर्दा हो किनभने त्यहाँबाट मेडन्स टावरको सौन्दर्य देख्न पाइँदैन।”

त्यस धरहराको इतिहास पत्ता लगाउनु सजिलो काम होइन। भनौं भने, बोस्पोरसकी यी “महिला”-को रोचक इतिहासबारे जति धेरै सोच्यो, त्यति नै उनको परम्परा र कथा, एउटा घुम्टोमुनि लुकिरहेकी जस्तो लाग्छ।

टापुको प्रारम्भिक इतिहास

उपलब्ध प्रारम्भिक तथ्य, धरहराबारे नभई यो जुन चट्टानमाथि निर्माण भयो, त्यसबारे पाइन्छ। सा.यु.पू. ४११ मा एथेन्स तथा स्पार्टाबीच भएको युद्धमा बाइजान्टियमले (हाल इस्तानबुल) स्पार्टालाई साथ दियो। तसर्थ, बोस्पोरसको युरोपेली भाग स्पार्टा र एसियाली भाग एथेन्सको अधीनमा पऱ्‍यो। अन्तमा, एथेन्ससित स्पार्टा पराजित भयो तर केही समयको लागि एथेन्सले बाइजान्टियम विरुद्ध कुनै कदम चालेन अनि केवल बोस्पोरस स्ट्रेटमाथि नियन्त्रण जमाउँदै त्यो बाटो हुँदै यात्रा गर्ने जहाजहरूबाट उठ्‌ने कर जम्मा गर्नुमै चित्त बुझायो। भनिन्छ, एथेन्सका सेनापति तथा राजनीतिज्ञ एल्सिबियाडिसले चट्टानमाथि कर संकलन केन्द्र निर्माण गरे। तथापि, त्यतिबेला त्यहाँ कुनै धरहरा भएको तथ्य उल्लेख छैन।

केही समयपछि बाइजान्टिम, एथेन्सको सार्वभौमिकताको अधीनमा भयो। राजा फिलिप द्वितीयबाट खतरा आइपर्ने डरमा एथेन्सले बाइजान्टियममा ४० वटा लडाकू जहाज तैनाथ गरे। त्यस सैन्यदलका नौसेनापति, हारिसले आफ्नी श्रीमतीलाई सँगै लगे तर पछि उनी बिरामी परिन्‌ र क्रिसोपोलिसमा (उस्कुडार) मरिन्‌। नौसेनापति हारिसले आफ्नै श्रीमतीको नाउँमा वेदी निर्माण गरे र त्यही ठाउँमा पछि मेडन्स टावर बनाइयो भन्‍ने कथा छ।

यो धरहरा कसरी अहिलेसम्म रहिरहन सक्यो?

द बुक अफ द मेडन्स टावर-अनुसार चट्टानमाथि पहिलो चोटि धरहराको आकृति बनाइएको म्यानुएल प्रथम कोम्नेनसको (११४३-८०) शासनकालमा थियो जब तोपहरूले सम्पन्‍न किल्लारूपी सानो संरचना निर्माण गरियो।

सन्‌ १४५३ मा इस्तानबुलमाथि विजय हासिल गरेपछि यो सानो किल्ला संरक्षण गरेर सैन्य गतिविधिको लागि प्रयोग गरियो। पछि मारमारा समुद्रतिर फर्केको काठे प्रकाशगृह थपियो। इस्तानबुलमाथि विजय हासिल गरेपछि यस धरहराले मानव इतिहासको थुप्रै रक्‍तपातपूर्ण विवादहरू देख्यो, जस्तै बोस्पोरसमा युद्ध हुँदा तरवारधारी सिपाहीहरू एकअर्कालाई मार्न अघि सरे। बारुदको धूलो र अन्य विष्फोटक पदार्थले भरिएका ढुवानी जहाजहरू एकअर्का विरुद्ध पड्‌काइयो।

वर्षौंको दौडान यस धरहराले भुइँचालो तथा आगलागीको प्रकोप सहनुपऱ्‍यो र १७२० मा आगोले पूरै भस्म भयो। त्यसपछि दामात इब्राहिम पाशाले ढुंगाको धरहरा निर्माण गरे अनि यसमा सिसाको पत्रले छाएको बाटुलो आकार दिए। सन्‌ १८२९ मा हैजाको महामारी हुँदा बिरामीहरूलाई अरू सद्दे मानिसहरूबाट अलग्गै राख्ने अस्पतालको रूपमा यो धरहरा प्रयोग गरियो। त्यसको केही समयपछि १८३२ मा माहमुद द्वितीयको शासनकालमा बृहत्‌ जिर्णोद्वार कार्य गरियो। सन्‌ १८५७ मा लाइटहाउस बोर्डले यो धरहरा आफ्नो नियन्त्रणमा लियो अनि धरहरालाई उपयोगी प्रकाशगृह बनाउने जिम्मा फ्रान्सेली कम्पनीलाई दिइयो र यो १९२० मा पूरा सञ्चालित भयो। यो धरहरा लगभग सय वर्षसम्म प्रकाशगृहको रूपमा प्रयोग भयो।

ओटोम्यानको समयमा यो धरहरा खास गरी राती बाटो देखाउन प्रकाशगृहको रूपमा प्रयोग गरियो; तथापि, हुस्सु लागेको बेला दिउँसो पनि प्रयोग गरियो। हुरीबतास चल्दा स-साना जहाजहरूले यो धरहरामा बाँधेर सुरक्षा खोज्थे ताकि ती छालले हुर्रिने खतरा हुँदैनथ्यो। औपचारिक उत्सवहरूमा धरहराहरूबाट बारुद पड्‌काइन्थ्यो।

कहिलेकाहीं ओटोम्यान दरबारले यो धरहरा अर्कै कामको लागि प्रयोग गर्थ्यो। निर्वासनमा पठाइएका वा मृत्युदण्ड पर्खिरहेका सरकारी अधिकृतहरू आफ्नो लामो यात्रामा जानुअघि वा मार्न पठाइनुअघि यस धरहरामा केही समय बिसाउँथे।

यसको काम परिवर्तन भइरहन्छ

सन्‌ १९२३ पछि यस धरहराको औपचारिक प्रयोग बन्द भयो र प्रकाशगृहको रूपमा मात्रै सीमित गरियो। दोस्रो विश्‍वयुद्धको कठिन समयताका यो धरहरा पुनर्निमाण गरियो अनि यसको भित्री भागलाई कंक्रिटले मजबुत बनाइयो। सन्‌ १९६५ पछि यो धरहरा जलसेनाको जिम्मामा सुम्पियो अनि केही समयको लागि सैनिक सञ्चार केन्द्रको रूपमा चलाइयो। अनि २० औं शताब्दीको पछिल्ला दशकहरूमा बोस्पोरस हुँदै जाने अन्तरराष्ट्रिय जलयात्राको गति तीव्र भयो अनि थुप्रै ठूलठूला जहाजहरूले स्ट्रेट्‌सको यात्रा गरे। ठूलठूला जहाजहरू आउन थालेपछि मेडन्स टावरको शान्त एकलास अन्त भयो। सन्‌ १९८३ पछि टर्किश मारिटाइम अथोरिटीले स्ट्रेट्‌समा जलयात्राको दिशा नियन्त्रण गर्ने बिन्दुको रूपमा प्रयोग गरियो।

सन्‌ १९८९ मात्र के सुरु भएको थियो, एउटा असामान्य समाचारले पुनः एक चोटि सबैको ध्यान बोस्परसकी “महिला”-तिर खिच्यो। एउटा रिपोर्टअनुसार “मेडन्स टावर विषाक्‍त बनाइयो” भन्‍ने शीर्षसमाचार थियो र त्यसमा बताइएअनुसार जहाजमा लाग्ने हानिकारक जीवलाई नाश गर्ने सायानाइड त्यस धरहरामा भण्डार गरिएको थियो। त्यो पहिला नावाश्रयमा राखिन्थ्यो तर त्यो भत्काइएपछि “राख्ने ठाउँ कतै नपाएर” उक्‍त विषादी धरहरामा सञ्चय गरिएको थियो। यसरी बोस्पोरसकी एक्ली “महिला” विषाक्‍त हुन पुगिन्‌। त्यस रिपोर्टले बताएअनुसार अझ खतरनाक कुरा के थियो भने, त्यस सायानाइड ग्यास विस्फोट भयो भने इस्तानबुलमा भयावह अवस्था सृजना हुने थियो। यसबारे प्रेसजगत्‌ र टेलिभिजनमा आठ महिनासम्म पटक पटक बताइएपछि सायानाइडका भाँडाहरू अर्कै ठाउँमा सारियो र यो बल्ल समस्या साम्य भयो।

मे १९९२ मा जवान कविहरूको एउटा समूहले नगरपिताको सहयोगमा त्यस प्रायः प्रायः बिर्सिएको धरहरालाई सांस्कृतिक केन्द्र बनाइयोस्‌ भनी घोषणा गर्नु कुनै अचम्मको कुरा होइन। आखिर, यसले सयौं वर्षसम्म अनगिन्ती कवि तथा लेखकहरूलाई उत्प्रेरणा दिएको थियो। त्यसपछि केही समयसम्म यो धरहरामा गरिएका कला तथा फोटो प्रदर्शनीहरूले व्यस्त देखिन्थ्यो अनि यहाँ थुप्रै सांगीतिक कार्यक्रमहरू गरियो। यो छोटो समयावधिको लागि यस धरहरालाई “साहित्यको सामूहिक भेला” घोषणा गरियो।

अहिले मेडन्स टावर

यो धरहरा आगन्तुकहरूको निम्ति खुला राख्ने उद्देश्‍यले १९९९ मा विस्तृत मर्मत कार्य गरियो। यसको लगत्तै एक वर्षपछि पर्यटक परियोजनाअन्तर्गत रेस्टुराँ र सांस्कृतिक केन्द्रको रूपमा खुला गरिनेछ भन्‍ने घोषणा गरियो। आज त्यहाँ आगन्तुक तथा पर्यटकहरूको लागि रेस्टुराँ, क्याफे र बार, अवलोकन केन्द्र अनि स्मारिका पसल खुला छ। स-साना डुंगाहरूले इस्तानबुलका विभिन्‍न ठाउँहरूबाट चढ्‌न मिल्ने यातायातको प्रबन्ध मिलाएको छ।

एउटा कुरा भने मानिलिनैपर्छ, यी आर्थिक पुनर्स्थापना कार्यहरूलाई थुप्रै मानिसहरूले त्यति स्वागत गरेका छैनन्‌। तैपनि, मेडन्स टावरले आफ्नो रौनक अलिकता पनि गुमाएको छैन। कुनै दिन तपाईं इस्तानबुल पुग्नुभयो भने मेडन्स टावर हेर्न नबिर्सनुहोस्‌। तपाईं इस्तानबुलको एसियाली भागमा अवस्थित बगैंचामा चियाको चुस्की लिंदै बोस्पोरस र मेडन्स टावरको अद्वितीय दृश्‍यको मजा लिन सक्नुहुन्छ। तब, केही क्षणको लागि तपाईंले पनि बोस्पोरसकी यी शालीन “महिला”-को लामो इतिहास सम्झन सक्नुहुन्छ। (g03 3/8)

[पृष्ठ २५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

टर्की

इस्तानबुल

मारमाराको समुद्र

बोस्पोरस स्ट्रेट

ब्ल्याक सी

[पृष्ठ २५-मा भएको चित्र]

लिथोग्राफ, १९ औं शताब्दी

[पृष्ठ २६-मा भएको चित्र]

रेस्टुराँ

[पृष्ठ २६-मा भएको चित्र]

अवलोकन केन्द्र