सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपचारमा सामना गर्नुपर्ने चुनौती

उपचारमा सामना गर्नुपर्ने चुनौती

उपचारमा सामना गर्नुपर्ने चुनौती

“कम खतरा भएको मधुमेह भन्‍ने हुँदैन। सबै नै खतरनाक हुन्छन्‌।”—आन डेली, अमेरिकन डायबेटिज एसोसिएसन।

“तपाईंको रक्‍त परीक्षणमा थुप्रै असामान्य कुराहरू देखियो। तपाईंले तुरुन्तै उपचार सुरु गरिहाल्नुपर्छ।” डाक्टरले यसो भन्दा डेबोरा छाँगोबाट खसे जस्तै भई। “प्रयोगशालामा जाँच्दा कुनै गल्ती भएको हुनुपर्छ भनेर मैले रातभरि सोचिरहें” उनी भन्छिन्‌। “मलाई यस्तो रोग लागेको कुरा स्वीकार्न मेरो मनले मान्दै मानेन।”

थुप्रै मानिसहरूजस्तै डेबोरा पनि आफू स्वस्थ छु भन्ठान्थिन्‌ र केही स्वास्थ्य समस्याहरू देखा पर्दा पनि उनले केही वास्तै गरिनन्‌। उनलाई असाध्यै तिर्खा लाग्थ्यो तर एन्टिहिस्टामाइन औषधी खाइरहेकीले त्यसो भएको होला भन्ठानिन्‌। धेरै पानी पिएकीले छिनछिनमा पिसाब फेर्नुपरेको होला जस्तो उनलाई लाग्थ्यो। अनि थकानको कुरा गर्ने हो भने, लखतरान नहुने जागिरे आमा को होला र?

तर रक्‍त परीक्षणले देखाएअनुसार मधुमेह नै यसको लागि दोषी थियो। डेबोरालाई आफू मधुमेह रोगी भएको कुरा स्वीकार्न गाह्रो भयो। उनी भन्छिन्‌, “मैले आफ्नो रोगबारे कसैलाई भनिनँ। राति सबै परिवार मस्त निदाइसकेपछि अँध्यारोमा ट्‌वाल्ल परेर म रोइरहन्थें।” आफूलाई मधुमेह भएको कुरा थाह पाएपछि डेबोराजस्तै थुप्रै मानिसहरूले निराशा तथा रिसजस्ता भावनाहरू महसुस गर्न थाल्छन्‌। करेन भन्छिन्‌, “मैले वास्तविकता स्वीकार्नै सकिनँ र धेरै आँसु बगाएँ।”

आफूमाथि कस्तो आपद्‌ आइपरेको भन्ठान्दै धेरैले यस्तै प्रतिक्रिया व्यक्‍त गर्छन्‌। तथापि, सहयोग पाएको खण्डमा मधुमेह भएकाहरूले छाँटकाँट गर्न सक्छन्‌। “मेरो उपचारमा संलग्न परिचारिकाले मलाई आफ्नो अवस्था स्वीकार्न मदत गरिन्‌,” भनी करेन बताउँछिन्‌। “आँसु झार्नु असामान्य होइन भनेर उनले मलाई सम्झाइन्‌। यसरी आफ्नो भावना पोखाउँदा छाँटकाँट गर्न सजिलो भयो।”

किन गम्भीर

मधुमेहलाई “जीवनको इन्जिनकै बिरामी” भनिन्छ र यसो भन्‍नु जायज हो। शरीरले ग्लुकोज प्रशोधन गर्न नसक्दा थुप्रै शारीरिक प्रक्रियाहरू बन्द भएर कहिलेकाहीं जीवनघातक परिणाम हुन सक्छ। डा. हार्भी काट्‌जेफ यसो भन्छन्‌, “मधुमेह हुँदैमा मानिसहरूको मृत्यु हुँदैन तर पछि हुने अन्य प्रतिकूल अवस्थाका कारण मृत्यु हुन्छ। हामी ती प्रतिकूल अवस्थाको रोकथाम गर्न सिपालु छौं तर [ती] भइसकेपछि भने उपचार गर्न त्यति सिपालु छैनौं।” a

के मधुमेह रोगीहरूका लागि कुनै आशा छ? छ, तर तिनीहरूले यसको गम्भीरता बुझेर डाक्टरले भनेअनुसारै उपचार गर्नुपर्छ। b

भोजन र व्यायाम

टाइप १ मधुमेह रोकथाम गर्न नसकिए तापनि वैज्ञानिकहरूले आनुवंशिक खतराको संकेतबारे अध्ययन गरेर रोग प्रतिरोधात्मक प्रणालीमा आक्रमण हुन नदिने तरिकाहरू खोज्दै छन्‌। (पृष्ठ ८ मा “ग्लुकोजको भूमिका” भन्‍ने पेटी हेर्नुहोस्‌।) “टाइप २ को अवस्था भने अलि आशाजनक छ” भनी डायबिटिज—केरिङ फर योर इमोसन्स्‌ एज वेल एज योर हेल्थ भन्‍ने पुस्तक बताउँछ। “आनुवंशिक झुकाव भएका थुप्रै व्यक्‍तिहरूले समेत सन्तुलित भोजन खानुका साथै नियमित तवरमा व्यायाम गरेर शरीरलाई स्वस्थ राख्न तथा वजन नियन्त्रित राखेर यस रोगका लक्षणहरूबाट बच्न सक्छन्‌।” c

व्यायामको महत्त्वलाई जोड दिंदै जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसन-ले महिलाहरू समावेश भएको एउटा ठूलो अध्ययनबारे रिपोर्ट गऱ्‍यो। उक्‍त अध्ययनले देखाएअनुसार छोटो समय मात्र व्यायाम गर्दा पनि [शरीरका कोषहरूले] ग्लुकोजको मात्रा सोस्ने प्रक्रियालाई २४ घण्टाले बढाउँछ।” यसकारण उक्‍त रिपोर्टले निष्कर्षमा बताएअनुसार “महिलाहरूमा देखिने टाइप २ मधुमेहलाई हिंड्‌ने र बढी बल प्रयोग हुने गतिविधिले निकै कम गरेको पाइयो।” अनुसन्धाताहरूले सकेसम्म दिनहुँ, नभए हप्तामा सकेसम्म धेरै चोटि, कम्तीमा ३० मिनेट जति व्यायाम गर्ने सुझाव दिन्छन्‌। यसमा हिंड्‌नेजस्ता सामान्य कुराहरू समावेश गर्न सकिन्छ र अमेरिकन डायबिटिज एसोसिएसन कम्प्लीट गाइट टु डायबिटिज-ले बताएअनुसार हिंड्‌नु “सायद सबैभन्दा उत्तम, सुरक्षित र कम खर्चिलो व्यायाम हो।”

तथापि, मधुमेह रोगीहरूको व्यायाम, पेसेवरको निरीक्षणमा गरिनुपर्छ। एउटा कारण हो, मधुमेहले रक्‍त नलीको प्रणाली र स्नायुहरूलाई क्षति पुऱ्‍याउन सक्छ र फलस्वरूप रक्‍तसञ्चार अनि स्पर्शको अनुभूतिलाई असर गर्न सक्छ। यसर्थ, खुट्टामा लागेको सानो घाउ याद भएन भने संक्रमित भएर ठूलो हुन सक्छ अनि तुरुन्तै उपचार गरिएन भने खुट्टै काट्‌नुपर्ने समेत हुन सक्छ। d

तैपनि, व्यायाम गर्ने तालिका बनाउँदा मधुमेहलाई नियन्त्रणमा राख्न मदत पुग्न सक्छ। ए डि ए कम्प्लीट गाइड-अनुसार “अनुसन्धाताहरूले नियमित व्यायामका लाभहरूबारे जति धेरै अध्ययन गर्छन्‌, त्यति राम्रा जानकारीहरू प्राप्त गर्दैछन्‌।”

इन्सुलिन उपचार

मधुमेह भएका थुप्रै व्यक्‍तिहरूले भोजन र व्यायाम कार्यक्रमको अलावा दिनहुँ ग्लुकोजको मात्रा जाँच्नुका साथै दिनमा धेरै पटक इन्सुलिनको सुई लिनुपर्छ। भोजन र व्यायामको राम्रो तालिकाले गर्दा स्वास्थ्यमा सुधार भएपछि कोही-कोही टाइप २ मधुमेह रोगीहरूले केही समयको लागि इन्सुलिन उपचारविधि रोक्न सकेका छन्‌। e टाइप १ मधुमेह रोगी, करेनले इन्सुलिनको प्रभावकारितालाई व्यायामले अझ राम्रो बनाएको पाइन्‌। फलस्वरूप, उनले इन्सुलिनको दैनिक मात्रामा २० प्रतिशत कटौती गर्न सकेकी छिन्‌।

तथापि, इन्सुलिन लिनुपर्छ भने रोगीले निरुत्साहित महसुस गर्नुपर्ने कुनै कारण छैन। “इन्सुलिन लिन पर्नुको मतलब तपाईं असफल हुनुभयो भन्‍ने होइन” भनी थुप्रै मधुमेह रोगीहरूको हेरचाह गर्ने योग्यता प्राप्त नर्स मेरी आन भन्छिन्‌। “तपाईंलाई जुनसुकै प्रकारको मधुमेह भए तापनि तपाईंले शरीरमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नुभयो भने पछि अन्य स्वास्थ्य समस्याहरू कम गर्न सक्नुहुन्छ।” वास्तवमा भन्‍ने हो भने, हालैको एउटा अध्ययनले देखाएअनुसार रगतमा चिनीको मात्रालाई कडा नियन्त्रणमा राख्नेहरूमा “मधुमेहको कारण हुने आँखा, मृगौला र स्नायु रोगहरू एकदमै कम भएको पाइयो।” उदाहरणका लागि, आँखाको दृष्टि विकारको (रेटिनोपाथी) खतरा ७६ प्रतिशतले कम भयो! टाइप २ मधुमेह रोगीहरूले पनि रगतमा चिनीको आवश्‍यक मात्रालाई थपघट हुन नदिंदा त्यस्तै लाभहरू उठाए।

इन्सुलिन उपचार सजिलो र कम पीडादायी बनाउन सबैभन्दा बढी प्रयोग हुने सिरिंज र इन्सुलिन पेनमा असाध्यै मसिनो सियो राखिएको हुन्छ ताकि पीडा सकेसम्म कम होस्‌। मेरी आन भन्छिन्‌: “सबैभन्दा पहिलो सुई प्राय अत्यन्तै पीडादायी हुन्छ। त्यसपछि रोगीहरूले कुनै असुविधा महसुस नगरेको कुरा बताउँछन्‌।” अन्य प्रकारका सुईहरूमध्ये केही हुन्‌, स्वचालित सुई जसले छालामा घोच्दा कुनै पीडा हुँदैन, जेट सुई जुन अत्यन्तै मसिनो सियोद्वारा छालाभित्र छिराइन्छ अनि इन्सुलिन छिराइने सानो नली जुन दुई तीन दिनपछि मात्र निकाल्न सकिन्छ। खल्तीमा राख्न मिल्ने पेजर जत्रो साइजको इन्सुलिन पम्प पनि आजभोलि निकै लोकप्रिय हुन थालेको छ। यो प्रोग्रामयुक्‍त उपकरणले एउटा सानो नलीद्वारा शरीरको आवश्‍यकताअनुसार इन्सुलिन दिन्छ अनि यसले गर्दा शरीरले जति चाहिने हो त्यति मात्र इन्सुलिन पाउँछ र यो प्रयोग गर्न पनि सजिलो हुन्छ।

अझ बढी सिकिरहनुहोस्‌

सबै कुराहरू विचार गरिसकेपछि पनि मधुमेहको लागि सबैभन्दा प्रभावकारी उपचार यही हो भनेर तोक्न सकिंदैन। कुन उपचार गर्ने हो भनी प्रत्येक व्यक्‍तिविशेषले व्यक्‍तिगत निर्णय गर्नुअघि थुप्रै कुराहरूलाई समेटेर सोच्नुपर्ने हुन्छ। मेरी आन भन्छिन्‌: “तपाईं डाक्टरको निगरानीमा हुनुभए तापनि अन्तिम निर्णय तपाईंकै हो।” वास्तवमा, डायबिटिज केयर नामक पत्रिका यसो भन्छ: “आफ्नो स्वास्थ्य नियन्त्रणमा राख्ने व्यवस्थित तरिकाबारे कुनै शिक्षा नलिई मधुमेहको उपचार गर्नु, त्यत्ति स्तरीय नहुनुका साथै उचित स्वास्थ्य स्याहार हुँदैन।”

मधुमेह रोगीहरूले आफ्नो रोगबारे जति धेरै सिक्छन्‌, तिनीहरू आफ्नो स्वास्थ्यको हेरचाह राम्रोसँग गर्न अझ बढी सक्षम हुन्छन्‌। साथै तिनीहरूको लामो, स्वास्थ्यकर जीवन बिताउने प्रत्याशा पनि प्रबल हुन्छ। तथापि, प्रभावकारी शिक्षाको लागि धैर्य चाहिन्छ। डायबिटिज—केरिङ फर योर इमोशन्स एज वेल एज योर हेल्थ पुस्तक यसो भन्छ: “तपाईंले सबै कुरा एकै चोटि सिक्ने प्रयास गर्नुभयो भने तपाईं रनभुल्लमा पर्नुहुनेछ र प्राप्त जानकारी प्रभावकारी ढंगमा प्रयोग गर्न सक्नुहुनेछैन। यसबाहेक, तपाईंलाई चाहिने प्रायजसो उपयोगी जानकारी पुस्तक वा पर्चाहरूमा पाउन सक्नुहुन्‍न। तपाईंको अवस्थाअनुसार रगतमा चिनीको मात्रा कत्तिको तलमाथि हुन्छ . . . त्यसमा निर्भर हुन्छ। समयको दौडान परिस्थितिको उतारचढावबाट तपाईंले सिक्नुहुनेछ।”

उदाहरणका लागि, तनावले तपाईंको शरीरमा चिनीको मात्रा बढाउने हुँदा शरीरले कस्तो प्रतिक्रिया देखाउँछ भनेर होसियारीपूर्वक निगरानी गर्नुभएको खण्डमा आफ्नो रोगबारे अझ बढी सिक्न सक्नुहुन्छ। केन भन्छन्‌: “म मधुमेह रोगी भएको ५० वर्ष भइसक्यो अनि मेरो शरीरले कस्तो संकेत दिंदैछ भनेर मलाई राम्ररी थाह छ!” तिनको शरीरले दिने संकेतहरू “सुन्दा” परिणाम राम्रो भएको छ किनभने तिनको उमेर अहिले ७० वर्ष नाघिसके तापनि पूर्ण-समय कार्य गर्दैछन्‌!

परिवारले दिने मदतको महत्त्व

मधुमेह रोगीको उपचारमा परिवारको टेवाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। भनौं भने, एउटा सन्दर्भ स्रोतले टिप्पणी गरेअनुसार बालबालिका र जवान वयस्कहरूको मधुमेहलाई नियन्त्रणमा राख्ने सन्दर्भमा “परिवारले एकसाथ समय बिताउनुको महत्त्वले निर्णायक भूमिका खेल्छ।”

परिवारका सदस्यहरूले मधुमेहबारे जानकारी हासिल गर्न बिरामीसित आलोपालो डाक्टरकहाँ सँगै जान सक्छन्‌। ज्ञान पाएपछि तिनीहरूले सहयोग गर्न सक्छन्‌ अनि लक्षणहरू चिनेर त्यसअनुसार कदम चाल्न सक्छन्‌। टेड, जसकी श्रीमतीलाई चार वर्षको उमेरदेखि टाइप १ डायबिटिज भएको थियो, तिनी यसो भन्छन्‌: “बार्बराको रगतमा चिनीको मात्रा एकदमै कम भएको म थाह पाइहाल्छु। उनी कुरा गर्दागर्दै बीचैमा चुप लाग्छिन्‌। खलखली पसिना बगाउँछिन्‌ अनि विनाकारण रिसाउँछिन्‌। अनि केही समयपछि फेरि शान्त हुन्छिन्‌।”

त्यसरी नै, केनकी श्रीमती क्याथ्रीनले केन पहेंलो र चिढिने भएको महसुस गर्छिन्‌ अनि यस्तो आनीबानी देखेपछि उनले केनलाई एउटा सजिलो हिसाब गर्न लगाउँछिन्‌। केन अलमल्ल परेको देखेपछि क्याथ्रीनलाई अब केनलाई कुनै पनि निर्णय गर्न दिनु हुँदैन अनि समस्या आफ्नो नियन्त्रणमा लिन तुरुन्तै कदम चाल्नुपर्छ भनेर थाह हुन्छ। आफूले प्रेम र भरोसा गर्ने विवाहित जोडीलाई आफ्नो रोगबारे राम्ररी थाह भएकोमा केन र बार्बरा दुवै कृतज्ञ छन्‌। f

परिवारका मायालु सदस्यहरूले सहयोग गर्ने, दयालु अनि धीरजी हुने प्रयास गर्नुपर्छ। यी गुणहरूले बिरामी व्यक्‍तिलाई जीवनका चुनौतीहरू सामना गर्न अनि रोगको दौडान राम्रो प्रभावसमेत पार्न सक्छ। करेनको श्रीमान्‌ले उनलाई सधैं माया गरिरहने आश्‍वास दिए अनि यसले ठूलो फरक पाऱ्‍यो। करेन बताउँछिन्‌: “निजेलले मलाई भन्‍नुभयो, “मानिसहरूलाई बाँच्न खाना र पानी चाहिन्छ, त्यसरी नै तिमीलाई पनि खाना र पानी अनि अलिकता इन्सुलिन चाहिन्छ।” मलाई यस्तै न्यानो तर व्यावहारिक शब्दहरू नै चाहिएको थियो।”

रगतमा चिनीको मात्रा तलमाथि हुँदा मधुमेह रोगीहरूको मनस्थिति परिवर्तन हुन सक्छ भनेर परिवार तथा साथीहरूले बुझ्नुपर्छ। एउटी महिला यसो भन्छिन्‌, “मेरो रगतमा चिनीको मात्रा एकदमै कम हुँदा म असाध्यै उदास, सजिलै रिसाउने अनि दिक्क हुन्छु। अनि आफूमा यस्ता भावनाहरू जागेकोमा बच्चाजस्तो लाग्छ। तर मैले नियन्त्रण गर्न खोज्दाखोज्दै ममा यस्ता भावना आउनुको कारण अरूले बुझिदिंदा मलाई ढुक्क लाग्छ।”

विशेष गरी, साथी तथा परिवारका सदस्यहरूको साथ पाएको खण्डमा मधुमेह रोगीहरू त्यसलाई नियन्त्रणमा राख्न सफल हुन सक्छन्‌। बाइबल सिद्धान्तहरूले पनि मदत गर्न सक्छ। कसरी? (g03 5/08)

[फुटनोटहरु]

a प्रतिकूल अवस्थाहरूमा हृदयसम्बन्धी रोग, हृदयघात, मृगौलाले राम्ररी काम गर्न नसक्ने, छेउछाउका नसा तथा धमनीहरूमा गडबडी अनि नसाको क्षतिजस्ता खतराहरू देखा पर्छन्‌। पैतालामा चाहिने जति रगत नपुग्दा घाउ हुन सक्छ अनि गम्भीर अवस्थामा क्षतिग्रस्त गोडा काट्‌नुपर्ने समेत हुन्छ। वयस्कहरूमा अन्धोपन हुनुको प्रमुख कारण मधुमेह पनि हो।

b ब्यूँझनुहोस्‌!-ले कुनै एउटा खास उपचारको समर्थन गर्दैन। आफूलाई मधुमेह लागेको शंका भएका व्यक्‍तिहरूले यो रोगको रोकथाम र हेरचाह गर्न अनुभवी डाक्टरसँग सल्लाह लिनुपर्छ।

c हिपमा भन्दा करङको मुनि बोसोको मात्रा धेरै हुनेहरूलाई बढी खतरा हुन्छ।

d धूम्रपान गर्नेहरूलाई यसको खतरा अझ बढी हुन्छ किनभने तिनीहरूको बानीले मुटु र रक्‍तसञ्चार प्रणालीलाई बिगार्छ अनि रक्‍तनलीहरूलाई सानो बनाउँछ। एउटा सन्दर्भ सामग्रीअनुसार हातखुट्टा काट्‌नुपर्ने अवस्थासम्म पुगेका मधुमेह रोगीहरूमध्ये ९५ प्रतिशत धूम्रपान गर्नेहरू थिए।

e कोही-कोहीलाई खाने औषधीले पनि मदत गऱ्‍यो। यसमा प्यांक्रियाजलाई अझ बढी इन्सुलिन उत्पादन गर्न लगाउने, रगतमा चिनीको मात्रा कम गर्ने अनि अरू कतिपयले भने इन्सुलिन प्रतिरोधलाई कम गर्ने औषधीहरू खाने गर्छन्‌। (टाइप १ मधुमेह रोगीहरूलाई अक्सर खाने औषधीहरू दिइँदैन।) हाल, खाने इन्सुलिन छैन किनभने पाचन क्रिया हुँदा यो प्रोटिन रगतमा मिसिनुअघि नै टुक्रिन्छ। इन्सुलिन उपचार गर्ने वा औषधी खाए तापनि व्यायाम र सन्तुलित भोजनको महत्त्व यथावतै हुन्छ।

f चिकित्सा अधिकारीहरूले मधुमेह रोगीहरूलाई आफूसित सधैं परिचयपत्र बोक्न र कुनै विशेष चिनारी भएको गहना लगाउने सुझाव दिन्छन्‌। आकस्मिक अवस्थामा यस्ता सामानहरूले ज्यान जोगाउन सक्छ। उदाहरणका लागि, शरीरमा चिनीको मात्रा कम हुनुलाई अर्कै प्रकारको स्वास्थ्य समस्या वा मद्यपानको समस्यासमेत ठानिन सक्छ।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

के यो रोग स-साना केटाकेटीलाई पनि लाग्छ?

मधुमेह “केटाकेटीहरूको रोग हुँदैछ” भनी डा. आर्थर रुबेनस्टाइन बताउँछन्‌, तिनी न्यु योर्कको माउन्ट साइनाइ स्कूल अफ मेडिसिनका प्रमुख एन्डोक्राइनोलोजिस्ट र डीन हुन्‌। पहिलेको तुलनामा कम उमेरका मानिसहरूलाई मधुमेह रोग लागिरहेको छ। मधुमेह विशेषज्ञ डा. रविन एस. गोल्याण्ड टाइप २ मधुमेहबारे यसो भन्छिन्‌: “दस वर्षअघि हामी चिकित्सा विद्यार्थीहरूलाई, यस प्रकारको रोग तपाईंहरूले ४० वर्षभन्दा कम उमेरका मानिसहरूमा देख्नुहुन्‍न भनेर सिकाउँथ्यौं।” “अहिले हामी १० वर्षभन्दा कम उमेरका केटाकेटीलाई पनि यो रोग लागिरहेको देख्छौं।”

जवानहरूमा मधुमेह रोगीहरूको संख्यामा वृद्धि हुनुको कारण के हो? कहिलेकाहीं अनुवंशले असर गर्छ। तर तौल तथा वातावरणले पनि फरक पार्न सक्छ। गत दुई दशकमा मोटा बालबालिकाहरूको संख्या दोब्बर भएको छ। यसो हुनुको कारण के हो? “भोजनसम्बन्धी बानी र अन्य क्रियाकलापहरूमा पनि गत २० वर्षमा निकै परिवर्तन भइरहेको छ,” भनी रोग नियन्त्रण तथा रोकथाम, सं.रा.अ. केन्द्रका डा. विलियम डेट्‌स भन्छन्‌। “यसमा प्रायजसो घरबाहिरको खाना खाने; बिहानको नास्ता नखाने; हल्का पेय पदार्थ तथा बजारी खानाको बढी खपत; स्कूलहरूमा [शारीरिक शिक्षाको] कमी; स्कूलमा आराम गर्ने समयको कटौतीजस्ता कुराहरू पर्छन्‌।”

मधुमेह रोगी भइसकेपछि यसको निवारण गर्न सकिंदैन। त्यसकारण एउटी किशोरी जो मधुमेह रोगी हुन्‌, तिनको सल्लाह सुन्‍नु बुद्धिमानी हुन्छ। तिनी यसो भन्छिन्‌: “बजारी खानाबाट टाढै बस्नुहोस्‌ अनि स्वस्थ रहनुहोस्‌।”

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

ग्लुकोजको भूमिका

ग्लुकोजले शरीरका खरबौं कोषहरूलाई शक्‍ति प्रदान गर्छ। तथापि, कोषहरूमा प्रवेश गर्न चाहिने “साँचो” भनेको इन्सुलिन हो र यो प्यांक्रियाजले निकाल्ने रासायनिक पदार्थ हो। टाइप १ मधुमेह हुँदा शरीरले इन्सुलिन पटक्कै निकाल्दैन। टाइप २ मधुमेहमा भने शरीरले इन्सुलिन निकाल्छ तर पर्याप्त हुँदैन। g यसबाहेक, कोषहरू इन्सुलिनलाई भित्र छिर्न दिन हिचकिचाउँछन्‌ जुन अवस्थालाई इन्सुलिन प्रतिरोध भनिन्छ। दुवै प्रकारको मधुमेहमा परिणाम एउटै हुन्छ: भोका कोषहरू अनि रगतमा चिनीको घातक मात्रा।

टाइप १ मधुमेह भएको मानिसको रोग प्रतिरोधात्मक प्रणालीले इन्सुलिन उत्पादन गर्ने प्यांक्रियाजको बिटा कोषहरूलाई आक्रमण गर्छ। यसर्थ, टाइप १ मधुमेह भनेको रोग प्रतिरोधात्मक प्रणालीको रोग हो र यसलाई कहिलेकाहीं रोग प्रतिरोधात्मक प्रणालीले गर्दा हुने रोग भनिन्छ। प्रतिरोधात्मक प्रतिक्रिया गराउने तत्त्वहरूमा जीवाणु, विषाक्‍त रासायनिक पदार्थ अनि कुनै-कुनै प्रकारका औषधीहरू पर्छन्‌। आनुवंशिक संरचनाले गर्दा पनि यो रोग लागेको हुन सक्छ किनभने टाइप १ मधुमेह अक्सर कुनै-कुनै परिवारमा पाइन्छ र ककेसियाली मूलका मानिसहरूमा बढी देखिएको छ।

टाइप २ मधुमेहमा आनुवंशिक तत्त्व अझ प्रबल हुन्छ र गैर-ककेसियालीहरूमा बढी देखिन्छ। अस्ट्रेलियाली आदिवासी तथा रैथाने अमेरिकीहरू यो रोगबाट बढी प्रभावित छन्‌ र यी रैथाने अमेरिकीहरूमा टाइप २ मधुमेह संसारभरिमै सबैभन्दा धेरै पाइएको छ। अनुसन्धाताहरूले अनुवंश र मोटोपनाबीचको सम्बन्ध अनि अत्यधिक परिमाणमा बोसोले कसरी आनुवंशिक झुकाव भएका मानिसहरूमा इन्सुलिन प्रतिरोध गराउँछ भनी अध्ययन गरिरहेका छन्‌। h टाइप १ जस्तो नभई टाइप २ अक्सर ४० वर्ष नाघिसकेका मानिसहरूमा देखा पर्छ।

[फुटनोटहरू]

g लगभग ९० प्रतिशत जति मधुमेह रोगीहरूलाई टाइप २ भएको पाइन्छ। पहिले यसलाई “नन-इन्सुलिन डिपेन्डेन्ट” वा “वयस्कमा लाग्ने” मधुमेह भनिन्थ्यो। तथापि, यी अभिव्यक्‍तिहरू ठ्याक्क मिल्दैनन्‌ किनभने ४० प्रतिशत जति टाइप २ मधुमेह रोगीहरूलाई इन्सुलिन चाहिन्छ। यसबाहेक, किशोरावस्थामा समेत नपुगेका थुप्रै केटाकेटीलाई टाइप २ मधुमेह भइरहेको छ।

h आफ्नो शरीरको उचित तौलभन्दा २० प्रतिशत वा त्योभन्दा बढी भएको व्यक्‍तिलाई साधारणतया मोटो मानिन्छ।

[चित्र]

ग्लुकोजको अणु

[स्रोत]

Courtesy: Pacific Northwest National Laboratory

[पृष्ठ ९-मा भएको पेटी]

प्यांक्रियाजको भूमिका

प्यांक्रियाज एउटा केरा जत्रो हुन्छ र यो पेटको ठ्याक्क पछाडि पर्छ। दी अनअफिसियल गाइड टु लिभिङ विथ डायबिटिज नामक पुस्तकअनुसार “स्वस्थ प्यांक्रियाजले निरन्तर तथा सही सन्तुलन कायम गर्छ, दिनभरिको खपतअनुसार ग्लुकोजको मात्रा थपघट हुँदा ठिक्क चाहिने इन्सुलिन निष्कासन गरेर रगतमा चिनीको मात्रा कायम गर्छ।” प्यांक्रियाजमा हुने बिटा कोषहरू, इन्सुलिन हर्मोनका प्रमुख श्रोत हुन्‌।

बिटा कोषहरूले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढेर हाइपरग्लाइसेमिया हुन्छ। त्यसको विपरीत, चिनीको मात्रा कम हुँदा हाइपोग्लाइसेमिया हुन्छ। कलेजोले अत्यधिक ग्लुकोजलाई ग्लाइकोजेनको रूपमा सञ्चय गरेर प्यांक्रियाजसित मिलेर रगतमा चिनीको मात्रा सन्तुलन गर्न मदत गर्छ। प्यांक्रियाजले माग गरेअनुसार कलेजोले ग्लाइकोजेनलाई पुनः ग्लुकोजमा परिणत गरेर शरीरमा प्रयोग गर्छ।

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

चिनीको भूमिका

धेरै चिनी खायो भने मधुमेह हुन्छ भन्‍ने गलत धारणा सामान्यतया पाइन्छ। चिनीको खपत धेरै होस्‌ या थोरै, मोटोपनाले मधुमेहप्रति आनुवंशिक झुकाव भएका मानिसहरूमा खतराको सम्भावना बढी हुन्छ भनेर चिकित्सकहरूले प्रमाण भेट्टाएका छन्‌। तैपनि, धेरै चिनी खानु स्वास्थ्यकर होइन किनभने यसमा खासै पोषण हुँदैन बरु, मोटो मात्र बनाउँछ।

अर्को गलत धारणा के पाइन्छ भने, मधुमेह भएका व्यक्‍तिहरूलाई चिनीको अतृप्त चाहना हुन्छ। तर वास्तवमा भन्‍ने हो भने, गुलियो खान तिनीहरू र अरू मानिसहरूको चाहबीच खासै फरक पाइँदैन। नियन्त्रण गरिएन भने मधुमेहले भोक जगाउन सक्छ तर यो भोक चिनीकै लागि भने नहुन सक्छ। मधुमेह भएका मानिसहरूले गुलियो खान सक्छन्‌ तर तिनीहरूले कति मात्रामा गुलियो खाने भनी आफ्नो सम्पूर्ण भोजनको अनुपातमा मिलाउनुपर्छ।

हालैका अध्ययनहरूले देखाएअनुसार फलफूल तथा तरकारीमा पाइने फ्रुक्टोजको मात्रा अत्यधिक भएको भोजनले गर्दा तौल धेरथोर जस्तोसुकै भए तापनि इन्सुलिन प्रतिरोध र जनावरहरूमा समेत मधुमेह हुन सक्छ।

[पृष्ठ ८, ९-मा भएको रेखाचित्र/चित्र]

मधुमेहको सरल परिभाषा

प्यांक्रियाज

↓ ↓ ↓

स्वस्थ व्यक्‍ति टाइप १ मधुमेह   टाइप २ मधुमेह

खाना खाइसकेपछि इन्सुलिन निकाल्ने प्यांक्रियाजक बिटा प्यांक्रियाजले सीमित

रगतमा ग्लुकोजको मात्रा कोषहरूलाई रोग प्रतिरोधात्मक मात्रामा इन्सुलिन

बढ्‌छ र प्यांक्रियाजले प्रणालीले आक्रमण गर्छ। फलस्वरूप उत्पादन गर्छ

त्यही अनुपातमा इन्सुलिन इन्सुलिन उत्पादन हुँदैन

निकाल्छ

↓ ↓ ↓

इन्सुलिन अणुहरू मांसपेशी कोषका र इन्सुलिनको सहायताविना रसेप्टरहरू

अन्य कोषका रिसेप्टरहरूमा टाँसिन्छन्‌। ग्लुकोज अणुहरू इन्सुलिनप्रति कम मात्र

अनि यसले गर्दा सक्रिय भएका मांसपेशी कोषमा प्रवेश संवेदनशील छन्‌ भने रगतमा

पोर्टलहरूले ग्लुकोजका अणुहरूलाई गर्न सक्दैनन्‌ ग्लुकोज सोस्नुपर्ने पोर्टलहरू

प्रवेश गराउँछन्‌ सक्रिय हुन पाउँदैनन्‌

↓ ↓ ↓

मांसपेशी कोषहरूले रक्‍तनलीमा ग्लुकोज उत्पादन हुन्छ

ग्लुकोज सोस्नुका साथै अनि त्यसले अत्यावश्‍यक प्रक्रियाहरूमा

प्रयोग गर्छन्‌। तसर्थ, अवरोध खडा गर्नुका साथै रक्‍तनलीका

रक्‍तनलीमा ग्लुकोजको भित्ताहरूलाई बिगार्छ

मात्रा सामान्य हुन्छ

[रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

रिसेप्टर

पोर्टल

इन्सुलिन

न्युक्लियस

ग्लुकोज

[रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

रक्‍त-नली

रातो रक्‍तकोष

ग्लुकोज

[स्रोत]

Man: The Complete Encyclopedia of Illustration/J. G. Heck

[पृष्ठ ७-मा भएको चित्र]

मधुमेह रोगीहरूलाई सन्तुलित भोजन अत्यावश्‍यक हुन्छ

[पृष्ठ १०-मा भएको चित्र]

मधुमेह रोगीहरूले सामान्य जीवन बिताउन सक्छन्‌