सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मैले दुई मालिकको चाकरी गर्ने प्रयास गरें

मैले दुई मालिकको चाकरी गर्ने प्रयास गरें

मैले दुई मालिकको चाकरी गर्ने प्रयास गरें

केन पेनको वृत्तान्तमा आधारित

मेरो जन्म १९३८ मा भएको थियो र म संयुक्‍त राज्य अमेरिका, न्यु मेक्सिकोस्थित मेरो हजुरबुबाको ठूलो फार्ममा हुर्किएँ। नदीनाला, रहरलाग्दो घाँसेमैदान अनि पृष्ठभूमिमा हिमशृङ्‌खलाहरूले सजिएको त्यो फार्मको क्षेत्रफल २४,००० एकड थियो। भेडा र वस्तुभाउ कराएको, घोडा हिनहिनाएको अनि काउबोइहरूको जुत्तामा झुण्डिएको गोलो चक्काको छनछन आवाजलाई मैले अझै बिर्सन सकेको छैन। कहिलेकाहीं घाँसे मैदानमा हुरी चलेको अनि आहाल वरिपरि किलडियर चराको कानै चिर्ने तिखो आवाज पनि सुनिन्थ्यो।

कुनै पनि व्यक्‍तिको जीवनमा बाल्यकालमा परेको असरले पछिसम्म गहिरो छाप छोड्‌न सक्छ। मैले धेरैजसो समय हजुरबुबासित बिताएँ, उहाँ पश्‍चिम अमेरिकाको गफ छाँट्‌न खप्पिस हुनुहुन्थ्यो। विलि द किडसित हिंड्‌ने मानिसहरूलाई पनि उहाँ चिन्‍नुहुन्थ्यो, विलि द किड कानुनद्वारा बहिष्कृत एक युवक थिए, जब उनी मान्छे मार्दै हिंड्‌न थाले, त्यतिबेला उनी चर्चित भए। सन्‌ १८८१ मा २१ वर्षको कलिलो उमेर मै उनको मृत्यु भयो।

मेरा आमाबुबा यहोवाका साक्षी हुनुहुन्थ्यो र उहाँहरूले मलाई होन्डो उपत्यकाका कुना-कुनासम्म एकलासे फार्मदेखि लिएर काँचो इँटाले बनेका झुप्राहरूसम्म मसीही सेवकाईमा लैजाने गर्नुहुन्थ्यो। अक्सर उहाँहरूले जे. एफ. रदरफोर्डको आवाजका बाइबल रेकर्डहरूको फोनोग्राफ बजाएर प्रचार गर्नुहुन्थ्यो जुन मेरो मनमा अमेट छाप बनेर बसेको छ। a हामी उहाँका ती भाषणहरू सबै प्रकारका मानिसहरू, फार्मका मालिकहरूदेखि लिएर मेक्सिकाली कृषक र एपेक र पिउब्लो जस्ता अमेरिकी आदिवासीहरूलाई समेत बजाएर सुनाउँथ्यौं। पत्रिकाहरू लिएर सडक साक्षीमा जान मलाई धेरै मन पर्थ्यो। युद्धका वर्षहरूमा समेत एउटा फुच्चे केटाले दिएका पत्रिकाहरू लिन इन्कार गर्ने थोरै मात्र हुन्थे।

हो, मेरो जग राम्रो थियो। तर येशूको यो चेतावनीलाई ध्यान दिन म असफल भएँ: “कसैले दुइ मालिकको चाकरी गर्नसक्‍तैन। किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित टाँसिनेछ, र अर्कोलाई त्यसले तुच्छ गन्‍नेछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।” (मत्ती ६:२४) पूर्ण-समय सेवकाईमा जीवन बिताएर मैले धेरै आनन्द उठाउन सकें भनी म भन्‍न चाहन्छु। तर सानैमा एउटा अर्को “मालिक”-ले मलाई त्यो बाटोबाट अन्तै मोडिदियो जतिबेला म तीन वर्षको थिएँ। खास कुरा के हो?

उडान मेरो सोख बन्यो

सन्‌ १९४१ मा फार्मको अन्‍न भण्डार नजिकै पाइपर कब प्लेन अवतरण गरियो। हाम्रा भेडाहरू चोर्ने कोयोट्‌स भनिने अमेरिकी ब्वाँसोहरूको सिकार गर्न यसको प्रयोग गरिएको थियो। त्यसैबेला हो जब म तीन वर्षको थिएँ, मैले पाइलट बन्‍ने अठोट गरें। हुर्कंदो उमेर पार गर्दै १७ वर्षमा पाइला टेक्दा मैले घर छाडें अनि न्यु मेक्सिकोको होब्स विमानस्थलमा काम गर्न हिंडें जहाँ आफूले पाएको उडान शिक्षाबापत विमान राख्ने तथा मर्मत स्थल अर्थात्‌ ह्‍याङ्‌गर बढार्ने तथा विमानमा सानोतिनो काम गर्ने गर्थें। मेरो जीवनमा मसीही सेवकाई ओझेलमा परिरहेको थियो।

मैले १८ वर्षको उमेरमा विवाह गरें र हाम्रा तीन जना छोराछोरी पनि जन्मिए। अब कसरी जीवन धान्‍ने? विषादी छर्ने प्लेन, भाडाका प्लेन, सिकारी जनावरहरूको नियन्त्रण गर्ने प्लेनहरू उडाएर अनि उडान तालिम दिएर मैले आफ्नो जिविका चलाएँ। छ वर्षसम्म यो काम गरेपछि डालास, टेक्सासबाट टेक्सास इन्टरनेसनल एयरलाइन्सको लागि उडान गर्न थालें। यसले मेरो जीवनलाई अझ स्थायित्व दियो र मैले डेन्टन मण्डलीमा प्राचीनको हैसियतमा सेवा पनि गरें। मैले धेरै बाइबल अध्ययनहरू पनि सञ्चालन गरें र तिनीहरूमध्ये एउटा विमानसेवाका एक जना क्याप्टेन, तिनकी पत्नी र तिनका परिवार पनि थिए र तिनीहरू सबैले पछि बाइबल सत्यलाई अंगाले।

सन्‌ १९७३ सम्ममा मैले तीन वर्ष प्रोपजेट्‌स विमान उडाइसकेको थिएँ तर DC-3 विमानलाई सेवाबाट हटाइएपछि विमान उडाउने मेरो इच्छा सेलाउन थाल्यो। साँच्चै भन्‍ने हो भने, मेरो मन अझै न्यु मेक्सिकोमै थियो। तर विमान उडाउन छाडें भने कसरी हातमुख जोर्ने?

कलाप्रतिको मेरो अनुराग

सन्‌ १९६१ देखि नै म सोखको रूपमा अमेरिकन वेस्टको चित्रहरू कोर्ने गर्थें र ती चित्रहरू राम्रो मोलमा बिक्री भइरहेका थिए। त्यसैले, मैले विमानसेवाबाट राजीनामा दिएँ र पुनः न्यु मेक्सिकोमा बसाइँ सरें जसलाई मोहनी लगाउने भूमि भनिन्छ। तर मैले आफ्नो सन्तुलन गुमाएँ। आफैलाई कला प्रेममा चुर्लुम्मै डुबाएँ। चित्र कोर्ने पछि मूर्ति बनाउने अनि सँगसँगै आंशिक रूपमा विमान उडाउने कामले मेरो सारा समय खायो। म दिनमा १२ देखि १८ घण्टा काम गर्ने गर्थें। जसले गर्दा मेरो परिवार र परमेश्‍वरप्रति गम्भीर हेलचेक्य्राइँ भयो। त्यसपछि के भयो?

मेरो विवाह धराशायी भयो र अन्ततः छुटानाममा गएर टुंगियो। म संयुक्‍त राज्य अमेरिकाको उत्तरी भाग मोन्टानामा बसाइँ सरें र रक्सीलाई आफ्नो बाँच्ने सहारा बनाएँ। येशूको उदाहरणको उडन्ता पुत्रजस्तै गैरमसीही जीवन शैलीले मलाई त्यही मूर्ख बाटोमा लगेर पछाऱ्‍यो। (लूका १५:११-३२) त्यसपछि एक दिन मलाई महसुस भयो, मेरो जीवनमा एउटै साँचो मित्र थिएन। समस्याग्रस्त मानिसलाई भेट्‌दा म भन्‍ने गर्थें: “यहोवाका साक्षीहरूलाई भेट्‌नुहोस्‌। तिनीहरूले तपाईंलाई साँच्चै मदत गर्न सक्छन्‌।” मेरो कुरा सुनेर उनीहरू भन्‍नेगर्थे: “त्यसो भए तपाईंचाहिं किन साक्षी बन्‍नुभएन नि?” म स्वीकार्न बाध्य हुन्थें, तपाईं मेरो जस्तो जीवन बिताएर साक्षी बन्‍न सक्नुहुन्‍न।

अन्ततः १९७८ मा म न्यु मेक्सिकोको मण्डलीमा फर्किएँ जहाँ साक्षीहरूले मलाई चिन्थे। धेरै वर्षपछि पहिलो पटक राज्यभवनमा पाइला टेकेको थिएँ, जब त्यहाँ पुगें रुनबाहेक मैले अरू केही गर्न सकिनँ। मेरो लागि यहोवा कति कृपालु भइदिनुभयो। त्यस मण्डलीका साथीहरू कत्ति दयालु थिए र तिनीहरूले मलाई यहोवाको बाटोमा फेरि हिंड्‌न मदत गरे।

नयाँ जीवनसाथी र नयाँ सुरुआत

सन्‌ १९८० मा मैले करेन नाउँ गरेकी एउटी सुन्दरी साक्षीसित विवाह गरें जसलाई म धेरै वर्षदेखि चिन्थें। तिनको अघिल्लो विवाहबाट जेसन र जोनाथन नाउँ गरेका दुई छोरा भइसकेका थिए। यहोवाप्रतिको गहिरो प्रेमको कारण तिनले मेरो जीवनमा स्थायित्व ल्याइन्‌ र हाम्रा अर्का दुई ज्ञानी छोराहरू बेन र फिलिपलाई जन्म दिइन्‌। तर हाम्रो जीवन खोलाको सङ्‌लो पानी जस्तो भएन। विपत्ति कुरेर बसिरहेको थियो।

मैले कलाको अध्ययन गरें र मानव अनि जनावरहरूको विशेष गरेर घोडाको शरीर रचनाबारे अध्ययन गरेर धेरै समय बिताएँ अनि संयोजन, समानुपात र दूरान्तरको पनि अध्ययन गरें। मैले माटोका मूर्तिहरू बनाउन थालें, विशेष गरेर प्राचीन पश्‍चिमी अमेरिकाका घोडाहरू, रैथाने अमेरीकी घोडचढी, काउबोइहरू र घोडा तथा बग्गी चढेर यात्रा गरिरहेका त्यतिबेलाका चिकित्सकहरूका मूर्तिहरू पनि बनाउन थालें। मैले यो काममा सफलता पाउन थालें। त्यसैले हामीले एउटा कलाकक्ष खोल्ने निर्णय गऱ्‍यौं। करेनले त्यो कलाकक्षको नाम पनि राखिन्‌, माउन्टेन ट्रेर्ल्स ग्यालरी।

सन्‌ १९८७ मा हामीले एरिजोनाको सेडोनामा एउटा कलाकक्ष किन्यौं र त्यस कलाकक्षलाई यही नाउँ दियौं। करेन कलाकक्ष चलाउँथिन्‌ भने मचाहिं घरको स्टुडियोमा काम गर्दै छोराहरूको रेखदेख गर्थें। तर छोराहरू बिरामी भए र व्यापार पनि जम्न सकेन। हामीले काम हेरफेर गर्ने निर्णय गऱ्‍यौं र यसो गर्दा करेनले घरमा बच्चाहरूको देखभाल गर्न सक्थिन्‌। मैले पसलमै माटो लगी ग्राहकहरूको सामुन्‍ने मूर्ति बनाउन थालें। यसले कत्ति ठूलो परिवर्तन ल्याइदियो!

मानिसहरूले मैले बनाइरहेका काँसाका मूर्तिहरूबारे प्रश्‍नहरू सोध्न थाले। मैले तिनीहरूलाई आफूले प्रयोग गर्ने डिजाइनहरूको मूल आधारको रूपमा रहेका ऐतिहासिक तथ्यहरूबारे व्याख्या गर्दा प्राचीन पश्‍चिमी अमेरिकाका ऐतिहासिक घटनाहरू नाम र स्थानसहित सुनाएँ जुन ज्ञान मैले आफ्नो बृहत्‌ अध्ययनबाट हासिल गरेको थिएँ। मैले बनाइरहेका मूर्तिहरूमा मानिसहरूले साँच्चै चासो देखाए र कतिपय त मूर्तिको खाका हेरेरै बाँकी रकम खाका काँसाको मूर्तिमा परिणत भए पछि दिने शर्तमा पेश्‍की दिन चाहन्थे। त्यतिबेलादेखि नै हो, “मूर्ति तयार हुनु पूर्व बिक्री” भन्‍ने आख्यान चल्न थालेको। व्यापार दिन दुगुना रात चौगुना बढ्‌न थाल्यो। व्यापार यति फस्टायो कि हामीले तीनवटा कलाकक्ष र ३२ जना कर्मचारी राखेर एउटा ठूलो ज्यासल खोल्यौं। तर यसले मेरो धेरै शक्‍ति खाइरहेको थियो। करेन र मलाई एउटै कुराले सताउँथ्यो, कसरी यो अन्त्यहीन यात्राबाट फुत्कने? हामीले यसबारे प्रार्थना गऱ्‍यौं। अब म मण्डलीको प्राचीन भइसकेको थिएँ र मैले यहोवाको लागि अझ बढी गर्न सक्छु भन्‍ने कुरा मलाई थाह थियो।

एउटै मालिकको चाकरी गर्न फर्कें

सन्‌ १९९६ मा हाम्रा परिभ्रमण निरीक्षक मण्डलीको भ्रमणमा आउनुभयो र उहाँले हामीलाई उहाँसित दिउँसोको खाना खाने निम्तो दिनुभयो। खाना खान ठिक्क परेको बेला उहाँले एउटा प्रश्‍न राख्नुभयो जुन हामीले सपनामा पनि चिताएका थिएनौं, चिन्लेमा नयाँ मण्डली स्थापना गर्नको लागि मदत दिन नाभाहो आदिवासी संरक्षण क्षेत्रमा बसाइँ सर्नेबारे के विचार छ? कस्तो चुनौती! हामीले त्यस संरक्षण क्षेत्रमा धेरै चोटि भ्रमण गरिसक्नुका साथै त्यहाँका केही दुर्गम क्षेत्रहरूमा प्रचार पनि गरिसकेका थियौं र अब यो प्रश्‍नले हामीलाई एउटा नयाँ सोच दियो। एकातिर कहिल्यै नटुंगिने भौतिकवादी यात्राबाट फुत्कने मौका थियो भने अर्कोतिर यहोवा अनि उहाँका जनहरूको खातिर आफूलाई समर्पित गर्ने मौका। हामी फेरि एउटै मालिकको चाकरी गर्न फर्किरहेका थियौं।

हामीले आँटेको यस कार्यमा हामीलाई साथ दिन हाम्रा आत्मीय मित्र अर्का एक प्राचीन तथा उनका परिवार कारुसेट्टसलाई निम्त्याइयो। हामी दुवै परिवारले आफ्ना सुविधासम्पन्‍न घरहरू बेच्यौं र गुडाएर एक ठाउँबाट अर्को ठाउँमा लान मिल्ने घर किन्यौं जसलाई हामी संरक्षण क्षेत्रसम्म लान सक्थ्यौं। मैले आफ्नो कलाकक्ष र अन्ततः ज्यासल पनि बेचें। हामीले आफ्नो जीवन सरल बनाएका थियौं र अब मसीही सेवकाईमा विस्तार गर्न बाधा दिने कुरा केही थिएन।

अक्टोबर १९९६ मा हाम्रो नयाँ चिन्ले मण्डलीको पहिलो सभा सञ्चालन भयो। यस मण्डलीको स्थापना भएदेखि यता नाभाहोवासीहरूबीच प्रचारकार्य विस्तार भएको छ र हामीसित एकदमै दक्ष नाभाहो अग्रगामीहरू छन्‌ र तिनीहरू नाभाहो भाषामा पोख्त छन्‌। हामी नाभाहो नभए तापनि तिनीहरूसँग भिज्नको लागि अलि-अलि गर्दै भए पनि यो कठिन भाषा सिक्न थाल्यौं। अमेरिकी आदिवासी अख्तियारवालाहरूको अनुमति लिएर हामीले जग्गा प्राप्त गऱ्‍यौं अनि चिन्लेमा राज्यभवन बनायौं र यो वर्षको जून महिनामा यस राज्यभवनको समर्पण गरियो।

विपत्तिको प्रहार!

डिसेम्बर १९९६ मा करेनले न्यु मेक्सिकोको रुइडोसोमा केही दिन घुमाउनको लागि छोराहरूलाई लिएर गइन्‌। चिन्लेमै बस्नुपर्ने मेरो काम थियो। हाम्रो १४ वर्षीय छोरा बेनको, स्की खेलिरहँदा एउटा ठूलो चट्टानमा ठोकिएर मृत्यु हुँदा हामीमाथि आइपरेको बज्रपात र शोकलाई कल्पना गर्नुहोस्‌ त! यो हाम्रो जीवनको साह्रै तीतो अनुभव थियो। विपत्‌को यस घडीमा हामीलाई केवल बाइबलको पुनरुत्थानको आशाले थाम्यो। अनि मसीही भाइहरूको सहयोग पनि एउटा ठूलो मदत थियो। सेडोना जहाँ हामीले धेरै वर्ष बिताएका थियौं, त्यहाँको मण्डलीमा अन्त्येष्टि भाषण दिंइदा त्यस क्षेत्रका छिमेकीहरूले त्यति धेरै नाभाहो पहिले जीवनमा कहिल्यै देखेका थिएनन्‌। ती सबै भाइबहिनीहरू संरक्षण क्षेत्रबाट केवल हामीलाई सान्त्वना दिनकै लागि भनेर ३०० किलोमिटरभन्दा धेरै टाढाबाट यात्रा गरेर आएका थिए।

बेनको भाइ फिलिपले गरेको आध्यात्मिक प्रगति देख्न पाउनु हाम्रो लागि आशिष्‌को कुरा हो। तिनका राम्रो आध्यात्मिक लक्ष्यहरू छन्‌ यो देखेर हामीलाई धेरै आनन्द लाग्छ। तिनले धेरै बाइबल अध्ययनहरू सञ्चालन गरेका छन्‌ तीमध्ये एक शिक्षक पनि छन्‌। तर यहोवाले प्रतिज्ञा गर्नुभएको त्यो नयाँ संसारमा बेनलाई फेरि भेट्‌न हामी लालायित छौं।—अय्यूब १४:१४, १५; यूहन्‍ना ५:२८, २९; प्रकाश २१:१-४.

हामीले मायालु अनि सहयोगी परिवार आशिष्‌को रूपमा पाएका छौं। मेरो धर्मपुत्र जोनाथन आफ्नी पत्नी केन्‍नासित यहोवाको सेवा गर्छन्‌ र मेरो पहिलो विवाहबाट जन्मेका कान्छो छोरा क्रिस आफ्नी पत्नी लोरीसित यहोवाको सेवा गर्छन्‌। हाम्रा नातिहरू उड्रो र जोना ईश्‍वरतान्त्रिक स्कूलमा विद्यार्थी भाषणहरू दिन्छन्‌। मेरो बुबा १९८७ मा बित्नुभयो र मेरी आमा ८४ वर्षको उमेरमा पनि अझै यहोवाको सेवामा सक्रिय हुनुहुन्छ र मेरो भाइ जोन र तिनकी पत्नी चेरी पनि यहोवाकै सेवा गर्छन्‌।

येशूका यी शब्दहरूका यर्थाथतालाई मैले आफ्नो अनुभवबाट राम्ररी सिकेको छु: “कसैले दुइ मालिकको चाकरी गर्नसक्‍तैन। . . . तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।” अहिले पनि कला साह्रै डाही मालिक बन्‍न सक्छ। त्यसैले मैले आफ्नो सन्तुलन गुमाउन नहुने र सावधान रहनुपर्ने महत्त्वलाई बुझेको छु ताकि मेरो कला मोहले फेरि मलाई नखाओस्‌। प्रेरित पावलको यो सल्लाह पालन गर्नुमा नै हाम्रो सर्वोपरी हित छ: “यसकारण, ए मेरा प्रिय भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:५८. (g03 7/08)

[फुटनोट]

a सन्‌ १९४२ मा आफ्नो मृत्यु नहोउन्जेल जे. एफ. रदरफोर्डले यहोवाका साक्षीहरूमाझ नेतृत्व लिए।

[पृष्ठ १५-मा भएको चित्र]

चिन्लेमा १९९६ मा मेरो प्लेन

[पृष्ठ १५-मा भएको चित्र]

“खेर फाल्ने समय छैन” शीर्षकको एउटा काँसाको मूर्ति

[पृष्ठ १७-मा भएको चित्र]

बाइबल अध्ययनको लागि सभा यसैबेला यस ठाउँमा हाम्रो राज्यभवनको निर्माण थालियो

[पृष्ठ १७-मा भएको चित्र]

मेरी पत्नी करेनसित

[पृष्ठ १७-मा भएको चित्र]

खाँटी नाभाहो घरमा प्रचार गर्दै