ग्लेमरको अँध्यारो पक्ष
ग्लेमरको अँध्यारो पक्ष
फेसनअनुसार चल्दा तपाईंको बाह्य रूपरंग राम्रो बनाउन र तपाईंको आत्म-विश्वास बढाउन मदत पुग्न सक्छ भन्ने कुरामा कुनै शंका छैन। सही पोसाकले तपाईंको शारीरिक त्रुटिलाई कम पार्न र तपाईंको सकारात्मक पक्षलाई अझ प्रबल पार्न समेत सक्छ। यसले तपाईंप्रति अरूको दृष्टिकोणमा पनि असर गर्न सक्छ।
तर फेसनजगत्को अँध्यारो पक्ष छ, जसलाई बेवास्ता गर्न सकिंदैन। लुगाफाटा किन्ने व्यक्तिहरू नयाँ-नयाँ लुगाहरू किन्ने अनन्त चक्रमा फस्न सक्छन्। नफसून् पनि कसरी, फेसन उद्योगले नयाँ-नयाँ स्टाइलहरू निकालिरहन्छ। यो संयोगको कुरा होइन किनभने लुगाहरूको स्टाइल जत्ति चाँडो परिवर्तन हुन्छ, फेसन गृहहरूले त्यत्ति नै धेरै पैसा कमाउँछन्। डिजाइनर गब्रिल शानेलले भनेझैं “फेसन भनेको परिवर्तन हुने नै हो।” तसर्थ, सोझा ग्राहकले आफू आधुनिक देखिनको लागि नयाँ लुगा किन्नै पर्ने महसुस गर्न सक्छन्।
विज्ञापनको भ्रामक दबाबमा पर्न सक्ने खतरा पनि छ। फेसन कम्पनीहरूले आफ्नो उत्पादन बिक्री गर्न करोडौं डलर खर्च गर्छन् र प्रायजसो तिनीहरूको लेबलका लुगा लगाउनेहरूले कथित आनन्द उठाउनुका साथै चिन्तामुक्त जीवन बिताएको चित्रण गरिन्छ। यी सन्देशहरूले जोडदार प्रभाव पार्न सक्छ। “किशोरकिशोरीहरूको लागि ‘ठीक ब्रान्डको’ जुत्ता नहुनुजस्तो पीडादायी अरू केही पनि हुँदैन” भनी स्पेनको एक जना शिक्षकले भने।
फेसनको मोह
कुनै समूहहरूले आफ्नो परिचय दिन एउटा खास स्टाइलको पहिरन लगाउने गर्छन्। तिनीहरूको पहिरनले समाजलाई तिरस्कार, स्वतन्त्र जीवनशैली वा हिंस्रक वा जातीय आदर्शसमेत झल्काउन सक्छ। यी कुनै-कुनै स्टाइलहरूले स्वीकृत स्टाइललाई तोड्न सक्छन् वा आपत्तिजनक हुन सक्छ तर तिनीहरूको आफ्नो समूहभित्र भने प्रायजसो निकै हदसम्म एकरूपता रहेको पाइन्छ। त्यस समूहको आदर्शलाई समर्थन नगर्ने व्यक्तिसमेत त्यस स्टाइलप्रति आकर्षित हुन सक्छ। लुगाहरूको यस्ता लहड स्वीकार्ने व्यक्तिहरूले अरू समक्ष आफूले उक्त समूहका आधारभूत धारणाहरूलाई स्वीकारेको आभास दिन सक्छन्।
फेसनहरू आउँछन् जान्छन्, कुनै-कुनै त केही महिनामै परिवर्तन हुन्छन्। ती कुनै लोकप्रिय संगीतकार वा अरू कुनै प्रख्यात व्यक्तिले सुरु गरेको हुन सक्छ। तर थोरैजसो फेसन स्थापित स्टाइल बन्छ। उदाहरणका लागि, १९५० र १९६० को दशकका युवा विद्रोहीहरूमाझ नीलो जीन निकै लोकप्रिय भएको थियो। तथापि, अहिले विभिन्न उमेरका मानिसहरूले विभिन्न अवसरमा यो लगाउने गर्छन्।
पर्फेक्ट फिगरको खोज
फेसनलाई एकदमै गम्भीरतापूर्वक लिने व्यक्तिहरू आफ्नो बाह्य रूपरंगबारे औधी चिन्तित हुन सक्छन्। फेसन मोडेलहरू प्रायजसो अग्ला अनि पातला हुन्छन् र हामी तिनीहरूको चित्र सधैं देखिरहन्छौं। a गाडीदेखि लिएर चकलेटसम्मको विज्ञापन गर्न “सही” शारीरिक बनोट प्रयोग गरिन्छ। सामाजिक विषयहरूसित सम्बन्धित अनुसन्धान केन्द्र अर्थात् बेलाइतको सोसियल इस्युज रिसर्च सेन्टरको अनुमानअनुसार “अहिलेका जवान युवतीहरूले एक दिनमा जति जना अत्यन्तै सुन्दरी महिलाहरूको दृश्य देख्छन्, त्यसको तुलना गर्ने हो भने हाम्रा आमाहरूले आफ्नो किशोरावस्थामा देखेका कुल दृश्यहरूको संख्याभन्दा निकै बढी छ।”
यस्ता रूपहरूको बाढीले हानिकारक प्रभाव पार्न सक्छ। उदाहरणका लागि, संयुक्त राज्य अमेरिकामा गरिएको एउटा सर्वेक्षणबारे न्युजवीक-ले बताएअनुसार ९० प्रतिशतजति गोरा किशोरीहरू आफ्नो शारीरिक बनोटसित सन्तुष्ट थिएनन्। b स्पेनी मोडेल निभेज अल्बाराथ, जो एनोरक्सीयाबाट पीडित भइन्, यसरी स्वीकार्छिन्: “मलाई मर्नुभन्दा पनि वजन बढ्ला कि भन्ने डर लाग्थ्यो।”
यिनीहरूमध्ये कोही-कोहीले त्यो ‘उचित बनोट’ प्राप्त गर्न कुनै कसर छोड्नेछैनन्। यद्यपि, सोसियल इस्युज रिसर्च सेन्टरले दाबी गरेअनुसार महिला जनसंख्याको ५ प्रतिशतभन्दा कमले मात्र सञ्चारजगत्ले प्रस्तुत गर्ने आदर्श वजन र साइज प्राप्त गर्न सक्छन्। तैपनि, एकदमै पातलो बनोटको वाहवाह गर्ने लाखौं जवान युवतीहरू एउटा दासत्वमा परेका छन्। यसले गर्दा कोही एनोरक्सीया नर्भोसा भनिने भोजनसम्बन्धी असन्तुलित बानीको चिप्लो भीरमा पुगेका छन्।हो, एनोरक्सीया अर्थात् कम खाने र ब्युलिमिया अर्थात् धेरै खाने जस्ता भोजनसम्बन्धी असन्तुलित बानी अरू थुप्रै कारणहरूले गर्दा हुन सक्छ। तथापि, डाक्टरद्वय एन गिमो र
मिशेल लाक्सनर यसो भन्छन्: “पातलोपनको वाहवाह गर्ने चलन केही हदसम्म जिम्मेवार छ।”स्पष्टतः फेसनको सकारात्मक र नकारात्मक पक्ष छ। यसले राम्रो देखिने र नयाँ लुगा लगाउने मानिसको आधारभूत चाहना पूरा गर्छ। तर अचाक्ली फेसन गर्दा अरूले गलत अर्थ लगाउने पहिरनहरू लगाउन पनि हामी लालायित हुन सक्छौं। अनि हामीले बाह्य रूपलाई बढ्तै महत्त्व दिन थाल्यौं भने हाम्रो मूल्य, भित्री गुणहरूमा नभई ‘बाहिरी खोलमा’ छ भन्ने गलत धारणा राख्न थाल्न सक्छौं। “हामीले मानिसको क्षमता र भित्री गुणलाई बढी महत्त्व दिनुपर्छ, बाह्य खोललाई मात्र होइन” भनी माथि उल्लिखित अल्बाराथ भन्छिन्। तर स्तरहरूमा त्यस्तो परिवर्तन चाँडै होला जस्तो देखिंदैन। त्यसोभए हामी फेसनप्रति सन्तुलित दृष्टिकोण कसरी राख्न सक्छौं? (g03 9/08)
[फुटनोट]
a मोडेलहरू सामान्यतया “कम्तीमा १.७४ मिटर अग्ली, अत्यन्तै पातली, टम्म मिलेको ओठ, माथि उठेको गालाका हड्डीहरू, ठूलो आँखा, लामो खुट्टा र भद्दा नभई सोझो नाक भएको” आशा गरिन्छ भनी टाइम पत्रिका रिपोर्ट गर्छ।
b सं.रा.अ.-को नेसनल एसोसिएसन अफ एनोरक्सीया नर्भोसा एण्ड एसोसिएटेड डिसअडर्सको अनुमानअनुसार संयुक्त राज्य अमेरिकामा मात्रै ८० लाख मानिसहरू एनोरक्सीयाबाट पीडित छन् अनि यसमध्ये थुप्रै अवस्थाहरू प्राणघातक हुन्छन्। यिनीहरूमध्ये अधिकांशले २१ वर्ष नपुग्दै भोजनसम्बन्धी असन्तुलित बानीबाट उत्पन्न समस्याहरू भोग्न थाल्छन्।
[पृष्ठ ८, ९-मा भएको पेटी/चित्र]
के त्यस्तो लुगा कसैले लगाउला?
न्यु योर्क, पेरिस र मिलानका फेसन गृहहरूले प्रत्येक वसन्त तथा हेमन्तऋतुमा चिरपरिचित डिजाइनरहरूको विशेष पहिरनहरू प्रदर्शन गर्ने गर्छन्। यी पहिरनहरूको चर्को मोल त छँदै छ, यी मध्ये कतिपय लगाउनै नसकिने मात्र होइन तर एकदमै अव्यावहारिकसमेत देखिन्छन्। “तपाईंले देख्नुहुने भड्किलो, असामान्य डिजाइनहरू वास्तवमा जनसाधारणलाई विचार गरेर सृजना गरिएका होइनन्” भनी स्पेनी डिजाइनर वान डुयोस बताउँछन्। “फेसन शोको उद्देश्य त्यतिबेला प्रदर्शन गरिने लुगाहरू बिक्री गर्नुभन्दा डिजाइनर वा ब्रान्डप्रति ध्यान खिच्नु हुन सक्छ। उदाहरणका लागि, सञ्चारजगत्मा निकै प्रचारप्रचार हुन सफल प्रभावकारी संकलनले त्यस डिजाइनर ब्रान्डको अत्तर बिक्री गर्न मदत पुऱ्याउन सक्छ।”
[पृष्ठ ७-मा भएको चित्र]
फेसनको पछि-पछि लाग्नु महँगो हुन सक्छ
[पृष्ठ ७-मा भएको चित्र]
कुनै पहिरनको लहड स्वीकार्दा तपाईं त्यस समूहसित चिनिन सक्नुहुन्छ
[पृष्ठ ७-मा भएको चित्र]
कोही-कोही एनोरक्सीयाको चिप्लो भीरमा पुग्न सक्छन्