विश्वदर्शन
विश्वदर्शन
मात्तिएका पशुहरू
संसारभरिबाट प्राप्त रिपोर्टअनुसार मद्यले लट्ठिने मानिसहरू मात्र होइनन्। हालै, मात्तिएका हात्तीहरूको बथानले भारत, आसामको एउटा गाउँमा बियर फेला पारेपछि उपद्रव मच्चाए अनि घरहरू भत्काए। बोस्नियामा क्यानमा बाँकी छोडेको बियर खान पल्केका भालुले अझ बढी बियर खोज्न थाले। यसको गुन्डागिरीबाट वाक्क भएका गाउँलेहरूले ननअल्कोहोलिक अर्थात् मादक पदार्थ नभएको बियर दिने निर्णय गरे। त्यो भालु त झुक्किहाल्यो। त्यो भालु अझै पनि रमाइरमाइ पिउँछ तर आक्रामक हुँदैन। उत्तरी क्यालिफोर्नियामा बाटोको छेउमा फल्ने फेनाएको काफल खाएर लट्ठ भएका चराहरूले गाडीमा आक्रमण गरे। यसको समाधान भनेको झांगहरू काट्नु थियो। फेनाएको पुष्परसले गर्दा माहुरीहरू घारमा फर्कन नसकी रूखहरूतिर उड्छन् वा त्यत्तिकै भुइँमा खस्छन्। घर फर्कने मात्तिएका माहुरीहरूले अर्को चुनौती सामना गर्नुपर्ने हुन्छ—पाले माहुरीहरूको क्रोध सहनुपर्छ जो सम्पूर्ण समूहलाई मात्तिनदेखि जोगाउन कटिबद्ध हुन्छन्। (g03 9/22)
घातक प्लास्टिकका झोलाहरू
एउटा अनुमानअनुसार संसारभरि फ्याँकिएका प्लास्टिकका झोला खाएर वा निसासिएर प्रतिवर्ष १,००,००० भन्दा बढी स्तनपायी, चराचुरुंगी र माछा मर्ने गर्छन्। अस्ट्रेलियामा मात्रै किनमेल गर्न जानेहरूले वर्षेनी ६.९ अरब प्लास्टिकका झोला प्रयोग गर्छन् जुन औसतमा प्रतिव्यक्तिको लागि ३६० वटा झोला बराबर हुन्छ। यसमध्ये अनुमानित २५ करोड प्लास्टिकका झोला फोहोरको रूपमा थुप्रिन्छन्। सिड्नीको सन्डे टेलिग्राफ-ले २००२ को अन्ततिर रिपोर्ट गरेअनुसार पशुहरूको मृत्यु कम गर्न अस्ट्रेलियाका सुपरमार्केटहरूले परम्परागत प्लास्टिकका झोलाहरूको सट्टा जैविक विखण्डनीय विकल्प प्रयोग गर्नेछन्। यी नयाँ झोलाहरू हेर्दा र छुँदा प्लास्टिकजस्तै लागे तापनि टापियोका माडबाट बनाइएका हुन् र तीन महिनाभित्र सडिहाल्छन्। “जैविक विखण्डनीय अनि साधारण प्लास्टिकका झोला जत्तिकै मूल्य पर्ने यी वस्तुहरू हामीले अस्ट्रेलियामा भेट्टाएको पहिलो किसिम हो” भनी पल शेन्स्टन, वातावरणीय समूह प्लानेट आर्कका अध्यक्ष बताउँछन्। हालैको सर्वेक्षणले पत्ता लगाएअनुसार “किनमेल गर्ने ८१ प्रतिशत व्यक्तिहरू जैविक विखण्डनीय झोलाहरू प्रयोग गर्नुपर्छ भनेर ‘पूर्ण सहमत’ भए।” (g03 9/08)
“अब उप्रान्त क्याथोलिक चर्चसित सम्बद्ध हुने कुनै चाहना छैन”
इटालीमा, क्याथोलिकको रूपमा बप्तिस्मा लिएको व्यक्ति “अब उप्रान्त आफूलाई क्याथोलिक चर्चको सदस्य ठान्न चाहँदैन” भने उक्त व्यक्तिको त्यो चाहना अब पूरा हुन सक्छ भनी एल सोल-२४ ओरे भन्ने अखबार रिपोर्ट गर्छ। पहिला-पहिला, बप्तिस्मा लिएकाहरूको रजिस्टरबाट आफ्नो नाउँ हटाउन आग्रह गर्दा यसो गर्नु भनेको “चर्चको इतिहासको ‘निसाना’ मेटाउनु बराबर हुनेछ” भनेर इन्कार गरिन्थ्यो। तथापि, थुप्रै मानिसहरूले चर्चबाट आफ्नो नाउँ हटाउन अपिल गरेको हुँदा व्यक्तिगत जानकारी सुरक्षाका जमानीले बप्तिस्माको प्रादेशिक रजिस्टरमा यस्तो टिपोट समावेश गरेर सच्याउने अधिकार दिए: “अब उप्रान्त क्याथोलिक चर्चसित सम्बद्ध हुने कुनै चाहना छैन।” जमानीले प्रादेशिक पादरीहरूलाई भूतपूर्व प्रादेशिक सदस्यहरूको कम्तीमा तीनवटा अपिलमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। (g03 9/08)
किशोरी आमाहरू
मेक्सिकोमा गर्भवती हुने १० देखि १९ वर्षबीचका केटीहरू “गत तीन दशकमा ५० प्रतिशतले वृद्धि भएको छ” भनी मेक्सिको सिटीको पत्रिका क्याम्बियो बताउँछ। सरकारी स्कूलमा परिवार नियोजन कार्यक्रम तथा यौन शिक्षा दिइएको भए तापनि यसमा वृद्धि भएको छ। स्वास्थ्य विशेषज्ञहरूको अध्ययनले देखाएअनुसार “धूम्रपान गर्ने, मद्यपान गर्ने वा अवैध लागूपदार्थ सेवन गर्ने किशोर-किशोरीहरूले कम उमेरमै यौनसम्बन्ध राख्ने सम्भावना चार गुणा बढी हुन्छ।” साथै, ३० प्रतिशत किशोरी आमाहरूले पहिलो बच्चा जन्माएको वर्ष दिनमा दोस्रो अनियोजित बच्चा अनि ५० प्रतिशतले दुई वर्षमा जन्माउँछन्। किशोरी र किशोरावस्था नपुगेकाहरूको गर्भावस्थासित सम्बन्धित थप समस्या के हो भने, यी ६० प्रतिशत जवान आमाहरूले बच्चाको बुबाको सहयोगविना हुर्काउनुपर्छ। (g03 9/08)
एसिड आक्रमण
पेरिसको नेसनल लाइब्ररी अर्थात् राष्ट्रिय पुस्तकालयमा संरक्षित १८७५ देखि १९६० बीच प्रकाशित झण्डै ६५ प्रतिशत पुस्तक र कागजातहरू विनाश हुन सक्ने खतरा छ भनी ले मन्ड अखबार रिपोर्ट गर्छ। सल्फ्युरिक एसिडले गर्दा यो लिखित सम्पदा बिस्तारै खिइँदै गइरहेको छ किनभने यो एसिडले गर्दा कागज झुरिएर टुक्रा-टुक्रा हुन्छ। राष्ट्रिय पुस्तकालयले वर्षेनी २०,००० जति पुस्तकहरूबाट एसिड निकाल्छ र यसो गर्न एउटा पुस्तकको लागि ७ देखि ८ डलरसम्म खर्च हुन्छ। सन् १९८० को दशकदेखि प्रायजसो पुस्तकहरू एसिडमुक्त कागजमा छापिएका छन्। (g03 9/08)
निद्रा नपुग्नुका हानिकारक असरहरू
“नौ प्रतिशत पोल्याण्डवासीहरू हरेक रात पाँच घण्टाभन्दा कम समय सुत्छन्” भनी वार्साको साप्ताहिक भ्रपोस्ट रिपोर्ट गर्छ। अमेरिकी र बेलाइतीहरूमा ३ जनामध्ये १ जना प्रतिरात बढीमा ६.५ घण्टा मात्र सुत्छन्। पोल्याण्डको निद्रा-विकार क्लिनिकका मिक स्काल्स्कीअनुसार “कम सुत्ने व्यक्ति सधैं तनावग्रस्त हुन्छ।” जापानी अनुसन्धाताहरूले देखाएअनुसार “प्रतिरात आठ घण्टा सुत्नेहरूको तुलनामा पाँच घण्टा वा कम मात्र सुत्ने व्यक्तिहरूलाई हृदयघात हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ” भनी भ्रपोस्ट रिपोर्ट गर्छ। साथै, अमेरिकी अध्ययनले देखाएअनुसार निद्राको कमीले गर्दा मधुमेह र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छ। निद्रा नपुग्दा “ग्लुकोजको पाचन प्रक्रियामा परिवर्तन” हुने मात्र होइन तर “मोटोपनको खतरा” पनि बढ्न सक्छ भनी उक्त रिपोर्ट बताउँछ। “तपाईं थकित हुनुहुँदा तपाईंको शरीरले बलको कमीलाई क्षतिपूर्ति गर्न खोज्छ” भनी अमेरिकन फिट्नेस भन्ने पत्रिका बताउँछ। “निद्रा नपुगेका मानिसहरूले जागा रहन बढी खाने र पिउने गर्छन्। त्यसकारण, तपाईंले दुई चार किलो वजन घटाउनुभएको छ र फेरि बढाउन चाहनुहुन्न भने, अलि बढी सुत्नुहोस्।” (g03 9/22)
कार्यालयमा एक दिन
लन्डन म्यागजिन-को सर्वेक्षणले एउटा सामान्य दिनबारे ५११ जना मानिसहरूलाई सोधेको थियो। कामको बेला आधीजसोले मद्यपान गरेको, ४८ प्रतिशतले चोरेको, झण्डै एक तिहाइले अवैध लागूपदार्थ सेवन गरेको लन्डनको अखबार द डेली टेलिग्राफ रिपोर्ट गर्छ। साथै, ४२ प्रतिशतले “आफ्नो हाकिमलाई मारेको कल्पना गरेको,” झन्डै एक तिहाइले “इन्टरनेटमा अश्लील कुरा हेरेको,” “६२ प्रतिशतलाई सहकर्मीले यौनसम्बन्ध राख्ने प्रस्ताव राखेको र पाँच भागमा झन्डै एक भागले कार्यालयमा यौनसम्बन्ध राखेका” थिए। यीमध्ये ३६ प्रतिशत कर्मचारीले आफ्नो बायो-डाटामा झूटो विवरण लेखेका थिए, १३ प्रतिशत पदोन्नतिको लागि आफ्नो हाकिमसित सुत्न तयार अनि ४५ प्रतिशतले आफ्नो पदोन्नतिको लागि सहकर्मीको बिगार गर्ने कुरा बताए। मनोउपचारक फिलिप हड्सनअनुसार यस्तो आचरण हुनुको कारण, ओहदामा भएकाहरूप्रतिको आक्रोश हो। तिनले भने: “हामी टुप्पोमा पुग्न जे गर्न पनि तयार छौं। हाम्रो लागि पदवी, ओहदा र प्रतिष्ठा एकदमै महत्त्वपूर्ण कुराहरू हुन्।” (g03 9/22)
पारिवारिक कुराकानीको खाँचो
“पारिवारिक कुराकानीहरू ‘दिनहुँको हुङ्कार’ मात्र भएको छ जसले गर्दा साना केटाकेटीहरू राम्ररी कुराकानी गर्न असक्षम छन्” भनी लन्डनको द टाइम्स रिपोर्ट गर्छ। बेलाइतमा शैक्षिक स्तर कायम गर्न जिम्मेवार सरकारको बेसिक्स् स्किल्स् एजेन्सी अर्थात् आधारभूत क्षमता निकायका निर्देशक एलन वेल्सअनुसार यस्तो ह्रास आउनुको कारण केटाकेटीहरू “टेलिभिजन र कम्प्युटरको अगाडि टोलिनु अनि परिवारहरूले खाना खान एक साथ कम समय बिताउनु हो।” वेल्सले यसको दोष एकल आमा वा बाबु मात्र भएको परिवारलाई पनि दिन्छन् जहाँ बाजेबज्यैहरू हुँदैनन् र साथै छोराछोरीको निम्ति पढिदिने आमाबाबुको संख्या निकै कम भएको छ। तिनको विचारमा यी तत्त्वहरूले गर्दा चार पाँच वर्षको उमेरमा स्कूल जाने केटाकेटीहरू “राम्ररी बोल्न र आफ्नो कुरा राम्ररी व्यक्त गर्न नसक्ने” भएका छन्। वेल्सले आमाबाबुलाई छोराछोरीसित अन्तरक्रिया गर्न सिकाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका छन्। (g03 9/22)