ती अजिर जीवाणुहरू—फेरि कसरी देखा पर्छन्
ती अजिर जीवाणुहरू—फेरि कसरी देखा पर्छन्
भाइरस, ब्याक्टेरिया, प्रोटोजोआ, फंगी र अन्य सूक्ष्मजीवहरू पृथ्वीमा जीवन सुरु भएदेखि नै अस्तित्वमा थिए। जीवाणुहरू अर्थात् यी सबैभन्दा सरल प्राणीसित परिस्थितिअनुसार छाँटकाँट गर्न सक्ने अचम्मको क्षमता भएको हुँदा अरू कुनै प्राणीहरू बाँच्न नसक्ने वातावरणमा समेत यिनीहरू जीवित हुन सक्छन्। यी, समुद्री पींधमा उम्लेको बाफदेखि लिएर सुमेरुमा जम्ने पानीमा समेत पाइन्छन्। अब यी जीवाणुहरूले आफ्नो अस्तित्वमाथि केन्द्रित भीषण आक्रमणलाई प्रतिरोध गरिरहेका छन्—त्यो हो, एन्टिमाइक्रोबियल ड्रग्स अर्थात् जीवाणु प्रतिरोधक औषधी।
एक सय वर्षअघि केही सूक्ष्मजीवहरूले रोग ल्याउँछ भन्ठानिन्थ्यो तर त्यतिबेला जीवित कसैले पनि जीवाणु प्रतिरोधक औषधीबारे सुनेका थिएनन्। अतः कसैलाई गम्भीर संक्रामक रोग लागेको खण्डमा थुप्रै डाक्टरहरूले उपचारको नाउँमा नैतिक समर्थन दिनुबाहेक केही गर्न सक्दैन थिए। रोग लागेको व्यक्तिको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै बलमा रोग विरुद्ध लड्नुपर्थ्यो। रोग प्रतिरोधात्मक शक्ति बलियो नभएको खण्डमा परिणाम अक्सर दुःखदायी हुन्थ्यो। सूक्ष्मजीवले संक्रमण गरेको सानो घाउले समेत अक्सर मृत्यु हुन्थ्यो।
तसर्थ, पहिलो सुरक्षित जीवाणु प्रतिरोधक औषधी अर्थात् एन्टिबायोटिकको आविष्कारले औषधीजगत्मा नयाँ क्रान्ति ल्यायो। a सन् १९३० को दशकमा सल्फा ड्रग्स र १९४० को दशकमा पेनिसिलिन र स्ट्रेप्टोमाइसिनजस्ता औषधीहरू चिकित्सा क्षेत्रमा प्रयोग हुन थालेदेखि त्यसपछिका दशकहरूमा थुप्रै आविष्कारहरू भए। सन् १९९० को दशकसम्म त एन्टिबायोटिक औषधीको भण्डारमा १५ वटा बेग्लाबेग्लै समूहका १५० वटा जति यौगिक जम्मा भइसकेका थिए।
विजयको प्रत्याशा चकनाचूर
सन् १९५० र १९६० को दशकतिर कोही-कोही मानिसहरूले संक्रामक रोग विरुद्ध विजय उत्सव मनाउन थालिसकेका थिए। कोही-कोही सूक्ष्मजीवविज्ञानीहरूले समेत यी रोगहरू अब चाँडै विगतको दुःस्वप्न हुनेछ भन्ठाने। सन् १९६९ मा सं.रा.अ.-को प्रमुख चिकित्सा अधिकृतले कंग्रेससामु प्रस्तुत गरेको घोषणापत्रमा अब चाँडै मानिसजातिले “संक्रामक रोगहरूको चिन्ता गर्न छोड्नेछ” भनेका थिए। सन् १९७२ मा नोबेल पुरस्कार विजेता म्याकफारलेन बर्नेट र डेभिड ह्वाइटले यस्तो लेखे: “संक्रामक रोगको भविष्यबारे सम्भाव्य पूर्वानुमानअनुसार यो अत्यन्तै निस्तेज हुनेछ।” निस्सन्देह, कसै-कसैले त्यस्ता रोगहरू पूरै निर्मूल हुनेछ भन्ठानेका थिए।
संक्रामक रोगहरू परास्त भइसके भन्ने विश्वासले गर्दा जताततै आत्मविश्वस्तताको वातावरण छायो। एन्टिबायोटिकको प्रयोगअघि जीवाणुहरूले पार्ने गम्भीर खतराबारे थाह पाएकी एउटी नर्सले कस्तो टिप्पणी गरिन् भने, कोही-कोही जवान नर्सहरूले आधारभूत सरसफाइमा हेलचेक्य्राइँ गरिरहेका थिए। उनले तिनीहरूलाई हात धुन सम्झाउँदा उल्टै यस्तो जवाफ फर्काउँथे: “पीर नगर्नुस्, अहिले हामीसित एन्टिबायोटिक छँदैछ नि।”
यद्यपि, एन्टिबायोटिकमा भर पर्दा र त्यसको अचाक्ली प्रयोग गर्दा भयावह परिणामहरू निस्केका छन्। संक्रामक रोगहरू हराएका छैनन्। त्यति मात्र होइन, तिनीहरू तीव्र गतिमा पुनः देखा परिरहेका छन् र संसारमा मृत्युको प्रमुख कारण भएका छन्! संक्रामक रोगहरू फैलाउने अन्य कारणहरू युद्धको गन्जागोल, विकासोन्मुख राष्ट्रहरूमा व्याप्त कुपोषण, सफा पानीको अभाव, निम्न स्तरीय सरसफाइ, द्रुत अन्तरराष्ट्रिय यात्रा अनि विश्वव्यापी मौसम परिवर्तन इत्यादि हुन्।
प्रतिरोधी ब्याक्टेरिया
सामान्य जीवाणुहरूको अजिरता एउटा प्रमुख समस्याको रूपमा खडा भएको छ, जुन सामान्यतया आशा गरिएको थिएन। यद्यपि, विगतलाई हेर्दा जीवाणुहरूले औषधीप्रति प्रतिरोधात्मक क्षमता विकास गर्नेछन् भन्ने विचार गर्नुपर्ने थियो। किन? उदाहरणका लागि, १९४० दशकको बीचतिर कीटनाशक डि डि टि प्रयोग गर्न थाल्दा भएको घटनालाई विचार गर्नुहोस्। b त्यतिबेला दुग्ध व्यवसायका कर्मचारीहरू रमाए किनभने डि डि टि छर्दा झिंगाहरू चटक्कै हराए। तर केही झिंगाहरू बचे अनि तिनीहरूका सन्तानले डि डि टि-प्रति रोग प्रतिरोधात्मक क्षमता विकास गरे। चाँडै, डि डि टि-ले कुनै प्रभाव नपार्ने यी झिंगाहरू छ्यासछ्यासती बढ्न थाले।
डि डि टि प्रयोग गर्न थाल्नुअघि अनि डाक्टरले लेखिदिएपछि बिरामीहरूले सजिलै पेनिसिलिन किन्ने चलन १९४४ मा सुरु हुनुअघि नै हानिकारक ब्याक्टेरियाले आफ्नो अद्भुत रक्षा अस्त्रको पूर्वझलक दिइसकेका थिए। पेनिसिलिनका आविष्कारक, डा. एलेक्जान्डर फ्लेमिङ यसबारे सजग भए। तिनले आफ्नो प्रयोगशालामा स्टाफिलोकोकस अरियस-का शाखा सन्तानलाई तिनले आविष्कार गरेका औषधीले पटक्कै नछुने कोषे भित्ता बनेको देखे।
यसले गर्दा डा. फ्लेमिङले लगभग ६० वर्षअघि यस्तो घोषणा गरे, संक्रमित व्यक्तिमा भएको हानिकारक ब्याक्टेरियाले पेनिसिलिनप्रति प्रतिरोध विकास गर्न सक्छ। अतः पेनिसिलिनको मात्राले पर्याप्त मात्रामा हानिकारक ब्याक्टेरियाहरू मारेन भने तिनीहरूका प्रतिरोधी सन्तानहरू चौगुना बढ्ने थिए। फलस्वरूप, पेनिसिलिनले निको पार्न नसक्ने रोगहरू फेरि देखा पर्ने थियो।
एन्टिबायोटिक पेराडक्स नाउँको पुस्तक यस्तो टिप्पणी गर्छ: “फ्लेमिङको पूर्वानुमान तिनले सोचेको भन्दा भयावह ढङ्गमा सत्य साबित भइरहेका थिए।” कसरी? कुनै-कुनै
प्रकारका ब्याक्टेरियामा जिन अर्थात् ब्याक्टेरियाको डि एन ए-को मसिना ब्लुप्रिन्टले पेनिसिलिनलाई अप्रभावकारी बनाउने इन्जाइम उत्पादन गर्छ। फलस्वरूप, पेनिसिलिनको लामो कोर्स पनि अक्सर केही काम गर्दैन। यो कस्तो ठूलो धक्का थियो!संक्रामक रोगहरू विरुद्धको लडाइँ जित्ने प्रयासमा १९४० देखि १९७० र १९८० देखि १९९० को दशकबीच नयाँ एन्टिबायोटिकहरू नियमित तवरमा प्रयोग गरिए। यसले पहिले प्रयोग गर्ने औषधीले नछोएको ब्याक्टेरियाको उपचार गर्न सक्थ्यो। तर केही वर्षभित्रमै यी नयाँ औषधीहरूले पनि नछुने ब्याक्टेरियाहरू देखा पर्न थाले।
ब्याक्टेरियाको प्रतिरोध अत्यन्तै छट्टू हुन्छ भनेर मानिसहरूले बुझ्न थालेका छन्। ब्याक्टेरियासित कोषको भित्ता परिवर्तन गरेर एन्टिबायोटिक भित्र छिर्न नदिने वा एन्टिबायोटिकले मार्न नसकोस् भनेर आफ्नो संरचना नै परिवर्तन गर्ने क्षमता हुन्छ। अर्कोतर्फ, ब्याक्टेरियाले एन्टिबायोटिक भित्र छिर्ने बित्तिकै बाहिर फ्याँक्न वा एन्टिबायोटिकलाई टुक्रा टुक्रा पारेर अप्रभावकारी बनाउन सक्छ।
एन्टिबायोटिकको प्रयोग बढ्दै जाँदा प्रतिरोधी ब्याक्टेरियाहरूको चौगुना वृद्धि हुनुका साथै फैलावट पनि भइरहेको छ। के यसलाई पूरै असफलता भन्न मिल्छ? प्रायजसो अवस्थामा भन्न मिल्दैन। कुनै एउटा संक्रमणको लागि एक किसिमको एन्टिबायोटिकले काम गर्दैन भने प्रायजसो अर्कोले काम गर्छ। एन्टिबायोटिकप्रति ब्याक्टेरियाको प्रतिरोध एउटा ठूलो अवरोध भएको छ तर हालसम्म भने टार्न सकिने खालको समस्या मात्र भएको छ।
बहुऔषधी प्रतिरोध
पछि, ब्याक्टेरियाहरूले आफू-आफूमै जिन साटासाट गर्छन् भनेर थाह पाउँदा चिकित्सा वैज्ञानिकहरू डराएर वाल्ल परे। सुरुमा त, एकै प्रकारका ब्याक्टेरियाले मात्र जिन साटासाट गर्न सक्छन् भन्ठानिएको थियो। तर पछि एकै प्रकारका प्रतिरोधी जिनहरू बिल्कुलै बेग्लै प्रकारका ब्याक्टेरियाहरूमा
देखा परे। त्यस्तो साटासाटद्वारा विभिन्न प्रकारका ब्याक्टेरियाहरूले सामान्यतया प्रयोग गरिने विभिन्न किसिमका औषधीहरू विरुद्ध प्रतिरोध विकास गरेका छन्।अझ यतिले मात्र नपुगेझैं, १९९० दशकको अध्ययनले देखाएअनुसार कुनै-कुनै ब्याक्टेरियाहरू आफै पनि औषधी प्रतिरोधी हुन सक्छन्। एउटा एन्टिबायोटिक मात्र हुँदा पनि कुनै-कुनै किसिमका ब्याक्टेरियाहरूले दुवै प्राकृतिक र अप्राकृतिक एन्टिबायोटिक विरुद्ध प्रतिरोध विकास गर्छन्।
अनिष्टकारी भविष्य
आज प्रायजसो एन्टिबायोटिकहरू अधिकांश मानिसहरूका निम्ति प्रभावकारी भए तापनि त्यस्ता औषधिहरू भविष्यमा कत्तिको प्रभावकारी हुनेछन्? दी एन्टिबायोटिक पेराडक्स यस्तो टिप्पणी गर्छ: “सुरुमा रोजेको एन्टिबायोटिकले जुनसुकै संक्रमणलाई निको पार्नेछ भनेर अब हामी आशा गर्न सक्दैनौं।” त्यही पुस्तक अझ यसो भन्छ: “संसारको कुनै-कुनै भागमा एन्टिबायोटिकको सीमित मात्रा हुनुको मतलब उपलब्ध कुनै एन्टिबायोटिक प्रभावकारी छैन। . . . बिरामीहरूले यस्ता रोग भोगिरहेका छन् वा मरिरहेका छन् जुन रोगहरू धर्तीबाट नामेट पारिनेछ भनेर कसै-कसैले आजभन्दा ५० वर्षअघि पूर्वानुमान गरेका थिए।”
औषधीजगत्मा प्रयोग गरिने रोगहरूप्रति प्रतिरोधी भएका जीवाणुहरू ब्याक्टेरिया मात्र होइनन्। भाइरसलगायत फंगी तथा अन्य ससाना परजीवीहरू अचम्मै लाग्दो ढंगमा वातावरणमा घुलमिल भएका छन्। फलतः ती विरुद्ध लड्ने औषधी पत्ता लगाउन तथा ती उत्पादन गर्न गरिएको प्रयासको खतरालाई बेकाम तुल्याइरहेको छ।
त्यसो भए के गर्न सकिन्छ? के प्रतिरोध हटाउन वा कमसेकम सीमित पार्न सकिन्छ? संक्रामक रोगहरूले पिरोलिएको अहिलेको संसारमा एन्टिबायोटिक तथा अन्य एन्टिमाइक्रोबियल कसरी यो लडाइँमा सफल हुन सक्छन्? (g03 10/22)
[फुटनोटहरू]
a साधारण प्रयोगअनुसार “एन्टिबायोटिक” भन्ने शब्दले ब्याक्टेरिया विरुद्ध लड्ने औषधीलाई बुझाउँछ। “एन्टिमाइक्रोबियल” अझ सामान्य पदावली हो र यसले भाइरस, ब्याक्टेरिया, फंगी वा साना परजीवीजस्ता रोग सार्ने सबै प्रकारका सूक्ष्मजीव विरुद्ध लड्ने औषधीलाई बुझाउँछ।
b कीटनाशकहरू भनेको विष हो भने औषधी पनि त्यस्तै हो। यी दुवै मदतकारी हुनुका साथै हानिकारक पनि साबित भएका छन्। एन्टिबायोटिकले हानिकारक जीवाणुहरू मार्न सक्छ भने यी औषधीहरूले उपयोगी ब्याक्टेरियाहरू पनि मार्छन्।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
एन्टिमाइक्रोबियल के हो?
डाक्टरले तपाईंलाई दिने एन्टिबायोटिक, एन्टिमाइक्रोबियल अर्थात् जीवाणु प्रतिरोधक औषधीहरूको वर्गमा पर्छ। यी सामान्यतया “केमोथेरापी” भनिने समूह अन्तर्गत पर्छन् जसले रासायनिक पदार्थ प्रयोग गरिने रोगको उपचारलाई बुझाउँछ। “केमोथेरापी” भन्ने पद अक्सर क्यान्सरको उपचारमा प्रयोग गरिने भए तापनि यो सुरुमा र अहिले पनि संक्रामक रोगको उपचारमा प्रयोग गरिन्छ। त्यस्तो अवस्थामा यसलाई एन्टिमाइक्रोबियल केमोथेरापी भनिन्छ।
माइक्रोब्स वा सूक्ष्मजीवहरू अति साना जीवहरू हुन् जुन माइक्रोस्कोपद्वारा मात्र देख्न सकिन्छ। एन्टिमाइक्रोबियल भनेको बिरामी पार्ने माइक्रोब्स विरुद्ध लड्ने रासायनिक पदार्थहरू हुन्। दुःखको कुरा, एन्टिमाइक्रोबियलले लाभकारी माइक्रोब्सहरूलाई पनि नोक्सानी गर्न सक्छ।
सन् १९४१ मा स्ट्रेप्टोमाइसिनका सह-आविष्कारक, सेल्मन वक्समनले “एन्टिबायोटिक” भन्ने पद सूक्ष्मजीवबाट निस्कने ब्याक्टेरिया प्रतिरोधकहरूलाई बुझाउन प्रयोग गरे। चिकित्सा उपचारमा प्रयोग गरिने एन्टिबायोटिकलगायत अन्य एन्टिमाइक्रोबियलहरूले तपाईंलाई गम्भीर हानि नपुऱ्याई जीवाणुहरूलाई विषाक्त पार्न सक्ने हुँदा महत्त्वपूर्ण छन्।
तथापि, वास्तवमा भन्ने हो भने सबै एन्टिबायोटिक हाम्रो लागि केही मात्रामा भए पनि विषालु छन्। जीवाणुलाई असर गर्ने औषधीको मात्रा र हामीलाई नोक्सानी गर्ने औषधीको मात्राबीचको सुरक्षा रेखालाई उपचारात्मक इन्डेक्स भनिन्छ। इन्डेक्स जति ठूलो भयो, औषधी त्यति सुरक्षित हुन्छ; इन्डेक्स जति सानो भयो, त्यति नै खतरा बढी हुन्छ। वास्तवमा, हजारौं एन्टिबायोटिक पदार्थहरू पत्ता लागेका छन् तर प्रायजसो औषधीको रूपमा उपयोगी छैनन् किनभने तिनीहरू मानिस वा पशुको लागि अति विषालु छन्।
आन्तरिक प्रयोग गर्न सकिने प्रथम प्राकृतिक एन्टिबायोटिक पेनिसिलिन थियो जुन पेनिसिलियम नोटाटम भनिने ढुसीबाट निकालिएको थियो। पेनिसिलिन पहिलो चोटि नसाद्वारा शरीरभित्र लिइएको १९४१ मा थियो। त्यसको केही समयपछि १९४३ मा माटोमा पाइने ब्याक्टेरिया, स्ट्रेप्टोमाइसेज ग्राइसियस-बाट स्ट्रेप्टोमाइसीन छुट्याइयो। समयको अन्तरालमा, अरू थुप्रै एन्टिबायोटिक विकसित भए, जुन जीवित प्राणीबाट लिइएका र कृत्रिम ढंगबाट तयार पारिएका थिए। यद्यपि, ब्याक्टेरियाले यी एन्टिबायोटिकको प्रतिरोध गर्ने तरिकाहरू विकास गरेका छन् र यो विश्वव्यापी चिकित्सा समस्याको रूपमा खडा भएको छ।
[चित्र]
भाँडाको पींधमा देखिएको पेनिसिलिन ढुसीले ब्याक्टेरियाको वृद्धि रोक्छ
[स्रोत]
Christine L. Case/Skyline College
[पृष्ठ ७-मा भएको पेटी/चित्रहरू]
विभिन्न किसिमका जीवाणुहरू
भाइरस सबैभन्दा साना जीवाणुहरू हुन्। तिनीहरूले गर्दा साधारण रुघाखोकी, ज्वरो, घाँटी बस्नेजस्ता सामान्य रोगबिमार लाग्ने गर्दछ। भाइरसले गर्दा पोलियो, इबोला र एड्सजस्ता भयानक रोग पनि लाग्ने गर्दछ।
ब्याक्टेरिया एक कोषीय जीवाणुहरू हुन् र अति सरल हुनाले यिनीहरूको न्युक्लियस हुँदैन र सामान्यतया एउटा मात्र क्रोमोजोम हुन्छ। हाम्रो शरीरमा खरबौं ब्याक्टेरियाहरू छन् र प्रायजसो पाचन नलीमा हुन्छन्। यिनीहरूले हामीलाई खाना पचाउन मदत गर्छन् र यी रगत जम्नको लागि आवश्यक भिटामिन के-का आधारभूत स्रोत हुन्।
ब्याक्टेरियाका ४,६०० जातिमध्ये ३०० जति मात्र प्योथोजेन (रोग ल्याउने) मानिन्छ। तैपनि, बोटबिरुवा, जनावर र मानिसहरूलाई लाग्ने रोगको लामो सूचीका कारण ब्याक्टेरिया नै हुन्। मानिसहरूमा लाग्ने यी रोगहरू क्षयरोग, भ्यागुते रोग, एन्थ्राक्स, दाँत कीराले खानु, कुनै-कुनै किसिमको निमोनिया र थुप्रै प्रकारका यौनजन्य रोगहरू हुन्।
प्रोटोजोआ ब्याक्टेरियाजस्तै एक कोषीय जीवाणु हुन् तर तिनीहरूको एउटाभन्दा बढी न्युक्लियस हुन सक्छ। यसमा अमिबा, ट्रिपानोसोमलगायत मलेरिया सार्ने परजीवी पर्छन्। लगभग एक तिहाइ जिवातहरू परजीवी हुन् र यी लगभग १०,००० किसिमका छन्—तर यीमध्ये थोरै किसिमका परजीवीहरूले मात्र मानिसहरूलाई रोग सार्छन्।
फंगी पनि रोग सार्ने जीवाणु हो। यी जीवाणुहरूको न्युक्लियस हुन्छ र यी मसिना त्यान्द्राले बुनेको मान्द्रोजस्ता हुन्छन्। सबैभन्दा सामान्य संक्रमण दाद, एथ्लीट्स फुट र क्यान्डियासिस (क्यान्डिडा) हुन्। फंगीको गम्भीर संक्रमणले कुपोषण, क्यान्सर, लागूपदार्थ वा भाइरल इन्फेक्सनले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइसकेका मानिसहरूलाई मात्र अक्सर आक्रमण गर्ने गर्छ।
[चित्रहरू]
इबोला भाइरस
“स्टाफीलोकोकस अरियस” ब्याक्टेरिया
“जिआर्डिया लाम्ब्लिया” प्रोटोजोआ
रिङवर्म फंगस
[स्रोत]
CDC/C. Goldsmith
CDC/Janice Carr
Courtesy Dr. Arturo Gonzáles Robles, CINVESTAV, I.P.N. México
© Bristol Biomedical Image Archive, University of Bristol
[पृष्ठ ४-मा भएको चित्र]
पेनिसिलिन आविष्कार गर्ने एलेक्जान्डर फ्लेमिङ