सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

नयाँ जातको चरा पत्ता लाग्यो

“सन्‌ १९९८ देखिको वैज्ञानिक पत्रिकाहरूमा [चराहरूका] जम्मा २८ वटा नयाँ जातबारे बताइएको छ अनि अनुसन्धानपछि संसारको कुल संख्या ९,७०० मा अझ बढी थपिन सक्छ” भनी लन्डनको दी इन्डिपेन्डेन्ट बताउँछ। बर्डिङ वर्ल्ड भन्‍ने पत्रिकाका सम्पादक स्टिभ गान्टलेटअनुसार “यी थुप्रै आविष्कारहरू हुनुको कारण संसार अझ बढी सर्वसुलभ भएकोले हो—चरा विशेषज्ञहरू केही दशकअघिसम्म पुग्नै नसक्ने दुर्गम ठाउँहरूमा जान सकेका छन्‌।” तिनको विचारमा यी आविष्कारहरूले “विभिन्‍न जातका चराहरू यिनीहरूको आवाजले सजिलै पत्ता लगाउन सकिने भएकोले हो भनेर देखाउँछ र प्रायजसो घना उष्ण प्रदेशीय रेनफरेस्टहरूमा यी चराहरू पत्ता लगाउने एक मात्र तरिका यिनीहरूको आवाज हो।” वैज्ञानिकहरूको विचारमा पत्ता लाग्न बाँकी अझ थुप्रै जातिहरू छन्‌। तथापि, आवासको विनाश हुँदा पत्ता लागेका थुप्रै नयाँ जातहरू खतरामा पर्न सक्छन्‌ “किनभने तिनीहरूको संख्या कम हुनुका साथै साना इलाकाहरूमा मात्र सीमित छन्‌” भनी दि इन्डिपेन्डेन्ट बताउँछ। (g03 10/22)

बच्चालाई कहिल्यै नहल्लाउनुहोस्‌!

बच्चालाई बेसरी हल्लाउँदा, अकस्मात्‌ कोर्राले हिर्काउँदा लागेको चोट जस्तो हुन्छ जसले गर्दा “टाउकोभित्र रक्‍तस्राव हुन अनि दिमागमा प्रेसर बढ्‌न सक्छ र मस्तिष्क च्यातिन सक्छ” भनी टोरन्टो स्टार अखबार बताउँछ। बच्चाका मांसपेशीहरू राम्ररी विकास भई नसकेको र मस्तिष्कको तन्तु अत्यन्तै नाजुक हुनेहुँदा “दुई चार सेकेन्ड मात्रै बच्चालाई हल्लाउँदा पनि जिन्दगीभर असर गर्ने चोटपटक लाग्न सक्छ। यसबाट हुन सक्ने चोटपटकमा दिमाग सुन्‍निने र बिगार्ने, मस्तिष्क आघात, मानसिक सुस्तता, विकास गतिमा अवरोध, अन्धोपन, श्रवण क्षमतामा ह्रास, पक्षघात र मृत्यु हो।” इस्टर्न ओन्टारियोस्थित बाल अस्पतालका बाल विशेषज्ञ डा. जेम्स किंगले बच्चाहरू हल्लाउँदा हुने असरहरूबारे अनुसन्धान गरेका छन्‌। तिनले बताएअनुसार सर्वसाधारणलाई शिक्षा दिनुपर्छ किनभने प्रायजसो अवस्थामा चोटपटक तुरुन्तै देखिंदैन अनि बच्चालाई रूखाखोकी वा भाइरल बिरामी भएको भन्ठानिन्छ। “बच्चालाई कहिल्यै हल्लाउनुहुँदैन भन्‍ने सन्देश सबैले सुन्‍नुपर्छ अनि प्रस्टसित सबैले बुझ्नुपर्छ” भनी डा. किंग बताउँछन्‌। “नयाँ आमाबाबुहरूले यो कुरा थाह पाउनै पर्छ।” (g03 10/08)

धर्ममा चासो नभएको

“वर्तमान निराशाजनक अवस्थासित सामना गर्ने संघर्ष गर्दा [जापानीहरू] जवाफको लागि धर्मतिर फर्किरहेका जस्तो देखिंदैन” भनी आइ एच टि आसाही सिम्बुन अखबार रिपोर्ट गर्छ। “के तपाईं धर्ममा विश्‍वास गर्नुहुन्छ वा कुनै चासो राख्नुहुन्छ वा कुनै प्रकारको विश्‍वास लिनुभएको छ?” भन्‍ने प्रश्‍नको जवाफमा १३ प्रतिशत पुरुष र स्त्रीले मात्र सकारात्मक जवाफ दिए। थप ९ प्रतिशत पुरुष र १० प्रतिशत स्त्रीले “अलिअलि” चासो भएको बताए। “विशेष गरी उल्लेखनीय कुरा त, २० देखि ३० वर्षबीचका युवतीहरूमा धर्मप्रति एकदमै कम चासो भएकाहरू पनि ६ प्रतिशत मात्र भेटिए” भनी उक्‍त अखबार बताउँछ। वार्षिक सर्वेक्षणले जापानका ७७ प्रतिशत पुरुष र ७६ प्रतिशत स्त्रीले धर्म वा कुनै किसिमको विश्‍वासमा कुनै चासो राख्दैनन्‌ भन्‍ने देखायो। सन्‌ १९७८ देखि यता लिइएको यस्तै सर्वेक्षणले देखाएअनुसार जापानमा धर्मप्रति चासो झन्डै आधा घटेको छ। सामान्यतया, ६० वर्षभन्दा बढी उमेर पुगेकाहरूले धर्मप्रति अलि चासो भएको कुरा बताए। (g03 10/08)

विवाह र मुटु

“अनुसन्धानले देखाएअनुसार मुटुको शल्यक्रियाबाट निवारण कस्तो हुनेछ भन्‍ने कुरा मानिसको विवाहको गुणस्तर हेरेर पूर्वानुमान गर्न सकिन्छ” भनी लन्डनको द डेली टेलिग्राफ बताउँछ। सं.रा.अ.-को पेन्सिलभेनिया विश्‍वविद्यालयका डा. जेम्स कोइनअनुसार सुखमय विवाहले पुनः स्वास्थ्यलाभको लागि संघर्ष गर्ने बल दिन्छ तर “दुःखदायी विवाहले विवाह नभएको अवस्थामा भन्दा नराम्रो असर पार्न सक्छ।” डा. कोइन र तिनको टोलीले घरमा दम्पतीहरूको झगडा भिडिओटेप गरे अनि के पाए भने, मुटुको शल्यक्रिया गरेकाहरूमध्ये आफ्नो जोडीसित खुसी भएका दम्पतीहरूको तुलनामा आफ्नो जोडीसित चित्त नबुझेकाहरू चार वर्षभित्र मर्ने सम्भावना झन्डै दुई गुणा बढी थियो। शिकागो विश्‍वविद्यालयका समाजशास्त्रका प्राध्यापक डा. लिन्डा वेइटले निष्कर्षमा बताएअनुसार राम्रो विवाहलाई “राम्रो भोजन, पर्याप्त व्यायाम र धूम्रपान नगर्ने बानीसित एउटै वर्गमा राख्न सकिन्छ।” (g03 10/08)

नहराएको पुरानो सराप

“विश्‍व-स्वास्थ्यसंघको अनुमानअनुसार सन्‌ २००२ मा ७,००,००० भन्दा बढी किसिमका कुष्ठरोग संसारभरि देखा परेको छ” भनी स्पेनी अखबार एल पाइस रिपोर्ट गर्छ। बाइबलकालदेखि कुष्ठरोग एउटा डरलाग्दो रोग थियो। अचेल, यस रोगको आधुनिक प्रकार निवारण गर्न सकिन्छ। वास्तवमा, विगत २० वर्षभित्र लगभग १.२ करोड मानिसहरू कुष्ठरोगबाट निको भएका छन्‌। तथापि, “कुष्ठरोग अब विगतको कुरा भइसक्यो भनेर हामी अझै भन्‍न सक्दैनौं” भनी अनुसन्धाता जेनेट फारेल बताउँछिन्‌। स्वास्थ्य अधिकृतहरू यो रोग निर्मूल पार्न सफल भएका छैनन्‌ र यसका अरू विभिन्‍न रूपहरू क्रमशः देखा पर्न थालेका छन्‌। कुष्ठरोगबाट प्रभावित प्रमुख राष्ट्रहरू नेपाल, ब्राजिल, भारत, मडागास्कर, मोजाम्बिक र म्यानमार हुन्‌। मानव जिनोमबारे हालै थप जानकारी प्राप्त गरेको हुँदा वैज्ञानिकहरू सुहाउँदो खोप पाउने आशामा छन्‌। (g03 10/08)

वजन घटाउनु वा पैसा गुमाउनु?

“युरोपेली संघका लगभग २३.१ करोड मानिसहरूले २००२ मा भोजन नियन्त्रण गर्ने प्रयास गरेका थिए” भनी पेरिसको इन्टरनेशनल हेराल्ड ट्रिब्युन बताउँछ। उद्योगहरूको विकास गतिमाथि निगरानी राख्ने समूह, डाटामनिटरको रिपोर्टअनुसार युरोपमा भोजन नियन्त्रण गर्ने व्यक्‍तिहरूले दुब्लाउने उत्पादनहरूमा गत वर्ष एक खरब अमेरिकी डलर खर्च गरे जुन मोरक्कोको आर्थिक उत्पादन बराबर हो।” तथापि, “यसमध्ये ४० लाखभन्दा कम व्यक्‍तिहरू मात्र एक वर्षभन्दा लामो समयसम्म दुब्लो रहिरहन सक्नेछन्‌” अनि “युरोपमा वजन नियन्त्रण गर्ने ५० मध्ये एक जनाभन्दा कमले मात्र स्थायी तवरमा वजन कम गर्छन्‌” भनी उक्‍त अखबार बताउँछ। यस्तो खर्च गर्नेहरूमध्ये अग्रपंक्‍तिमा जर्मनी आउँछ, तिनीहरूले दुब्लाउने उत्पादनहरूमा झन्डै २१ अरब अमेरिकी डलर खर्च गरे भने त्यसपछि बेलाइतीहरूले १६ अरब अमेरिकी डलर जति खर्च गरे। इटाली र फ्रान्सका उपभोक्‍ताहरूले क्रमशः १५ अरब र १४ अरब अमेरिकी डलर खर्च गरे। डाटामनिटरअनुसार ट्रिब्युन यसो भन्छ, “वजन घटाउने चिरकालीन उपाय भोजन मात्र होइन भनी वजन घटाउनेहरूले बुझ्नुपर्छ।” (g03 10/22)

हल्ला गर्ने माछा

समुद्री विज्ञानको अस्ट्रेलियाली इन्स्टिच्युटका (ए आई एम एस) अनुसन्धाताहरूले माछाहरूजस्तै, “डाम्सेल, सोल्जर र कार्डिनलले . . . हुङ्‌कार, चींचीं र सुसेलीद्वारा कुराकानी गर्छन्‌” भनी द वेस्ट अस्ट्रेलियन अखबार रिपोर्ट गर्छ। यसले माछाका भुरा चट्टानबाट अन्तै बगाइँदा कसरी आफ्नो घरमा फर्कन सक्छ भनी बुझ्न मदत गर्छ। ए आई एम एस अनुसन्धाताहरूले चट्टानमुनिबाट आएको आवाज रेकर्ड गरेर जालोमा समातेका माछाहरूलाई सुनाए। वैज्ञानिक डा. मार्क मीकानले उक्‍त अखबारलाई बताएअनुसार “हल्ला नभएको पासोमा भन्दा रेकर्डिङ बजाइएको पासोमा माछाका धेरै भुराहरू समात्न सकियो र यसले माछाहरू एउटा खास आवाजप्रति आकर्षित हुन्छन्‌ भनेर प्रमाणित गऱ्‍यो।” अनुसन्धाताहरूले पत्ता लगाएअनुसार हुर्किसकेका कुनै-कुनै माछाहरूको आवाज १५ किलोमिटर परसम्म सुन्‍न सकिन्छ। मीकानले भने, “साँझ र बिहान माछाको सामूहिक आवाज चरमोत्कर्षमा पुग्छ र फुटबल रङ्‌गशालामा हजारौंको गडगडाहट बराबर हुन्छ।” तथापि, यो “कोरस” मानिसको कानले सुन्‍न सक्दैन। (g03 10/22)

आँखाको झिम्क्याइमा

स्पेनको एल पाइस अखबारअनुसार “हाम्रो आँखाको ढकनी चलहल गर्नको लागि ३० वटाभन्दा बढी समूहका हजारौं न्युरोनहरू चाहिन्छ।” यी न्युरोनहरूको समूहले नै “मस्तिष्कको एउटा भाग अर्थात्‌ कोर्टेक्ससित आखाँको ढकनीको सम्पर्क राख्छ” भनी अझ बढी यकिनका साथ स्पेनी स्नायु वैज्ञानिकहरूले नेतृत्व लिएको टोलीले पत्ता लगाएका छन जसले जनावरहरूमा यो अध्ययन गरेका थिए। आँखाको ढकनीलाई यति धेरै न्युरोनहरूको जटिल संरचना किन चाहिन्छ? किनभने तिनीहरू सधैं एकै प्रकारले वा एउटै कारणले मात्र बन्द हुँदैनन्‌। आँखाको ढकनीको कार्यमा स्वचालित झिम्काइ समावेश छ, जस्तै कोर्नियालाई ओसिलो बनाउन प्रति मिनेट १५ चोटि जति झिम्काउनुका साथै रिफ्लेक्स झिम्काइ जब आँखा नजिकै अकस्मात्‌ केही आउँछ अनि आफै वा जानाजानी आँखा झिमिक्क हुन्छ। आँखाको ढकनी कहिलेकाहीं कुनै भावनाप्रति प्रतिक्रिया देखाउँदै केही समयको लागि आंशिक वा पूरै बन्द हुने गर्छ। (g03 10/22)

कम्प्युटर—तिनीहरूको वातावरणीय मूल्य

“आधुनिक कम्प्युटरको सफा, चहकिलो मुहारले यसको साँचो वातावरणीय मूल्यलाई ढाकछोप गर्छ,” भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। एउटा सामान्य कम्प्युटरमा चार वर्ष काम गर्ने साधारण मेमोरी चिप बनाउँदा “त्यो चिपको आफ्नो वजनभन्दा ८०० गुणा बढी वजन बराबरको जीवावशेष इन्धन खपत हुन्छ” भनी उक्‍त पत्रिका बताउँछ। जापान, फ्रान्स र संयुक्‍त राज्य अमेरिकाका सर्वेक्षकहरूको अनुमानअनुसार दुई ग्राम वजनको ३२ मेगाबाइट मेमोरी चिप बनाउन कम्तीमा १.६ किलोग्राम जीवावशेष इन्धनको अलावा कम्तीमा ३२ किलोग्राम पानी अनि अमोनिया र हाइड्रोक्लोरिक एसिडजस्ता विषाक्‍त पदार्थ ७२ ग्राम चाहिन्छ। सर्वेक्षकहरू निष्कर्षमा यसो भन्छन्‌: “सेमिकन्डक्टरहरूको वातावरणीय मूल्य, त्यसको सानो आकारभन्दा कता हो कता बढी छ।” (g03 10/22)