मल्टिपल स्क्लेरोसिससित जिउने
मल्टिपल स्क्लेरोसिससित जिउने
एक दिन एभिस गाडी चलाएर घर एक्लै फर्कंदै गर्दा अचानक तिनको आँखा धमिलो भयो। तिनले तुरुन्तै गाडी रोकिन्। केही मिनेटपछि तिनले फेरि सबै स्पष्टसित देखिन् र थकाइले भएको होला भन्दै आफ्नो बाटो लागिन्। अनि त्यसको चार वर्षपछि छुट्टी मनाउन अन्तै गएको बेला, एभिस मध्यरातमा टाउको फुट्ला जस्तो गरी दुखेकोले ब्यूँझिन्। तिनी अस्पताल गइन् र डाक्टरले तिनलाई टाउको नदुख्ने औषधी दिए र धमनी सुजन भएको हो कि भनेर निरीक्षणमा राखे।
भोलिपल्ट तिनको दुखाइ चटक्कै निको भयो। तथापि, एभिसले असाध्यै कमजोर महसुस गरिन्। तिनलाई पानीको गिलास समात्न पनि गाह्रो भयो र शरीरको दायाँ भाग झमझमाएको, पोलेको जस्तो महसुस गरिन्। के भएको हो भनी चिन्ता लागेकोले तिनी र तिनका पति आफ्नो बिदाको बीचमै घर फर्के। भोलिपल्ट बिहान ब्रेकफास्टको बेला एभिसले काँटा पनि राम्ररी चलाउन सकिनन् र तिनलाई शरीरको दायाँ भाग पूरै कमजोर भएको महसुस भयो। तिनी अस्पताल गइन् र डाक्टरहरूले तिनलाई थुप्रै टेस्टहरू गर्न लगाए र यसबाट मस्तिष्कघात होइन भन्ने पक्का भयो। चार वर्षअघि भएको घटनाबारे थाह नभएकोले डाक्टरहरू टेस्टहरूबाट केही पत्ता नलागेको निष्कर्षमा पुगे। केही महिनापछि एभिसले आफ्नो दायाँ भागमा पुनः बल प्राप्त गरिन्। तिनले आफूलाई अनौठो भाइरस लागेको भन्ठानिन्।
त्यसपछि चार वर्ष बित्यो। अनि एउटा शुक्रबार बिहान उठ्दा तिनको बायाँ आँखा धमिलो भएको थियो। तिनको डाक्टरले यो तनावको कारण भएको बताए। तर आइतबारसम्ममा तिनको त्यो आँखाले पटक्कै देखेन। डराउँदै र रुँदै तिनले आफ्नो डाक्टरलाई फोन गरिन् र तिनलाई तुरुन्तै परीक्षणको लागि पठाइयो। स्टेरोइडहरू दिएपछि तिनले पुनः अलिअलि त देखिन्। थप परीक्षणहरूपछि डाक्टरले एभिसको समस्या निदान गरे। तिनलाई मल्टिपल स्क्लेरोसिस भएको थियो।
मल्टिपल स्क्लेरोसिस भनेको के हो?
मल्टिपल स्क्लेरोसिस भनेको केन्द्रिय स्नायुप्रणाली अथवा मस्तिष्क र सुषुम्नालाई असर गर्ने, सुजन हुने दीर्घकालीन रोग हो। थुप्रै डाक्टरहरूको विचारमा मल्टिपल स्क्लेरोसिस भनेको रोग प्रतिरोधात्मक प्रणालीको रोग हो। यस पदावलीले रोगहरूको समूहलाई संकेत गर्छ जसमा रोग प्रतिरोधात्मक प्रणालीमा गोलमाल हुन्छ र शरीरका केही खास तन्तुहरूलाई आक्रमण गर्छ। मल्टिपल स्क्लेरोसिसको कारण पत्ता लागेको छैन तर यसको प्रमुख कारण भाइरस संक्रमण हुन सक्ने आशंका गरिएको छ। यसको कारण अन्ततः रोग प्रतिरोधात्मक प्रणालीको तत्त्वले केन्द्रिय स्नायुप्रणालीको स्नायु तन्तुलाई ढाक्ने एउटा महत्त्वपूर्ण चिल्लो पदार्थ, माएलिन आवरणलाई आक्रमण गर्छ जस्तो देखिन्छ जसले गर्दा माएलिनमा एउटा कडा टाटो बन्छ।
वास्तवमा भन्ने हो भने, मल्टिपल स्क्लेरोसिस भन्ने पदावलीले स्नायु कोषका तन्तुहरूमा देखिने थुप्रै टाटोहरूलाई बुझाउँछ।माएलिनले केही खास स्नायु तन्तुहरूलाई बचाउँछ, भन्ने हो भने एक प्रकारको विद्युतीय अचालकको काम गर्छ। त्यसैले माएलिनमा क्षति हुँदा विद्युतीय संवेग पूर्णतया बन्द हुन सक्छ वा छेउछाउका स्नायुको विद्युत् परिपथमा गडबडी भएर असामान्य संकेत पठाउन सक्छ। अनि केन्द्रिय स्नायुप्रणालीको जुनसुकै भागमा पनि क्षति हुन सक्ने भएकोले प्रत्येक बिरामीका लक्षणहरू फरक-फरक हुन सक्छन्। बिरामीको केन्द्रिय स्नायुप्रणालीको कुन भागमा असर गरेको हो त्यसअनुसार प्रत्येक चोटि बेग्ला-बेग्लै लक्षणहरू देखापर्न सक्छ। तैपनि, अक्सर थकान, कमजोरी, हातखुट्टा लाटो हुने, हिंड्न गाह्रो हुने, दृष्टि धमिलो हुने, झमझमाउने, पोल्ने र मुत्राशय अनि पेटको गडबडीका साथै कुनै कुरामा ध्यान दिन नसक्नु र उचित निर्णय गर्न असक्षम हुनु जस्ता लक्षणहरू देखापर्छन्। तथापि, एउटा सान्त्वनादायी कुरा के छ भने, थुप्रै बिरामीहरू “गम्भीर रूपमा असक्त हुँदैनन्” भनी संयुक्त राज्य अमेरिकाको द नेसनल मल्टिपल स्क्लेरोसिस सोसाइटी बताउँछ।—“मुख्य चार प्रकारका मल्टिपल स्क्लेरोसिस” भन्ने पेटी हेर्नुहोस्।
यस रोगका लक्षणहरू अन्य रोगहरूसँग पनि मिल्ने भएकोले एभिसको सन्दर्भमा जस्तै सुरुमा निदान गर्न गाह्रो हुन सक्छ। तर पटक-पटक दोहोरिने लक्षणबारे एकचोटि पक्का भएपछि डाक्टरहरूले अक्सर सही निदान गर्न सक्छन्।—“मल्टिपल स्क्लेरोसिसका लागि स्ट्यान्डर्ड परीक्षणहरू” भन्ने पेटी हेर्नुहोस्।
विश्वभरि झन्डै २५ लाख मानिसहरू मल्टिपल स्क्लेरोसिसबाट प्रभावित छन्। यस तथ्यांकमा झन्डै ५०,००० क्यानेडियालीहरू र संयुक्त राज्य अमेरिकाका ३,५०,००० बासिन्दाहरू पर्छन् जहाँ हरेक हप्ता लगभग २०० जना मानिसहरूलाई यो रोग लागेको निदान गरिन्छ। “अन्य बाह्य कारणको अलावा भर्खरै वयस्क भएकाहरूदेखि अधबैंसेमा स्नायुसम्बन्धी समस्याको मुख्य कारण [मल्टिपल स्क्लेरोसिस] नै हो” भनी एउटा चिकित्सा सन्दर्भ-सामग्रीले बताउँछ। अनि यसले पुरुषहरूभन्दा स्त्रीहरूलाई दुई गुणा बढी असर गर्छ र यसका लक्षणहरू अक्सर २० वर्षदेखि ५० का उमेरबीचमा देखिन थाल्छ।
मल्टिपल स्क्लेरोसिसलाई नियन्त्रणमा राख्ने
मल्टिपल स्क्लेरोसिसको उपचार नभएकोले डाक्टरहरूले लक्षणहरूलाई नियन्त्रणमा राखेर यसलाई बढ्नदेखि रोक्न वा कम गर्ने कोसिस गर्छन्। मल्टिपल स्क्लेरोसिसबाट पूरै प्रभावित हुनदेखि रोक्न वा कम गर्ने र यसको आक्रमणको गम्भीरतालाई कम गर्न, कम्तीमा पनि दुई प्रकारको इन्टरफेरोन (रोग प्रतिरोधात्मक कोषद्वारा बनाइएको प्राकृतिक प्रोटिन) र ग्लार्टेमेर एसिटेट नाउँ गरेको औषधी प्रयोग गरिन्छ।
डाक्टरहरूले सुजन कम गर्न र लक्षणहरू फेरि-फेरि देखापर्दा चाँडो निको हुन कोही-कोही बिरामीहरूलाई कोर्टिकोस्टेरोइड भन्ने औषधी पनि दिन्छन्। तथापि, “कोर्टिकोस्टेरोइड लामो समयसम्म दिनु विरलै उपयुक्त साबित हुन्छ र यसले a
ओस्टियोपोरोसिस, अल्सर र मधुमेहलगायत थुप्रै चिकित्सा समस्याहरू हुन सक्छ” भनी चिकित्सा प्रकाशन द मर्क म्यानुयल बताउँछ। यसबाहेक, यस रोगले अन्ततः पार्ने असरलाई स्टेरोइड उपचारले परिवर्तन नगर्न पनि सक्छ। तसर्थ केही चिकित्सकहरूले हल्का आक्रमण हुँदा उपचार गर्न रुचाउँदैनन्।अनुसन्धानकर्ताहरूले विभिन्न तरिकाहरू अपनाउँदै क्षतिग्रस्त माएलिनलाई पुनर्स्थापित गर्ने तरिकाहरू अध्ययन गर्दैछन्। प्रयोगशालामा गरिएका अध्ययनहरूमा यस्ता खास अग्रगामी वा पूर्वज कोषहरू भेट्टिएका छन् जसले माएलिन उत्पादन गर्ने परिपक्व कोष उत्पादन गर्न सक्छ। यो प्रक्रिया कसरी उत्तेजित गर्ने भनी तिनीहरूले पत्ता लगाउन सकेको खण्डमा तिनीहरूले क्षतिग्रस्त स्नायु कोषहरूको स्याहारसम्भार गर्न शरीरलाई उत्तेजित गर्न सक्नेछन्।
मल्टिपल स्क्लेरोसिससित जिउने
मल्टिपल स्क्लेरोसिसका ५० प्रतिशतभन्दा बढी बिरामीहरूले, तिनीहरूले सामना गर्नुपर्ने सबैभन्दा कठिन समस्या भनेको थकान हो भन्छन्। थकानले रोगका लक्षणहरूलाई झन् बढाउन सक्छ जसले गर्दा आफ्नो जागिर र जागिरका सम्भाव्यताहरूलाई असर गर्न सक्छ। अनि यसले रोगमाथि नियन्त्रण छ भन्ने विश्वासलाई पनि झीनो बनाउन सक्छ। तसर्थ, दिउँसो थकान महसुस गर्ने थुप्रैले आफ्नो काम बिहानै सिद्धयाउनु र दिउँसो एक झप्की लिनु लाभकारी पाएका छन्। उदाहरणका लागि, हरेक दिउँसो एक घण्टा आराम लिंदा एभिसले स्वयंसेवकको रूपमा पूर्ण-समय सेवकको कामलाई निरन्तरता दिन सकेकी छिन्।
मल्टिपल स्क्लेरोसिसका बिरामीहरूको सामान्य स्वास्थ्य हेरचाहको सन्दर्भमा ह्यारिसन्स प्रिन्सिपल्स अफ इन्टर्नल मेडिसिन-ले “तनाव कम गर्ने, सन्तुलित भोजन लिने, एकै चोटि धेरै वजन नघटाउने र पर्याप्त आराम लिने”-जस्ता स्वास्थ्य-सम्भारमा जोड दिएको छ। थुप्रै अनुसन्धानकर्ताहरूका अनुसार तनावले फेरि-फेरि हुने आक्रमणको क्रमलाई बढाउन सक्छ। तसर्थ, व्यक्तिविशेषले केही हदसम्म हटाउन सक्ने तनावका खास कारणहरू चिन्नु धेरै मदतकारी हुन्छ।
अर्कोतर्फ, मल्टिपल स्क्लेरोसिसका बिरामीले सकेसम्म सामान्य र सक्रिय जीवन बिताउने कोसिस गर्नुपर्छ तर काममा बढ्तै घोटिनु र थकित हुनुदेखि वा आफूलाई अचाक्ली जाडो वा गर्मीदेखि जोगाउनुपर्छ। तिनीहरूले उचित व्यायाम
पनि गर्नुपर्छ। द मर्क म्यानुयल भन्छ: “रोगले धेरै च्यापिसकेका बिरामीहरूलाई पनि नियमित व्यायाम गर्न (जस्तै, एकै ठाउँमा बसेर प्याडल गर्ने व्यायाम मेशिन, ट्रेडमिल, पौडी, तन्किने कसरत) सुझाव दिइन्छ किनभने यसले मुटु र मांसपेशीलाई स्वस्थ राख्छ, मांसपेशी बटारिने क्रम कम गर्छ र मानसिक तवरमा फाइदा पुऱ्याउँछ।”एभिस भन्छिन्, “आफ्नो शरीरलाई चिन्नु महत्त्वपूर्ण छ। मलाई असाध्यै थकित महसुस भयो वा हातखुट्टा झमझमायो वा लाटो भयो भने एक दुई दिन आफ्नो गतिविधि अलि कम गर्नुपऱ्यो भनेर थाह हुन्छ। यसले मलाई रोग नियन्त्रणमा राख्न मदत गरेको छ।”
मल्टिपल स्क्लेरोसिसका बिरामीहरू उदासिनताबाट पनि पीडित हुन सक्छन् तर यो रोगको सीधै असर भने नहुन सक्छ। सुरुमा निदान हुँदाको झट्कापछि साधारणतया बिरामीहरूले शोकको विभिन्न तह सामना गर्छन्। यसमा वास्तविकतालाई स्वीकार्न नचाहनु, रिस, निराशा, दुःख र निस्सहायका भावनाहरू हुन सक्छन्। यस्ता भावनाहरू सामान्य हुन् र ती अक्सर कम हुँदै जान्छन् र यसको ठाउँ सकारात्मक मनस्थितिले लिन्छ।
स्वाभाविकतः परिवारका सदस्यहरू र साथीहरू पनि प्रभावित हुन सक्छन् र भर्खरै रोग निदान भएको व्यक्तिको शोकमा अक्सर मुछिन पुग्छन्। तथापि, रोगबारे जान्ने प्रयास गरेको खण्डमा तिनीहरूले परिस्थितिको चाँडो सामना गर्नेछन् र रोगबाट ग्रसित व्यक्तिको लागि ठूलो सहयोगको स्रोत साबित हुनेछन्। उदाहरणका लागि, मल्टिपल स्क्लेरोसिसले जीवनको आयुलाई खासै असर गर्दैन, सरुवा होइन र वंशानुगत पनि भन्न मिल्दैन भनी थाह पाउनु बेस हुन्छ। तथापि, तथ्यांकहरूले रोग वंशानुगत पनि हुन सक्ने कुरा देखाएको छ।
मल्टिपल स्क्लेरोसिस लागेका थुप्रै बिरामीहरूले फलदायी, सुखी जीवन बिताउँछन्। एभिसले परमेश्वरसँगको सम्बन्ध र भविष्यबारे बाइबल-आधारित आशामा अझ थप बल प्राप्त गरेकी छिन्। हो, तिनी “म बिरामी परें” कसैले नभन्ने समयको उत्कट प्रतीक्षामा छिन्। (यशैया ३३:२४; प्रकाश २१:३, ४) तपाईं मल्टिपल स्क्लेरोसिस वा अन्य कुनै गम्भीर स्वास्थ्य समस्याको बिरामी हुनुहुन्छ भने “धर्मशास्त्रको शान्ति[ले]” तपाईंलाई सम्हालोस् र आफ्ना परीक्षाहरूको सामना गर्न मदत गरोस्।—रोमी १५:४. (g03 11/22)
[फुटनोट]
a हालैको अध्ययनले देखाएअनुसार मल्टिपल स्क्लेरोसिस भएका ५० देखि ६० प्रतिशत मानिसहरूले भिटामिन, मिनरल, जडीबुटी तथा अन्य भोजन सहायकहरू लिन्छन्। यीमध्ये कुनै-कुनै मल्टिपल स्क्लेरोसिसका बिरामीहरूका लागि अहानिकारक भए तापनि कुनै-कुनैले उल्टै बेफाइदा गर्ने वा हानिकारकसमेत हुन सक्छ। त्यसैले बिरामीले कुनै थप औषधी वा भोजन सहायक लिनुअघि सम्भाव्य खतराबारे विचार गर्नुपर्छ।
[पृष्ठ १२-मा भएको पेटी]
मुख्य चार प्रकारका मल्टिपल स्क्लेरोसिस
रिल्यापसिङ-रेमिटिङ: यस रोगको यो सबैभन्दा सामान्य प्रकार हो र यसका लक्षणहरू सुरुमा देखापर्न थाल्दा यसले झन्डै ७० देखि ८० प्रतिशत बिरामीहरूलाई असर गर्छ। फेरि-फेरि रोग बल्झिनु र रोगका लक्षणहरू कम हुनुबीच भिन्नता छ र यतिबेला लक्षण पूरै वा आंशिक रूपमा हराउँछ। रोगका लक्षणहरू फेरि-फेरि देखापर्दा रोगले च्याप्दै लगेको कुनै संकेत हुँदैन।
सेकेन्डरी प्रोग्रेसिभ: सुरुमा रिल्यापसिङ-रेमिटिङ भएका बिरामीहरूमध्ये झन्डै ७० प्रतिशतलाई पछि सेकेन्डरी प्रोगेसिभ हुन्छ। तिनीहरूमा फेरि-फेरि रोग बल्झिन सक्छ र तिनीहरूलाई बिस्तारै स्नायुप्रणालीले काम गर्न छोडेको पनि अनुभव हुन्छ।
प्रोग्रेसिभ-रिल्यापसिङ: झन्डै १० प्रतिशत बिरामीहरूलाई असर गर्ने यस प्रकारको मल्टिपल स्क्लेरोसिस सुरुदेखि नै नाजुक हुँदै जान्छ। एकदमै गम्भीर किसिमले एकाएक बल्झिन सक्छ र निको नहुन पनि सक्छ। रिल्यापसिङ-रेमिटिङमा जस्तो नभई यो रोग फेरि-फेरि देखापर्नुको बीच-बीचमा चर्किंदै जान्छ।
प्राइमरी प्रोगेसिभ: यस प्रकारको मल्टिपल स्क्लेरोसिसले १० देखि १५ प्रतिशत बिरामीहरूलाई असर गर्छ। सुरुदेखि यो निरन्तर बढ्दै जान्छ र खासै फेरि-फेरि देखापर्ने र कम हुनेजस्तो हुँदैन। तथापि, विभिन्न अवधिमा रोगको बढ्ने क्रम फरक-फरक हुन सक्छ र कहिलेकाहीं केही प्रगति भएजस्तो पनि हुन सक्छ। चालीस वर्षपछि मल्टिपल स्क्लेरोसिस हुनेहरूमा यो बढी देखिन्छ।
[स्रोत]
स्रोत: यु.एस. नेसनल मल्टिपल स्क्लेरोसिस सोसाइटी र मल्टिपल स्क्लेरोसिस इन क्लिनिकल प्राक्टिस भन्ने पुस्तकमा आधारित। स्रोतअनुसार प्रतिशत संख्या अलिअलि फरक हुन सक्छ।
[पृष्ठ १३-मा भएको पेटी]
मल्टिपल स्क्लेरोसिसका लागि स्ट्यान्डर्ड परीक्षणहरू
म्यागनेटिक रेजोन्यानस इमेजिङ (एम आर आइ): यो उपलब्ध सबैभन्दा मदतकारी इमेजिङ तरिका हो। एम आर आइ-ले एकदम विस्तृत रूपमा मस्तिष्कका तन्तुहरूको चित्र उतार्छ। यी नक्साहरूले मल्टिपल स्क्लेरोसिसका संकेतहरू स्पष्ट पार्न सक्छ वा बिरामीलाई मल्टिपल स्क्लेरोसिस भएको हो भने अन्य रोग लागेको होइन भनी पक्का गर्न सकिन्छ।
मस्तिष्क सुषुम्ना द्रव्यको परीक्षण (सि एस एफ): सि एस एफ डँडाल्नुबाट निकालिन्छ। डाक्टरहरूले केही खास रोग प्रतिरोधात्मक प्रणालीको तत्त्व र बिग्रिएको माएलिनबाट झिकिएको तत्त्व कुनै असामान्य तहसम्म पुगेको छ कि भनेर हेर्छन्।
कुनै खास प्रतिक्रिया उत्पन्न गर्ने जाँच: कुनै अंगमा स्नायु संकेत पुग्न सालाखाला कति समय लाग्छ भनी कम्प्युटर उपकरणद्वारा नापिन्छ। मल्टिपल स्क्लेरोसिसका ८० देखि ९० प्रतिशत बिरामीहरूमा असामान्य प्रतिक्रिया देखिन्छ।
[पृष्ठ १४-मा भएको पेटी]
मल्टिपल स्क्लेरोसिसको सामना गर्ने
सहयोग: बुज्झकी र सहयोगी नातेदार तथा साथीभाइसँगको घनिष्ठ सम्बन्धले व्यक्तिगत सुस्वास्थ्यमा योगदान पुऱ्याउँछ। त्यसैले आफूलाई आवश्यक परेको बेला मदत माग्नुहोस् र आफूलाई नअलग्याउनुहोस्।
खुलस्त कुराकानी: मल्टिपल स्क्लेरोसिस र यसका चुनौतीहरूबारे खुलमखुला कुरा गर्ने इच्छुकता देखाउँदा समझदारी बढ्छ र बिरामीले रोगको सामना गर्ने मदत पाउँछन्। अर्कोतर्फ, कुराकानी गर्न हिचकिचाउँदा असमझदारी, दिक्दारी र एक्लो हुनेजस्ता समस्या हुन सक्छन्।
आध्यात्मिकता: हाम्रो स्वास्थ्यको लागि आध्यात्मिकता राम्रो हो र यसले भविष्यप्रति सकारात्मक दृष्टिकोणलगायत अन्य राम्रा गुणहरू बढाउँछ भनी थुप्रै प्रमाणहरूले प्रमाणित गर्छ। यो येशूका शब्दहरूसित मिल्दोजुल्दो छ: “मानिस भोजनले मात्र होइन, तर परमेश्वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।”—मत्ती ४:४.
हँस्सी मिजास: मल्टिपल स्क्लेरोसिसबारे कुनै हाँसउठ्दो कुरा नभए तापनि मन अनि शरीरको लागि हाँसो राम्रो ओखती हुन सक्छ।
[स्रोत]
मल्टिपल स्क्लेरोसिस इन क्लिनिकल प्राक्टिस भन्ने पुस्तकमा आधारित।
[पृष्ठ ११-मा भएको चित्र]
मल्टिपल स्क्लेरोसिसले पुरुषहरूभन्दा स्त्रीहरूलाई दुई गुणा बढी असर गर्छ
[पृष्ठ १३-मा भएको चित्र]
शरीर अनि मनको लागि नियमित व्यायाम राम्रो हो