सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घरपालुवा जनावरहरू—उनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌

घरपालुवा जनावरहरू—उनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌

घरपालुवा जनावरहरू—उनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌

अघिल्लो लेखमा उल्लेख गरिएझैं पृथ्वी र यसका सबै जनावरहरूको हेरचाह गर्ने जिम्मा मानिसलाई सुम्पिएको थियो। बाइबल यस्तो भन्छ: “[परमेश्‍वरले] त्यसलाई प्रभुत्व दिनुभएको छ। भेडा र गोरुहरू सबै वनका जानवरहरू पनि। आकाशका चराहरू र समुद्रका माछाहरू, र समुद्रभित्र बग्ने सबै जन्तुहरू।”—भजन ८:६-८; ११५:१६.

मानिसहरूले जनावरहरूप्रति आफ्नो जिम्मेवारी कसरी निभाउँछन्‌, त्यो कुरा महत्त्वपूर्ण छ। परमेश्‍वरको वचन यसो भन्छ: “असल मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्ट मानिस मनमा कठोर हुन्छ।” (हितोपदेश १२:१०) साँच्चै, इस्राएललाई दिइएको परमेश्‍वरको व्यवस्थाले जनावरहरूप्रति विचारशील हुनुपर्ने कुरामा बारम्बार जोड दिएको थियो। (व्यवस्था २२:४, १०; २५:४) मानिसहरूले आफ्नो जिम्मेवारी निभाउने क्रममा अक्सर पाल्तु पशुहरूलाई नै आफ्नो घरपालुवा बनाएका छन्‌ र तिनीहरूले जङ्‌गली जनावरलाई समेत तालिम दिएर आफ्नो घरपालुवा बनाएका छन्‌।—उत्पत्ति १:२४.

तर हामीले यो कुरा पनि सम्झनुपर्छ कि बाइबलमा मानव र जनावरहरूबीचको भिन्‍नता स्पष्ट पारिएको छ। जनावरहरूलाई होइन, तर मानिसहरूलाई ‘परमेश्‍वरकै स्वरूप र प्रतिरूपमा’ बनाइएको थियो। (उत्पत्ति १:२६) अनि जनावरहरूलाई सीमित आयुको लागि सृष्टि गरिएको थियो भने मानिसहरूको पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा थियो। (उत्पत्ति ३:२२, २३; भजन ३७:२९) “अनन्त जीवन[को]” आनन्द उठाउन हामीले विश्‍वास गर्नुका साथै परमेश्‍वरको ज्ञान लिनै पर्छ भनी येशू ख्रीष्टले भन्‍नुभयो—यी कुराहरू जनावरहरूले गर्न सक्दैनन्‌। (यूहन्‍ना ३:३६; १७:३) साथै, पुनरुत्थानका लागि अयोग्यहरूलाई “पकराउ परेर नाश हुनालाई चैतन्यहीन पशुझैं” भनी बाइबलले तुलना गरेको छ।—२ पत्रुस २:९-१२.

मानिसको फाइदाको लागि सृजिएका

परमेश्‍वरले जीवजन्तुहरू मानिसहरूको खातिर सृष्टि गर्नुभयो। जनावरहरूले तिनीहरूको काममा मदत गर्न सक्छन्‌ र तिनीहरूको साथी वा घरपालुवा जनावरको रूपमा सेवा गर्न सक्छन्‌। उनीहरूले परमेश्‍वरको प्रेम र बुद्धिको महिमा पनि गर्छन्‌। निश्‍चय पनि, जनावरहरूको सौन्दर्य हेरेर र उनीहरूको सहज ज्ञानको अध्ययन गरेर सृष्टिकर्ताबारे अझ बढी जान्‍नु आनन्दको कुरा हो। (भजन १०४:२४; हितोपदेश ३०:२४-२८; रोमी १:२०) त्यस्तो बुद्धिका थुप्रै उदाहरणहरूमध्ये एउटा, कीराहरूको संसारमा देख्न सकिन्छ। एक-अर्कासँग कुराकानी गर्ने र खाना भएको ठाउँसम्म पुग्ने माहुरीहरूको तरिका साँच्चै अनुपम छ—उनीहरूले बनाउने जटिल चाकाको कुरा त भनिरहनु नपर्ला।

भोजनको रूपमा पनि जनावरहरूले मानिसहरूलाई सेवा प्रदान गर्छन्‌। परमेश्‍वरले सुरुमा त मानिसहरूलाई भोजनको रूपमा वनस्पति मात्र दिनुभएको थियो। तर १,६०० वर्षभन्दा बढी समयपछि अर्थात्‌ नूहको समयको जलप्रलयपछि परमेश्‍वरले यसो भन्‍नुभयो: “जीवित-जीवात्‌ सबै तिमीहरूका आहारका निम्ति हुनेछन्‌। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैं सबै थोक म तिमीहरूलाई दिन्छु।” (छड्‌के अक्षर हाम्रो, उत्पत्ति १:२९; ९:३) यसरी परमेश्‍वरले मानिसहरूलाई जीवजन्तुहरू खाने अनुमति दिनुभयो। प्राप्त प्रमाणअनुसार परमेश्‍वरले सुरुमा मानिसको भोजनमा मासु समावेश नगर्नुभए तापनि यो अनुमति मानिसको फाइदाको लागि थियो।

आज घरपालुवा जनावरहरू सँगसँगै आइपर्ने समस्याहरू

इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, घरपालुवा जनावरहरूलाई विरलै मात्र घरमा राखिन्थ्यो जस्तो देखिन्छ र अझै पनि संसारका कतिपय ठाउँमा यस्तै चलन छ। तर हालैका समयमा मानिसहरू सहरतिर बसाइँ सरेका छन्‌ अनि सम्पन्‍न भएका छन्‌ र घरपालुवा जनावरहरू सामान्य हुन थालेको छन्‌। यसले विकसित देशहरूमा केही समस्याहरू खडा गरेको छ।

संसारभरि अनुमानित ५० करोड घरपालुवा जनावरहरूमध्ये असाध्यै धेरै अर्थात्‌ ४० प्रतिशत वा त्यस्तै संयुक्‍त राज्य अमेरिकामा मात्रै पाइन्छ। त्यहाँ लगभग ५.९ करोड घरपालुवा कुकुर र ७.५ करोड घरपालुवा बिरालाहरू छन्‌। यद्यपि, प्रतिघर हिसाब गर्ने हो भने, न्यु योर्क सहरको तुलनामा लण्डन र पेरिस, दुवै सहरमा अझ बढी घरपालुवा जनावरहरू छन्‌!

केही वर्षअघि पेरिसका सडक पेटीहरूबाट कुकुरको दिसा तान्‍न कनाइनेट भनिने ७० वटा मोटर स्कूटर भाडामा लिइएको थियो। पेरिसका लगभग २,५०,००० कुकुरहरूले दिनहुँ २५ टन दिसा निकाल्ने अनुमान गरिएको थियो र त्यसमध्ये आधा जसो मात्र कनाइनेटले तानेको थियो। वर्षेनी सयौं मानिसहरू कुकुरको दिसामा चिप्लिएर घाइते भएकोले अस्पतालमा भर्ना हुनुपरेको रिपोर्ट गरिएको थियो।

अनि हल्लाको समस्या पनि छ। कुनै-कुनै कुकुर मालिकहरूले मानिसमा कहिल्यै नसहने कुराहरू पनि आफ्नो घरपालुवाको हो भने सहन्छन्‌। द पेट केयर फोरम अर्थात्‌ घरपालुवाको स्याहार निकायअनुसार, “आफ्नो कुकरले विनाकारण भुकेको भुक्यै गर्दा पनि कतिपय मालिकहरू त्यो हल्लालाई पचाउने क्षमता विकास गर्छन्‌।” उदाहरणका लागि, कसै-कसैले महत्त्वपूर्ण कुराकानी गर्नै नसकिने हुँदा समेत आफ्नो कुकुरको भुकाइ बन्द गर्न केही पनि गर्दैनन्‌।

अर्कोतर्फ, कुनै कुकुर आफ्नो मालिक अगाडि हुँदा केही नगर्ने, ज्ञानी भएर बस्ने तर मालिक नभएपछि छिमेकीहरूका लागि टाउको दुखाइको कारण हुन सक्छ। हो, घरपालुवा जनावरका मालिकले त्यस्ता गल्तीहरूको बावजुद आफूले पालेको जनावरलाई माया गर्लान्‌ तर राती काम गरेर दिउँसो सुत्नुपर्ने छिमेकी वा आफ्नो बच्चालाई सुताउन लागेकी आमालाई असह्‍य हुन सक्छ। साथै, पट्टाइ लागेको जनावरले विध्वंशकारी बानी पनि विकास गर्न सक्छ अनि असाध्यै रिसाहा वा आक्रामक स्वभावको हुन सक्छ।

विशेष गरी सहरका घरपालुवा जनावरहरूको समस्या भनेको उनीहरूले छिट्टै जन्माउनु हो। संयुक्‍त राज्य अमेरिकामा वर्षेनी १.७ करोड कुकुर र ३ करोड बिरालाहरू जन्मिन्छन्‌ भनी अनुमान गरिएको छ। तीमध्ये लाखौं पशु स्याहार केन्द्रमा पुग्छन्‌, जहाँ त्यस देशमा मात्र प्रत्येक वर्ष झन्डै ४० देखि ६० लाख जनावरहरूलाई युथेनेसिया अर्थात्‌ पीडारहित तरिकामा मारिन्छ।

किन त्यति धेरै जनावरहरूलाई स्याहार केन्द्रमा पठाइन्छ? प्रायजसो यसो हुनुको कारण के हो भने, जनावरप्रतिको माया क्षणिक हुन सक्छ। कुकुरको मायालाग्दो छाउरा वा बिरालोको हिस्सी परेको छाउरा-छाउरी बढेर ठूलो हुन्छ र उनीहरूलाई हेरचाहको आवश्‍यक हुन्छ। तर उनीहरूसँग खेल्न वा तालिम दिन घरमा कसैको पनि फुर्सत वा धैर्य नहुन सक्छ। लेखक तथा पशु विशेज्ञष डा. जोनिका न्युबी यसो भन्छन्‌: “मानिसहरूको सामान्य धारणा विपरीत, संसारभरिका अध्ययनहरूले एउटै कुन कुरा देखाउँछ भने, पशु कल्याण केन्द्रहरूमा दिइने आधी भन्दा बढी कुकुरहरू त्यागिएका होइनन्‌ तर कुकुरको भुकाइ, विध्वशंकारी बानी वा उनीहरूभित्र गुम्सिएको तागत सहन नसकेर मालिकहरू आफैले त्यहाँ पुऱ्‍याएका हुन्‌।”

घरपालुवा जनावरहरूको संख्यामा भएको तीव्र वृद्धिबारे एउटा तथ्याङ्‌क पत्रले निचोडमा यसो भन्छ: “जीवित प्राणीहरू एक चोटि प्रयोग गरेर फ्याँकिंने चीजबीजजस्ता भएका छन्‌ जसलाई सानो हिस्सी पर्दा मायाले लुटपुटाइन्छ अनि असुविधा हुन थालेपछि त्यागिन्छ। जनावरहरूको जीवनप्रति त्यस्तो बेवास्ता व्याप्त छ र यसले हाम्रो परम्परागत मूल्यमान्यतालाई खत्तम पारिरहेको छ।”

विचार गर्नुपर्ने महत्त्वपूर्ण पक्षहरू

विशेष गरी सहरमा कुनै जनावर पाल्नुअघि गम्भीरतापूर्वक धेरै कुरा विचार गर्नुपर्छ। एकदमै फुर्तिला जनावरहरूलाई स्वस्थ राख्ने हो भने उनीहरूलाई दिनहुँ शारीरिक कसरतको आवश्‍यकता हुन्छ। अस्ट्रेलियामा “नेसनल पिपल एण्ड पेट सर्भे” नामक सर्वेक्षणले यस्तो उल्लेख गऱ्‍यो: “टहल्ने र कसरत गर्ने भनेको कुकुरको लागि शारीरिक आवश्‍यकता र मानसिक उत्प्रेरणा दुवै हो। पर्याप्त कसरत नपुगेका कुकुरहरूलाई सम्हाल्न गाह्रो हुन सक्छ।” यद्यपि, थुप्रै मालिकहरू दिनभरिको कडा परिश्रमपछि थकित भइसकेको हुँदा आफ्ना कुकुरलाई बाहिर डुलाउन लान सक्दैनन्‌ जबकि ती कसरत चाहिने कुकुरहरू भने उकुसमुकुस भएर बस्नुपर्ने हुन्छ।

त्यसैले कुनै जनावर पाल्ने विचार गरिरहेका मालिकहरूले आफूलाई यी प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के मैले आफ्नो साथी जनावरलाई उपयुक्‍त ध्यान दिन सक्नेछु? के मेरो जीवन शैलीको कारण मेरो घरमा पालेको जनावर दिनभरि जसो नै एक्लै हुनेछ? मेरो घरमा पालेको जनावरलाई बाहिर लैजान वा खेल्न समय हुनेछ? मेरो कुकुरलाई तालिम चाहिन्छ भने के म त्यो तालिम दिन वा तालिम केन्द्रमा लैजान तयार छु? के घरमा जनावर पाल्दा अन्य महत्त्वपूर्ण कामहरूबाट धेरै समय निकाल्नुपर्नेछ?’

विचार गर्नुपर्ने अर्को एउटा कुरा के हो भने, जनावरहरू पाल्नु महँगो हुन सक्छ। पशुका मालिकहरूको सर्वेक्षणमा संयुक्‍त राज्य अमेरिकामा वर्षेनी कुकुरको औषधीको लागि सरदर १०,००० रुपियाँ र बिरालोको लागि ५,००० खर्च हुने कुरा पत्ता लाग्यो। त्यसमा खाना र अन्य आवश्‍यकताहरू त समावेश नै गरिएको थिएन। साथै, कुनै-कुनै ठाउँमा दर्ता रकम पनि तिर्नुपर्छ।

सन्तुलित दृष्टिकोण, एउटा चुनौती

उहाँले सृजनुभएको जनावरहरूसित हामी खुसी हुँदा र उनीहरूलाई माया गर्दा हाम्रो सृष्टिकर्ता प्रसन्‍न हुनुहुन्छ। त्यसोभए जनावरहरूलाई क्रूर व्यवहार गर्नु उपयुक्‍त होइन भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? यद्यपि, मनोरञ्जनको नाउँमा मानिसहरूले सामान्यतया गोरु, कुकुर र कुखुरा जस्ता जनावरहरूमाथि क्रूर व्यवहार हुन र जुधाइमा मारिन दिन्छन्‌। दुःखको कुरा, जनावरहरूप्रति मानिसको व्यवहार परमेश्‍वरले चाहेजस्तो अनुकम्पापूर्ण व्यवहार सधैं भएको छैन।

अर्कोतर्फ, कोही मानिसहरूका लागि आफ्नो घरपालुवा जनावरहरूको हित नै सर्वमहत्वपूर्ण हुन्छ। वास्तवमा, जनावरहरूप्रतिको स्नेह अचाक्ली भयो भने जनावरको जीवन मानिसको भन्दा महत्त्वपूर्ण लाग्न सक्छ। उदाहरणका लागि, एउटा पशु अस्पतालमा आगो लाग्दा, त्यहाँ जनावरका मालिकहरू आइपुगे र “वारुण नियन्त्रकहरूको सुरक्षाको घेरा तोडेर आफ्नो प्रिय पाल्तु जनावरसँगै मर्न चाहन्छु भनी कराइरहेको सुनियो” भनी केही रिपोर्टहरूले बताएका छन्‌।

निस्सन्देह, आफ्नो प्रिय पाल्तु जनावर मरेको हेर्नुपर्दा दुःखदायी र पीडादायीसमेत हुन सक्छ। तर त्यस्तो अवस्थामा पनि सन्तुलित हुने ठाउँ छ। सुरुमा पनि उल्लेख गरेझैं जनावरहरूलाई परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको थिएन र न ता उनीहरूलाई मानिसहरूजस्तै सदा सर्वदा बाँच्न सृजिएको थियो। परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुभएको सन्दर्भमा बाइबल यसो भन्छ: “उहाँले मानिसलाई बितेको समय र आउने समय[को] . . . [अनन्तको] चेतना दिनुभएको छ।” यद्यपि, पशुहरूबारे त्यस्तो केही बताइएको छैन।—उपदेशक ३:११.

अतः जनावरहरू मार्नु गलत हो भनी बाइबलले भन्दैन। साँच्चै भन्‍ने हो भने, करोडौं मानिसहरूको लागि जनावरहरू खानाको मुख्य स्रोत हो। तर बिरामी र सास्ती खाइरहेको घरपालुवा जनावरलाई युथेनेसिया गर्नेबारे के भन्‍न सकिन्छ नि? त्यो साँच्चै गाह्रो र पीडादायी निर्णय हुन सक्छ! यद्यपि, पशु प्रेमीले आफ्नो वफादार साथी जनावरलाई महँगो उपचार गरेर त्यसलाई लामो समयसम्म कष्ट सहन दिनुको सट्टा पीडारहित तरिकामा मार्नु उत्तम हो भन्‍ने निष्कर्ष निकाल्न सक्छन्‌ र त्यसो गर्दा परिवारमा अनावश्‍यक आर्थिक बोझ पनि पर्दैन।

परमेश्‍वरले आफ्नो मानव सृष्टिलाई औधी प्रेम गर्नुहुन्छ भने, के हामीले पनि त्यस्तै गरी हाम्रो हेरचाह र निरीक्षणमा छोडिएका जनावरहरूलाई प्रेम गर्नुपर्दैन र? त्यस्तो प्रेम भएकाहरूले अक्सर हाम्रो सृष्टिकर्ताले सुरुमा जस्तो उद्देश्‍य राख्नुभएको थियो त्यस्तै अद्‌भुत प्रत्याशाबाट आनन्द उठाउन सकेका छन्‌। यस शृङ्‌खलाको अन्तिम लेखले घरपालुवा जनावरहरूसित सम्बन्धित यस पक्षबारे छलफल गर्नेछ। (g04 2/22)

[पृष्ठ ७-मा भएको चित्र]

स्याहार केन्द्रमा भएका लाखौं घरपालुवा जनावरहरूलाई किन प्रत्येक वर्ष पीडारहित तरिकामा मारिन्छ?

[स्रोत]

© Hulton-Deutsch Collection/CORBIS

[पृष्ठ ८-मा भएको चित्र]

विशेष गरी सहरका बासिन्दाहरूका लागि जनावर पाल्नु भनेको सोचेजति सजिलो नहुन सक्छ

[पृष्ठ ९-मा भएको चित्र]

हामीले जनावरहरूलाई दयालु व्यवहार गर्दा हाम्रो सृष्टिकर्ता खुसी हुनुहुन्छ