सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ल्याक्टोज पचाउन नसक्नुको कारण बुझ्ने

ल्याक्टोज पचाउन नसक्नुको कारण बुझ्ने

ल्याक्टोज पचाउन नसक्नुको कारण बुझ्ने

आफूलाई मनपर्ने आइसक्रिम वा चीज खानुभएको त्यस्तै एक घण्टा भएको छ। तपाईंको पेट ढुस्स र चस्स-चस्स घोचेजस्तो हुनुका साथै हावाले पेट डम्म भरिन्छ। यस्तो अवस्थाबाट छुटकारा पाउन तपाईं फेरि पनि आफूसँगै बोक्न थालेको औषधीको सहारा लिनुहुन्छ। अब तपाईं यस्तो प्रश्‍न गर्ने हदमा पुगिसक्नुभएको छ: ‘मेरो पेट किन यत्ति कमजोर भएको होला?’

दूध पिएपछि वा डेरी उत्पादनहरू खाइसकेपछि वाकवाक लागेमा, पेट अस्पट भएमा, पेट ढुस्स भएमा वा पखाला लागेमा तपाईंले ल्याक्टोज पचाउन नसक्नुभएको हुन सक्छ। डेरी उत्पादनहरू खाएपछि प्रायले ल्याक्टोज पचाउन नसक्नु एउटा सामान्य प्रतिक्रिया हो। मधुमेह र पाचन तथा मिर्गौला रोगसम्बन्धी द नेशनल इन्स्टिच्यूटले दिएको रिपोर्टअनुसार “तीनदेखि पाँच करोड अमेरिकीहरूले ल्याक्टोज पचाउन सक्दैनन्‌।” हार्डबर्ड मेडिकल स्कूलद्वारा प्रकाशित द सेन्सेटिभ गट भन्‍ने एउटा पुस्तकअनुसार “विश्‍व जनसंख्याको ७० प्रतिशत मानिसहरूलाई कुनै न कुनै किसिमको ल्याक्टोजको समस्या छ।” त्यसैकारण, ल्याक्टोज पचाउन नसक्नु भनेको के हो?

ल्याक्टोज भनेको दूधमा पाइने चिनी हो। सानो आन्द्राले ल्याक्टेज भन्‍ने इन्जाइम उत्पादन गर्छ। यसको काम ल्याक्टोजलाई ग्लुकोज र ग्यालेक्टोज भन्‍ने दुईवटा मोनो सेकराइडमा परिर्वतन गर्नु हो। यसले गर्दा रक्‍तनलीमा ग्लुकोज मिसिन पाउँछ। यो काम गर्न पर्याप्त मात्रामा ल्याक्टेज छैन भने, अपरिवर्तित ल्याक्टोज ठूलो आन्द्रामा जान्छ र त्यहाँ सड्‌न थाल्छ, जसले एसिड र वायु उत्पादन गर्छ।

ल्याक्टोज पचाउन नसक्ने यो अवस्था माथि उल्लिखित केही वा सम्पूर्ण लक्षणहरू देखापरेमा हुने गर्दछ। जीवनको पहिलो दुई वर्षमा धेरै ल्याक्टेज उत्पादन हुन्छ र त्यसपछि यसको उत्पादनमा क्रमशः गिरावट आउँछ। तसर्थ, थुप्रै व्यक्‍तिहरूमा यस्तो अवस्था देखापरे तापनि थाहै नहुन सक्छ।

के यो एलर्जी हो?

डेरी उत्पादन खाएपछि देखापर्ने प्रतिकूल प्रतिक्रियाहरूको कारण कोही-कोही आफूलाई दूधको एलर्जी भएको निष्कर्षमा पुग्छन्‌। त्यसोभए, के कारणले गर्दा एलर्जी  a वा पचाउन नसक्ने हुन्छ? केही एलर्जी विशेषज्ञहरूका अनुसार, साँच्चै भन्‍ने हो भने खानाले गर्दा कमै मात्रामा एलर्जी हुनेगर्छ अर्थात्‌ यसले १ देखि २ प्रतिशत सर्वसाधारणलाई मात्र असर गर्छ। केटाकेटीहरूको सन्दर्भमा यो संख्या धेरै भए तापनि ८ प्रतिशतभन्दा चाहिं कमै छ। एलर्जी र ल्याक्टोज पचाउन नसक्नुका लक्षणहरू उस्ता-उस्तै हुन सक्ने भए तापनि भिन्‍नताहरू भने छन्‌।

खाएको वा पिएको केही कुरा विरुद्ध प्रतिरोधात्मक प्रणालीले प्रदान गर्ने सुरक्षाको कारण हिस्टामाइन अर्थात्‌ खानाको एलर्जीका लक्षणहरू देखापर्ने गर्छ। यसका अन्य केही लक्षणहरूमा ओठ वा जिब्रो सुनिनु, डाबर आउनु वा दम बढ्‌नु समावेश छन्‌। ल्याक्टोज पचाउन नसक्दा यी लक्षणहरू देखा पर्दैन किनभने यो प्रतिरोधात्मक प्रणालीसित सम्बन्धित छैन। ल्याक्टोज पचाउन नसक्नु त खाएको कुरा शरीरले राम्रोसित पचाउन नसकेको कारणले गर्दा हो, जसको फलस्वरूप प्रतिकूल प्रतिक्रिया देखापर्ने गर्छ।

त्यसोभए भिन्‍नता छुट्टयाउन कुन कुराले तपाईंलाई मदत गर्न सक्छ? द सेन्सेटिभ गट भन्‍ने पुस्तक यस्तो जवाफ दिन्छ: “साँच्चिकै एलर्जी . . . खान खाएको केही मिनेटमै देखापर्छ। एक घण्टाभन्दा पछि देखापर्ने लक्षणहरूले सम्भवतः पचाउन नसक्नुलाई सङ्‌केत गर्छ।

शिशुहरूमा पर्ने असर

दूध पिएपछि हुने प्रतिक्रियाको कारण शिशु वा सानो बच्चा बिसन्चो हुँदा, बच्चाका साथसाथै आमाबाबुलाई निकै दुःख हुन्छ। बच्चालाई पखाला लागेमा, जलवियोजन हुन सक्छ। यस्तो अवस्थामा आमाबाबुले बाल-चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुन सक्छ। पचाउन नसक्ने समस्या निदान भएमा, कोही-कोही चिकित्सकहरूले दूधको आपूर्ति गर्न अरू नै आहार खुवाउने सुझाव दिएका छन्‌। परिणामस्वरूप थुप्रैले दुःखदायी लक्षणहरूबाट राहत पाएका छन्‌।

एलर्जीको सन्दर्भमा चाहिं विचार गर्नुपर्ने थुप्रै कुराहरू छन्‌। कोही-कोही चिकित्सकहरूले एन्टिहिस्टामाइन दिन्छन्‌। तथापि, सास फेर्नै गाह्रो भएको खण्डमा, अवस्था सहज बनाउन चिकित्सकले अझ थप केही गर्नुपर्ने हुन सक्छ। कहिलेकाहीं मात्र एनाफिलाक्सिस भन्‍ने घातक अवस्था उत्पन्‍न हुन सक्छ।

शिशुले बान्ता गर्न थालेमा अर्को चिन्ताको विषय भनेको छिटपुट देखापर्ने ग्याल्कटोजमिया हो। माथि उल्लेख गरिएझैं, ल्याक्टेजले ग्याल्कटोजलाई छुट्टयाउने काम गर्छ तर ग्याल्कटोजलाई चाहिं ग्लुकोजमा परिवर्तन गर्नु आवश्‍यक छ। ग्याल्कटोजको मात्रा धेरै भएको खण्डमा, कलेजो नराम्रोसित बिग्रन सक्छ, मिर्गौला बिग्रन सक्छ साथै सुस्त मनस्थिति, हाइपरग्लाइसेमिया र मोतीबिन्दुसमेत हुन सक्छ। तसर्थ, शिशुको खानेकुराबाट सुरुमै र पूर्णतया ल्याक्टोज हटाउनु अत्यावश्‍यक छ।।

ल्याक्टोज पचाउन नसक्नु कत्तिको गम्भीर हो?

एउटी जवान महिलालाई वायु र पेट बटारिने लक्षणहरूले सताएको धेरै भइसकेको थियो। तिनको अवस्था यत्ति नाजुक भयो कि तिनलाई चिकित्सा उपचारको सख्त जरुरत पऱ्‍यो। थुप्रै परीक्षणहरू गरिसकेपछि तिनलाई पेटको जलन हुने रोग अर्थात्‌ इन्फ्लामेटरी बावेल डिजिज (आई बी डी) b लागेको कुरा निदान गरियो। यो रोग नियन्त्रण गर्न औषधी दिइयो। तथापि, तिनले दैनिक रूपमा डेरी उत्पादनहरू खान नछोडेकी हुनाले तिनको रोगका लक्षणहरू जस्ताको तस्तै रह्‍यो। व्यक्‍तिगत रूपमा अनुसन्धान गरिसकेपछि तिनले आफ्ना समस्याहरूको दोषी खानपान हुन सक्छ भन्‍ने कुरा बुझिन्‌ र त्यसै अनुरूप तिनले बिस्तार-बिस्तारै कुनै-कुनै खानेकुरा खान छाडिन्‌। अन्तमा, तिनले डेरी उत्पादनहरू खान छाडिन्‌ र तिनको रोगका लक्षणहरू बिस्तारै हराएर जान थाले! एक वर्षभित्र र अझ केही परीक्षणहरू गरिकेपछि तिनको चिकित्सकले तिनमा आई बी डी नभएको कुरा बताए। तिनले त ल्याक्टोज पचाउन नसकेकी पो रहिछन्‌। तिनलाई कत्ति सन्चो भयो होला, त्यो त तपाईं कल्पना गर्न सक्नुहुन्छ!

अहिलेसम्म, मानव शरीरमा ल्याक्टेजको उत्पादन बढाउने त्यस्तो कुनै पनि किसिमको उपचार छैन। तथापि, ल्याक्टोज पचाउन नसक्नु प्राणघातक साबित भएको पाइएको छैन। त्यसैकारण, ल्याक्टोज पचाउन नसक्नुका लक्षणहरूको सामना गर्न तपाईं के गर्न सक्नुहुन्छ?

जीवनमा भोगेका उतारचढावबाट कसै-कसैले आफूले कतिसम्म डेरी उत्पादनहरू पचाउन सक्छु भन्‍ने कुरा सिकेका छन्‌। आफूले खाने डेरी उत्पादनहरू र ती खाइसकेपछि आफ्नो शरीरले देखाउने प्रतिक्रियाबारे सजग भएर, कति पचाउन सक्नुहुन्छ र कति सक्नुहुन्‍न, सो तपाईं पक्का गर्न सक्नुहन्छ।

कसै-कसैले डेरी उत्पादनहरू ठ्याम्मै नखाने गरेका छन्‌। व्यक्‍तिगत रूपमा अनुसन्धान गरेर वा खानपानसम्बन्धी विशेषज्ञको सुझाव लिएर कसै-कसैले अरू नै तरिकाहरू अपनाएर आफ्नो क्याल्सियमको आवश्‍यकता आपूर्ति गरेका छन्‌। केही हरियो सागसब्जी र कुनै-कुनै माछा तथा बदामहरूमा प्रशस्त क्याल्सियम पाउन सकिन्छ।

डेरी उत्पादनहरू खान छोड्‌न नचाहनेहरूका लागि चक्की वा झोलको रूपमा खान मिल्ने थुप्रै थोकहरू बजारमा उपलब्ध छन्‌। यी उत्पादनहरूमा ल्याक्टोजलाई परिवर्तन गर्न आन्द्राहरूलाई मदत गर्ने ल्याक्टेज हुन्छ। यी उत्पादनहरू सेवन गरेमा यसले मानिसलाई ल्याक्टोज पचाउन नसक्नुका लक्षणहरू उत्पन्‍न हुन नदिन मदत गर्न सक्छ।

आजको संसारमा, स्वास्थ्यको हेरविचार गर्नु एउटा चुनौती नै हो। तर चिकित्सा अनुसन्धान र हाम्रो शरीरको अचम्मको क्षमताले गर्दा हामी यसो भन्‍ने समय नआउन्जेलसम्म यसको सामना गर्न सक्षम छौं, “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४; भजन १३९:१४. (g04 3/22)

[फुटनोटहरू]

a हाइपरसेन्सिटिभिटी पनि भनिन्छ।

b दुई किसिमका आई बी डी छन्‌—क्रोन्स्‌ रोग र ठूलो आन्द्रामा हुने घाउ। यी एकदमै डरलाग्दा रोगहरूको कारण आन्द्राहरूको केही भाग काटेर फाल्नुपर्ने हुन सक्छ। आई बी डी-ले गर्दा उत्पन्‍न जटिलताको कारण ज्यानसमेत जान सक्छ।

[पृष्ठ २८-मा भएको पेटी/चित्र]

यी कुराहरूमा पनि ल्याक्टोज हुन सक्छ:

◼ पाउरोटी र पाउरोटीका उत्पादनहरू

◼ केक तथा कुकिज्‌

◼ क्यान्डिज्‌

◼ तयारी आलु

◼ मार्जरिन

◼ डाक्टरले सिफारिस गरेका थुप्रै औषधीहरू

◼ डाक्टरको सिफारिसविना बेचिने औषधीहरू

◼ पेनकेक, बिस्कुट र कुकिज बनाउन प्रयोग गरिने मिश्रण

◼ बिहानको खाजाको रूपमा खाइने प्रशोधित सिरियल

◼ ड्रेसिङ गरेको सलाद

◼ लन्च मीट

◼ सूप