पूर्वाग्रहका मूल कारणहरू
पूर्वाग्रहका मूल कारणहरू
पूर्वाग्रहका थुप्रै कारणहरू हुन सक्छन्। तैपनि, दुइटा आधिकारिक कारणहरू हुन् (१) कसैलाई बलिको बोका बनाउने चाहना र (२) इतिहासमा घटेका अन्यायपूर्ण घटनाहरूले गर्दा द्वेष।
अघिल्लो लेखमा उल्लेख गरिएझैं विपत्ति आइपर्दा मानिसहरू अक्सर कसैमाथि दोष थोपर्न खोज्छन्। प्रतिष्ठित मानिसहरूले एउटा अल्पसंख्यक समूह विरुद्ध कुनै एउटा आरोप बारम्बार दोहऱ्याइरहँदा अक्सर त्यो नै स्वीकार्य हुन थाल्छ र पूर्वाग्रहको जन्म हुन्छ। एउटा सामान्य उदाहरण उल्लेख गर्ने हो भने, पश्चिमी मुलुकहरूमा अर्थतन्त्र ओरालो लाग्दा बेरोजगारीको दोष अक्सर आप्रवासीहरूमाथि थोपरिन्छ जबकी अक्सर रैथानेहरूले गर्न इन्कार गर्ने कामहरू तिनीहरूले गरिरहेका हुन्छन्।
तर सबै किसिमको पूर्वाग्रह कसैलाई बलिको बोका बनाउने चाहनाबाट उत्पन्न भएको हुँदैन। यो इतिहासमा आधारित पनि हुन सक्छ। “दासप्रथाले जातिवाद र काला जातिहरूप्रति घृणाको बौद्धिक संरचना बसाल्यो भन्नु अत्युक्ति हुनेछैन” भनी युनेस्को अगेन्स्ट रेसिजम् (अङ्ग्रेजी) भन्ने रिपोर्ट टिप्पणी गर्छ। दासहरू ओसारपसार गर्ने व्यापारीहरूले अफ्रिकीहरू तुच्छ जाति भएको हुँदा तिनीहरूको अपमानजनक बेच-बिखनकार्य ठीकै हो भनेर सफाइ दिन खोजे। यो निराधार पूर्वाग्रहले पछि उपनिवेशका बासिन्दाहरूलाई समेत समेट्न थाल्यो र यो पूर्वाग्रह अझै यथावत् छ।
संसारभरिको अवस्थालाई हेर्ने हो भने विगतको अत्याचार र अन्यायले पूर्वाग्रहलाई प्रश्रय दिइरहेको छ। आयरल्याण्डमा क्याथोलिक र प्रोटेस्टेन्टहरूबीचको दुस्मनी १६ औं शताब्दीमा सुरु भएको थियो जब इङ्ग्ल्याण्डका शासकहरूले क्याथोलिकहरूलाई सताए र निर्वासनमा पठाए। क्रुसेडको बेला मसीही भनौंदाहरूले सुरु गरेको अत्याचारले मध्यपूर्वका मुस्लिमहरूको मनमा अझै तीतो भावना जगाउँछ। दोस्रो विश्वयुद्धमा आम नागरिकहरूको हत्याले गर्दा बाल्कन प्रायद्वीपमा सर्बियाली तथा क्रोएसियालीहरूबीचको दुस्मनी चर्कियो। यी उदाहरणहरूले देखाएझैं दुइटा समूहबीच दुस्मनीको लामो इतिहासले पूर्वाग्रहलाई अझ बढाउन सक्छ।
अज्ञानतालाई बढाउने वातावरण
भर्खरै टुकुटुकु हिंड्न सिकिरहेको बालकको मनमा कुनै पनि किसिमको पूर्वाग्रह हुँदैन। यसको विपरीत, बालक अक्सर अर्कै जातिको बालकसित खेल्न हिचकिचाउँदैन भनी अनुसन्धाताहरूले टिप्पणी गरेका छन्। तथापि, १०/११ वर्षजति पुगुन्जेल उसले अर्कै मूल, जाति वा धर्मको मानिसलाई तिरस्कार गर्न थाल्न सक्छ। हुर्कंदै गर्दाका वर्षहरूमा उसले केही धारणाहरू सिक्न सक्छ र यो जिन्दगीभर रहिरहन सक्छ।
यस्ता धारणाहरू कसरी सिकिन्छ? पहिला आफ्ना आमाबाबु, त्यसपछि साथीहरू वा शिक्षकहरूको बोली र काम दुवैमा झल्किने नकारात्मक मनोवृत्तिहरू बच्चाले टिप्छ। पछि गएर छरछिमेकी, अखबार, रेडियो वा टेलिभिजनले पनि अझ असर पार्न सक्छ। आफूलाई मन नपर्ने समूहबारे पटक्कै वा खासै केही कुरा थाह नभए तापनि ऊ वयस्क होउन्जेलसम्म त्यो समूह आफूभन्दा तुच्छ वा अभरपर्दो छ भन्ने निष्कर्षमा पुगिसकेको हुन्छ। उसले त्यस समूहलाई घृणासमेत गर्न थाल्न सक्छ।
मानिसहरूको आवतजावत र व्यापारमा वृद्धिले गर्दा थुप्रै मुलुकहरूमा विभिन्न संस्कृति तथा जनजातीय समूहबीचको सम्पर्क पनि बढेको
छ। तैपनि, आफूसित कडा पूर्वाग्रह भएको मानिस प्रायजसो आफ्नै धारणाहरूमा अडिग रहन्छ। उसले हजारौं वा लाखौं मानिसहरूलाई एउटै समूहमा राखेर तिनीहरू सबैसित एकै किसिमका खराब गुणहरू हुन्छन् भन्ने अनुमान लगाउन सक्छ। त्यस समूहका एक जना मानिससित मात्र त्यस्तो नकारात्मक घटना घटेको थियो भने पनि त्यसले पूर्वाग्रहलाई अझ बढाउन सक्छ। अर्कोतर्फ, सकारात्मक घटनाहरूलाई भने यी त केवल अपवाद हुन् भनेर पन्छाउने गरिन्छ।स्वतन्त्र हुने
धेरैजसो मानिसहरूले सैद्धान्तिक तवरमा पूर्वाग्रहको निन्दा गरे तापनि यसको प्रभावबाट कमै मात्र मुक्त छन्। वास्तवमा, अत्यन्तै पूर्वाग्रह राख्ने व्यक्तिहरूले समेत हामी पूर्वाग्रही होइनौं भनेर जिद्दी गर्लान्। अरू कतिले भने आफ्नो पूर्वाग्रह आफूमै मात्र सीमित राख्ने हो भने त्यसले कुनै फरक पार्दैन भन्ने गर्छन्। यद्यपि, पूर्वाग्रहले अवश्य फरक पार्छ किनभने यसले मानिसहरूलाई दुःख दिन्छ र तिनीहरूमा फुट ल्याउँछ। पूर्वाग्रह, अज्ञानताको सन्तान हो भने घृणा अक्सर यसको नाति हो। लेखक चार्ल्स कालेब कोल्टनले (१७८०?-१८३२) यस्तो लेखे: “हामी कोही-कोही मानिसहरूलाई घृणा गर्छौं किनभने हामीले तिनीहरूलाई राम्ररी चिनेका छैनौं; अनि हामी तिनीहरूलाई कहिल्यै राम्ररी चिन्न सक्नेछैनौं किनभने हामी तिनीहरूलाई घृणा गर्छौं।” पूर्वाग्रह भनेको पछि सिकिने कुरा हो भने, यसलाई हटाउन पनि सकिन्छ। कसरी? (g04 9/8)
[पृष्ठ ७-मा भएको पेटी]
धर्म—सहनशीलता वा पूर्वाग्रहको शक्ति?
द नेचर अफ प्रेजुडिस भन्ने आफ्नो पुस्तकमा गर्डन डब्ल्यु. एल्पोर्टले भनेका छन् कि “औसतमा हेर्दा, साधारणतया अरू मानिसहरूको तुलनामा चर्च धाउने मानिसहरू बढी पूर्वाग्रही देखिन्छन्।” यो कुनै छक्कलाग्दो कुरा होइन किनभने धर्म अक्सर पूर्वाग्रहको समाधान नभई कारक भएको छ। उदाहरणका लागि, धर्मगुरुहरूले शताब्दीयौंसम्म यहूदी विरोधी मानसिकतालाई उक्साए। अ हिस्ट्री अफ क्रिश्चियानिटी-अनुसार (अङ्ग्रेजी) एक चोटि हिटलरले यस्तो टिप्पणी गरे: “यहूदीहरूको सन्दर्भमा भन्ने हो भने क्याथोलिक चर्चले १,५०० वर्षअघि अपनाएको सिद्धान्तअनुसार मात्रै मैले गरिरहेको हुँ।”
बाल्कन प्रायद्वीपमा भएका अत्याचारको दौडान अर्थोडक्स तथा क्याथोलिक शिक्षाहरूले बेग्लै धर्म मान्ने छिमेकीहरूप्रति सहनशीलता र आदर देखाउन नसकेको देखियो।
यसरी नै, रूवाण्डामा पनि चर्चका सदस्यहरूले सँगी विश्वासीहरूको हत्या गरे। नेसनल क्याथोलिक रिपोर्टर-ले (अङ्ग्रेजी) औंल्याएअनुसार त्यहाँ भएको झगडा “वास्तविक र साँचो अर्थमा जातिहत्या थियो र दुःखको कुरा, यसका लागि क्याथोलिकहरू समेत दोषी थिए।”
आफूले देखाएको असहनशीलता क्याथोलिक चर्च स्वयम्ले स्वीकारेको छ। सन् २००० मा पोप जोन पल द्वितीयले “विगतका स्वीकार्य मूल्यमान्यताहरूबाट टाढिएकोमा” रोममा आयोजित सार्वजनिक मासमा माफी मागे। त्यस समारोहमा “यहूदी, महिला, जनजातीय समूह, आप्रवासी, गरिब तथा गर्भमा भएको शिशुप्रति देखाइएको धार्मिक असहनशीलता र अन्यायबारे” तोकेरै उल्लेख गरियो।
[पृष्ठ ६-मा भएको चित्र]
माथि: शरणार्थी शिविर, बोस्निया र हर्जगोभिना, अक्टोबर २०, १९९५
गृहयुद्धको अन्त हुन पर्खिरहेका २,५०,००० मध्ये दुई जना बोस्नियाली सर्ब शरणार्थी
[स्रोत]
Photo by Scott Peterson/Liaison
[पृष्ठ ७-मा भएको चित्र]
घृणा गर्न सिकाइएका
आफ्ना आमाबाबु, टेलिभिजन र अन्य कुराहरूबाट बच्चाले नकारात्मक मनोवृत्तिहरू टिप्न सक्छ