सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राकृतिक प्रकोपहरू र मानव गतिविधि

प्राकृतिक प्रकोपहरू र मानव गतिविधि

प्राकृतिक प्रकोपहरू र मानव गतिविधि

कारलाई राम्ररी मर्मत सम्भार गरेर ठीक अवस्थामा राखिएको छ भने यसमा सुरक्षित यात्रा गर्न सकिन्छ। तर जथाभावी चलाइयो र वास्ता गरिएन भने यही गाडी खतरनाक हुन सक्छ। हाम्रो ग्रह पृथ्वीबारे पनि केही हदसम्म यसै भन्‍न सकिन्छ।

थुप्रै वैज्ञानिकहरूका अनुसार मानिसहरूले पृथ्वीको वायुमण्डल र समुद्रहरूमा पुऱ्‍याएको परिवर्तनले प्राकृतिक प्रकोपहरू दोहोरिने क्रम र यसको असरलाई बढाएर हाम्रो ग्रहलाई बसोवास गर्नको लागि खतरनाक ठाउँ बनाएको छ। अनि भविष्य अन्धकार देखिन्छ। “हामी बसोवास गर्न योग्य एक मात्र ग्रहमाथि जथाभावी परीक्षण गरिंदैछ” भनी साइन्स पत्रिकामा मौसम परिवर्तनबारे लेखिएको एउटा सम्पादकीयले बतायो।

प्राकृतिक प्रकोपहरू दोहोरिने क्रम र यसको असर बढाउनमा मानव क्रियाकलापले कस्तो भूमिका खेलिरहेको हुन सक्छ भन्‍ने कुरा राम्ररी बुझ्न हामीले आधारभूत प्राकृतिक प्रकियाबारे अलिकता बुझ्नुपर्छ। उदाहरणका लागि, के कारणले गर्दा हरिकेनजस्ता डरलाग्दा तुफानहरू उत्पन्‍न हुन्छन्‌?

पृथ्वीको ताप प्रसारण प्रणाली

पृथ्वीको जलवायु प्रणालीलाई सौर्यशक्‍तिलाई परिवर्तन गरेर वितरण गर्ने यन्त्रसित तुलना गरिएको छ। उष्ण कटिबन्धीय क्षेत्रमा घामको राप बढी पर्ने भएकोले तापमान असन्तुलित हुन्छ र परिणामस्वरूप वायुमण्डलमा हलचल पैदा हुन्छ। a पृथ्वीको दैनिक परिक्रमाको कारण यस गतिशील आर्द्र वायुबाट भुमरी उत्पन्‍न हुनुका साथै अवदाब पैदा हुन्छ अर्थात्‌ वायुमण्डलीय चाप कम हुन्छ। त्यसपछि, अवदाबले गर्दा तुफान आउन सक्छ।

तपाईंले उष्ण कटिबन्धीय तुफान बहने बाटो याद गर्नुभयो भने यो तुफान भूमध्य रेखाबाट उत्तर वा दक्षिणतर्फको ठण्डी भूभागतिर बगेको पाउनुहुनेछ। यस प्रक्रियामा तुफानले ठूलो मात्रामा ताप प्रसारण गरेर जलवायुलाई ठीक्कको राख्न मदत गर्छ। तर जलवायु यन्त्रको “बोइलर रूम” अर्थात्‌ समुद्रको माथिल्लो सतहको तापमान लगभग २७ डिग्री सेल्सियसभन्दा बढी भयो भने उष्ण कटिबन्धीय तुफानहरू शक्‍तिशाली भएर चक्रवात, हरिकेन र टाइफूनमा परिणत हुन सक्छन्‌ र यी सबै प्रकारका तुफानहरू लगभग एकै प्रकारका हुन्‌, उत्पन्‍न हुने ठाउँअनुसार नाउँ मात्र फरक-फरक हुन्‌।

मृतकहरूको संख्यालाई विचार गर्ने हो भने सेप्टेम्बर ८, १९०० मा टेक्सस राज्यको सामुद्रिक टापु सहर ग्लाभेन्स्टनमा आएको हरिकेनले पुऱ्‍याएको क्षति नै संयुक्‍त राज्य अमेरिकाको इतिहासको सबैभन्दा भयङ्‌कर प्राकृतिक प्रकोप हो। तुफानी लहरले त्यस सहरका ६,००० देखि ८,००० जनाको ज्यान लिनुका साथै नजिकैको इलाकाहरूका ४,००० जनासम्मको ज्यान लियो अनि लगभग ३,६०० घरहरू भत्कायो। भन्‍ने हो भने, ग्लाभेन्स्टनमा भएको एउटा पनि मानव निर्मित संरचना यस तुफानको असरबाट बचेन।

अघिल्लो लेखमा उल्लेख गरिएझैं हालैका वर्षहरूमा थुप्रै शक्‍तिशाली तुफानहरू आएका छन्‌। विश्‍वव्यापी उष्णता जसले तुफान उत्पन्‍न गर्नलाई थप शक्‍ति प्रदान गरिरहेको हुन सक्छ, त्यससित यी तुफानहरूको कुनै सम्बन्ध छ कि भनेर वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्‌। तथापि, विश्‍वव्यापी उष्णताका विभिन्‍न लक्षणहरूमध्ये मौसम परिवर्तन एउटा मात्र लक्षण हुन सक्छ। यसका अन्य सम्भाव्य हानिकारक परिणामहरू देखिन थालिसकेको हुन सक्छ।

बढ्‌दो समुद्री सतह र वनफँडानी

साइन्स नाउँको अखबारको सम्पादकीयअनुसार “बितेको शताब्दीमा समुद्री सतह १० देखि २० सेन्टिमिटरले [चारदेखि आठ इन्च] बढेको छ र भविष्यमा अझै बढ्‌न सक्छ।” विश्‍वव्यापी उष्णतासित यसको कस्तो सम्बन्ध हुन सक्छ? अनुसन्धाताहरू दुईवटा सम्भाव्य प्रक्रिया औंल्याउँछन्‌। एउटा हो, ध्रुवहरूमा भएको हिउँ तथा हिमनदीहरू पग्लिएर समुद्रमा पानीको मात्रा बढ्‌न सक्छ। अर्को तत्त्व तापको कारण हुने विस्तार हो—समुद्र तात्दा यसको आयतन बढ्‌छ।

टुभालुका ससाना टापुहरूले बढ्‌दो समुद्री सतहको परिणाम भोग्न थालिसकेका हुन सक्छन्‌। मुगाहरूले बनेको फुनाफुटी टापुमा सङ्‌कलन गरिएको तथ्याङ्‌कले देखाएअनुसार त्यहाँको समुद्री सतह “बितेको दशकमा हरेक वर्ष औसतन ५.६ मिलिमिटर बढेको छ” भनी स्मिथसोनियन पत्रिका बताउँछ।

संसारका थुप्रै भागहरूमा जनसंख्या बढ्‌दा द्रुतगतिमा अव्यवस्थित तरिकामा सहरीकरण हुन्छ, झुपडीबस्तीहरू थपिन्छन्‌ अनि अझ बढी वातावरण विनाश हुन्छ। यस्ता घटनाहरूले प्राकृतिक प्रकोपका असरहरूमा मलजलको काम गर्न सक्छ। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

हाइटी जनसंख्या धेरै भएको र विगतमा प्रशस्त मात्रामा वनफँडानी गरिएको टापु राष्ट्र हो। हालैको एउटा समाचारमा उल्लेख गरिएअनुसार हाइटीको आर्थिक, राजनैतिक र सामाजिक समस्याहरू जतिसुकै जल्दाबल्दा भए तापनि यस राष्ट्रको अस्तित्वलाई खतरामा पार्ने प्रमुख समस्या भनेको वनफँडानी हो। नभन्दै, सन्‌ २००४ मा मुसलधारे वर्षाको कारण आएको पहिरोले हजारौंको ज्यान लिंदा यस खतराको दुःखद प्रमाण देखियो।

“विश्‍वव्यापी उष्णता, बाँध, वनफँडानी र खोरिया फँडानले” दक्षिण एसियालाई पिरोल्ने प्राकृतिक प्रकोपहरू अझ चर्काउने काम गरिरहेको छ भनी टाइम एसिया बताउँछ। वनफँडानीको अर्को नकारात्मक परिणामस्वरूप माटो चाँडै सुख्खा भएर खडेरी अझ चर्किन सक्छ। हालैका वर्षहरूमा इन्डोनेसिया र ब्राजिलमा सामान्यतया चिसो रहिरहने जङ्‌गलहरूमा समेत खडेरीले गर्दा ठूलठूला डढेलोहरू लागेका छन्‌। तथापि, प्राकृतिक प्रकोपको लागि प्रतिकूल मौसम मात्र जिम्मेवार छैन। थुप्रै मुलुकहरूमा प्रकोपहरूको लागि पृथ्वीको सतहमुनि हुने घटनाक्रमहरू जिम्मेवार हुन्छन्‌।

जब जमिन जोरसित काँप्छ

पृथ्वीको बाहिरी सतह विभिन्‍न साइजका प्लेट अर्थात्‌ पत्रहरू मिलेर बनेको हुन्छ र ती चलयामान हुन्छन्‌। वास्तवमा, यस सतहमा यति धेरै चलहल हुन्छ कि हरेक वर्ष लाखौं भूकम्प जान सक्छन्‌। तर तीमध्ये धेरै त हामीले चालै पाउँदैनौं।

सबै भूकम्पहरूमध्ये ९० प्रतिशत यी पत्रहरूको किनारामा पर्ने चीराको कारण हुन्छ। तथापि, कहिलेकाहीं पत्रको मुख्य भागमै पनि अत्यन्तै विनाशकारी कम्प हुन्छ तर यो कमै मात्रामा हुन्छ। अनुमान गरिएअनुसार इतिहासमा रेकर्ड गरिएको सबैभन्दा विनाशकारी भूकम्प सन्‌ १५५६ मा चीनको तीनवटा प्रान्तमा गएको थियो। यस भूकम्पले ८,३०,००० मानिसको ज्यान लिएको हुन सक्छ!

यसका घातक परिणामहरू भूकम्प गइसकेपछि पनि देखिन सक्छन्‌। उदाहरणका लागि, नोभेम्बर १, १७५५ मा गएको एउटा भूकम्पले २,७५,००० जनसंख्या भएको पोर्चुगलको लिस्बन सहरलाई तहसनहस पाऱ्‍यो। तर कुरा यतिमै सिद्धिएको थिएन। यस भूकम्पले आगलागीहरू गरायो र नजिकैको आन्ध्र महासागरमा उत्पन्‍न भएको लगभग १५ मिटरसम्मका अग्ला सुनामी छालहरू सहर भित्र पस्यो। यस सहरमा मृत्यु हुनेहरूको संख्या सबै गरी ६०,००० नाघ्यो।

तथापि, यस्ता प्रकोपहरूको कारण हुने विनाशको मात्रा पनि केही हदसम्म मानव क्रियाकलापमा नै भर पर्छ। एउटा तत्त्व हो बढी जोखिमयुक्‍त क्षेत्रमा जनघनत्व बाक्लो हुनु। “अहिले संसारका झन्डै आधाजसो ठूला सहरहरू भूकम्पीय जोखिमयुक्‍त क्षेत्रहरूमा पर्छन्‌” भनी लेखक आन्ड्रु रबिन्सन बताउँछन्‌। अर्को तत्त्व भवन निर्माण गर्दा प्रयोग गरिने सामग्री र भवनको डिजाइन हो। “भूकम्प आफैले मान्छे मार्दैन तर यसको कारण ढलेका भवनहरूले मार्छ” भन्‍ने उक्‍ति अक्सर साँचो साबित भएको छ। तर भूकम्प प्रतिरोधी घर बनाउन आर्थिक अवस्थाले नभ्याउने गरिबहरूले के नै गर्न सक्छन्‌ र?

ज्वालामुखी—निर्माता र विनाशकर्ता

“तपाईंले यी शब्दहरू पढिरहनुभएको बेला सम्भवतः कम्तीमा पनि २० वटा ज्वालामुखी विस्फोट भइरहेका हुनेछन्‌” भनी संयुक्‍त राज्य अमेरिकाको स्मिथसोनियन इन्स्टिच्युटको एउटा प्रतिवेदन बताउँछ। साधारणतया, प्लेट विवर्तनिक सिद्धान्तअनुसार भूकम्प र ज्वालामुखीको उद्‌भव एउटै क्षेत्रमा अर्थात्‌ विशेष गरी महासागरीय दरारहरूमा हुन्छ, जहाँ मेन्टलमा रहेको म्याग्मा दरारी उद्‌भेदनको रूपमा माथि अग्रसर भएर पृथ्वीको स्थल मण्डलमा पुग्छ र यस क्षेत्रमा एउटा प्लेट अर्को प्लेटसित ठक्कर खान्छ अनि आपसमा खप्टिन्छ।

दुईवटा प्लेट आपसमा ठक्कर खाँदा विस्फोट हुने ज्वालामुखी मानिसहरूको लागि ठूलो खतराको स्रोत हो किनभने अहिलेसम्मका यस्ता विस्फोटहरू र भविष्यमा विस्फोट हुन सक्ने सम्भाव्य ठाउँहरू जनघनत्व बाक्लो भएको ठाउँ नजिकै पर्छन्‌। ज्वालावृत्त पनि भनिने प्रशान्त महासगरीय पेटीमा यस्ता सयौं ज्वालामुखी पर्छन्‌। कुनै-कुनै ज्वालामुखी प्लेटको किनारादेखि टाढा पृथ्वीको सतहमुनिको हट स्पट भनिने ठाउँमा पनि पाइन्छ। हवाई टापु, अजोरस, गालापागोस टापु र सोसाइटी टापु सबै हट स्पट ज्वालामुखीद्वारा निर्माण भएको जस्तो देखिन्छ।

वास्तवमा, पृथ्वीको इतिहासमा ज्वालामुखीले लामो र रचनात्मक भूमिका खेलेको छ। एउटा विश्‍वविद्यालयको वेब साइटअनुसार “महादेश र महासागरको पींधको ९० प्रतिशत भाग ज्वालामुखीद्वारा निर्माण भएको हो।” तर के कारणले गर्दा कुनै-कुनै विस्फोटहरू अत्यन्तै विनाशकारी हुन्छन्‌?

पृथ्वीभित्र रहेको तातो म्याग्मा माथि आएपछि विस्फोट सुरु हुन्छ। कुनै-कुनै ज्वालामुखीले लावा मात्र ओकल्छ र यो मानिसहरूलाई अचम्ममा पर्ने गरी छिटो पनि बग्दैन। तर अरू कुनै-कुनै ज्वालामुखी विस्फोट हुँदा भने आणविक बमले भन्दा बढी शक्‍ति पैदा गर्छ! यो कुरा पृथ्वीको सतहभित्र जम्मा भएर रहेको पग्लेको पदार्थ के-के मिलेर बनेको छ, यो कत्तिको बाक्लो छ अनि त्यस पदार्थमा मिसिएको ग्याँस र तातो पानीको मात्रामा भर पर्छ। म्याग्मा पृथ्वीको सतह नजिकै आइपुग्दा त्यसमा भएको पानी र ग्याँस तीव्र गतिमा फैलिन्छ। म्याग्मामा यी सबै कुराहरू चाहिने मात्रामा छ भने ग्याँस भरिएको पेय पदार्थको बोतल खोल्दा जस्तो तीव्र गतिमा ग्याँस बाहिर निस्कन्छ, त्यसरी नै म्याग्मा पनि बाहिर निस्कन्छ।

खुसीको कुरा, ज्वालामुखी विस्फोट हुनुअघि अक्सर यसले चेतावनी दिन्छ। सन्‌ १९०२ मा मार्टिनिकको क्यारेबियन टापुमा अवस्थित माउन्ट पेलिमा पनि यस्तै भएको थियो। तर नजिकैको सेन्ट पियरमा निर्वाचन आउनै लागेको थियो, त्यसैले खरानी, बिमारी र डरले त्यस सहरलाई छोपिसक्दा पनि राजनीतिज्ञहरूले मानिसहरूलाई सहर छोडेर नभाग्न उक्साए। अझ, धेरैजसो पसलहरू त कयौं दिनअघि नै बन्द भइसकेका थिए!

मे ८ मा येशू स्वर्ग फर्कनुभएको उत्सव मनाउने बिदाको दिन परेको थियो र ज्वालामुखीबाट छुटकाराको लागि प्रार्थना गर्न थुप्रै मानिसहरू क्याथोलिक गिर्जाघरमा गएका थिए। त्यस बिहान आठ बज्नै आँट्‌दा खरानी, चट्टान, तातो ग्याँस र त्यस्तै अन्य पदार्थहरू मिसिएको २०० देखि ५०० डिग्री सेल्सियससम्मको तातो लावा ओकल्दै माउन्ट पेलि विस्फोट भयो। जमिनलाई अँगालो मार्दै मृत्युको कालो बादल पहाडको भीरालोबाट तल झऱ्‍यो, सहरलाई छोप्यो, झन्डै ३०,००० को ज्यान लियो, चर्चको घण्टी मैन पगालेझैं पगाल्यो र बन्दरगाहमा भएका जहाजहरूमा आगो लगायो। यो २० औं शताब्दीको सबैभन्दा खतरनाक ज्वालामुखी विस्फोट थियो। तर चेतावनीको चिह्नलाई मानिसहरूले बेलैमा वास्ता गरेका भए यो यत्तिको घातक हुने थिएन।

के प्राकृतिक प्रकोपहरू अझै बढ्‌नेछन्‌?

रेडक्रस अनि रेड-क्रेसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासंघले आफ्नो वर्ल्ड डिजेस्टर्स रिपोर्ट २००४ मा बताएअनुसार बितेको दशकमा भौगर्भिक तथा मौसमसित सम्बन्धित प्रकोपहरूमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। डिसेम्बर २६ मा हिन्द महासागरमा विनाशकारी सुनामी छाल आउनुभन्दा अघि प्रकाशित यस प्रतिवेदनले “यो क्रम लामो समयसम्म रहिरहने सम्भावना देखिन्छ” भनेर बताउँछ। निस्सन्देह, बढी जोखिमयुक्‍त क्षेत्रहरूमा जनसंख्या बढ्‌दै गयो र वनजङ्‌गल मासिंदै गयो भने आशावादी हुन सक्ने कुनै कारण देखिंदैन।

साथै, थुप्रै औद्योगिक देशहरूले वायुमण्डलमा अझ धेरै हरितगृह ग्याँसहरू निस्कासन गरिरहेका छन्‌। साइन्स पत्रिकाको एउटा सम्पादकीयले बताएअनुसार यस्तो निस्कासन घटाउन आलटाल गर्नु भनेको “फैलँदै गरेको संक्रमण विरुद्ध औषधी खान इन्कार गर्नुजस्तै हो: पछि गएर अझ ठूलो मोल चुकाउनुपर्ने कुरा पक्का छ।” त्यस मोलबारे औंल्याउँदै, प्रकोपहरूको असरलाई कसरी कम गर्ने भन्‍ने सन्दर्भमा लेखिएको एउटा क्यानेडाली प्रतिवेदनले यसो भन्यो: “अन्तरराष्ट्रिय समुदायले हालसम्म सामना गरेको सबैभन्दा व्यापक र जोडदार वातावरणीय समस्याको रूपमा लिएर जलवायु परिवर्तनबारे छलफल गर्न सकिन्छ।”

तर मानव क्रियाकलापहरूले विश्‍वव्यापी उष्णतामा असर पुऱ्‍याइरहेको छ कि छैन भन्‍ने कुरामा त अहिले अन्तरराष्ट्रिय समुदाय एक मत हुन सकिरहेको छैन, यस्तो बेलामा वातावरणीय समस्या हल गर्नु त निक्कै टाढाको कुरा हो। यस्तो अवस्थाले बाइबलले बताएको निम्न कुराको सत्यता साबित गर्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) यद्यपि, अवस्था आशाविहीन भने छैन भन्‍ने कुरा हामी अर्को लेखमा देख्नेछौं। वास्तवमा, मानव समाजको आँधीबेहरी रूपी अवस्थाका साथै वर्तमान संकटहरूले छुटकारा नजिकै छ भन्‍ने थप प्रमाण दिन्छ। (g05 7/22)

[फुटनोट]

a सौर्य तापको असमान वितरणले सामुद्रिक धार पनि उत्पन्‍न गराउँछ र ठण्डी भूभागतर्फ सौर्यशक्‍ति प्रसारण गर्छ।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

जब मकैबारीमा अरू नै केही निस्कियो

सन्‌ १९४३ मा मेक्सिकोका एक जना किसानले आफ्नो मकैबारीमा अरू नै केही निस्किएको देखे। आफ्नो खेतमा जाँदा तिनले जमिनमा चीरा परेको देखे। अर्को दिन त ती चीराहरू एउटा सानोतिनो ज्वालामुखीमा परिणत भइसकेका थिए। अर्को हप्ता शंकु अर्थात्‌ ज्वालामुखीको मुखको उचाइ १५० मिटर पुग्यो अनि एक वर्षपछि ३६० मिटर पुग्यो। त्यसपछि, समुद्री सतहबाट २,७७५ माथि अवस्थित यस शंकुको उचाइ अन्तमा ४३० मिटर पुग्यो। पारिकुटिन भनिने यो ज्वालामुखी सन्‌ १९५२ मा अकस्मात्‌ शान्त भयो र त्यसपछि अहिलेसम्म विस्फोट भएको छैन।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

परमेश्‍वरले राष्ट्रहरूलाई प्रकोपबाट बचाउनुभयो

अनिकाल पनि एक प्रकारको प्राकृतिक प्रकोप नै हो। रेकर्ड गरिएका पुराना अनिकालहरूमध्ये एउटा याकूब अर्थात्‌ इस्राएलका छोरा यूसुफको समयमा पुरातन मिश्रमा भएको थियो। त्यो अनिकाल सात वर्षसम्म रह्‍यो अनि त्यसले मिश्र, कनान र अरू मुलुकहरूलाई असर गऱ्‍यो। तर त्यसको कारण आम मानिसहरूले भोकमरीको सामना भने गर्नु परेन किनभने त्यस अनिकालबारे यहोवाले सात वर्षअघि नै भविष्यवाणी गरिसक्नुभएको थियो। अनिकालअघिका सात वर्ष मिश्रभरि प्रशस्त उब्जनी हुनेछ भनेर पनि उहाँले प्रकट गर्नुभयो। परमेश्‍वरको प्रबन्धअनुसारै मिश्रका प्रधानमन्त्री तथा खाद्य प्रशासक बनाइएका ईश्‍वर-भीरु यूसुफको नेतृत्वमा मिश्रीहरूले यति धेरै अन्‍न थुपारे कि तिनीहरूले “हिसाब राख्न पनि छोडिदिए।” त्यसैले मिश्रले आफ्ना जनताहरूलाई मात्र नभई यूसुफको परिवार लगायत “पृथ्वीभरिका सबै मानिसहरू [लाई]” खुवाउन सक्यो।—उत्पत्ति ४१:४९, ५७; ४७:११, १२.

[पृष्ठ ७-मा भएको चित्र]

हाइटी २००४ जलमग्न सडकमा केटाहरू पिउने पानी बोकेर लैजाँदैछन्‌। व्यापक वनफँडानीले गर्दा ठूलो पहिरो गयो

[पृष्ठ ९-मा भएको चित्र]

थुप्रै राष्ट्रहरूले वायुमण्डलमा हरितगृह ग्याँसहरू निस्कासन गरिरहेका छन्‌