सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेर्नोबिल घुम्न जाँदा

चेर्नोबिल घुम्न जाँदा

चेर्नोबिल घुम्न जाँदा

युक्रेनका ब्यूँझनुहोस्‌! लेखक

बीस वर्ष पहिले चेर्नोबिल आणविक केन्द्रमा भएको दुर्घटनालाई आजसम्म अरू कुनै दुर्घटनाले बिर्साउन सकेको छैन। सन्‌ १९८६, अप्रिल २६ तारिखका दिन उक्‍त केन्द्रका चारवटा भट्टीहरूमध्ये एकबाट रेडियो विकिरण चुहिंदा त्यसले भयंकर संकट निम्त्याएको थियो। हुन त, दुर्घटना चाहे प्रकृति आफैले जन्माएको होस्‌ वा मानव कर्तुतको नतिजा, समयमा दुरुस्त पार्न सकिन्छ। तर चेर्नोबिल दुर्घटनाले छाडेको आणविक प्रदूषणका डोबहरू भने अहिलेसम्म मेटिएका छैनन्‌।

हालसालै वर्षेनी मे ९ तारिखका दिन, चेर्नोबिल सहरका पुराना बासिन्दाहरू कहिले आफ्ना नातेदार अनि साथीहरूसित त कहिले आफू मात्रै चेर्नोबिल आउन थालेका छन्‌। उनीहरू आफ्नो पुराना रित्तो घर अनि आँगन हेरेर बितेका दिन सम्झने कोसिस गर्छन्‌। आफ्ना प्रिय जन वा मित्रको अन्त्येष्टीको बेलामा पनि उनीहरू चेर्नोबिल पुग्छन्‌। बेला मौकामा वैज्ञानिकहरू पनि चेर्नोबिल जान्छन्‌ र विकिरणका प्रभावहरूबारे अध्ययन गर्छन्‌। अचेल त, पर्यटक भित्र्याउन युक्रेनका टुर कम्पनीहरूले एक-दिने भ्रमण कार्यक्रमसमेत तयार पारेका छन्‌।

सन्‌ २००५, जून महिनातिर द न्यु योर्क टाइम्स पत्रिकाले मुख पृष्ठमै “गाइड लिएर” छोटो समयका लागि प्रिपेट घुम्न जानु “स्वास्थ्यलाई हानिकारक नहुने” रिपोर्ट छापेको थियो। a प्रिपेट सहर सन्‌ १९७० को दसकतिर चेर्नोबिल आणविक केन्द्रबाट करिब ३ किलोमिटर पर बसालिएको थियो। उतिखेर यसको जनसंख्या लगभग ४५,००० थियो। तर आणविक दुर्घटनापछि प्रिपेट र अरू थुप्रै सहरहरू रातारात सुनसान अनि रित्तो खण्डहरमा परिणत भए। रेडियो विकिरणले असर गर्नसक्ने सम्भावनाले गर्दा एउटो मुसोलाई समेत यी ठाउँहरूमा प्रवेश गर्न केही वर्षअघिसम्म पूरै बन्देज थियो। चेर्नोबिलमा आणविक चुहावट हुँदा आन र भिक्टर रुड्‌नीक प्रिपेटमा बस्न थालेको वर्ष दिन जति मात्र भएको थियो। b

प्रिपेटभन्दा धेरै सानो चेर्नोबिल सहरचाहिं (आणविक केन्द्रको नाउँ पनि चेर्नोबिल नै हो) आणविक केन्द्रबाट लगभग १५ किलोमिटर पर पर्छ। चेर्नोबिलका पुराना रैथानेहरूलाई पनि वर्षमा एक चोटि आफ्नो गाउँठाउँ आउन दिन थालेको केही समय भइसकेको छ। प्रिपेटमा सर्नुअघि रुड्‌नीक दम्पती चेर्नोबिलमा बस्थे। अतः उनीहरू चेर्नोबिल गएको बेला हामीले मौका छोपेर उनीहरूको पुच्छर लाग्ने विचार गऱ्‍यौं। केही वर्ष अघि मेरी पत्नी र मैले रुड्‌नीकहरूसित तय गरेको यो यात्रा संस्मरण म तपाईंहरूलाई सुनाउन चाहन्छु।

खिन्‍नलाग्दो भ्रमण

युक्रेनको राजधानी किभको चिल्लो फराकिलो बाटोमा हुइँकिदै हामी उत्तरतर्फ लाग्यौं। बाटो हुँदो हामीले थुप्रै साना बजार अनि बस्तीहरू देख्यौं। सडक छेऊ लहरै बनाइएका घरहरू, आँगनभरि फुलेका टुलिप फूलहरू अनि करेसाबारीमा गोडगाड गरिरहेका मानिसहरू देख्दा हामी खुबै रमायौं। बजार अनि बस्तीहरूको बीचबीचमा चाहिं हामीले मकै, गहुँ अनि सूर्यमुखी फूलका ठूलठूला खेतले क्षितिज चुमिरहेका देख्यौं।

अचानक मानौं कुनै अदृश्‍य सीमा काटेर नौलो इलाकाभित्र प्रवेश गर्न थालेको अनुभव हुन थाल्यो। तर त्यहाँ नयाँ ठाउँको जानकारी दिने न कुनै सूचना पाटी थियो न ता हाम्रो स्वागत गर्ने कुनै प्रवेश द्वार। पूरै बजारलाई मुटु नै चिसो पार्ने सन्‍नाटाले छोपेको थियो। जर्जर भइसकेका घरका झ्यालहरूमा एउटै ऐना सद्दे थिएनन्‌। ढोकामा झुन्डिरहेको ताला अनि आँगनभरि झ्याँगिएका घाँसपातले यहाँ कुनै मान्छेको उपस्थिति छैन भनेर हामीलाई जानकारी दिंदैथियो।

हामी प्रतिबन्धित क्षेत्रमा पसेछौं। आणविक भट्टीबाट ३० किलोमिटर वरपरको इलाकाभित्र बसोबास गर्न प्रतिबन्ध लगाइएको रहेछ। “यो क्षेत्रभित्र पर्ने बजार अनि बस्तीहरूमा विकिरणको मात्रा धेरै छ,” आन हामीलाई बताउँदै थिइन्‌। “यस इलाकाभित्र परेका बस्ती अनि गाउँहरूबाट मात्रै १,५०,००० मानिसहरू भूतपूर्व सोभियत संघका विभिन्‍न ठाउँमा सारिएका थिए।”

हामी अघि बढ्यौं। केही बेरमै हामी अग्ला-अग्ला काँडे तारले घेरिएको नयाँ ठाउँ पुग्यौं। छेवैमा काठले बनेको चौकीमा यात्रुहरूको जाँच हुँदो रहेछ। गार्डले हाम्रो पासपोर्ट हेऱ्‍यो र सवारी साधन दर्ता गरेपछि भित्र पस्ने गेट खोल्यो।

अब हामी प्रवेश निषेध क्षेत्रभित्र थियौं। भित्र पस्ने बित्तिकै म छक्कै परें। मैले यहाँ विकिरणले गर्दा डढेका रूख वा सुकिसकेका लहरापातहरू मात्र होलान्‌ भनेर सोचेको थिएँ। तर ठीक विपरीत मैले बाटो माथि-माथिसम्म हाँगाबिंगा झम्म परेर फस्टाएका हरिया रूखहरू अनि भुइँलाई बाक्लो न बाक्लो बुट्यानले ढाकेको पो पाएँ। अगाडि सेतो रंग पोतेको इँटाको पर्खालमा निलो रंगको ठूलठूलो अक्षरले चेर्नोबिल लेखिएको थियो।

चेर्नोबिल पस्ने बित्तिकै छेवैमा हामीले औषधी पसल फेला पाऱ्‍यौं। भिक्टरकी आमाले पहिले यहीं काम गर्नुभएको रहेछ। हामीले पसलको मैलो झ्यालमा सानो सूचनापाटी झुन्ड्याइराखेको देख्यौं। पसल खोल्ने र बन्द हुने समय लेखिएको सूचनापाटीका अक्षरहरू धूलोले खाएर धमिला भइसकेका रहेछन्‌। सहरको बीचतिर पर्ने पार्कनजिकै सांस्कृतिक भवन ठिङ्‌ग उभिरहेको थियो। यही भवनमा विभिन्‍न कलाकारहरूको कार्यक्रम हेरेर आफू अनि सहरका साथीभाइहरूले काम पछिको थकान मेटाउने गर्थ्यौं भनेर आन हामीलाई बताउँछिन्‌। सँगै युक्राइना सिनेमा हल पनि थियो। भतभती पोल्ने गर्मीको बेला केटाकेटीहरू यही सिनेमा हलभित्र शीतल हावा खाँदै नयाँ फिल्म हेर्थे रे। केटाकेटीहरूको हाँसो गुन्जने यो हल अहिले चकमन्‍न छ। त्यसपछि हामी आन र भिक्टरको घरतिर हानियौं। सहरको बीचबाट हिंडेर दुई-चार मिनेटमै उनीहरूको घर पुग्न सकिने रहेछ। आँगनमा रोपिराखेका रूखहरू नछाँटेको वर्षौं भइसकेकोले, मूल ढोकालाई हाँगाबिंगाले ड्याम्मै छोपेको थियो। अर्को ढोकाबाट भित्र पस्न सकिन्छ कि भनेर हामी एक लाम लागेर झार पन्छाउँदै घरको पछिल्तिर गयौं। तर ढोकाको ठाउँमा हामीले ठूलो भ्वाङ मात्र फेला पाऱ्‍यौं।

त्यही भ्वाङबाट हामी भित्र पस्यौं। घरभित्रको अवस्था कहालीलाग्दो थियो। खिया लागेको फलामे खाटको डसनालाई ढुसीले सोत्तर पारिसकेको रहेछ। छत र भित्ताका वाल पेपरहरू पनि ठाउँ-ठाउँमा उप्किसकेका रहेछन्‌। भुइँभरि सामानहरू छरपस्ट थिए। घरको अवस्था देखेर चित खाएकी आनले निहुरेर भुइँबाट पुरानो फोटो टिपिन्‌। “म घर फर्कंदा सबै कुरा ठीकठाक होस्‌ भनेर मनमनै प्रार्थना गर्ने गर्थें। तर अहिले घरको त यो हाल भइसकेछ। हाम्रा सम्पत्तिहरू पनि खै, जम्मै चोरी भइसकेछ। मलाई त असाध्यै दुःख लाग्यो।” हामीले आनको बोलीमा गहिरो चोटको आभास पायौं।

रुड्‌नीकहरूको घरबाट निस्केर हामी सडकतिर लाग्यौं। केही मानिसहरू सडकको कुनामा बसेर मच्चीमच्ची गफ गरिरहेका रहेछन्‌। हामी हिंडेको बाटो लगभग आधा किलोमिटर जति पर अग्लो भीरमा पुगेर टुंगिदो रहेछ। हामी उक्लेर भीरमाथिको पार्कभित्र पस्यौं। भीरमुन्तिर बगिरहेको नदी शान्त देखिन्थ्यो। वरपर कटुसका सेता फूलहरू मन्द हावामा झुलिरहेका थिए। भीर छेउमा तल नदीमा ओर्लने भऱ्‍याङ पनि रहेछ। सन्‌ १९८६ मा आणविक दुर्घटना हुँदा सयौं मान्छेहरू यही भऱ्‍याङबाट ओर्लेर डुंगा चढेर अन्यत्र गएका थिए।

गत वर्ष रुड्‌नीक दम्पती पहिलो चोटि प्रिपेट पुगेका थिए। आणविक चुहावटपछि उनीहरूले यो सहर छोडेर भागेको १९ वर्ष भइसकेको थियो।

चेर्नोबिलबाट के सिक्यौं त

सन्‌ २००६ को अप्रिल महिनाभरि विभिन्‍न कार्यक्रम गरेर चेर्नोबिल दुर्घटनाको २० औं वार्षिकी मनाइयो। मानिसहरूले असल मनसायले जति नै कोसिस किन नगरून्‌, परमेश्‍वरको डोऱ्‍याइविना यो पृथ्वीलाई ठीकसित सम्हाल्न सकिंदैन भनेर सम्झन सो वार्षिकी धेरैको लागि राम्रो मौका थियो।—यर्मिया १०:२३.

गत सेप्टेम्बरमा दुर्घटनाको पुनर्मूल्यांकन गरेर नयाँ वैज्ञानिक रिपोर्ट सार्वजनिक गरिएको थियो। संयुक्‍त राष्ट्रसंघको पहलमा प्रकाशित उक्‍त रिपोर्टअनुसार चेर्नोबिल दुर्घटना हुने बित्तिकै ५६ जनाले ज्यान गुमाए भने विकिरणले गर्दा अन्ततः ४,००० जनाले आफ्नो ज्यान गुमाउने अनुमान छ। तथापि, पहिले १५,००० देखि ३०,००० जति मर्नेछन्‌ भनेर अनुमान गरिएको थियो। तर “थुप्रै वातावरणविद्‌ समूहहरूले” यस रिपोर्टलाई “आणविक शक्‍तिको सम्भाव्य खतरालाई ढोकछोप गर्न गरिएको पूर्वाग्रही प्रयास” भन्‍ने आरोप लगाएका छन्‌ भनेर सेप्टेम्बर ८, २००५ अंकको न्यु योर्क टाइम्स-ले आफ्नो सम्पादकीयमा उल्लेख गरेको थियो।

चेर्नोबिलको दुर्घटनापछि भिक्टरले आफ्नो सृष्टिकर्ता यहोवा परमेश्‍वरलाई चिन्‍ने मौका पाए। आफ्नो आशाबारे तिनले यसो भने: “अहिले हामी उदास छैनौं। किनकि परमेश्‍वरको राज्य आएपछि यस्ता भयानक दुर्घटनाहरू हुनेछैनन्‌ भनी हामीलाई थाह छ। हामी त्यस समयको प्रतीक्षामा छौं, जब चेर्नोबिलनजिकै हाम्रो प्यारो घर वरिपरिका बन्जर भूमि हराभरा भएर सुन्दर प्रमोदवनको भाग हुनेछ।”

परमेश्‍वरले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनुहुनेछ भनेर बाइबल प्रतिज्ञा गर्छ। चेर्नोबिलको दुर्घटना भए यता लाखौं मानिसहरूले यस प्रतिज्ञामाथि अटल विश्‍वास राख्न थालेका छन्‌। (उत्पत्ति २:८, ९; प्रकाश २१:३, ४) युक्रेनमा मात्रै बितेको २० वर्षभित्र १,००,००० भन्दा धेरै मानिसहरूले बाइबलले दिने आशालाई स्वीकारिसकेका छन्‌। तपाईं पनि युक्रेनका मानिसहरूले जस्तै परमेश्‍वरको उद्देश्‍यहरूबारे सिकेर आफ्नो भविष्यलाई उज्जवल बनाउनुहोस्‌ भनेर हामी कामना गर्छौं। (g 4/06)

[फुटनोटहरू]

a थुप्रै विशेषज्ञहरूले यसरी छोटो समयका लागि चेर्नोबिल घुम्न जानु हानिकारक छैन भने तापनि ब्यूँझनुहोस्‌! पत्रिकाले त्यस्तो कुनै पनि व्यक्‍तिगत भ्रमणको प्रवर्धन वा समर्थन गर्दैन।

b मे ८, १९९७ अंकको ब्यूँझनुहोस्‌! पत्रिकाको पृष्ठ १८-२१ हेर्नुहोस्‌।

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

सफाइकर्मीहरूप्रति समर्पित स्मारक

चेर्नोबिल आणविक केन्द्रको सर-सफाइ गर्ने मानिसहरूको सम्मान गर्न यो स्मारक बनाइएको हो। लिक्विडेटर भनेर चिनिने यी मानिसहरूले चेर्नोबिल दुर्घटना भएपछि आगो निभाए, भित्रभित्रै सल्किरहेको आणविक भट्टीलाई सील गरे अनि आणविक प्रदूषणलाई हटाए। पूरै काम सिध्याउन हजारौं मानिस लाग्यो। आणविक दुर्घटनाको प्रत्यक्ष प्रभावले गर्दा ज्यान गुमाउनु पर्ने ४,००० मानिसहरूमध्ये धेरैजसो यिनै सफाइकर्मीहरू हुने अनुमान छ।

[पृष्ठ १५-मा भएको चित्र]

चेर्नोबिल लेखिएको पर्खाल र सिनेमा घर

[पृष्ठ १५-मा भएको चित्र]

रुड्‌नीक दम्पती आफ्नो घर चेर्नोबिलमा

[पृष्ठ १६-मा भएको चित्र

यही भट्टीमा आणविक चुहावट भएको थियो। रुड्‌नीकहरूको डेरा यहाँबाट करिब तीन किलोमिटर पर प्रिपेटमा पर्छ (इन्सेट)