सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

◼ “यस ग्रहमा प्राणीहरू बस्ने सबैभन्दा ठूलो थलो समुद्र हो। अनि सबैभन्दा कठिन पनि यहीं नै हुन्छ। . . . जता हेरे पनि हामी जीवजीवात देख्छौं र त्यो पनि प्रशस्तै।” —न्यु साइन्टिस्ट, बेलाइत।

◼ अमेरिकाको पेन्सिलभेनिया, हारिसवर्गको संघीय अदालतका एक जना न्यायाधीशले “स्कूलमा साइन्स पढाउँदा क्रमविकासको सट्टा [कोही बुद्धिमान्‌ व्यक्‍तिले डिजाइन गरेको] भनेर सिकाउनु संविधान विपरीत हो” भनेर हालै फैसला सुनाए। —न्यु योर्क टाइम्स, अमेरिका।

◼ सन्‌ २००५ मा लिइएको तथ्याङ्‌कअनुसार “अमेरिकीहरूमध्ये ५१ प्रतिशतले क्रमविकासको सिद्धान्त विश्‍वास गर्दैनन्‌।” —न्यु योर्क टाइम्स, अमेरिका।

◼ अस्ट्रेलियाको ब्रिसबेनस्थित चिडियाघरमा राखिएको हारियट नाउँको विशाल गालापागोस कछुवा १७५ वर्ष बाँचेर जून २००६ मा मऱ्‍यो। यसको वजन १५० किलो थियो। यो “संसारकै सबैभन्दा बूढो प्राणी थियो।” —अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन।

◼ कुनै-कुनै किसिमको मकैले यसको जरामा लाग्ने एक किसिमको कीराबाट आफूलाई कसरी जोगाउँछ भनेर स्वीस अनुसन्धाताहरूले पत्ता लगाएका छन्‌। तिनीहरूले जमिनमा एक प्रकारको गन्ध निकाल्छन्‌। यो गन्धले स-साना नाम्ले कीराहरूलाई आकर्षित गर्छ र यी नाम्लेहरूले जरामा लाग्ने कीराको लार्भा खाइदिन्छन्‌।—डी वेल्ट, जर्मनी। (g 9/06)

जायन्ट स्क्वीडको फोटो खिचियो

जापानको दक्षिणमा पर्ने बोनिन टापु नजिकै समुद्रमा फेला परेको जिउँदो जायन्ट स्क्वीडको फोटो खिच्न वैज्ञानिकहरू पहिलो चोटि सफल भएका छन्‌। उनीहरूले बल्छीमा सानो स्क्वीड र झिंगे माछा राखे अनि माथिबाट क्यामरा झुन्ड्याए। लगभग ९०० मिटरको गहिराइमा भेटिएको यो जायन्ट स्क्वीड ८ मिटर जति लामो थियो।

“डाइनोसरले घाँस खान्थ्यो”

एसोसिएटेड प्रेसको रिपोर्ट यसो भन्छ, “डाइनोसरले घाँस खान्थ्यो” भनेर पत्ता लाग्दा “वैज्ञानिकहरू दङ्‌गै परे।” भारतमा फेला परेको सरोपोड डाइनोसरको गोबरको अवशेष जाँचेर हेर्दा यो कुरा पत्ता लागेको थियो। तर छक्क पर्नुको कारण के हो? उक्‍त रिपोर्ट यसो भन्छ, “डाइनोसरहरू लोप भएको धेरैपछि मात्र पृथ्वीमा घाँस देखा परेको हो” भन्‍ने सोचाइ थियो। साथै, सरोपोड डाइनोसरको मुखमा “कडा घाँस चपाउनको लागि चाहिने विशेष किसिमको दाँत थिएन” भन्ठान्थे। यो कुरा पत्ता लगाउने टोलीका प्रमुख, पालियोबोटानिस्ट (वनस्पतिहरूको अवशेष अध्ययन गर्ने जीव वैज्ञानिक) क्यारोलिन स्ट्रोमबर्ग यसो भन्छिन्‌: “[डाइनोसरले] घाँस खान्थ्यो भनेर धेरै जनाले कल्पना समेत गरेका थिएनन्‌।”

माहुरी कसरी उड्‌छ?

माहुरी उड्‌न सक्दैन भनेर इन्जिनियरहरूले प्रमाणित गरिसकेका छन्‌ भनेर ठट्टा गर्ने गरिन्छ। जीउ “गह्रौं” तर पखेटा सानो हुने हुँदा माहुरी उड्‌न सक्दैन जस्तो देखिन्छ। माहुरी उड्‌न सक्नुको कारण पत्ता लगाउन इन्जिनियरहरूले “हावामा उडिरहेका माहुरीहरूको प्रति सेकेन्ड ६,००० वटा फोटो खिचे” भनी न्यु साइन्टिस्ट पत्रिका लेख्छ। माहुरीको उड्‌ने तरिका “अनौठो” छ। अध्ययन टोलीका एक जना सदस्य यसो भन्छन्‌, “यसले हरेक चोटि पखेटा फट्‌फटाउँदा ९० डिग्रीको कोण बनाएर प्रति सेकेन्ड २३० पटक पखेटा घुमाउँछ। . . . यो हवाईजहाजको पङ्‌खा जस्तै हो जसको पङ्‌खा मात्र होइन, तर ब्लेड आफै पनि घुम्छ।” यो थाह पाएपछि इन्जिनियरहरूले नयाँ किसिमको पङ्‌खा भएको हाँक्न सजिलो हवाईजहाज बनाउन सक्नेछन्‌।

गीत गाउने मुसा

न्यु साइन्टिस्ट पत्रिका यस्तो रिपोर्ट गर्छ: “मुसाले गीत गाउन सक्छ र . . . तिनीहरूले भाले वा पोथीलाई फकाउन गाउने गीत चराहरूको जस्तै जटिल हुन्छ।” मुसाले अल्ट्रासोनिक फ्रिक्वेन्सीमा गीत गाउँछ। मुसाले तीखो स्वरमा गाएको गीत मान्छेले सुन्‍न सक्दैन। यसैकारण पहिला त्यो आवाज मान्छेहरूले याद नगरेका हुन सक्छन्‌। अमेरिकाको मिसोरी राज्यको सेन्ट लुइस सहरका अनुसन्धाताहरूले पत्ता लगाएअनुसार भाले मुसाले “नोटमा लय मिलाएर गाउने हुँदा त्यसलाई ‘गीत’ भन्‍न मिल्छ।” यसकारण मुसाले पनि गीत गाउने जन्तुहरूको विशेष समूहमा प्रवेश पाएको छ। गीत गाउन सक्ने अरू स्तनधारीहरू ह्वेल, डल्फिन, कुनै-कुनै प्रकारका चमेरो अनि मान्छे मात्र हुन्‌।

(g 9/06)