परिवारका लागि | अभिभावकको जिम्मेवारी
किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका
चुनौती
सानो छँदा छोराछोरीले तपाईंलाई ‘यसो भयो/उसो भयो’ भनेर बेलीबिस्तार लगाउँथे होलान्। तर किशोरावस्थामा पुगेपछि तिनै छोराछोरीले तपाईंसित कुरै नगर्न सक्छन्। तपाईंले कुरा गर्न खोज्नुभयो भने पनि दुई शब्द फर्काएर कुरा टुङ्ग्याउन खोज्छन् होला। कुरा भइनैहाले पनि ठाड्ठाडो कुरा गरेर घरलाई क्षणभरमै युद्धभूमिमा परिणत गर्छन् होला।
तर खुसीको कुरा, तपाईंले किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका सिक्न सक्नुहुन्छ। आउनुहोस्, सुरुमा हामी यस्तो चुनौती खडा गर्ने दुइटा कारण विचार गरौं।
चुनौतीका कारण
स्वतन्त्रताको चाहना। एउटा उदाहरण विचार गर्नुहोस्: किशोरावस्थाको छोरा वा छोरीले सधैं यात्रुको सिटमा बसेर यात्रा गऱ्यो भने उसले बाटोमा आइपर्ने बाधा-अवरोधलाई पन्छाउन कहिल्यै सिक्दैन। तर उसलाई चालकको सिटमा बस्ने स्वतन्त्रता दिनुभयो भने उसले बाटोमा आउने चुनौतीहरू बिस्तारै-बिस्तारै पन्छाउन सिक्छ। हुन त हो, केही किशोरकिशोरी चाहिनेभन्दा बढी स्वतन्त्रता खोज्छन्। तर अर्कोतर्फ, केही आमाबाबुचाहिं छोराछोरीलाई दिनुपर्ने स्वतन्त्रतासमेत दिंदैनन्। यसले गर्दा आमाबाबु र छोराछोरीबीच तालमेल नमिल्न सक्छ। सोह्र वर्ष पुगेका ब्राड * यसरी गुनासो गर्छन्: “मेरो ममीड्याडी सानो-सानो कुरामा पनि ‘यो गर, त्यो नगर’ भनेर दिक्कै लगाउनुहुन्छ। यस्तै हो भने त . . . म घर छोडेर गइदिन्छु!”
विभिन्न दृष्टिकोणबाट सोच्ने क्षमता। साना केटाकेटीहरू एकदमै सीधा तरिकाले सोच्ने गर्छन्। उनीहरूको सोचाइ “हो/होइन” अथवा “हुन्छ/हुँदैन”-मै सीमित हुन्छ। तर किशोरकिशोरीहरूमा चाहिं एउटै कुरालाई विभिन्न दृष्टिकोणले हेर्ने र त्यसको कारण बुझ्ने क्षमता हुन्छ। यसले जवानहरूलाई सही निर्णय गर्न मदत गर्छ। एउटा उदाहरण विचार गर्नुहोस्। एउटी आमाले आफ्ना दुई छोरालाई बराबर गरी बिस्कुट भाग लगाउँछिन्। यो कुरालाई सानो बच्चाले यसरी सोच्छ: ‘ममीले मलाई र दाइलाई आधा-आधा बिस्कुट दिनुभयो।’ हो, बच्चाहरूले न्याय भनेको केवल बराबरीको हिसाब मात्र हो भन्ने ठान्छन्। तर किशोरावस्थामा पुगेकाहरूले न्यायलाई त्यति सरल रूपमा लिंदैनन्। हुन पनि हो, न्यायपूर्ण व्यवहार गर्दा सधैं बराबरी हुन्छ भन्ने छैन अनि कुनै कुरा बराबरी गरियो भन्दैमा सधैं न्याय हुन्छ भन्ने पनि छैन। किशोरावस्थामा पुगेका तपाईंका छोराछोरीले कुनै
पनि कुरालाई विभिन्न दृष्टिकोणले हेर्न सिकेका हुन्छन्, त्यसैले तिनीहरूमा तर्कवितर्क गर्ने क्षमता विकास भएको हुन्छ। परिणाम? तिनीहरूले कहिलेकाहीं तपाईंसित पनि तर्कवितर्क गर्न सक्छन्।तपाईं के गर्न सक्नुहुन्छ?
मौका मिल्ने बित्तिकै कुराकानी गर्नुहोस्। छोराछोरी फुर्सदमा भएको मौका छोपेर कुराकानी गर्नुहोस्। थुप्रै आमाबाबुको अनुभवले देखाएअनुसार आमनेसामने बसेर कुराकानी गर्नुभन्दा घरको काम गर्दै गर्दा वा कतै यात्रा गर्दा कुरा गर्नु बेस हुन्छ। किनभने किशोरकिशोरीहरू मुख हेराहेर गरेर कुरा गर्नुभन्दा सँगै मिलेर अरू नै काम गरिरहेको बेला कुराकानी गर्न सजिलो मान्छन्।—बाइबल सिद्धान्त: व्यवस्था ६:६, ७.
छोटोमीठो कुरा गर्नुहोस्। हरेक कुरामा वाद-विवाद नगर्नुहोस्। आफ्नो कुरा स्पष्ट बताउनुहोस् र त्यसभन्दा बढी केही नभन्नुहोस्। पछि एक्लै हुँदा उसले त्यो कुरा पक्कै “सुन्नेछ,” यानि मनन गर्नेछ। उसलाई त्यसो गर्ने मौका दिनुहोस्।—बाइबल सिद्धान्त: हितोपदेश १:१-४.
सुन्नुहोस् र लचकदार हुनुहोस्। छोराछोरीको समस्या राम्ररी बुझ्न उनीहरूको कुरा ध्यान दिएर सुन्नुहोस्। बीचमा प्याच्चै नबोल्नुहोस्। व्यावहारिक भएर जवाफ दिनुहोस्। ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न थाल्नुभयो भने छोराछोरीले पनि आँखा छल्ने उपाय खोज्न थाल्नेछन्। किशोरावस्थाका छोराछोरीसित सम्पर्कमा रहिरहनुहोस् (अङ्ग्रेजी) पुस्तक यस्तो चेतावनी दिन्छ: “त्यसो गर्नुभयो भने छोराछोरीले दोहोरो जीवन बिताउन थाल्नेछन्। तिनीहरूले एकातिर आमाबाबुलाई ठिक्क पार्छन्; अर्कोतिर आमाबाबुले नदेखेको बेला मनमानी गर्छन्।”—बाइबल सिद्धान्त: फिलिप्पी ४:५.
शान्त रहनुहोस्। क्यारी नाम गरेकी किशोरी भन्छिन्: “ममीसित एउटा कुरा मिलेन भने बाँकी कुरा सुने त के! अनि मेरो पारो चढ्छ। त्यसपछि त भनाभन सुरु!” छोराछोरीसित पड्किनुको साटो तिनीहरूको भावना बुझेको कुरा व्यक्त गर्नुहोस्। उदाहरणको लागि, “त्यति जाबो कुराको लागि के चिन्ता गरिरा’को!” भन्नुको साटो “ए, हो र! म तिम्रो कुरा बुझ्छु” भन्नु राम्रो हुन्छ।—बाइबल सिद्धान्त: हितोपदेश १०:१९.
डोऱ्याउनुहोस् तर हैकम नचलाउनुहोस्। किशोरावस्थाको सोचाइलाई कलिलो मांसपेशीसित तुलना गर्न सकिन्छ। मांसपेशीलाई बलियो बनाउँदै लगेजस्तै छोराछोरीको सोचाइलाई पनि विकसित गर्दै लानुपर्ने हुन्छ। त्यसकारण उनीहरू दुबिधामा पर्दा निर्णय गरिदिनुको साटो उनीहरू आफैलाई सही निर्णय गर्न दिनुहोस्। कुनै समस्याबारे कुरा गर्दा त्यसको समाधान गर्ने उपायहरू पनि छोराछोरीलाई नै सोच्न दिनुहोस्। विभिन्न उपायबारे कुरा गरिसकेपछि तपाईं यसो भन्न सक्नुहुन्छ: “अहिले जे-जति उपायबारे कुरा गऱ्यौं, त्यसबारे एकचोटि फुर्सदमा सोच। अनि कुनचाहिं उपाय लागू गर्ने विचार गऱ्यौ, किन त्यो उपाय राम्रो लाग्यो, एक-दुई दिनपछि भन न, हुन्न?”—बाइबल सिद्धान्त: हिब्रू ५:१४. (g13-E 01)
^ यस लेखमा नामहरू परिवर्तन गरिएका छन्।